संस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


संस्कार शब्दको ब्युत्पत्ति संस्कृतको 'सम' एवं कृञ धातुमा र्धञ प्रत्यय लगाएर भएको छ। ऋग्वेदमा संस्कारको ठाउँमा संस्कृत शब्दको प्रयोग पाइन्छ, जसको अर्थ शुद्ध गरिएको भन्ने हुन्छ। जैमिनी सूत्रमा संस्कार शब्दलाई यज्ञलाई पवित्र र निर्मल बनाउने कार्यको अर्थमा प्रयोग गरेको छ(१)।

परिचय[सम्पादन गर्ने]

संस्कार, धर्म, सम्प्रदाय, परम्परा, संस्कृति इत्यादि समानार्थी रुपमा प्रयोग गरिन्छ । तर सबैमा फरक हुन्छ । संस्कार शब्दको अर्थ हो पूर्ण गराइएको, तलासिएको, परिष्कार गरिएको वा सफा गरिएको । संस्कारको अंग्रेजी समानान्तर शब्द हो कल्चर– यो कल्टबाट बनेको छ । यसबाट कृषि युग नै संस्कार र संस्कृतिको प्रारम्भ हो भन्ने स्पष्ट हुन्छ । कृषिको मूल शब्द पनि कृ नै हो । जसले क्रियालाई जनाउंछ । यसरी संस्कृति र कल्चर दुवै शब्दको मूल एउटै हो ।
बर्बर र सभ्य संसारबाट टाढा रहेका जातिहरुको मानसिक क्षमता अविकसित नै रहन जान्छ किनभने उनीहरुमा संस्कारको अभाव हुन्छ । धेरै अघि लखनऊ नजीकको जंगलमा जंगली कुकुरको बथानमा शिकारीहरुलाई दुई केटीहरु भेटिएका थिए । उनीहरु चार खुटटाले दगुर्ने र कुकुर झैं गुर्कने गर्थे । किनभने उनीहरुलाई शैशवावस्थामा कुकुरहरुले लिएर पालेका रहेछन् । मानवीय संस्कार नपाए पछि उनीहरुको मानसिक विकास हुन सकेन । उनीहरु मानिस देखेर जंगली कुकुर झैं डराएर भाग्थे । यस घटनाले मानवीय संस्कारको महत्त्व स्पष्ट गर्छ ।
बोलीचाली, पहिरन, धर्म, संस्कृति, श्रम, उत्पादन, वैज्ञानिक आविष्कार, आर्थिक क्रियाकलाप, शिष्टाचार आदि मानवीय सभ्यताका परिचायक हुन् । यी कुराहरु मानिसहरुले आफ्ना नजीकका मानिसहरुसंगै सिक्छ । यसलाई धार्मिक संस्कारसंग सम्बन्धित गराउनासाथ त्यसमा पवित्रता, त्याग र दिगोपन आउंछ । पशु पक्षी पनि भाले पोथी बस्छन् सन्तान जन्माउंछन्, हुर्काउंछन् । यो क्रियाकलापमा उनीहरु पनि मानव समाजभन्दा कम छैनन् । एक जना पुरुष र एक जना महिला बिना कुनै संस्कार संगै बसोबास गर्न सक्छन् तर जब त्यसलाई विवाह संस्कारका साथ सम्बन्धित गरिन्छ अनि त्यसको धार्मिक, सामाजिक, आर्थिक, नैतिक, चारित्रिक सबै दृष्टिकोणले सार्थकता हुनजान्छ ।

जीवनका संस्कार[सम्पादन गर्ने]


भविष्यद्रष्टा, गहन मनोविज्ञानवेत्ता ऋषिहरुलाई मानिस भित्रको यो मानसिक कमजोरी थाहा थियो । यसै मनोवैज्ञानिक अनुसन्धानको क्रममा अनेक प्रकारका संस्कारहरुको आविष्कार भएको छ । जसरी फलामको धाउलाई संस्कार र परिष्कार गरे पछि खिया नगाग्ने स्टील बन्छ । मणिलाई तलासिए पछि चमक आउंछ । मानिसमा पनि संस्कारले त्यस्तै गुण आउंछन् भन्ने विश्वास संस्कार दर्शनको छ ।
स्मृति र पुराणहरुमा सामान्यता १६ संस्कार मानिएका छन् । जसलाई जन्म, शैक्षिक, विवाह र मृत्युका संस्कारमा विभाजन गर्न सकिन्छ । जसमा चारवटा प्रमुख छन्– नामकरण, यज्ञोपवीत, विवाह र अन्त्येष्टि । यज्ञोपवीत वा उपनयन संस्कार शैक्षिक संस्कार हो ।
विश्वका प्रायः सबै सभ्य संस्कृतिहरुमा युवा अवस्था प्रवेशका संस्कारहरु पाइन्छन् । यी सबैको उद्देश्य युवालाई प्रतिभावान, अनुशासित र असल सामाजिक नागरिक बनाउनु हो । जो आफैं पनि सुखी रहन्छ र समाजमा पनि सुख शान्ति कायम राख्छ । मानिसहरुले यी संस्कारको मूलमा रहेको दर्शन बिर्संदै गए । पछि यी संस्कार केवल एक प्रचलन मात्र हुन पुगे । तर यस प्रचलनको मूलमा रहेको मनोवैज्ञानिक र सामाजिकताको वैज्ञानिक आधार आज पनि सान्दर्भिक छ । संस्कारको सूक्ष्म अध्ययन गर्ने जो कोहीले यस कुरालाई अनुभव गर्न सक्छ ।
मानिसको वरिपरिका वातावरणमा असलभन्दा खराब तŒवहरु बढी पाइन्छन् । खराब तŒवहरुमा आकर्षण पनि अलि बढ्ता हुन्छ । तिनीहरुको प्रभाव बालकको मनमा छिटो पर्छ र विस्तारै यो प्रभाव मनमा जमेर बस्न थाल्छ । ठूलो भएपछि मानिसले यस प्रभावलाई हटाउन चाहेर पनि हटाउन सक्दैन । प्राचीन ऋषिहरुले यस कठिनाईलाई बुझेर एक अत्यन्त सुन्दर र वैज्ञानिक उपाय निकालेका थिए । त्यो हो प्रत्येक बालकलाई आमाबाबुका अतिरिक्त एक अन्य यस्तो सुसंस्कारित व्यक्तिको जिम्मा लगाउने जसलाई मनोविज्ञानका सूक्ष्मताको जानकारी होस् । बालक भित्र भएका राम्रा नराम्रा संस्कार तत्काल पत्ता लगाई व्यक्तिको प्रवृत्ति अनुसार सुधार गर्न सक्ने होस् । यस्तो मानसिक नियन्त्रणकर्तालाई उनीहरुले आचार्य भनेका थिए ।
व्यक्तिलाई सभ्य बनाउनु, असल नागरिक बनाउनु, आफ्नो समाज, संस्कृति र आफ्ना देश प्रति जागरुक र गौरवान्वित बनाउनु निश्चय नै एक ठूलो घटना हो । त्यसैले आचार्य कहा“ पठाउनु अघि प्राचीनकालमा एक विशेष संस्कार सम्पन्न गर्ने परम्परा रहेको थियो । जसलाई उपनयन वा यज्ञोपवीत संस्कार भनिन्छ । उचित संस्कार पाएपछि प्रत्येक व्यक्तिको नयां जन्म हुन्छ । अर्को शब्दमा संस्कारद्वारा परिष्कृत भएपछि मानिसको मनोवैज्ञानिक रुपान्तरण हुन्छ । त्यसैले यसरी संस्कारित भइसकेको मानिसलाई द्विज भनिन्छ । द्विजको अर्थ हो दोस्रो पटक जन्मनु । पर्सियन धर्ममा पनि उपनयनसंग मिल्दो जुल्दो संस्कार गरिन्छ जसलाई उनीहरुले द्विजात भन्दछन् ।
हिन्दु विवाह संस्कारमा एक अर्का प्रति पूर्ण समर्पण अर्थात् गोत्र परिवर्तन, मातापिताद्वारा दानको रुपमा कन्या वरलाई प्रदान गर्नु, र पतिले सम्पूर्ण दायित्व वहन गर्ने कुराको प्रतिज्ञा गर्नु जस्ता कुराहरुको औपचारिकता पूरा गरिन्छ । पति पत्नी दुवैले केही संयुक्त प्रतिज्ञाहरु गर्नु पर्छ ।
प्रत्येक संस्कारले मानिसलाई नैतिक, आदर्श जीवन बिताउंदै जीवनको अझ उच्चता पुग्न प्रेरित गर्छ । सभ्यताको विकाससंगै केही नयां संस्कार पनि थपिएका छन् । मानिसहरुले जन्म दिवस र विवाह दिवसको संस्कार मनाउन थालेका छन् । त्यसलाई मनाउंदा हिन्दु परम्परा अनुसार नै त्यो सार्थक र दिगो हुन्छ भन्ने कुरा ध्यानमा राख्नु पर्छ । उदाहरणका लागि जन्म दिवसमा बत्ती निभाउने युरोपियन परम्परा नेपाली समाजमा अशुभ मानिन्छ । त्यसैले अष्ट चिरंजीवीको पूजा गर्दै रातभरि ठूलो बत्ती बालेर नै जन्म दिवस मनाउनु उचित हुन्छ । संस्कार गराउंदा आफु पनि शुद्ध रहनु पर्छ र पुरोहित पनि शुद्ध आचरणको व्यक्तिलाई लिनु पर्छ । अन्यथा संस्कारले दिनु पर्ने प्रतिफल प्राप्त हुने छैन ।

संस्कार संख्या[सम्पादन गर्ने]

जन्मदेखि मृत्युसम्ममा पूरा गरिने हिन्दू संस्कारलाई समाजशास्त्रीहरूले विभिन्न वर्गमा विभाजन गरेका छन्।गौतम सुत्रानुसार संस्कार -४० वटा हुन्छ|मनु एवं याज्ञवल्क्यले १३ संस्कार(गर्भाधान, पुंसवन, सीमंतोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, उपनयन, केशांत, समावर्तन, विवाह र श्मशान)मा सीमित गरेका छन| गौतम सुत्रले ब्याख्या गरेको ४० संस्कार देहाय बमोजिम छन | १ गर्भाधान, २. पुंसवन, ३. सीमंतोन्नयन, ४. जातकर्म, ५. नामकरण, ६. अन्न प्राशन, ७ चौल, ८. उपनयन, ९-१२. वेदमा वर्णित चार व्रत, १३. स्नान, १४. विवाह, १५-१९ पञ्च दैनिक महायज्ञ, २०-२६सात पाकयज्ञ, २७-३३सात हविर्यज्ञ, ३४-४० सात सोमयज्ञ।
सामान्यतया सोह्र संस्कार मानिन्छ ।
सबै सोह्र संस्कारहरु यस प्रकार छन्

  • १. गर्भाधान
  • २. पुंसवन
  • ३. सीमन्तोन्नयन
  • ४. जातकर्म
  • ६. छैठी
  • ७. नामकरण
  • ८. अभि निष्क्रमण
  • ९. अन्न प्राशन
  • १०. चूडाकर्म
  • ११. कर्णवेध
  • १२. यज्ञोपवीत
  • १३. केशान्त
  • १४. समावर्तन
  • १५. विवाह
  • १६. अन्त्येष्टि


जसमध्ये चार प्रचलित छन् नामकरण,
यज्ञोपवीत,
विवाह,
मृत्यु
अचेल जन्म दिन र विवाहोत्सव संस्कारको रुपमा रुढ भइसकेको छ ।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

वासु बराल, हिन्दू सामाजिक सङ्गठनको रूपरेखा, साझा प्रकाशन, २०४४, (पृष्ठ ३९)

  • [१] संस्कार - राष्ट्रिय कला केन्द्र