दीपक बिष्ट
दीपक बिष्टको तस्विर | |
| व्यक्तिगत जानकारी | |
|---|---|
| जन्म | जुलाई २, १९७६ |
| उचाइ | ५ फुट १० इन्च |
| तौल | ७५ केजी |
| खेल | |
| राष्ट्र | |
| खेल | तेक्वान्दो |
दीपक बिष्ट नेपाली ते-क्वान्दो खेलाडी हुन्। उनको जन्म जुलाई २, १९७६मा भएको हो। उनले सन् २००६ ओलम्पिकमा ७८ किलो समुहमा काँस्य पदक जितेका थिए। उनले सन् २००८ मा ग्रीष्म ओलम्पिकमा भाग लिएका थिए। अगस्ट ८, २००८ मा बेइजिङ ओलम्पिकमा उनी नेपाली ध्वजाबाहक थिए। उनले चारपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिती कीर्तिमान बनाएका छन्।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]उनको बाल्यकाल सामान्य थियो। उनी मिहिनेती र आज्ञाकारी थिए। उनी बिकट ठाउँमा हुर्के। उनी ४ कक्षासम्म प्रथम हुन्थे। उनले श्री बिणा मा. बि.बाट एसएलसी पास गरे।
उनी पहिला भलिबल खेल्थे। उनका बा आमाले उनलाई इन्जिनियर बनाउन खोजेका थिए र उनलाई पढाइको सट्टा खेलमा ध्यान दिँदा सजाय दिन्थे।
एस एल सी पछि
[सम्पादन गर्नुहोस्]उनका बा आमाले उनलाई इन्जिनियर बनाउन खोजेका थिए र उनलाई महेन्द्रनगरमा सिद्धनाथ साइन्स क्याम्पसमा भर्ना गरिदिए। तर उनी भलिबल खेलमा रुचि देखाउँथे। एकपटक एकजना खेलाडीका कारण खेल हारेपछि उनी एकल खेल खेल्नतिर लागे।
ते-क्वान्दो प्रबेश
[सम्पादन गर्नुहोस्]एकल खेल खेल्ने विचारपछि उनलाई खेल छान्न गाह्रो पर्यो। तर प्रशिक्षक गोबिन्द बिष्ट र साथी केशब भट्टको सल्लाहले उनले ते-क्वान्दो रोजे। उनका बा आमाले भने उनलाई कहिल्यै खेल्न दिएनन्। उनलाई ते-क्वान्दो सिक्न रु ३०० चाहिएपछि उनले काका डम्बर बिष्टको स्कुलबाट ३०० रूपैया चोरी धनगढी डोजाङमा भर्ना भए। उनको खेलजीबन यसरी सुरु भयो।
ते-क्वान्दोमा पहिलो सफलता
[सम्पादन गर्नुहोस्]बा आमाको सहयोग बिना खेल्न थालेका उनले नाङ्गो खुट्टा, बिना प्याड र ट्र्याक सुट लगाएर खेल्न थाले। तर २ महिनामै उनले एल्लो बेल्टको ग्रेडिङ पास गरे। उनले सन् १९९६ मा हेटौडामा राष्ट्रिय प्रतियोगितामा ब्ल्याक बेल्ट खेलाडीलाई जितेपछि कथाले नया मोड लियो। त्यसपछि उनले पछि फर्केर हेर्नुपरेको छैन र उनलाई नेपालमा कसैले हराएको छैन।
ते-क्वान्दोमा कठिनाइ
[सम्पादन गर्नुहोस्]दुई महिनामै सफलता हात पारेपनि उनका बाआमालाई उनले खेलेको मन परेन। तर उनको आमाले उनलाई दुध र चना भने डाइटको रूपमा खान दिन्थिन्। बिष्टलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न, जित्ने र अरु खेलाडी (आलोक राना, संगीना वैद्य, बिधान लामा) जस्तो सफल हुने इच्छा जाग्यो जसका लागि काठमाडौँ नगई सम्भब थिएन।
काठमाडौंको यात्रा
[सम्पादन गर्नुहोस्]बाआमाको सहयोग बिना काठमाडौँ आउन सम्भव थिएन। उनलाई कुनै हालतमा काठमाडौँ जानु थियो। उनले एक बस चालक र खलासीलाई साथी बनाए र सित्तैमा काटमाडौँ छिर्ने टिकट पाए। काठमाडौँमा नेपाल मानबिकी क्याम्पसको प्रबेश परीक्षा पास गरेपछि उनका बा-आमाले उनलाई काठमाडौँ नपठाई धरै पाएनन्। उनी फेरि काठमाडौँ आए। उनको काका खड्ग बिष्टले मासिक रु १५०० सहयोग गरेपछि उनी दशरथ रङ्गशालाको डोजाङमा भर्ना भए र पढाइलाई पनि सङ्गै अघि बढाए।
दक्षिण एसियाली खेल
[सम्पादन गर्नुहोस्]सन् २०१० सालको दक्षिण एसियाली खेलमा स्वर्ण पदक जितेपछि उनको दक्षिण एसियाली खेलमा ४ स्वर्ण पुगेको छ र यो नेपाली कीर्तिमान हो।
राष्ट्रिय टिम तयारीको जिम्मेवारी
[सम्पादन गर्नुहोस्]राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टले बि. सं. २०८० मंसिर १६ गते देखि राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी पाएका छन्। यसअघि उनी तेक्वान्दो प्रशिक्षकका रूपमा तालिम तथा प्रशिक्षण विभागमा रहेका थिए।[१]
वर्ल्ड ओलिम्पियन एसोसिएसन कार्यसमितिमा निर्वाचित
[सम्पादन गर्नुहोस्]नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी तथा नेपाल ओलिम्पियन संघका अध्यक्ष दीपक विष्ट अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा थप एक महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन्। उनी पहिलो पटक वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को कार्यसमितिमा एसिया क्षेत्रको प्रतिनिधिका रूपमा निर्वाचित भएका हुन्। बि. सं. २०८२ माघ ४ गते आइतबार सम्पन्न वर्ल्ड ओलिम्पियन एसोसिएसनको अनलाइन साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको थियो। सो सभामा भएको निर्वाचन प्रक्रियामा विश्वभरका १ सय ५५ जना प्रतिनिधिहरूले मतदानमा सहभागिता जनाएका थिए। दक्षिण एसियाली खेलकुद (साग) मा चार पटक स्वर्ण पदक जितेका तथा एसियाली खेलकुदमा दुई कास्य पदक प्राप्त गरेका विष्टको ओलिम्पियन संघमा यो दोस्रो कार्यकाल हो।[२]
फोटो ग्यालेरी
[सम्पादन गर्नुहोस्]- ते-क्वान्दो पहिरनमा दीपक बिष्ट
- नेपाली झन्डाका साथ दीपक बिष्ट
- दीपक बिष्ट र आयसा शाक्य वैवाहिक बन्धनमा(सन् २०११)
निष्कर्ष
[सम्पादन गर्नुहोस्]शुरुका दिनहरू अप्ठ्यारा भएपनि उनले दह्रो आत्मबिश्वासका साथ पढाइ र खेललाई अघि बढाए। उनले आफ्नो प्रतिभा तिखार्दै लगे र पढाइ पनि बि बि एस सम्म पुर्याए। उनका सफलतादेखि उनका बा आमा पनि खुसी भए। ते-क्वान्दोमा एक दशक बिताएका बिष्टले सन् १९९९ साफ खेल (काठमाडौँ)मा स्वर्ण जिते, पाकिस्तानमा पनि भाँचिएको खुट्टाले स्वर्ण जिते। बुसान एसियाडमा काँस्य, दोहा एसियाडमा काँस्य जिती दुईवटा एसियाडमा पदक जित्ने पहिलो नेपाली खेलाडी भए। उनी हालसम्म पनि एक नम्बर हुन्, त्यसमा शङ्कै छैन।उनले दश भन्दा बढी देश भ्रमण गरेका छन्; दक्षिण कोरिया, अमेरिका, थाइल्याण्डमा प्रशिक्षण कियका छन्। उनी विभिन्न सङ्घमा आबद्ध छन् र हजारौँलाई ते क्वान्दो सिकाएका छन्। खेलमा जीवन सुम्पेका उनीले नेपाल खेलकुद परिषदले दिएको प्रशिक्षकको जागिरले गुजारा गरिरहेका छन्। अरु खेलाडीजस्तो उनी बिदेश पलायन भएनन्, मातृभक्त भई देशको सेवामा लागिरहेका छन्, र सकेसम्म लागिरहनेछन्। उनको नाम नेपाली खेलजगतमा सुबर्ण अक्षरले लेखिन्छ।
सन्यास
[सम्पादन गर्नुहोस्]कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले २०७१ फाल्गुण १७ गते शनिबार सक्रिय खेल जीवनबाट सन्यास लिएका थिए। खेलाडी दीपक विष्टले काठमाडौंको एक होटलमा कार्यक्रम गरी आफ्नो करिब १९ वर्ष लामो सक्रिय खेल जीवनलाई बिराम दिएको घोषणा गरेका हुन्।[३]
पदक तथा सम्मान
[सम्पादन गर्नुहोस्]* गोर्खा दक्षिण बाहु तेस्रो
- त्रिशक्ति पट्टा तेस्रो
- वीरेन्द्र प्रजातन्त्र भाष्कर तेस्रो
- प्रवल जनसेवाश्री पदक[४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको जिम्मेवारी - अनलाईन खबर
- ↑ "दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको सदस्यमा निर्वाचित"। गोरखपत्र दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जनवरी २०२६।
- ↑ कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले लिए सन्यास - अनलाइन खबर डटकम
- ↑ दीपक विष्टसहित २२ खेलकर्मीले पाए सरकारी पदक - अनलाइन खबर डटकम
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट अभिलेखिकरण २००८-०८-१९ वेब्याक मेसिन
- दीपक बिष्टको फेसबुक पेज
- तेक्वान्दो खेलाडी दीपक बिष्टद्धारा २५ लाखको खेलकुद सामग्री प्रदान
- Deepak Bista's profile at NBC Olympics अभिलेखिकरण २००९-११-०३ वेब्याक मेसिन
- Deepak Bista in WOA
अभिलेखिकरण २००९-११-०३ वेब्याक मेसिन