गणेशमान सिंह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गणेशमान सिंह

लौहपुरुष गणेशमान सिंह
जन्म १९७२ कार्तिक २४
काठमाडौं, यट्खा टोल
मृत्यु २०५४ असोज २
अन्य नाम हिराकाजी
जातीयता नेवार
नागरिकता नेपाली
पेशा राजनीतिज्ञ
प्रशिद्ध कार्य जनाअन्दोलन २०४६को नेतृत्व
उपाधि फादर अफ डेमोक्रेसी
सर्वमान्य नेता
लौह पुरुष
राजनीतिक दल नेपाली काँग्रेस
धर्म हिन्दु
जिवनसाथी मंगलादेवी सिंह
सन्तान प्रदीपमान सिंह
प्रकाशमान सिंह
डा. मीना सिंह
कान्ता मानन्धर
रीता बैद्य
मातापिता ज्ञानमान सिंह
सुभद्रा कुमारी
पुरस्कार पिसरन पुरस्कार-१९९०
मानवाधिकार पुरस्कार-१९९३
उ थान्त शान्ति पुरस्कार

गणेशमान सिंह(वि.सं. १९७२-२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए। काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए। भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए। भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ। २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षनिरन्तर काराबास भोगे। त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहे।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए। [१]

बाल्यकाल र शिक्षा[सम्पादन गर्ने]

गणेशमान सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो। गणेशमान, सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र थिए। गणेशमान सिंह नाम राखिएको भए पनि परिवारले पुलपुल्याएर उनलाई 'हीराकाजी' भन्ने गर्थ्यो। टोल, छिमेकी र दौंतरीहरूबीच उनी दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजी कै नामले परिचित थिए। आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमा निधन भएकाले गणेशमानको लालन-पालन जेठा बाजे सरदार रत्नमानबाट भएको हो। सरदार रत्नमानको पदोन्नति हुँदै काजी र बडाकाजीसम्म भए। रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन सम्पन्नता र ठाँटबाँठमा बितेको थियो। [२] दरबार हाइस्कूलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं. १९८४मा विद्यालयबाट निस्कासित गणेशमान बहिदारको पदमा सरकारी सेवामा प्रवेश गरे। राणाको दरबार अगाडि साइकल कुदाएका कारण पनि सिंहले सजाय भोग्नुपर्‍यो। उनको आफ्नो स्वाभिमान गिराउन नचाहने प्रवृत्तिले बहिदारको सेवा त्याग गरी उनी कोलकाता गए र सन् १९३९मा प्रथम श्रेणीमा मेट्रिक (एसएलसी) पास गरे। त्यसपछि कोलकाता कै विद्यासागर कलेजमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को अध्ययन सु्रु[२] गरेका सिंह राजनीतिमा प्रवेश गरे।

राजनिति[सम्पादन गर्ने]

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको गणेशमान सिंह भवन: यस भवनमा बालरोग सम्बन्धि सेवा सञ्चालनमा छ।

अध्ययनकै बेला भारतबाट नेपाल आएका बेला वि.सं. १९९७ सालमा नेपालको जेठो राजनीतिक दल राष्ट्रिय प्रजापरिषदको सदस्यताबाट उनको नेपालमा राजनीतिक जीवनको सुरूवात भयो। तर प्रजापरिषद सदस्यता लिएको दुई हप्तापछि अर्थात् र वि.सं. १९९७ असारमा नै उनको मंगलादेवी सँग विवाह भयो। यो विवाह गर्न जेठा बाजे र आमाले सिंहलाई आग्रह गरेका थिए। तर उनको गिरफ्तारी विवाह पश्चात् वि.सं. १९९७ कात्तिक महिना (सन् १९४० अक्टोबर)मा भएको थियो। तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड दियो। उनीसँगै जेल पर्नुभएका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो। जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन। २००१ साल वैशाख (सन् १९४४) का एक रात भद्रगोल जेलको पर्खाल नाधेर उनी कैदमुक्त भए। जेलबाट भागेपछि उनी कृष्णबहादुर प्रधानका नाममा राणाविरोधी अभियान चलाउँदै राणाशासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, कोलकाता, बनारस र लाहौर पुग्नुभयो। यसक्रममा उनको कोलकातामा वि.पी. कोइरालासँग २००१ सालमा सम्पर्क भयो। विश्वेश्वरसँग मिलेर उनले २००३ साल माघ १२ गते (सन् १९४७ जनवरी २५ मा) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल (सन् १९५० अपि्रल)मा नेपाली काँग्रेस बन्यो। उनी नेपाली काँग्रेसको संस्थापक नेता बने। २००७ सालामा क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो। उनलाई शारीरिक यातना दिइयो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हाले।

२००८ सालमा नेपाली काँग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे। २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए। उनले २०१४ सालको भद-अवज्ञा आन्दोलनलाई नेतृत्व दिए। २०१५ सालको प्रथम संसदीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँको सांसद् पदमा विजयी भए। वि.पी. कोइरालाको नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले।

२०१७ साल पुस १ गते (सन् १९६०)को दुभाग्यपूर्ण घटनापछि सिंह लगातार आठ वर्ष (२०२५ सालसम्म) सुन्दरीजल जेलमा थुनिए।[३] जेलमुक्त भएपछि उनी निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गए। मेलमिलापको नीति लिएर वि.पी. कोइरालासँग २०३३ साल (सन् १९७६)मा स्वदेश फर्किएका सिंहलाई विमानस्थल मै गिरफ्तार गरियो। उनमाथि राजकाज मुद्दा चलाइयो र फाँसीको माग गरियो। २०३४ सालमा भारतको पटनामा भएको काङ्ग्रेस सम्मेलनमा पार्टीको नेता निर्वाचित भए। जनमत संग्रहमा निःशर्त सहभागी हुने कुरामा वि.पी. कोइरालासँग मतभेद पनि भएको थियो। २०३९ साल (सन् १९८२)मा वि.पी. कोइरालाको देहावसान पश्चात उनी नेपाली काँग्रेसको सर्वोच्चनेता भए। २०४२ साल (सन् १९८५)मा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गरे। त्यसबखत पनि जेल सजाय भोग्नुपरेको थियो।

२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौँको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित नेपाली काँग्रेसको सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे। २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो। तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो। गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो। जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४५ साल चैत्र २६ गते) भएपछि चैत्र २७, २०४६ साल काठमाडौँको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई 'फादर अफ डेमोक्रेसी'को रूपमा सम्मानित गरियो। जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन राजा बीरेन्द्र आग्रह हुँदा सिंहले अस्वीकार गरे। २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८)मा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे। नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार-१९९० तथा मानवाधिकार पुरस्कार-१९९३ एवम् संयुक्त राष्ट्र संघका भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित 'ऊ थान्त शान्ति पुरस्कार' बाट उनी सम्मानित भए।

त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडी रहेको गणेशमानसिंहको शालिक

२०४९ सालमा नेपाली काँग्रेसको झापा जिल्लाको कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालासँग उनको मतभेद हुन पुग्यो। २०५१ साल भदौमा उनले नेपाली काँग्रेस छाडे। तर कांग्रेसले उनलाई कहिल्यै छाडेन। प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल नेपाली काँग्रेसको पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो। २०५३ साल वैशाखको नेपाली काँग्रेसको नवौँ अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो।

२०५३ साल भदौ १० गते उहाँकी धर्मपत्नी मंगलादेवी सिंहको निधन भयो। उनको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो। सरकारले तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गर्‍यो। श्री ५को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो हो। स्व. सिंहका दुई छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र रीता वैद्य हुन्। काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख पीएल सिंह भने नेता सिंहका धर्मपुत्र हुन्। उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ। [४]

उनलाइ आन्दोलनको क्रममा समातिएपछि उनको गुद्दद्वारमा लौरो घुसाउने अत्याचार गरिएको थियो भनेर भनिन्छ जसको कारण उनलाइ हरेकदिन शौचक्रियामा बाधा हुने गर्दथ्यो। जनआन्दोलन पश्चात उनले राजा बीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई आश्विकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाए। उनलाइ लौहपुरुषको संज्ञा / उपाधी पनि दिइएको थियो।

बाहिरी कडीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]