सहकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिकसांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ।[१] प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो।[२]

सहकारीको परिचय[सम्पादन गर्ने]

सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ। यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ-आफ्नो आर्थिक उन्नतीका लागि दुर्इ वा दुर्इ भन्दा बढी व्यक्तिहरू मिली आ-आफ्नो आयको केहि अंश नियमित रुपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो।[३] सहकारीलाई औद्योगिकरणको उपज मान्न सकिन्छ। नेपाली बृहत् शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजि भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रुपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।[४]

सहकारीको उद्देश्य[सम्पादन गर्ने]

यसको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। सामुहिक रुपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ। समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ।[५] सहकारीको उद्देश्यलाई निम्न भागहरूमा बाड्न सकिन्छ:

न्यायिक उद्देश्य[सम्पादन गर्ने]

उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरुपले आर्थिक उपलब्धिहरुको वितरण गरी सदस्यहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । यस्तो न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवम् विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरूले सामाजिक न्याय र समानता पाउँछन्।

आर्थिक उद्देश्य[सम्पादन गर्ने]

सदस्यहरुलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरू प्रदान गरी उनीहरुको आर्थिक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो। सहकारीले आफ्ना सदयहरूको आर्थिक विकासका लागि विभिन्न आिर्थक योजना तथा कार्यक्रमहरु सञ्चालन गरी त्यसमा उनीहरुलाई सहभागी गराउने गर्दछ। कुनै पनि सदस्यलाई जात जाति, धर्म, लिङ्ग, वर्ण्रावर्ग, स्तर आदिको दृष्टिले भेदभाव नगरी समानरुपले आर्थिक कारोवार गर्ने, जस्तो (बचत गर्ने, ऋण लिने, नाफा प्राप्त गर्ने), व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्ररुपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ।

सामाजिक उद्देश्य[सम्पादन गर्ने]

समाजमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय-अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु हो। मानवीय संगठन भएकोले यसले मानिसहरुमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरूको विकास गर्दछ । समाजका पछडीएका महिला, दलित वर्ग वा व्यक्तिहरूलाई समेत आपसमा मिलेर बस्न, कुनै व्यवसाय गर्न र सहयोग गर्न प्रेरित गर्दछ । सहकारीले आफ्ना सदस्यहरुलाई सामुहिक रुपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातवारण कायम हुन गई सामािजक विकासको गतिलाई टेवा पुग्दछ।

शैक्षिक उद्देश्य[सम्पादन गर्ने]

आफ्ना सदस्यहरुको चेतना विकासका लागि सहकारी शिक्षा, तालिमपरामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ।

सहकारीका विशेषताहरू[सम्पादन गर्ने]

  1. सहकारी समुदायले गर्ने व्यवसाय हो।
  2. शेयर सदस्यहरू सहकारीको स्वामी र ग्राहक दुबै हुन्छन्।
  3. सहकारीमा पूँजीको हैन सदस्यको महत्व हुन्छ।
  4. सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ।
  5. संस्थाका संस्थापक, संचालक तथा कर्मचारीहरू स्थानिय व्यक्ति नै हुन्छन् ।
  6. संस्थाले विनियमका साथै विभिन्न निति नियमहरू तयार गरी त्यसैका आधारमा संस्थाका कार्यहरू संचालन गरिएका हुन्छन् ।
  7. संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा तरलता राखि बाँकी रकम आफ्ना सदस्यहरूलाई नै ऋण लगानि गरिएको हुन्छ।
  8. संस्थापक र संचालकहरूको लगानि नाम मात्रको (अन्यन्त थोरै) नभई स्वभाविक हुन्छ।
  9. प्रजातान्त्रिक प्रणालिवाट चलेको तथा सहकारी भावना र सिद्धान्त बमोजिम अगाडि बढेको हुनपर्छ।
  10. संस्था सस्तो लोकप्रियतावाट नभई बलियो सामाजिक आधार भएको हुनुपर्छ।
  11. संस्थामा पर्याप्त शेयर पूँजि तथा अन्य कोष भएको हुनुपर्छ ।
  12. नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र वचत संकलन गर्ने र सदस्य भएको केही समय पछि सदस्य भित्रमात्र ऋण लगानि गर्नुपर्ने हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "सहकारी भनेको सहकार्य हो", २८ भदौ, अभिगमन मिति २९ जनवरी २०१८ 
  2. "सहकारी के हो ? किन छ यसको महत्व ? ७ अन्तर्राष्ट्रिय सिद्धान्तसहित", अभिगमन मिति २९ जनवरी २०१८ 
  3. "सहकारी के हो र किन ?", अभिगमन मिति २९ जनवरी २०१८ 
  4. "सहकारीको समस्या समाधानका लागी उपचारात्मक र निरोधात्मक प्रयास", ३० मार्च २०१४. अन्तिम पहुँच मिति:२९ जनवरी २०१८.
  5. "सहकारी भनेको समाजवादी अर्थतन्त्रको जग हो : मन्त्री केसी", अभिगमन मिति २९ जनवरी २०१८