ढुकुटी (कारोबार)
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (अप्रिल २०१२) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ढुकुटी गैरकानुनी मानिएको एउटा जोखिमपूर्ण आर्थिक कारोबार हो। सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम ५० जनासम्म खेलाडी हुन्छन्। खेलाडीहरूका अनुसार सबैभन्दा राम्रो २० जनाको समूह हो। दामाशाहीले निश्चित रकम एकैठाउँमा नियमित जम्मा गरेर निश्चित अन्तरालमा तोकिएको पूर्वनिर्धारीत प्रक्रियाबाट छानिएको खेलाडीलाई निश्चित रकम ब्याजमा चलाउन दिने र निश्चित ब्याज लिएर ढुकुटीको मूल धन बढ्ने ब्यबस्था गरिएको हुन्छ।
सञ्चालन
[सम्पादन गर्नुहोस्]यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
समूहअनुसार ढुकुटी खेल्ने आ-आफ्नै नियम हुन्छन्। कसैले गोलाप्रथा गर्छन्, केही पैसा छोड्छन्, कुनैमा नम्बर सिस्टम पनि चलेको पाइन्छ। गोलाप्रथा ढुकुटीको प्रचलित नियम हो, जसमा नाफा पनि सामान्य हुन्छ र जोखिम पनि कम। यसमा जसलाई 'बधाई' लेखिएको गोला पर्छ, त्यो पटकको ढुकुटी उसैले खान्छ। अर्को नियमको ढुकुटीमा जसले बढी पैसा छोड्छ, उसैले ढुकुटी खान्छ। यो नियममा जति छोडेर पनि खान पाउने तथा किस्ताअनुसार न्यूनतम वा अधिकतम यति छोड्नैपर्ने भनेर पूर्वसहमति गरिएको हुन्छ। तेस्रो सबैको नम्बर सिस्टम गरी जसको पालो आउँछ, उसैले ढुकुटी खान्छ।
ढुकुटी सञ्चालन गर्ने व्यक्तिलाई 'घोप्पा' भनिन्छ। उसले ढुकुटीका सहभागी सबैको रकम सुरक्षाको जिम्मा लिएको हुन्छ। जोखिम बहन गर्ने मुख्य व्यक्ति ऊ नै हुन्छ। सञ्चालकले ढुकुटीको पहिलो किस्ता आफैँ राख्छ। जोखिम बहन गरेबापत सञ्चालकले कमिसन पाउनुका साथै खाजा खर्चको रकम बचत गर्न सक्छ। प्रायः जति रूपैयाँको ढुकुटी खेलिएको हुन्छ, त्यसको एक प्रतिशत खाजा खर्च तोकिएको हुन्छ। ढुकुटीमा सङ्कलन हुने रकमअनुसार ढुकुटी खेल्ने स्थान तय गरिएको हुन्छ। महँगा होटलदेखि चल्तीका रेस्टुरेन्टमा हुने खेलमा मदिरा खाएर मोजमस्ती गरेपछि शुरु हुन्छ, खल्ती रित्याउने र ढुकुटी भर्ने काम।
जोखिम
[सम्पादन गर्नुहोस्]पहिलो नियमअनुसार ढुकुटी खानेले तोकिएको निश्चित ब्याज तिर्नुपर्ने हुन्छ, जुन ब्याज रकम थप्दै लगानी गरिरहेका सदस्यहरूमा दामासाहीले बाँडिन्छ। अन्तिममा ढुकुटी खानेलाई फाइदा हुने भए पनि अन्तिमसम्म ढुकुटीमा पैसा बुझाउँदा बीचमै कसैले गडबड गरेमा रकम डुब्ने जोखिम पनि उत्तिकै हुन्छ।
प्रतिशत छोडेर खाने ढुकुटीमा भने अगाडिकै किस्तामा खानेहरूले प्रतिस्पर्धामा धेरै रकम छोडेर ढुकुटी खान्छन्, जुन रकमलाई उच्चतम आम्दानी हुने क्षेत्रमा लगानी गर्न नसके घाटा हुन्छ। छोडेर खाने ढुकुटीमा भने छोडेर जति रकम खाएको छ, प्रत्येक सदस्यमा त्यो रकम भाग लगाएर एकमुस्ट सङ्कलन गरिन्छ। ठूलो रकमको ढुकुटीमा चेक वा बढीमा सात दिनभित्र नगद दिनुपर्ने नियम लगाइएको हुन्छ।
कति रकमको ढुकुटी खेल्ने भन्ने कुरा खेलाडीको रकम निकाल्न सक्ने क्षमतामा निर्भर गर्छ। ठूलो ढुकुटीको नियमित किस्ताको रकम तिर्न नसक्नेहरूले बीचमा पैसा खाएर भाग्दा ढुकुटी डुब्छ। आपसी विश्वासका भरमा प्रत्येक सदस्यले आफ्नो रकम नियमित किस्ताका रूपमा बुझाउँछन्। ढुकुटी सञ्चालकको नियत खराब भए पनि रकम डुब्छ। कानुनी आधार कुनै लिखत नहुने भएकाले विश्वासमा अलिकता संकट आउनेबित्तिकै ढुकुटी डुब्छ। [१]
इतिहास
[सम्पादन गर्नुहोस्]ढुकुटीको शुरुवात थकाली समुदायबाट भएको मानिन्छ। आफ्नो समुदायको गरीब सदस्यलाई आर्थिक सहायता उपलब्ध गराउन नजीकका दाजुभाइ तथा इष्टमित्रले रकम सङ्कलन गरी दिने प्रचलन थकाली समुदायमा अहिले पनि छ। यसरी प्राप्त रकमबाट व्यापार-व्यवसाय गरी पछि बिस्तारै तिर्दै जाने गरिन्छ। काठमाडौंका माडवारी समुदायमा ढुकुटी खेल्ने गरिएको पाइन्छ। थकाली समुदायमा खेलिने ढुकुटीमा पालैपालो पैसा खाने नियम छैन। व्यवसाय वा अन्य कुनै क्षेत्रमा लगानी गर्न पैसाको आवश्यकता परिरहेको व्यक्तिलाई आफन्तजन मिलेर दामासाही रकम सङ्कलन गरी पैसा दिने गरिन्छ। सहकारी वा अन्य वित्तिय संस्था नहुँदा यो समुदायले आर्थिक समृद्धिका लागि सहकारीका रूपमा ढुकुटीलाई प्रयोग गर्ने गरेको थियो।[१]
चन्द्रशमशेरले तेजारथ अड्डा शुरु गरेपछि नेपालमा आर्थिक कारोबारको औपचारिक शुरुवात भएको मानिन्छ। खासमा ढुकुटी अवैध भनिए पनि यही चरित्रका कारोबार नेपाली आर्थिक इतिहासमा निकै पुरानो हो। समूह र सहकारी पनि यस्तै अनौपचारिक कारोबारका रूप हुन्। दोस्रो विश्वयुद्धमा हजारौँ युवा रगत बगाउने खेल खेल्न राजी भएर ब्रिटिश सेनामा भर्ती हुन थालेपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले विचार गरे, 'उनीहरूले देशमा केही विकल्प नपाएरै युद्ध रोजेका हुन्।' त्यसपछि चन्द्रशमशेरले ग्रामीण जनता र उद्यमीलाई सस्तो र सुलभ ऋण दिन 'तेजारथ अड्डा' शुरु गरेका थिए। उनका भाइ जुद्धशमशेरले एक कदम अगाडि बढेर नेपाल बैङ्क लिमिटेड खोले। पञ्चायतको अन्त्यअघि सन् १९८०को मध्यतिर बैङ्कहरूको उदारीकरण प्रक्रिया शुरु गरियो। सुरुमा ब्याजदर नियन्त्रण गरियो। सन् १९८५मा वित्तीय संस्थासम्बन्धी नियम ल्याइयो र विदेशी लगानीका बैङ्कहरू खोल्न दिइयो। [२]