पद्म सुन्दर मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सन् १९५० तिर पद्म सुन्दर मल्ल
सन् १९२० मा छात्र सैनिकको रूपमा पद्म सुन्दर (पछिल्लो पङ्क्तिको दाहिनेबाट दोस्रो)

पद्म सुन्दर मल्ल (सन् १८९० - सन् १९७४) नेपालको पहिलो विद्युतीय इन्जिनियर र संयुक्त राज्य अमेरिका जाने पहिलो नेपाली हुन् । उनले नेपालको उभरिँदै गरेको औद्योगिक क्षेत्र चलाउन बिजुलीको उत्पादनको सुरुवात गरेका थिए ।[१]

बाल्यकाल[सम्पादन गर्ने]

पद्म सुन्दरको जन्म भक्तपुरको खौमामा चार सन्तानमध्ये तेस्रोको रूपमा भएको थियो । उनका जेठा दाजु प्रसिद्ध शिक्षाविद र लेखक जगत सुन्दर मल्ल हुन् । १० वर्षको उमेरमा दरबार हाई स्कुलमा भर्ना हुन उनी आफ्नो परिवारसित काठमाडौँको असनमा सरेका थिए । जापानी भिक्षु तथा यात्री एकाइ कावागुचीलाई भेटेपछि उनी उच्च शिक्षाको लागि जापान जान प्रोत्साहित भएका थिए ।

जापान र अमेरिका[सम्पादन गर्ने]

सन् १९१६ मा पद्म सुन्दर र उनका दाइ, जगत सुन्दर शिक्षा विरोधी राणा शासनको बेला नेपाल सरकारको अनुमतिबिना भारतको कोलकाता गई जापान जाने जहाजमा चढेका थिए ।[२] जापानमा उनी टोक्यो इन्स्टिट्युट अफ टेक्नोलोजीमा भर्ना भए। उनका दाजु उनको बस्ने र पढ्ने प्रबन्ध मिलाई भारत फर्के।[३]

टोक्योमा विज्ञान स्नातक पूरा गरेपछि उनी केही जापानी साथीहरूसँग मिलेर अमेरिका गएका थिए । त्यहाँ उनी मिशिगन विश्वविद्यालयमा भर्ना हुने पहिलो विद्युतीय इन्जिनियर बने ।[१]

मिशिगन विश्वविद्यालयमा हुँदा उनी छात्र सैनिकको रूपमा रिजर्भ अफिसर्स ट्रेनिङ कप्समा भर्ना भए । सन् १९२२ मा उनले विद्युतीय इन्जिनियरको डिग्री प्राप्त गरे ।[४]

विद्युतीय इन्जिनियर[सम्पादन गर्ने]

सन् १९२५ मा नेपाल फर्केका पद्म सुन्दरलाई आधिकारिक अनुमतिबिना देश छोडेको हुनाले काठमाडौँमा भित्रिन दिइएको थिएन । त्यसैले उनले पश्चिम बङ्गालको कर्सियाङमा बसाइ सरे । सन् १९३३ मा उनले फाजी जलविद्युत आयोजनाको स्थापना गरी कर्सियाङमा ऊर्जाको मागको आपूर्ति गरे ।

सन् १९३९ मा नेपाल सरकारले पद्म सुन्दरलाई नेपाल बोलाई मोरङ जलविद्युत केन्द्रको प्रमुख इन्जिनियरको पदमा बहाली गरिएको थियो । उनले बिराटनगर जुट मिलमा विद्युत पुर्‍याउने विद्युत केन्द्रको पनि निर्माण गरेका थिए ।[५] उनले वीरगञ्जधरानमा पनि विद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरेका थिए । [६]

सम्मान[सम्पादन गर्ने]

सन् १९४१ मा पद्म सुन्दरलाई संयुक्त अधिराज्यको इन्स्टिट्युसन अफ इलेक्ट्रिकल इन्जिनियर्सका सहयोगी सदस्यको पदमा नियुक्त गरिएको थियो । सन् १९५० तिर पद्म सुन्दर काठमाडौँ फर्की आफ्नो बाँकी जीवन त्यहीँ बिताए । उनले विद्युतको क्षेत्रमा पुर्याएका योगदानका कारण उनलाई "नेपाली जलविद्युतका पिता" मानिन्छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ तुलाधर, कमल रत्न (अप्रिल २६, २००९), "अमेरिका पुग्ने पहिलो नेपाली", द काठमाडौँ पोस्ट, पृ: ६। 
  2. सावद, आन्ड्रेया मेटल्स, सम्पादक (सन् १९९१), "राणा शासनमा शिक्षा", नेपाल: देशको अध्ययन, संयुक्त राज्य कांग्रेस पुस्तकालय। 
  3. "जापानमा नेपालका अग्रज विद्यार्थी - एक शताब्दी पहिले", जापानी राजदूतावास, अन्तिम पहुँच जुलाई २३, २०१३ 
  4. मिशिगन विश्वविद्यालय, रेजेन्ट्स बोर्डको कारबाही, युएम पुस्तकालय, पृ: ५१६। 
  5. ढुङ्गेल, द्वारिकानाथ (सन् २००६), नेपाल, द्वन्द्व निरूपण र दिगो शान्ति: विदेशी नीति र विकासका चुनौतीहरू, एकीकृत विकास अध्ययन संस्थान, पृ: ७६, आइएसबिएन 9789993376897 
  6. होनिङ्सवाग, ब्योर्न (सन् २००१), नयाँ सहस्राब्दीमा जलविद्युत, ए. ए. बाल्केमा, पृ: ३, आइएसबिएन 9789058091956