जीवनको छेउबाट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जीवनको छेउबाट
Cover of 'JeevanKo ChheuBaata.jpg
लेखकसुमन पोखरेल
आवरण कलाकारसुमन पोखरेल
देशनेपाल
भाषानेपाली
प्रकारकविता
प्रकाशकवाणी प्रकाशन
प्रकाशन मिति
२०६६
Published in English
2009
पृष्ठहरू१२०

जीवनको छेउबाट कवि सुमन पोखरेलद्वारा लिखित कविताहरूको एक कवितासङ्ग्रह हो ।[१] यस सङ्ग्रहमा बयालीस वटा आधुनिक नेपाली कविताहरू सङ्ग्रहित रहेका छन् । यो पुस्तक २०६६ सालको जयेन्द्र वर्षको उत्कृष्ठ पुस्तकका रूपमा पुरस्कृत भएको थियो । [२] [३]

पुस्तकको भूमिकामा समालोचक अभि सुवेदीले यस पुस्तकका समाविष्ट कविताहरूलाई वैकल्पिक आधुनिकताको सिद्धान्तबाट व्याख्या गरेका छन्‌ । यस सङ्ग्रहभित्रका धेरै कविताहरू अङ्ग्रेजी भाषामा अनुदित भएर अन्तर्राष्ट्रीय साहित्यिक पत्रिकाहरू तथा सङ्ग्रहहरूमा प्रकाशित भएका छन् । [४] [५]

यस सङ्ग्रहमा सङ्ग्रहित आगाले भिजेको आकाश शीर्षकको कविताको व्याख्यामा अभि सुवेदी लेख्छन्,- 'त्यो कविपात्रको उक्ति सामर्थ्य नै सिर्जनाले बनिएको छ । उसको खोजीमा जेन चित्रकार र कविका जस्ता सहज र वोधगम्य बिम्बहरूका नाटकीय खेलहरू हुन्छन् । त्यो खोजमा परमआनन्द बुझाउने क्षणहरूका आभाष पाइन्छन् । यस्ता क्षणहरू जसको प्रयोग गर्दा कविपात्र विचलनमा परेको छैन । त्यहाँ निजत्व छ तर त्यो निजत्व एक खोजीको रूपक भएकोछ । त्यसको पछिल्तिर एउटा चाहनाको आकाश छ ।[६] अर्को कविता केटाकेटीको समीक्षा गर्दै भरतीय लेखिका अनुजा घोष लेख्छिन्, "सुमन पोखरेलको कविता 'केटाकेटी'ले पाठकको चेतनामा कोमलता भरिदिन्छ । कविले बालकको निश्छलतालाई प्राकृतिक विम्वहरूका माध्यमबाट व्याख्यातीत चित्रण गरेका छन् । कविताको अन्त्यमा छोडिएको आलङ्कारिक प्रश्नले पाठकको मष्तिस्कमा एउटा अमिट छाप छोड्दछ ।"[७]

फ्रान्सेली प्रशंसक एन्ड्रिया फर्नान्डिजले यस सङ्ग्रहमा रहेका 'खोरम्पा' र 'व्यस्तता' शीर्षकका दुई कविताका अंश आफ्नो पाखुरामा ट्याटू गराएकी छन् । [८]

कविता[सम्पादन गर्ने]

गर्मी


गर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ,
मानौँ कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाइकन तल नओर्लिने।
हावा यता छिर्न मन गरिरहेको छैन, 
बादललार्इ लिएर गएको छ कतै हनिमुन मनाउन 
त्यसैले पानी पनि पर्न सकिरहेको छैन।
सूर्य भएभरको शक्ति लगाएर घाम बर्साइरहेको छ, 
लादिरहेछ निर्ममतापूर्वक निरीह जीवनहरूमाथि आफ्नो एकोहोरो शासन।
मान्छेको शरीर र मस्तिष्कको सामञ्जस्यलार्इ भत्काइदिएको छ गर्मीले।
सिमसार भएको छ मान्छेको शरीर।
बौलाहा बाढीले जस्तो एकछत्त भिजाएको छ सम्पूर्ण शरीरलार्इ पसिनाले।
उसले छुट्टयाउन सकेको छैन छाला र रौँ,
र मान्छेको विचारलार्इ टाउकादेखि बगाउँदै पैतालासम्म पुर्‍याइदिएको छ।
पसिनाले तानेर जिउमै लपक्क टाँसिदिएको छ 
करैले लगाउनुपरेका लुगाहरू पनि।
आजीवन अभिनयरत मान्छे
गाली गर्दो छ कपडाको आविस्कारकलार्इ।
झ्यालहरू भएर पनि नभएझैँ छन्
कुनै असफल राष्ट्रको सरकारझैँ।
पर्दाहरू हल्लिऊँ कि नहल्लिऊँ भनेर अलमल्ल छन्।
भित्ताहरू नभएको वैमनष्यको तातो फ्याँक्दै सिँगौरी खेल्दैछन्, आपसमा जुधौँझैँ गरेर।
कोठा आफैँमा बौलाएको छ आफैँभित्रको ताप खप्न नसकेर।
ओछ्यान तावाले झैँ राप फ्याँक्दो छ,
उठ्‍दै गरेको मान्छेको जिउमा टाँसिएर भाग्न खोज्दो छ पसिनाले भिजेको तन्ना।
सिलिङ्पङ्खा आजित छ अधिकारविहीन नाम मात्रको कुनै निमित्त हाकिमजस्तै
उँधोमुन्टो झुन्डिएर निरन्तर हप्काइरहँदा पनि गर्मीले टेरपुच्छर नलगाएकामा।
टाउको निहुर्‍याएर अगाडि पर्ने जोसुकैको गाली सुन्दै घुमिरहेछ टेबुल पङ्खा
सरकारी अफिसको कुनै श्रेणीविहीन फाजिल कर्मचारीजस्तै।
बिजुली गएको छ योजनाकारहरूका बैङ्कखातामा लुक्न
र बच्चो रुँदैछ आमाको दूध चुस्न नसकेर गर्मीले।
स्वास्नीमाथि खन्याउँदैछ लोग्ने अनाहक 
असफल योजना र गर्मीको पारो फुटेर निस्किएको असरविहीन तातो झोँकलार्इ। 
स्वास्नीको लागि त्यो झोँक उसले भोगिरहेको गर्मीभन्दा ज्यादा तातो छैन।
उन्मत्त उम्लिरहेछ बाटाको पिच 
मान्छेको धैर्य चर्काउने गरी थपिरहेछ हावामा तातो।
अस्तव्यस्त गफ्फिइरहेछन्
खेत रोप्न नपाएर फुर्सद पाएका आइमार्इहरू रुखमुनि थुप्रिएर।
छेउमा बाँधेको बहर गोरु जान्न उत्सुक छ,
आइमार्इहरूलार्इ जाडोमा मात्र लाज लाग्दोरहेछ कि कसो भनेर।
सम्भ्रान्त भनाउँदा आइमार्इहरूका आफ्नै ऐनामा सीमित केही रहस्यहरू पनि 
द्रुततर गतिमा सार्वजनिक भइरहेछन् गर्मीको निहुँमा।
पसिनाको चिपचिपाहटमा अल्झिएका छन् सबैका सीप र जाँगरहरू।
प्रेमी-प्रेमिकाहरू एकअर्कालार्इ टाढैबाट हेरेर चित्त बुझाउँदै छन्, 
तमाम मोह र आशक्तिभन्दा ज्यादा शक्तिशाली भएर उभिएको छ 
उनीहरूका बीचमा यो प्रचण्ड गर्मीको विकर्षण।
सूर्य आफ्नो वर्चस्व देखाउन तल्लिन छ अझै 
र एकोहोरो चढ्‍दो छ गर्मीको घमण्ड।
यति हुँदाहुँदै पनि विश्वस्त छन् यहाँ बाँचिरहेका एकएक कणहरू 
गर्मीलार्इ पछारेर अवश्य आउनेछ शीतलता भनेर।
अनुभव साक्षी छ,
निर्मम शासन गरेर कोही यहाँ धेरैबेर टिक्न सक्दैन।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Pokhrel, Suman, "Jeevanko Chheubaata", Vani Publication, अन्तिम पहुँच २०१७-०८-०६ 
  2. http://madanpuraskar.org/mpp/view_book_info.php?id=30905
  3. http://pratinidhibelgium.com/new/?p=613/new/?p=613
  4. The Art of Being Human Volume 4, An Anthology of International Poetry, p. 54 Blurb, Canada, ISBN 9781927682432
  5. Ed. K. Satchidanandna and Ajeet Cour: SONGS WE SHARE, Poetry Across Borders". New Delhi: ERA, 2011. p. 88, 179, 255. ISBN 8188703214
  6. सुवेदी, अभि (2013). साहित्य र आमवृत्त. काठमाडौं: मदर पब्लिकेशन, ISBN 978 9937 852531, OCLC 867694631. प॰ १८९. 
  7. Ghosh, Anuja (जनवरी २०१६), A poet to reckon with, Collage Times, पृ: ३३। 
  8. घिमिरे, माधव (१२ जेठ २०१८), "फ्रान्सेली पाखुरामा नेपाली कविता", kantipurdaily.com, अन्तिम पहुँच २०१८-०७-०६