देउकी प्रथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

देउकी प्रथा नेपालमा प्रचलित सामाजिक कुप्रथाहरू मध्येको एक प्रथा हो । नेपालको सूदुरपश्चिमाञ्चलको सेतीमहाकाली अञ्चलमा मन्दिरहरूमा देबी देवताको सेवा गर्न कन्या केटी चढाउने प्रचलन छ । यसरी चढाईएकी कन्या देउकी हुन् भने चढाउने प्रचलन प्रथा हो । महारोग लागेमा, छोरा नभएमा, मुद्दा जित्नु परेमा वा आफ्नो मनोकाङ्क्षा पूरा गर्नुपरेमा, कुनै भाकल पुरा गर्न आफ्नै छोरी वा गरीब परिवारकी अबोध बालिका किनेर देबी देबताको मन्दिरमा चढाउने गरिन्छ। यसरि चढाइएका कन्याहरूको बिवाह गर्न नहुने तर यौन संपर्क गर्न हुने अन्धविश्वास रहेको पाइन्छ । बैतडी जिल्लाको मेलौली देवीको मन्दिर यो प्रथाको केन्द्रविन्दु हो । मन्दिरमा चढाएको सामग्रीहरूबाट मात्र जिविकोपार्जन गर्नु पर्ने भएकोले देउकीहरू देहब्यापार गर्न बाध्य छन् । आजको विकसित समाजमा यो प्रथा निकै ठुलो विकृतिको रुपमा छ । यो प्रथा बालअधिकार विपरित कार्य हो । शिक्षाको विकास र चेतनामा भएको बृद्धका कारण यो प्रथामा केही कमी आएपनि पुरै निर्मुल हुन सकेको छैन ।


देउका /देउकी प्रथाको सुरुवात[सम्पादन गर्ने]

डोटीमाजुम्लाको रैका मल्ल राजा वंशज नागीमल्लले कत्युरी नरेश (राजा)को राज्य बिजय गरेपछि चलाएको “देउकी ” प्रथा र इतिहासकारका भनाई अनुसार प्रा.डा.सूर्यमणि अधिकारी बाइसे राज्यको इतिहास (वि.स.२०६०) पेज २७८ देखि २७९ का अनुसार डोटी राज्यमा राजा नागमल्लका पाला देखि देवदासी चढाउन थालिएको बताईन्छ । स्थानिय विश्वास अनुसार भागेश्वर देवता र राजा नागीमल्ल बीच को ठूलो भन्ने विवाद खडा भयो । नागीमल्लले भागेश्वरलाई तुरुन्त पानी वर्षाउने चुनौती दिए । घडी भरमा चारैतिर वादल उठी घनघोर वर्षा भयो । नागीमल्लको कोट काँम्न लाग्यो, उनका रानीहरू मुर्छा परे, नागीमल्लले पराजय स्वीकार गरी निम्नानुसार भाकल गरे—

  • ए.....सुन जनै तोइव दिउँलो भागेश्वर
  • ए.....चेली चाकर दिउँलो भागेश्वर
  • ए... वेद रुद्री दिउँलो भागेश्वर
  • ए....जालो गावडी दिउँलो भागेश्वर[१]

जुम्लाको रैका मल्ल राजा वंशज नागीमल्लले भागेश्वरलाई चढाएकी केटी नै डोटी राज्यकी प्रथम देवदासी अर्थात् देवकी थिइन् भनिन्छ । उनले रावल थरका दुई कन्या किनेर भागेश्वर देवतालाई चढाएको बताईन्छ । डोटेली समाजमा अद्यापि नेगी, नायक, भुल, खत्रीजस्ता थरका कन्या कामना सिद्धिका लागि संकल्प गरी देवकी बनाई मन्दिरमा अर्पण गर्ने चलन छ । देवकीले आफुलाई चढाएका देवदेबीको मन्दिर लिपपोत र सरसफाई गरी आजन्म अविवाहित रहनुपर्दछ । पुरानो डोटी राज्यमाजुम्लाको रैका मल्ल राजा वंशज राजा नागीमल्लका राज्यकालदेखि देवकी, द्यौकी, देवदासी, देउकीको चलन चलेको अद्यपि कायम छ । डोटेली सामाजमा नेगी, नायक, भुल,पुजारा, खत्री जस्ता थर भएका मानिसहरू पनि बस्छन् । उनीहरूका गोत्र एक आपसमा फरक हुन्छन् तापनि उनीहरूले भाकल गरी छोरी देवी देवतालाई चढाउँछन् । त्यती मात्र होईन अन्य व्यक्तिले पनि उनीहरूका कन्या किनेर देवी देवतालाई चढाउँछन् । द्यौकी पनि दुई प्रकारका हुन्छन् - चढाएकी द्यौकी र ती द्यौकीबाट जन्मेकी वावुको निर्णय नभएको खेलुवा द्यौकी तर ती खेलूवा द्यौकीको विवाह गर्न हुन्छ । खेलूवा द्यौकी बनाउन सकिन्छ । तर खेलूवा द्यौकीबाट जन्मिने केटो “द्यौको”(देउको) हुन्छ । त्यस्ता द्यौकाहरूले आफ्नी आमालाई चढाउनेका घरमा कामधाम गरिदिनु पर्दछ । त्यसरी काम गरिदिए वापत् “खलो“ भनेर एक सुप्पो अन्न दिने चलन छ । विवाह र ब्रतवन्धपर्वमा निजलाई वकसस्वरुप “थितो” भनेर दिने चलन छ । ती देउका तथा द्यौकाहरूलाई कही नायक, कही नेगी, भूल, खत्री र देउचेलो भन्ने चलन छ ।

अन्य क्षेत्रमा देउकी प्रथा[सम्पादन गर्ने]

देवकी प्रथा दक्षिण भारतको तमिलनाडुमा पनि छ । त्यहाँ कन्या केटीलाई मन्दिरको हेरविचार गर्न लगाउने चलन पहिलेबाटै छ । उनीहरूले पनि परपुरुषसँग संसर्ग गर्दछन् । त्यसो गरे वापत् उनीहरूले रकम वा कुनै वस्तु माग्दैनन् । मानौ त्यो उनीहरूको आथित्य हो । उनीहरूबाट जन्मेको सन्तानलाई उच्चजातमा लिने परम्परा छैन । ती नारीहरूले विवाह गर्दैनन् र उनीहरूलाई देवदासी भनिन्छ । देवदासीहरूले त्यहाँ राम्रा राम्रा गीत गाउँछन् र नाँच्छन् । उनीहरूको मुख्य काम मन्दिरको सुरक्षा, झारुबडारु तथा लिपपोत गर्नु हो । त्यस्तालाई मानिसहरू देवताका दासी मान्दछन् । हाल भारतमा देवदासीको परम्परा कानुनले उन्मूलन भएपनि कर्णाटक राज्यको बेलगाउँ भन्ने ठाउँमा एकै वर्षमा हजारौ केटीहरू धलम्मादेवीलाई चढाउने चलन अद्यपि त्यहाँ छ । लतामङगेसकर, उषामङगेसकर जस्ता गायिकाहरूका थर बन्नुको कारण देवदासीका सन्तान भनेरनै हो । नेपालमा बुद्धधर्मावलम्वीहरूमा आफ्ना माहिलो छोरालाई लामा (ढावा) र माहिली छोरीलाई झुमा (झोवा) राखी गोम्पो (गुम्वा)हरूमा पठाउने र विवाह नगराई राख्ने चलन अद्यपि छ । काठमाण्डौको शाक्यकी छोरीलाई कुमारी बनाएर सिंगारपटार गरिन्छ । ती कुमारीले विवाह गर्न हुँदैन भन्ने परम्परा छ । तर ती कुमारीलाई लुकाएर विवाह गर्ने गरिन्छ । कुमारीको विवाह खुलस्त रुपमा गर्ने चलन छैन । माथिका उदाहरणबाट के बुझिन्छ भने बुद्धधर्म मान्नेहरूमा गुम्वा वा देवीका नाममा कन्यालाई प्रयोग गरी समर्पण गरिने चलन रहेछ । अव अर्को प्रश्न उठ्छकी पश्चिम नेपालको डोटी र कुमाउँमा देवदासी प्रथा कसरी शुरु भयो भने, पश्चिम नेपालको पूर्व मध्यकालीन इतिहासको अध्ययनबाट त्यहाँ खस मल्ल राजाहरूले शासन गरेको प्रमाणित हुन्छ । उनीहरू बुद्ध धर्मावलम्वी थिए र पछि हिन्दू धर्मलाई अङ्गीकार गरे । उनीहरूमा पनि देवदासी प्रथा हुनु पर्ने भन्ने अनुमान हुन्छ,तर त्यस विषयक प्रमाणहरू पाइएका छैनन् । त्यती भएर पनि पश्चिम नेपाल र भारतको उत्तराखण्डमा उनीहरूले स्थापना गरेका मन्दिरहरूमा देवकी वा द्यौकीहरू पाईन्छन् । यो विचित्रको कुरा हो ।

देउकी राख्ने समय[सम्पादन गर्ने]

अर्का तिर राजा निरयपालले डोटीमा राज्य गर्दा देवकी पर्थाको चलन भए नभएको थाहा पाइएको छैन, तर उनका उत्तराधिकारी नागीमल्ल खसमल्ल राजाहरूका सन्तान हुनेले देवकी प्रथा शुरु गरेका त होइनन् भन्ने जस्ता शंका र अनुमानहरू उब्जन थालेकाछन् । डोटीमा देवकी प्रथाको आरम्भ नागीमल्लले गरेको भनिन्छ ।

  • डोटीमा प्रचलित भागेश्वर देवताको ढुस्को (वर्णन)मा जुम्लाको रैका मल्ल राजा वंशज राजा नागी मल्ल र भागेश्वर देवताको बीचमा शक्तिसंघर्ष भएको कुरा छ । त्यो तनावमा राजा नागीमल्ल सामाजिक परम्परा र संस्कृतिसँग बुझ्न नसक्दा भागेश्वर देवतालाई दण्डस्वरुप देवकी चढाउने कवोल गरे । [१]
  • “सुन जनै तोइव दिउलो भागेश्वर ,
  • चेली चाकर दिउलो भागेश्वर
  • वेदरुद्री दिउँलो भागेश्वर ,
  • जोलो गावकी दिउँलो भागेश्वर”

देवकीहरु माडौमा चढाउने खास समय देजाँत, चैतको नवरात्र, आश्विन नवरात्र अवसर पारेर गाउँका मुखियाले गाउँका ठूला–ठालू भेला गरी माडौमा पूजारीसमक्ष साँक्षी राखी जात्रा, उत्सव गरी विधिवत् देवकी बनाइन्थ्यो । आजकाल कानुनी बन्देज हुनाले घरभित्र सामान तयार गरी सम्बन्धित माडौको प्रसाद ल्याई देवकी बनाउने चलन अद्यपि छँदैछ । देवकी बनाउनलाई छोरी बेच्ने पेशामा नायक, विष्ठ, नेगी, पुजारा र देउका थर भएका मानिसहरु सम्मिलित छन् । वि.स.२०५० सालसम्मको तथ्याङ्कखोजी गर्दा डोटी क्षेत्रमा दार्चुला शिखरपुर गाविसको मालिकार्जुनमाडौ, वैतडी तल्लो सोराडस्थित मेलौली देवीको माडौ, बैतडीको बासुलिङ्गमाडौ, वैतडीको त्रिपुरासुन्दरीमन्दिर, वैतडीपाटन ठाकुर उदयदेवकोमाडौ, डडेल्धुरा पिपलकोटको अर्धनारीश्वरी माडौ, डोटी शिलगडीकी शैलेश्वरी (शीलादेवी) गरी जम्मा १० वटा माडौमा २५०० देवकी जीवितै छन् । वैतडी मेलौली देवीको माडौमा ३०० देवकी अद्यपि छन् । वैतडी जिल्लामा मात्र विभिन्न माडौमा चढाएका विभिन्न उमेरका १५०० देवकी जिउँदै छन् । मेलौलीदेवीमाडौ गाविसको वार्ड नं ६ मा ३४ महिला देवकी बस्तछन् । यी कुराहरू नेपालका इतिहास विभाग निर्देशक डा.राजाराम सुवेदीको प्रकाशनमा उल्लेख छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ प्रा.डा.सूर्यमणि अधिकारी द्वारा प्रकाशित पुस्तक बाइसे राज्यको इतिहास