असारे गीत
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ। नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ। रोपाईंका बेला कृषकहरूलाई कामको भ्याईनभ्याई हुन्छ। तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन।जसले थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ। खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ।
असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ। असारेलाई पूर्वी भेगमा 'रसिया' भनिन्छ भनि पश्चिमाञ्चलतिर 'काँठेभाका' भनिन्छ। लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ। यस भाकाका फाँकीहरू १६/१६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी यो भाका गाइन्छ। असारे भाकाले थकित वातवारणलाई आनन्ददायी र रोचक बनाइदिन्छ।[१]
विषयसूची |
पूर्वी नेपालको असारे गीत [सम्पादन गर्ने]
- रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
- हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
- असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा
- बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा
कर्णाली क्षेत्रको असारे गीत [सम्पादन गर्ने]
कर्णाली क्षेत्रमा असारे गितलाई स्थानिय भाषामा "अवाली" भनिन्छ। कर्णाली क्षेत्रका असारे गीतहरू यस प्रकार छन् :-
- कठै-छुपु छुपु रोपी ल्याऔँ सिउँती सेरा अ
- बडिमाईका थान चढेइ मोती मेराइ अ
- कठै-बाट डिलबाट भिता काट्यो तरिस
- बाँची रहे हली बाउसे लाखै बरिष
काठमाडौँ उपत्यका [सम्पादन गर्ने]
यहाँ गाइने असारे गीत लेग्रो तालेन गाइन्छ। गीतको पहिलो फाँकी झिके पछि बीचमा अनुप्रासका टुक्का मिलाई अनि मात्र अन्तिम टुप्पो वा फाँकी भन्ने गरिन्छ।
- सिरी पशुपति सिरी गुजेश्वरी उहीमाथि आर्जेघाट,
- बाला जीवनको हातको माला सुक्यो कैले होला भेटघाट
- तेन्जिङ शेर्पा- हिमाल चढ्यो भन्छन्, कैले होला भेटघाट।
- काफल पाक्यो, कोइली डाक्यो, नागार्जुनको बनैमा
- शिरको फूल शिरमै सुक्यो, आधा सुक्यो मनैमा
- हरेराम राम हिउँदको घाम आधा सुक्यो मनैमा
थुप्रै कवि, साहित्यकारले पनि असारलाई आˆना काव्यमा उतारेका छन्। संस्कृतका, महाकवि कालिदासले त 'आषाढस्य प्रथम दिवसे' भनेर नै मेघदूतमा आˆना भाव रोचक रूपमा प्रस्तुत गर्ने सुरू गरेका छन्। त्यसबाहेक महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल लगायत थुप्रै लेखक कविले विभिन्न कोठाबाठ असारलाई विश्लेषण गरेका छन्।
केही असारे गीतका नमूना [सम्पादन गर्ने]
- न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार,
- पूरबै ढोका खोलेर हेर्दा लागेछ असार
- असारमासको चीजको वस्तु पाकेको खुर्सानी,
- एक चरन असारे भन्देउ राजै सम्झाउनी विर्साउनी
- असारे मासूको दबदबे हिलो छि मलाई घिन लाग्यो
- पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो।
- असारे भाकामा प्रेम, वियोग, व्यथा, पीडाका
- साथै हस्य रस पनि पाउन सकिन्छ।
- असारलाई भनी कुटेको च्युरा म कति साँचूला,
- सौताका हात दुइ कुड्की भात म कति बाँचूला
- जुत्ता है सिउने सार्की दाजु फूल भिने सर्किनी,
- डाँडै र काटी गएको म त मायाले फर्के नि।
- बाटो है माथि बाटो है तल बूढो नि खरायो,
- रोपाहार रानी रोप्दै थिए बाउसे नै हरायो
अर्को गीत [सम्पादन गर्ने]
- खोल्सा र खोल्सी बाढी है आयो बर्षाको बेलैमा
- कांधमा हलो हातमा जुवा लागी हुन मेलैमा
- मै पनि जान्थें हल गोरु साउनु बेंसीको खैतैमा
- लैबरी भाखा गाएको सुन्थें डाँडा र पाखैमा
- धानको बिउ हातमा लिइ रोप्दी हुन छुपु छुपु
- आलीमा बसी गहुँको रोटी खादी हुन् कुपु कुपु
- तारे र माले गोरुले पनि खोज्दै होला खै हली भनेर
- रात भरी पाले बस्दैछ हली डलर सम्झेर
- बट्टामा भात झोलामा लगाई डलरको खेतीलाई
- कठुवामा जांड मकैको खाजा धनको खेतीलाई
तनहूँको असारे गीत [सम्पादन गर्ने]
- भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार...
- हनुमान ढोका उघारी हेर्दा लागेछ असार
- 'छुपुमा छुपु खेतमै रोपु, हातको बिउ छउन्जेल
- जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल'
- 'असारै खाउला दुधिलो मकै, साउने खाउला खीर
- घरमा छैन शितलु बचन, मनमा छैन थीर'
सन्दर्भ सामग्रीहरू [सम्पादन गर्ने]
- ↑ http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=743&cat_id=21 असार महिनाका तीन विशेषता गोरखापत्र
- ↑ http://www.shrijana.com/000/?p=4448 असारे गीत अनलाइन नेपाली साहित्य
- ↑ http://www.nagariknews.com/news-highlights/139-highlights/42732-2012-06-28-13-46-49.html हराए असारे भाका र टुक्का नागरिक दैनिक