खम्पा विद्रोह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खम्पा - तिब्बतको खाम क्षेत्रका बासिन्दालाई उनीहरूको भाषामा खम्पा भनिन्छ

खम्पा विद्रोह चीनले तिब्बतको सार्भभौमिकता लिईसकेपछि स्वतन्त्र तिब्बतका लागि मुख्यतया नेपाली भूमीबाट भएको सशस्त्र बिद्रोह थियो। तिब्बतको खाम क्षेत्रका बासिन्दालाई उनीहरूको भाषामा खम्पा भनिन्छ। विसं '२०को दशकको बेला चिनियाँ फौजसँग लड्न तालिम र सेल्टरका लागि खम्पाहरू अवैध रूपमा मनाङ आएका थिए। सन १९७४मा नेपाली भूमि प्रयोग गरी तिब्बती खम्पाहरूले चिनीया सेना विरूद्ध गुरिल्ला युद्ध शुरू गरे । मनाङमा उनीहरूको गाउँका गाउँ घरजम नै थियो। यहाँ तालिम लिएपछि उनीहरू लड्न मुस्ताङ पुग्थे।

सैनिक गतिबिधि[सम्पादन गर्ने]

खम्पाहरू बिहान च्याकुबाट झुनाम, झुनामपाङ्त्यी, गाङ्र्‍यानको लेक भएर च्याकुसम्म दौडेर सैनिक अभ्यास गर्थे। उनीहरूले झुनाममा सैनिक पोस्ट बनाएका थिए। च्याकुमा सभाकक्ष, कार्यालय, गोदाम र सैनिक निवास गरी १० वटा भवन बनाइएको थियो। त्यसैगरी, उपल्लो मनाङको भ्राताङ क्षेत्र पनि उनीहरूकै अधीनमा थियो। उनीहरू नारफूमा रहेका खम्पाभन्दा अनुदार थिए। तल्लो मनाङबाट उपल्लो मनाङ जाने मूल बाटोमा उनीहरूले सैनिक क्याम्प राखेका थिए। आवतजावत गर्ने स्थानीयलाई पनि खानतलासी गर्थे। त्यसबेलाका प्रत्यक्षदर्शीका अनुसार सैनिक अभ्यासका बेला बाटो हिँड्न दिँइदैन्थ्यो। उनीहरू यहाँका भीर, पहरामा दौडेर अभ्यास गर्थे। जंगली जनावर मारेर सखापै पारेका थिए। आसपासका स्थानीयबासीसँग पनि उनीहरूको पानी बाराबार थियो।

अन्य गतिबिधिहरू[सम्पादन गर्ने]

त्यसबेला मनाङको नार-फू उपत्यका र भ्राताङ गाउँ क्षेत्र खम्पाहरूको नियन्त्रणमा थियो। उनीहरूले भ्राताङ, च्याकु, झुनाम, क्याङ र मु्रँचलाई आफ्नै बस्तीका रूपमा विकास गरेका थिए। यस क्षेत्रमा मनाइने ल्होसार, घोडेजात्रा, तीरजात्रालगायतका चाडपर्व उनीहरू स्थानीयसँग मिलेर मनाउँथे। धेरैजसो पर्व मनाउने चाँजोपाँजो भने खम्पाहरू नै गर्थे।

खम्पाहरूले खेर गएको भिरालो जमीनलाई बारी र गह्राका रूपमा विकास गरेर गहुँ, करुफापर फलाएका थिए। उनीहरू काठको डुँडबाट पानी ल्याएर सिँचाइ गर्थे। क्याङमा फलाएको अन्न खम्पाहरूलाई मात्र नभएर नार र फू दुवै गाविसमा आपूर्ति गरिन्थियो। उनीहरू मुस्ताङ र उपल्लो मनाङमा रहेका आफन्तलाई समेत उपहारका रूपमा पठाइदिन्थे। नारमा केही उत्पादन भयो भने खम्पाहरूलाई बिक्री गरिन्थियो। खम्पाहरूले गाउँलेलाई बिनाब्याज ऋण दिएर सहयोग गर्थे। काममा पनि सहयोग आदान-प्रदान हुन्थ्यो।

यातायातका लागि उनीहरूले झोपा|, घोडा, खच्चड र याक पालेका थिए भने मासुका लागि भेडा, च्याङ्ग्रा। खम्पाहरूले यहाँ धेरथोर विकासका काम पनि गरे तर उनीहरूले त्यो आफ्जो सहजताका लागि गरेका थिए। जस्तो: म्यातादेखि नार तथा फूसम्मको बाटोलाई व्यवस्थित गरे। यहीँबाट मुस्ताङ जाने बाटो बनाए। म्रुँच र झुनाम खोलामा काठको पुल हाले। म्रुँच खोलामा त अझै त्यही पुल मर्मत गर्दै प्रयोग भइरहेछ।

खम्पाहरूले झुनाम खोलामा बनाएको पुल हाल चल्तीमा रहेको बाटोभन्दा निकै तल भएकाले प्रयोग गर्न सकिने अवस्थामा छैन। फू आवतजावत गर्नका लागि बिहानको ११ बजेभन्दा अगाडि नै खोला तरसिक्नुपर्छ, नत्र हिउँ पग्लेर खोला ठूलो हुने भएकाले दिउँसो बगाउन सक्छ। फू गाउँका पेम्बा लामा भन्छन्, "खम्पाहरू गएपछि उनीहरूले बनाएको म्यातादेखि क्याङ्सम्मको हालको चल्तीको बाटो मर्मत सम्भारमा समेत सरकारले चासो देखाएको छैन।"

खम्पा निससस्त्रीकरण[सम्पादन गर्ने]

नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाइ गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछी चीन सरकार तथा अन्तराष्ट्रिय समुदायको अनुरोधमा शाही नेपाली सेना परिचालन गरियो । ९ वटा स्थल सैनिक बटालीयन (गण) (हेलीकोप्टर सपोर्ट साथ ) हरूका युनिटहरू खम्पा हरूको पोष्ट मुस्ताङ पुगे र तिनीहरूलाई आत्म समर्पण गर्न समय सिमा तोकी दिए । हतियार त्यागी आत्मसर्मपण गर्नेहरूलाई नेपालको नागरीकता समेत दिइने जानकारी गराइयो , खम्पा कमान्डर वाङदी सर्मपण गर्न तयार भए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुदै भागे । पछि नेपाल प्रहरीको एक चौकी लुटदै गर्दा शाही नेपाली सेना बाट डोटीमा मारिए । यो नै पहिलो अवसर थियो जसमा शाही नेपाली सेना आन्तरीक सुरक्षामा यती ठूलो संख्यामा परिचालन भएको थियो

विसं ०३२ तिर खम्पाहरूलाई यहाँबाट पोखरा सारियो। खम्पाहरूलाई यहाँबाट अन्यत्र सारेपछि उनीहरूले प्रयोग गर्ने एउटा बङ्कर सम्झनाको रूपमा रहेको छ भने अरू सबै कुरा निमिट्यान्न भएका छन्। च्याकुमा खम्पाले बनाएका घरहरू हाल नार गाउँलेले र क्याङ्मा खम्पाले बनाएका ३५ घर फूबासीले प्रयोग गररिहेका छन्। यी घर हिउँदमा अन्नपात तथा बस्तुभाउ राख्नका लागि उपयोग गरिन्छ। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]