शर्माली गढी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शर्माली गढी महाकाली अञ्चल, बैतडी जिल्लाको सदरमुकाम बैतडीदेखि करिव १३/१४ कोशको दूरीमा रहेको स्वराडगर्खा शर्माली गा.वि.स. वडा नं. १ मा अवस्थित रहेको छ।[स्रोत नखुलेको] दुर्गम र विकटबीच रहेको यो गढी, नेपाली वीरताको इतिहासलाई बोकेको इतिहासको धरोहर हो। इतिहासकारहरूका अनुसार, नेपाल एकीकरणको क्रममा बहादुर शाहले कुमाउ-गडवालमाथि विजय हासिल गर्न पश्चिममा कुमाउ क्षेत्र नजिक र पायक पर्ने ठाउँमा गोर्खाली फौजलाई बसाउन किल्ला बनाउनु पर्ने भयो। जसका लागि उच्च स्थानमा रहेको, स्वस्थ हावापानी भएको, उत्पादनशील भूमि भएको, गोर्खाली फौजलाई सुहाउँदो ठाउँको खोजी गर्ने क्रममा शर्मालीको यो उच्चस्थानमा रहेको ठाउँ उचित ठानेर अभियानका नाइके अमरसिंह थापासुरवीर थापाले यो किल्ला बनाएको भन्ने भनाइ छ।

ऐतिहासिक महत्व[सम्पादन गर्ने]

यो ठाउँ कुमाउ - गढवालको बारेमा राम्ररी अध्ययन गर्न पायक पर्ने र सजिलो ठाउँ, फौजलाई तालीम गर्न र बास बस्न पर्याप्त ठाउँ, स्वच्छ हावापानी भएको वैरी वा विद्रोहीले सजिलै आक्रमण गर्न नसक्ने सुरक्षित र उँचो स्थानमा रहेको कुमाउ, गढवाल प्रवेश गर्ने मार्ग भएको र स्थानीय फौजको हौसला पाएकाले गोर्खाली फौजलाई उपयुक्त थियो। यो किल्ला गोर्खाली फौजले नै निर्माण गरेको हो भनी प्रष्ट पार्ने यहाँ थुप्रै आधार तथ्य छन्।[स्रोत नखुलेको] किल्लाको करिब एक किलोमिटर उत्तर-पूर्व खलङ्गा नामक ठाउँ छ। जहाँ गोर्खाली फौजले प्रशासनिक कार्य गर्ने कुरा बूढापाकाबाट सुन्न पाइन्छ। हाल यो ठाउँमा शर्माली खलङ्गा बजार र नागार्जुन उ.मा.वि. रहेका छन्। किल्लाको करिब आठ-नौ सय मिटर पूर्व 'गोख्र्याको न्वालो' नामक एउटा पानीको मुहान वा न्वालो छ। त्यसबाट अहिले पनि स्थानीयबासिन्दाले पानी पिउने गरेका छन्। यो पानीको मुहानलाई 'गोर्खाको न्वालो' नामले नै चिनिन्छ। त्यसैगरी किल्लाको पश्चिमतिर करिव तीन-चार सय मिटर तल चौर छ। यसलाई 'खुल्पुरी मैदान' भनिन्छ। यस मैदानमा फौजले तालीम गर्ने गर्थे रे। यो चौर र किल्लामा भाला, तरवार, खुकुरी आदि हातहतियार भेट्टएिका कुरा स्थानीय बासिन्दाबाट सुन्न पाइन्छ। हाल पनि उत्खनन् गर्दा यस्ता निसान भेटिन्छन्। किल्लाको करिब ८/१० मिटरतल चारैतिर गोलो खाडल वा तलाउ जस्तो बनाइएको छ। यसमा फौजले पानी भरेर पौडी खेल्ने गर्थे रे। किल्लामा विद्रोहीलाई सजिलै प्रवेश गर्नबाट यो खाडल, तलाउले बाधक बनी किल्लाको सुरक्षा गरेको थियो। किल्लाको चारैतिर ढुङ्गाको अग्लो पर्खाल गोलो रूपले बनाइएको छ। पर्खालमा उत्तर-पूर्व र दक्षिण-पश्चिमतिर दुई वटा प्रवेशद्वार बनाइएका छन्।[स्रोत नखुलेको] यी प्रवेशद्वार र पर्खाल अहिले जीर्ण अवस्थामा छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य स्रोतहरू[सम्पादन गर्ने]

  • स्थानीय बूढापाकाको भनाइ
  • शिवराज कलौनीको ऐतिहासिक खोजमूलक कृति, पुस्तक 'लुकेको गढी'