नेपालको झण्डा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपालको राष्ट्रिय झण्डा
Flag of Nepal - rectangular variant

नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो र दुई मात्र चारकुने आकार नभएको सरकारी झण्डा मध्येको एक हो। (अर्को झण्डा चाहिँ संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो)

झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरा जनाउछ। नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।

नेपाली राष्ट्रिय-झण्डाको इतिहास[सम्पादन गर्ने]

सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झ्ण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे। लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झ्ण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ।

नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झ्ण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झ्ण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएकै छ। हाम्रा सम्पूर्ण वैदिकवाङ्मय सूर्य तथा चन्द्रका गुणगानले भरिभराउ छन्। पहिलेका राजाहरूले आफ्नो राजवंशलाई सूर्य-वंश वा चन्द्र-वंश मान्दै आएका थिए। वि.सं. ७९२ (संवत् १५९)मा राजा जयदेव (द्वितीय)ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु-कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन्।

लिच्छवि राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झ्ण्डामा पनि सूर्यको आकृति नै अङ्कित गराएको हुनुपर्छ। त्यतिवेलाका भारतीय राजाहरूले आफ्ना झ्ण्डाहरूमा उच्चताको प्रतीकका रूपमा गरुड वा हनुमानका चित्रहरू अङ्कित गराउँथे। त्यसैले उनीहरू हनुमद्-ध्वज वा गरुड-ध्वज भनेर चिनिन्थे। लिच्छविकालमै नेपालको राजसत्तामा आएका आभीरवंशी अधिनायकहरूले आफ्नो वंशलाई सोम-वंश वा चन्द्र-वंशको रूपमा चिनाउँथे। आभीर अधिनायक विष्णुगुप्तद्वारा वि.सं. ६९० (संवत् ५७)मा प्रसारित अभिलेखमा आफूलाई सोमान्वय-भूषणः अर्थात् चन्द्रमाको वंशका गहनाजस्ता भएर रहेको उल्लेख गरेका छन्। मल्ल राजाहरू पनि लिच्छविजस्तै आफ्नो राजवंशलाई सूर्य-वंश मान्ने हुनाले उनीहरूले पनि ध्वजमा सूर्यलाई नै अङ्कित गरे होलान्।

प्राचीन नेपालका राष्ट्रिय ध्वजाहरूको आकृति र रङबारे पनि निश्चित भन्न सकिँदैन, राजाहरू प्रायः देवीका उपासक हुने गरेकाले झ्ण्डामा रातो रङ नै प्रयोग गरे होलान् भनेर अनुमान गर्न चाहिँ सकिन्छ। मल्लकालका भवन र मन्दिरका ढोकाहरूमा दुईतर्फ दुई पताका भएका धातुका केतु वा झ्ण्डा टाँगिएका पाइन्छन् जसले नेपालका प्राचीन झ्ण्डाहरूको आकार सङ्केत गर्छन्। यस्ता झ्ण्डामध्ये केहीको माथिल्लो पताकामा राष्ट्रको प्रतीक सूर्य वा चन्द्रमा र तल्लो पताकामा सम्बद्ध देव वा देवीका प्रतीक-चिह्नहरू पाइन्छन्।

वर्तमान नेपालको राष्ट्रिय-झ्ण्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेकोमा सन्देह छैन। गोरखाली राजाहरू आफूलाई चन्द्रवंशीय सम्झ्न्थे। गोरखालाई मल्ल राज्यहरूमा मिलाएर अन्य राज्यहरूलाई पनि एकीकरण गरी नेपाल-अधिराज्य बनाएपछि जातीय समन्वयको रूपमा दुईवटा पताका भएको राष्ट्रिय-झ्ण्डाको परिकल्पना गरिएको थियो। मुद्रा र छापहरूमा रातो रङ प्रयोग हुने भएकाले त्यस्ता छापहरूलाई लालमोहर भनियो। पृथ्वीनारायणले प्रचलनमा ल्याएको चन्द्र-सूर्याङ्कित झ्ण्डा पनि रातो नै थियो होला। चन्द्रमाको ज्योति मलिनो र सूर्यको प्रकाश चर्को हुने भएकाले पौराणिक मान्यताअनुसार आकाशमा चन्द्रमा माथि र सूर्य तल मानिँदै आएका छन्। नेपालको राष्ट्रिय झ्ण्डामा त्यही मान्यता कायम भएको हो। पृथ्वीनारायण शाहका अनुयायीहरू यही झ्ण्डा बोकेर एकीकरण अभियानमा निस्किएका थिए। पृथ्वीनारायणदेखि सुरेन्द्रविक्रम शाहको राज्यकालसम्म राजभवनमा चन्द्र-सूर्याङ्कित झ्ण्डा नै फहराइन्थे। प्राइममिनिस्टर जङ्गबहादुर कुँवर राणाले कास्की र लमजुङको श्री ३ महाराज पदवी ग्रहण गरेपछि आफ्नो भवनमा ध्वजा समातिरहेको सिंहको आकृति बनाएका थिए। उनका भाइ प्राइममिनिस्टर रणोद्दीपसिंह कुँवर राणाको प्रशासनकालसम्म राणा प्रधानमन्त्रीका महलहरूमा सिंह-ध्वजा नै फहराइन्थे।

राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्यवीरविक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वीवीरविक्रम शाहलाई सुरक्षाको बहानामा प्राइममिनिष्टर रणोद्दीपसिंहले नारायणहिटी नजीकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्राइममिनिस्टर वीरशमशेर कुँवर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ।

वि.सं २००७मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झ्ण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झ्ण्डाको रूपमा स्वीकार गरिएको हो। विश्वरङ्गमञ्चमा आज यही झ्ण्डा विशिष्ट सानका साथ फहराइरहेको छ। [१]

नेपाली राष्ट्रिय-झण्डाको पुनरावलोकन[सम्पादन गर्ने]

विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त यस्तै थियो। तर, मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउँथे। सरकारी कार्यालयमै पनि फरक-फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउँथे, कसैले तल्लो भागको। लम्बाइ, चौडाइ र उचाइमा एकरूपता थिएन। कसैले चन्द्रमा एक ढाँचाको बनाउँथे भने अर्कोले सूर्य अर्कै ढाँचाको। कतिसम्म भने चन्द्रमा र सूर्यमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे।

त्यतिबेलासम्म यो झन्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झन्डा राष्ट्रिय झन्डाका रूपमा प्रयोग भइरहेको थियो। सबैतिर यही झन्डा फरफराइरहेको थियो।

यत्तिकैमा ०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो भनेको ३, ४ र ५को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भनिन्छ। त्यसभन्दा राम्रो अनुपात अरू हुन सक्दैन। हरेक मानिस आफ्नो राष्ट्र अनन्त कालसम्म दिगो रहोस् भन्ने चाहन्छ। यसमा त्यही अभिप्रायः अन्तरनिहित छ।

चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखेँ। त्यसैले पनि हाम्रो झन्डा ज्यादै अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ। यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढंगले विचार पुर्‍याइएको थियो। संसारमै यस्तो मोडेलको झन्डा अरूको छैन।

पहिले चन्द्रमा तल र सूर्य माथि राखिएको थियो। शाहवंश आफू चन्द्रवंशी भएकाले चन्द्रमा माथि र सूर्य तल राखे भन्ने भनाइ पनि पाइन्छ। कतै कतै यो लिखित रूपमा पनि रहेको छ। मलाई त यो ज्यादै हास्यास्पद लाग्छ। किनभने, नेपालको झन्डामा चन्द्र र सूर्य राख्न थालेको सूर्य र चन्द्रवंशीका पालामा होइन। जतिबेला ती वंशको अस्तित्व नै थिएन, हाम्रो झन्डामा सूर्य र चन्द्र अङ्कित थिए। हाम्रो झन्डा त ज्यादै प्राचीन हो।

मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। राष्ट्रिय चिन्हहरूले मुलुकको परम्परा, भेषभूषा र रहनसहन एवं सांस्कृतिक पहिचानलाई विचार गरेको हुन्छ। विभिन्न मुलुकको भ्रमण गर्दा मैले देखेको कुरा पनि त्यही हो। कतिपय इस्लामिक देशका झन्डामा चन्द्रमा देख्न सकिन्छ। त्यसैगरी, बौद्ध धर्ममा चन्द्रमा र सूर्यको आफ्नै ढंगले व्याख्या गरएिको छ। त्यसैले यो कुनै अमुक जातजाति र धर्मविशेषको होइन, सम्पूर्ण मानव जातिको प्रतिनिधित्व गर्ने चिन्ह हो। [२]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

विश्वकै सबैभन्दा गणितीय झण्डा (यूट्यूब भिडियो)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]