मनसुन
मनसुन ऋतुअनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्छ। मनसुनी वायु समुद्रबाट बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ। तसर्थ यो वायु बहँदा विभिन्न स्थानमा वर्षा हुन्छ। स्थान अनुसार मनसुनको वायुचक्र बेग्ला बेग्लै समयमा रहन्छ|
- अफ्रिकी मनसुन
- उत्तर अमेरिकी मनसुन
- पूर्वी एसियाली मनसुन
- दक्षिण एसियाली मनसुन
- उत्तर पूर्वी भारतीय मनसुन
- युरोपीय मनसुन
मनसुन दक्षिण एसियाको एउटा महत्त्वपूर्ण वायुमण्डलीय प्रणालीको रूपमा रहेको छ। नेपालमा प्रवेश गर्ने मनसुनी वायु दक्षिण एसियामा बहने ग्रीष्मकालीन मनसुनको एक अंश हो। गर्मी यामका बेला दक्षिण एसियाको भूभाग र यससँग जोडिएको समुद्री भाग जस्तै बंगालको खाडी, अरब सागर र हिन्द महासागर असमानुपात ढंगबाट तात्ने कारणले गर्दा दक्षिण एसियामा मनसुनको सुरुवात हुने गर्छ। गर्मीयाममा दक्षिण एसियाका भूसतह समुद्री सतहको तुलनामा छिटो र बढी तात्ने हुनाले भूसतहको संसर्गमा आउने हावा तातो भई माथि तिर उठ्छ जसले गर्दा दक्षिण एसियाको विभिन्न भाग न्यून वायुमण्डलीय चापमान मै रहन्छ। ठीक यसै बेला समुद्री सतह भू-सतहभन्दा ढिलो र कम तात्ने कारणले गर्दा समुद्रमा उच्च वायुमण्डलीय चापीय केन्द्र हुन्छ। हावा जहिले पनि उच्च वायुमण्डलीय चापीय क्षेत्रबाट न्यूनतिर बहने प्राकृतिक स्वरूपअनुरूप सो क्षेत्र हिन्द महासागरबाट न्यून क्षेत्र दक्षिण एसियाको विभिन्न भागमा जोडदार हावा बहिनी थाल्छ, यसलाई मनसुन भनिन्छ।