पर्खाल भित्र र बाहिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पर्खाल भित्र र बाहिर साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास नविन प्रकाशनले बिसं २०३४ सालमा प्रकाशन गरेको थियो। 'पर्खाल भित्र र बाहिर' नामक पुस्तकको विवरण], [[मदन पुरस्कार पुस्तकालय]

पर्खालभित्र र बाहिर उपन्यासको बिश्लेषण :-

1. पर्खालभित्र र बाहिर उपन्यासको परिचय :- उपन्यासको सन्दर्भ बि•सं• 2034 -2035 सालसम्ममा नेपालको राजनीति भित्रभित्रै आगोमा सल्किरहेको थियो ! त्यसबेला क्रान्तिकारीहरु भूमिगत रुपमा चेतनाको दियो बाल्न सक्रिय थिए ! केहि नेता र कार्यकर्ता पञ्चायती प्रशासनद्वार पक्राउमा परी जेलभित्र यातना भोग्दै थिए ! जेलभित्रका क्रान्तिकारीहरुको जीवन ,चिन्तन र यथार्थ जेलबाहिरका क्रान्तिकारीहरुको भन्दा भिन्नै थियो ! जेलभित्र र बाहिरका यस्तै जीवन यथार्थलाई प्रगतिवादी विचारधारा अनुरुप प्रस्तुत गर्ने उद्देश्यले पारिजातले पर्खालभित्र र बाहिर उपन्यासका रचना गरेको पाइन्छ ! समाज परिवर्तनका निम्ति कसैले क्रान्ति गर्नु पर्छ र त्यो क्रान्ति कुशासनको विरुद्ध हुनुपर्छ तर क्रान्तिको माग सहज र सुगम छैन ! जन्तालाई जगाउँनु र कठिन क्रान्तियात्रामा हिड़ाउनु कठिन र श्रमसाध्य कार्य हो ! त्यस्तो स्थितिमा सचेत व्यक्तिभित्र हुने द्वन्द्व ,वाध्यता आदिको यथार्थलाई यस उपन्यासले प्रस्तुत गरेको छ ! यसरी हेर्दा पञ्चायती व्यवस्थाबिरुद्ध हुनथालेको क्रान्तियात्राको यथार्थ ,जेलभित्रका क्रान्तिकारीहरुको सोचाई र भोगाइको यथार्थ ,तिनीहरु माथि हुने शोषणको यथार्थ तथा परिवर्तनमुखी आदर्शलाई निकै कलात्मकताका साथ यस उपन्यासमा प्रस्तुत गरिएको छ ! 2. पर्खालभित्र र बाहिर उपन्यासको शीर्षक चयन /शीर्षक औचित्य :- पर्खालभित्र र बाहिर गरी तीन पदमा मिली शीर्षक चयन गरिएको छ ! यस उपन्यासको शीर्षक प्रतिकात्मक छ ! यस उपन्यासमा जेलभित्र रमेशले भोग्नु परेवा जीवनकथा र जेलबाट छुटिएर आएपछि बाहिरीको जीवन कथा यस उपन्यासले बोकेको छ ! प्रस्तुत उपन्यासको मूल पात्र रमेश जेलभित्रको बसाइ र उसको जेल बाहिरको मुक्त जीवनको संकेत गरेको छ ! दुइवटा अलग-अलग संसारलाई यस उपन्यासले निरीक्षण गरेको छ ! यद्यपि जेल बाहिर पनि क्रान्तिकारी व्यक्त स्वतन्त्र र मुक्त जीवन बिताउन पाउँदैनन् भन्ने आशय यस उपन्यासले व्यक्त गरेको छ ! अत : वस्तुगत र वैचारिक सापेक्षतामा प्रस्तुत उपन्यासको शीर्षक सार्थक भएको छ ! 3. पर्खालभित्र र बाहिर उपन्यासको संरचना :- डिमाइ आकारको पर्खालभित्र र बाहिर उपन्यासमा लामा-छोटा गरी जम्मा बाह्रवटा परिच्छेद रहेको छ ! उपन्यासका अनुच्छेद असमानुपातिक लामा-छोटा छन् ! यद्यपि प्राय : चार छ वाक्य र कुनै दश-बीस वाक्यमा अनुच्छेदहरु पाइन्छन् ! सामान्य संरचनाका हिसाबले भन्नुपर्दा यस उपन्यासलाई लघु उपन्यास भन्न नै उपयुक्त हुन्छ ! 4. पर्खालभित्र र बाहिर उपन्यासको कथावस्तु :- पर्खालभित्र र बाहिर उपन्यासको कथाबस्तुलाई पूर्वार्द्ध र उत्तरार्द्ध गरी दुइ भागमा विभक्त गर्न सकिन्छ ! रमेश एघार बर्ष जेलमा बस्नु ,ज्वालासित तर्क गर्नु ,स्वास्नी बाटुलीलाई सम्झनु यस उपन्यासको पूर्वार्द्ध भाग हो ! जेलबाट मुक्त भएपछि बाटुलीसँग बस्नु ,रोजगारीको समस्या हुनु ,पहिलेका क्रान्तिकारी मित्रहरु क्रान्तिको मार्गबाट पलायन भइसकेको थाहा पाउनु ,रमेशले सड़क खन्ने काममा श्रम लाग्नु ,त्यहाँ विद्रोहीको रुपमा क्युरी भन्ने मात्र भेटनु ,ठेकेदारले श्रमिकहरुलाई श्रमको शोषण गरेको चर्चा चल्नु ,क्युरी ठेकेदार सित झगट़ा गर्नु ,रमेशले क्युरीलाई समर्थन गरी ठेकेदारसित तर्क गर्नु ,एकदिन बाटुलीले गर्भ बसेको कुरा गर्नु र एकदिन पुलीस आएर रमेशलाई पुन : पक्राउ गर्नु उत्तरार्द्धको घटनावली हुन् ! जेलभित्रको दृश्यबाट प्रारम्भ भई पुन: जेलभितरै जानु यस उपन्यासको कथाबस्तु हो ! उपन्यासको कथाबस्तु उत्तरोत्तर गतिशील हुनाले रैखिक ढाँचाको बनेको छ ! यद्यपि एकाध ठाउँमा पूर्वद्वीप्तिको पनि सहारा लिइएको छ ! कथाबस्तु खिरिलो छ ! कल्पना ,अतीतावलीलोकन र वैचारिक वर्णनमा उपन्यास बढ़ी रमेको छ ! उपन्यासको केन्द्रिय पात्र रमेशको केन्द्रियतामा कथानक धुरीखम्बा बनेको छ ! यसै उपन्यासको कथावस्तुबाट नेपालको कम्युनिष्ट विचारधाराका क्रान्तिकारी चेतना ,राजनैतिक उहापोह र इतिहास चेतना पाइन्छ ! 5. पर्खालभित्र र बाहिर उपन्यासको चरित्रचित्रण :- उपन्यासको बैचारिक्ता ,कथ्य र वस्तुलाई सार्थक र सबल तुल्याउनका निम्ति पारिजातले यस उपन्यासमा कुशलतासँग गरेकी छन् ! उपन्यासमा मार्क्सवादी प्रगतिवादको वैचारिकतालाई बोक्ने मूलपात्र रमेश हो भने यस वैचारिकताको प्रयोगात्मक पुष्टिका लागि आधार देखाउने काम बाटुली,क्युरी ,लाले ,ठेकेदार,इञ्जीनियर ,ओभरसियर ,ज्वाला जस्ता पात्रहरुले गरेका छन् ! रमेश यसको नायक हो भने ज्वाला सहनायक र क्युरी सहायक पात्रका रुपमा प्रस्तुत छन् ! उपन्यासको एउटै नारी पात्रा बाटुली मात्र प्रस्तुत छे ! उपन्यासको मूलपात्र र नायक रमेश भन्ने रामबहादुर हो ! उ निम्नमध्यम वर्गीय शिक्षित पात्र हो ! नेपालको वामपन्थी राजनीतिमा माध्यमवर्गीय चरित्रको ठूलो भूमिका रहेको छ ! शिक्षकहरु निम्नमध्यम तथा माध्यमवर्गीय आर्थिक अवस्थाका हुनाले नेपालको क्रान्तिको इतिहासमा शिक्षकहरु क्रान्तिका निम्ति आदर्श वाहक रहेको तथ्य पाइन्छ ! यसैले पारिजातले उपन्यासमा यस तथ्यलाई ह्रदयांगम गरेर भन्ने रमेश भन्ने शिक्षकलाई क्रान्तियात्राको मुख्य पात्र छानेको हुनसक्छ ! यो पात्र नै पारिजातको मार्क्सवादी अनुभव र वैचारिकता वहन गर्ने मुख्यपात्र हो ! उपन्यासभरि यही पात्र नै वैचारिक धुरीको रूपमा छाएको छ ! उ क्रान्तिद्रष्टा ,क्रान्तिकारी ,क्रान्ति संगठक र संघर्षशील ,सचेत र शिक्षित चरित्रको रुपमा प्रस्तुत छ ! श्रममाथि बिश्वास ,श्रमिकप्रति स्नेह ,परिवर्तनकांक्षी ,प्रतिवद्धता ,निरन्तर संघर्ष ,धैर्यशील र सत्यको पक्षमा निर्भीकतापूर्वक लाग्ने साहसिलो व्यक्तित्व रमेश हो ! उ समाज र राजनैतिक व्यवस्था परिवर्तन गर्न निरन्तर रुपमा लागिपरेको छ ! उपन्यासको सहायक पात्रको रुपमा रहेको ज्वाला उग्र वामपन्थी विचारधाराको युवक हो ! उसलाई तुरुन्त क्रान्ति सम्पन्न गरिहाल्ने हतारो हुन्छ ! यसको लागि उ मर्न र मार्न उद्धत् हुन्छ ! उ परिस्थितिको वोध त गर्छ तर त्यसको वस्तुवादी विश्लेषण गर्न असमर्थ हुन्छ ! त्यसैले प्राय : चरम उग्रताको शिकार हुन्छ ,असफल हुन्छ ,बढ़ी प्रताड़ित पनि हुन्छ ! उ फलप्राप्ति बिना नै मृत्युवरण गर्नपुगेको छ ! त्यसैले ज्वाला संचेत रुपमा नेपाली क्रान्तियात्राको उग्रवादी भड्काउमा फँसेको युवाहरुको चरित्रनिर्माण गर्ने योजना अनुरुप तयार पारिएको पात्र देखिन्छ ! उ तुरुन्त आक्रोशित हुन्छ ,तुरुन्तै निराशा हुन्छ फेरि तुरुन्तै उग्रवादी बन्छ ! असन्तुष्टिगत चरम सम्वेदना र यातनागत चरम दमनको शिकार बनेको ज्वाला वास्ववमा नै वर्गीय घृणाको ज्वालो हो र भरभराउँदो आगो हो ! रमेशभन्दा ज्वालालाई पाठकले बढ़ी सहानुभूति राख्छन् र उ बिर्सन नसक्ने चरित्रको छ ! उसमा उसले व्यक्त गरेको अभिव्यक्तिले नै उसको उग्र वितचरधाराको पुष्टि गर्दछ ! यस उपन्यासमा नारी पात्रको संख्या अत्यन्त न्यून बनाउँदा कतै उपन्यासकारले नारीवर्गको उपेक्षा गरेको होइन ? भन्ने प्रश्न उठ्न सक्छ ! तर यो कुरा सत्य होइन ! क्रान्तिपुरुषका पृष्ठभूमीमा नारीको सशक्त भूमिका रहेको इतिहास पाइन्छ ! उपन्यासकी एउटै नारी पात्रा बाटुलीको ठूलो भूमिका छ ! निम्नवर्गीय चरित्र बाटुली अत्यन्त अपमानित र दु:खी अवस्थामा सचेत शिक्षक रमेशद्वारा पत्नीको रुपमा स्वीकारिने मौका पाएकी अतिसंघर्षशील र धैर्यशील पात्र हो ! रमेश एघार बर्षसम्म जेलमा थुनिँदा घरबारविहीन भएर दश नंग्री खियाएर आफ्नो सतीत्वको रक्षा गरेकी छे बाटुलीले ! बेला-बेलामा जेलमा बसेको लोग्नेलाई अचार ,चुरोट र अन्य खानेकुरा लगिदिएर प्रेरणा बनिदिन्छे ! उ कहिल्यै निराशा व्यक्त गर्दिन ,कुनै गुनासो पोख्दिन र सधैँ आफ्नो लोग्नेप्रति समर्पित भइदिन्छे ! रमेश जेल बाहिर भएपछि उसको एकमात्र सहारा भइदिन्छे ! खाना खुवाएर ,फूर्सद दिलाएर ,प्रेमले नुहाइदिएर ,हिम्मत बढ़ाइदिएर र सम्झौता गरेर भनौं हरेक कष्ट सहेर पनि पुरुषलाई सघाउने महान् नारी चरित्रको रुपमा बाटुलीको भूमिका छ ! क्रान्तियात्रामा बाटुलीको प्रत्यक्ष नभए पनि परोक्ष भूमिका छ ! यी तीन मुख्य चरित्रबाहेक क्युरी युवाजोशले भरिएको श्रमिकवर्गका जोशिला ठिटाहरुको प्रतिनिधि पात्र हो ! भावुक ,अन्याय-अत्यचार नसहने र विद्रोही स्वभावको यो पात्र ज्वाला झैं असचेत विद्रोहीको रुपमा प्रस्तुत छ ! संगठनको महत्त्व थाहा नपाएका यस्ता विद्रोही चरित्रहरु नै मूलत:क्रान्तिकारी यात्राका लागि सुधारिएर ल्याउन पर्ने पात्र हुन् ! तातो रगत उम्लिरहन्छ र चेतनालाई घँचेटिरहन्छ तर दिशावोधको अभावमा यस्तो उम्लाइले छिट्टै सेलिनुपर्छ ! क्युरीले यसै तथ्यको उद्घाटन गरेको छ ! यदि क्युरीजस्ता युवाजोश भएका श्रमिकवर्ग सुसंगठित र सुपरिचालित हुनु हो भने क्रान्ति सफल हुनेथियो ! उपन्यासमा अरु गौण - पात्रहरु ठेकेदार ,पुलिस ,डि•एस•पी• , ओभरसियरहरु खलपात्रका रुपमा प्रस्तुत छन् ! रमेशका क्रान्तियात्राका पहिलेका साथीहरु समेत क्रान्तियात्रा छाड़ी अवसरवादी ,घातकसिद्ध बनेका छन् ! गरीबका पसिनामा पौड़ी खेल्नेहरुको जाल-झेल ,षड़यन्त्र ,अत्याचार आदिलाई देखाउने उद्देश्य पूरा गर्न यस्ता पात्रहरुको निमार्ण गरिएको देखिन्छ ! क्रान्तियात्राका तगारा ,अड़चन र प्रतिक्रान्तिको यथार्थ रुपमा यस्ता खालका पात्रमार्फत् प्रतिनिधित्व गरिएको छ !

6. पर्खालभित्र र बाहिर उपन्यासको दृष्टिबिन्दु / भाषाशैली :-

" पर्खालभित्र र बाहिर " उपन्यासमा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ ! म पात्र रमेशकै वरिपरि कथा बुनिएको छ ! कथावाचकको दृष्टिकोण यहि म पात्रमा रहेको छ ! म पात्रले सोचेको ,कल्पना गरेको र उबारे अरु सम्पूर्ण कुरा कथावाचकले सुनाएको हुँदा यसमा सर्वदर्शी वा सर्वज्ञ दृष्टिबिन्दु पाइन्छ ! यस उपन्यासको भाषाशैली सरल र सहज कवितात्मक रहेको छ ! प्राय : तद्भव र ठेट शब्दहरुद्वारा विशेष गरी प्रगतिवादी चेतनालाई भाषाले सघाउ पुर्याएको छ ! भनौं प्रस्तुत उपन्यासमा मार्क्सवादीय सौन्दर्यशास्त्र अपनाइने प्रयास गरिएको छ !

7. पर्खालभित्र र बाहिर उपन्यासको निष्कर्ष :- निष्कर्षमा पारिजातको " पर्खालभित्र र बाहिर " एउटा सफल र लोकप्रिय उपन्यास हो ! पारिजातको औपन्यासिक धाराअन्तर्गत तेस्रो चरणको प्रगतिवादी स्वरलाई यस उपन्यासले मुखरित गर्नसकेको छ ! यो उपन्यास घटनाप्रधानभन्दा विचारप्रधानको रुपमा रहेको छ ! पात्रहरुले वहन गरेको वैचारिकता नै यस उपन्यासको वैचारिकता हो ! वास्तवमा क्रान्तियात्रा सहज,सुगम र अप्रत्याशित छैन ! यो त अविचलित रुपमा दीर्घ ,कठोर,दुर्गम र निरन्तर प्रयासका बावजूद मात्र सम्भव छ ! म पात्र फेरि जेल पर्नुको आशय क्रान्तियात्रा अझै टाढ़ो र दुर्गम छ भन्ने देखाइएको हो ! पारिजातको दश उपन्यासमध्ये यो उपन्यास मझौलो स्तरको एउटा विशुद्ध प्रगतिवादी उपन्यास हो ! 8. पर्खालभित्र र बाहिर युगचेतनाको दृष्टिमा :- जेलभित्र र बाहिरको जीवन कस्तो थियो ? क्रान्तिकारीहरुको असुरक्षित स्थिति जेलभित्रको खान बस्नको व्यवस्था ,वर्गीय समस्या भनेको के हो ? उपेक्षितहरुको अस्तित्व रक्षाको लड़ाई कसरी लड़िरहेका छन् ? यी बिषयमा उपन्यासमा चर्चा भएको छ ! जसद्वारा समाजबोध,युगबोधका साथै समग्र विश्व यथार्थबोध पाइन्छ ! उपन्यासको क्षेत्र सिमित छ ! नेपालभित्र जेल र बाहिरको केहि ठाउँका उल्लेख पाइन्छ ! पञ्चायती व्यवस्थालाई यिनिहरुले हत्यारा ठानेका छन् ! जेलमा रमेशलाई एक मित्रले पठाएको पत्रमा यस्तो उल्लेख पाइन्छ - " त्यहाँ तिमीलाई विष खुवाएर मार्न सक्छन् ! बाहिर कुनै कुइनेटोमा पुराएर गोली ठोकिदिन सक्छन् ! यसले तिमीलाई खुल्लाबजारमा किन्छ र बेच्छ ! यसले छलेर तिम्रो हत्या गरिदिन्छ ! " उपन्यासको बिषयबस्तु जेलभित्रको छ ! तापनि यसले धेरै जसो बाहिरि संसारप्रति नजर गाड़ेको छ ! बाटुलीको जीवनकथाले नेपालमा निम्नवर्गीय सामाजिक जीवन,अझबढ़ी नारीजीवनलाई देखाइएको छ ! एउटा उपेक्षित एक्लो नारीले बाँच्नको निम्ति गर्नुपरेको समस्या बाटुलीले भोगेका छन् ! उपन्यासमा देश विकृति,बिसंगतिको शिकार भएको देखाइएको छ ! राजनीतिको नाममा देशलाई लुटने शोषकहरुको नांगो रुप प्रस्तुत छ ! नारीहरुको बिसंगती जीवनप्रति उपन्यासकारको दृष्टि छ ! रमेशले भन्छ - " मैले एकाएक धेरै केटीहरुलाई सोँचे जीपमा चड़ेर चुनाउका नाराहरु लगाइरहेका सुन्दरीहरुलाई घोकेका भाषण गरिरहेकाहरुलाई सुनका चेन र रेश्मी साड़ी लगाएर गोष्ठितिर अत्यचारका विरुद्ध कविता पाठ गरिरहेकाहरुलाई ,राजनीतिका नाउँमा जीवनका बिलास लुटिरहेकाहरुलाई ! " नेपालमा निम्नवर्गीय जीवन नाटकीय छ ! अस्तित्व रक्षाको लड़ाई लड़न गाह्रो छ यहाँ ! बाटुलीको जीवन बचाइँबाट स्पष्ट भएको छ ! एकातिर यो स्थिति छ अर्कोतिर श्रमिकहरुको स्थिति झन् दयनीय बनेका छन् ! यसको जिम्मेवार ठेकेदार ,प्रहरी-प्रशासन मिलि कानुन व्यवस्था हातमा लिएर श्रमिकहरुप्रति अत्यचार र शोषण बढ़ेको हो ! यो दु:खद यथार्थलाई उपन्यासले राम्ररी बोध गरेको छ ! यो चेतना नेपाल परिवेशमा मात्र सिमित नभएर विश्वार्थ बन्न पुगेको छ ! क्रान्तिमा लागेकाहरु विभिन्न लोभमा फसि क्रान्तिबाट पलायन हुने गर्दछन् ! यो पनि क्रान्तिको इतिहासमा विश्वार्थ बनिसकेको पाइन्छ ! उपन्यासमा समाजबोधका साथै विश्वबर्गीय युगचेतना पनि पाइन्छ ! यो समाजवादी यथार्थबादी युगीन चेतना प्रस्तुत गर्ने उपन्यास हो ! 9. पर्खालभित्र र बाहिर उपन्यासमा बैचारिकता/प्रगतिवादीता/समाजवादीता/यथार्थवादीता/क्रान्तिकारीता बिचार :- यो उपन्यास घटनाप्रधानभन्दा विचारप्रधानको रुपमा रहेको छ ! सामाजिक यथार्थबोध, एेतिहासिक बिश्लेषण, परिवर्तनप्रति विश्वास, बिचारमा दृढता, संघर्षप्रति प्रतिबादता, अन्य-अत्यचार र असमानप्रति असन्तोष, आशावादी र त्याग एवं समर्पणको भावना, शोषकप्रति घृणा, निम्नवर्गप्रति सहनुभूति जस्ता पक्षहरुलाई व्यक्त गर्ने बिचारहरु उपन्यासमा आएका छन् ! उपन्यासमा ज्वाला उग्रवामपन्थको प्रतिनिधि हो ! उ मर्ने र मार्ने कुरा मात्र सोच्दछ ! दसबर्ष जेलमा बस्दा उसको धैर्यले सीमा नाघेको छ ! उसले जेलबाहिरका क्रान्तिकारी साथीहरुलाई गाली गर्दछ ! यिनीहरुले एघाह्र बर्षमा एघाह्रवटा बन्दूक नउठाएको हुँदा यी लोतिखोरे पलायनबादीहरुबाट क्रान्ति हुँदैन ! रमेश परिपक्ष बिचारको छ ! उसले ज्वालाको उग्रवामपन्थीवादी बिचारमाथि बिश्लेषण गर्दछ ! आफ्नो सिद्धान्तमा भरोसा राख्छ ! क्रान्तिको बाटो कठिन छ ! लोभी र कमजोरीहरुले क्रान्तिको मार्ग हिड़न सक्दैन जस्ता गम्भीर बिचारहरु उपन्यासमा प्रस्तुत गरिएको छ ! समाजबादी यथार्थवादी यस उपन्यासको बिशेषता हो ! रमेश जेलबाट छुटेर केहि समय आराम गरेपछि उ श्रमको काम गर्न चहान्छ र बाटुलीले पढ़ेको र क्रान्तिकारी नेताले श्रमिकको काम गर्न नसुहाउँने तर्क राख्छे ! हातको परिश्रम गरेर खानुलाई लाज मान्नु हुन्न भन्ने चिन्तन दिनु यस उपन्यासको उद्देश्य हो ! 10. पर्खालभित्र र बाहिर उपन्यासको द्वन्द्व बिधान :- यस उपन्यासमा दुइ प्रकारको द्वन्द्व देखिन्छ ! नेपालको शासन व्यवस्थाबिरुद्ध उठेको युवावर्ग बीजको द्वन्द्व छ ! रमेश,ज्वाला र क्युरीले ठेकेदारसित गरेको द्वन्द्व बिहिरी द्वन्द्व हो भने अर्कोतिर क्रान्तिकारीहरुकै बीचमा अन्तर्बिरोध छ ! जेलभित्र रमेशसँग रहने ज्वालाले गरेका जुनप्रकारको मानसिक क्रियाकलापहरु यस उपन्यासको अन्तरिक द्वन्द्व हो !

11. पर्खालभित्र र बाहिर उपन्यासमा नारी संघर्ष / नारी संवेदना :- पर्खालभित्र र बाहिर उपन्यासमा नारी संघर्ष र नारी संवेदना पाइन्छ ! यस उपन्यासको एकमात्र नारीपात्र बाटुली हुन् ! जब रमेश जेलमा थुनिए तब बाटुलीले लोग्ने बिना नै एघाह्र बर्ष आफ्नो जीवनलाई बिभिन्न प्रकारको वाधाहरुबाट मुक्त गर्दै संघर्षशील बनेका छन् ! बाटुलीले पतिबिहीन एक्लै गरेको संघर्ष एघाह्र बर्ष लतरको कुरा होइन ! आफ्नो शरीरलाई पाल्नको निम्ति वा पेट भर्नको निम्ति बाटुलीले संघर्ष गरेका छन् !

12. पर्खालभित्र र बाहिर उपन्यासको संयोगान्त/बियोगान्त पक्ष :- पर्खालभित्र र बाहिर उपन्यासमा संयोगान्त र बियोगान्त पक्ष रहेको छ ! संयोगान्त पक्षमा रमेश र बाटुली संगै बस्थे ! रमेश जेलबाट छुटिएर आएपछि बाटुलीसँगै रमेश बस्न थाले र श्रमको काम पनि गर्न थाले ! जेलबाट छुटिएर आएपछि रमेश र बाटुली सँगै बस्नु यस उपन्यासको संयोगान्त पक्छ हो भने जब रमेश श्रमको काम गर्न थाले त्यहाँ क्युरी नामक व्यक्तिप्रति साथ दिएकोमा पुन: प्रहरीहरुले आएर रमेशलाई पक्राउ गरेर जेलमा थुनिनु र बाटुसित बिछोड़िनु यस उपन्यासको बियोगान्त पक्ष हो !

13. पर्खालभित्र र बाहिर उपन्यासमा अस्तित्वबादी पक्ष :- यस उपन्यासमा अस्तित्वको झझल्को पाइन्छ ! पारिजात अस्तित्वबादी उपन्यासकार हुनाले गर्दा यिनको उपन्यासहरुमा अस्तित्वको सथान रहेको हुन्छ ! यस उपन्यासमा रमेशले भन्दा पनि बाटुलीले आफ्नो अस्तित्व जोगाएर राखेका छन् ! जब रमेश एघाह्र बर्ष जेलमा थुनिए त्यस अवधिभित्र बाटुली अन्य पुरुषहरुसित लहसिएको छैन ! यौवन कुण्ठित वा यौवन ग्रस्तित भएर कसैबाट यौवन तृष्णा मेटाएका छैनन् ! यस उपन्यसबाट हामी चाल पाउँछौ कि बाटुली एक सच्चा पतिभक्त हुन् ! यिनले एक्लो हुँदा पतिबाहेक कसैलाई चाहेन ,बेला बेलामा पतिलाई भेट्न जेल जान्थे र खानेकुराहरु लगिदिन्थे ! बाटुलीले पत्नी हुने धर्म एकदम निष्ठापूर्वक पालन गरेर पत्नी हुने अस्तित्व बचाएर राखेका छन् !

14. पर्खालभित्र र बाहिर उपन्यासको परिवेश :- पर्खालभित्र र बाहिर उपन्यासको परिवेश सिमित छ ! यसको परिवेश जेलबाट शुरु भएर जेलमानै अन्त भएको छ ! रमेश जेलभित्र हुँदाको त्याँहको परिवेश असुरक्षित र त्रासपूर्ण थियो भने जेलबाट मुक्त भएर रमेशले श्रमको काम गर्नु र त्यहाँ झगड़ा हुनुको मुख्य परिवेश यहिँहरुमा सिमित छ !

उपन्यासकार पारिजातको परिचय / उपन्यासकारीता :-

नेपाली साहित्यमा एउटा विशिष्ट र उल्लेखनीय नाम पारिजात हो ! उनको जन्म सन् 1934 मा दार्जीलिंगको लिंगिया कमानामा भएको थियो ! लामाले जुराइदिएको नाम छेकुडोल्मा र औपचारिक नाम विष्णुकुमारी वाइबा थियो ! दार्जीलिंगबाट दशौं श्रेणीसम्म अध्ययन गरी एघारौं श्रेणीदेखि काठमाण्डौको पद्मकन्या क्याम्पस पढ़न् थालेकी थिइन् ! काठमाण्डौमा उनले आजीवन बिताइन् ! कलेजकाल देखिने हड्डीको जोर्नीमा रोगलागेर उनी जीवनभर अपांग भइन् ! आफ्नो अध्ययनकालदेखि नै औपचारिक पाठ्यक्रमका अतिरिक्त अस्तित्वबादी, विसंगतिबादी, मार्क्सबादी, माओवादी दर्शनको स्वाध्यायन गरी आफ्नो लेखनमा तिखारिँदै गएकी थिइन् ! यसर्थ उनको लेखनीमा एकपल्ट अस्तित्वबादी उच्चता र अर्कोपल्ट प्रगतिवादी उच्चता प्राप्त गर्न सफल भएकी थिइन् ! उनको मृत्यु सन् 1993 मा भएको थियो ! लेखनको हकमा पारिजातका जम्मा एक्काइसवटा मौलिक पुस्तकहरु प्रकाशित भएका छन् ! कविता संग्रह :- आकांक्षा, पारिजातका कविताहरु र बैसालु वर्तमान ,वैशाक वर्तमान ! उपन्यासहरु :- शिरिषको फूलहरु, महत्ताहीन, बैंसको मान्छे, तोरीबारी बाटा र सपनाहरु, अन्तर्मुखी, उसले रोजेको बाटो, पर्खालभित्र र बाहिर, अनिँदो पहाड़सितै, परिभाषित आँखाहरु, बोनी ! कथासंग्रह :- आदिम देश, सड़क र प्रतिभा, साल्गीको बलात्कृत आँसु, वधशाला आउँदा जाँदा! निबन्धसंग्रह :- आधी आकाश ! आत्मसंस्मरणमा :- धूपी सल्ला र लाली गुराँसको फेदमा, एउटा चित्रमय शुरुवात, अध्ययन र संघर्ष !

सम्मान र पुरस्कार :- मदन पुरस्कार वि.सं.2022,युगज्ञान पुरस्कार 2027,पाण्डुलिपि पुरस्कार 2049,गंकी बसुन्धरा पुरस्कार 2049 !

उपन्यासकार पारिजातको औपन्यासिक प्रवृत्ति :-

पारिजात मूल रूपमा कवयित्री भएता पनि उनी सर्वाधिक सफल र चर्चित भने उपन्यासमा भइन् ! यद्यपि उनेले लेखेका हरेक साहित्य विधामा उनको कवित्व प्रदर्शित भएको पाइन्छ भन्ने विद्वानहरुको भनाइ रहेको छ ! पारिजातको सृजना साहित्यमा उपन्यासकार व्यक्तित्व नै प्रखर रूपमा रहेको छ ! प्रारम्भमा बिसंगतिबादी-अस्तित्वबादी धारामा लेख्ने पारिजातको बिचमा समय राल्फाली आन्दोलनसँग सम्बद्ध विद्रोही चेतना प्रबल रुपमा रह्यो ! अन्त्यको समय भने प्रगतिवादी र आलोचनात्मक यथार्थवादी धारामा केन्द्रित रह्यो ! पारिजातको औपन्यासिक यात्रालाई पहिलो, दोस्रो र तेस्रोगरी तीन चरणमा छुट्याउन सकिन्छ ! उनको प्रारम्भिक चरणको प्रमुख उपन्यास " शिरिषको फूल " ले बिसंगति र शून्यवाद जस्ता दार्शनिक धारणालाई प्रतिपादन गरेको ! एउटा बैंस गइसकेको भूतपूर्व सैनिक र आफ्नैका लागि जीवन बाँच्न चाहने एउटी निस्पृत युवतीको कथालाई प्रकट गरेर यसले पलायनको बाटो रोजेको पाइन्छ ! अर्थहीन र मूल्यहीन बँचाई र शून्यताको बोधमा यसले सफलता हासिल गर्यो भने यस्तै प्रवृत्तिको " महत्ताहीन " उपन्यासमा पनि अस्तित्वहीनता र विसंगतिको चरम परिणतिको बीच पनि बाँच्न वाध्य भएको मानिसको र भोगप्रतिको वितृष्णाले जन्माएको शून्यताको गहिरो र गम्भीर अनुभवमा नै जीवनको निस्सारता हुन्छ भन्ने कुरा व्यक्त भएको छ ! अर्को उपन्यास " अन्तर्मुखी " पनि लगभग यसै प्रवृत्तिमा रहेको छ ! पारिजातको दोस्रो चरणमा राल्फालाकालीन सक्रियता(2023-2030) का बेला लेखिएका उपन्यास त्यसै अनुरुपले बिद्रोह,आक्रोश र संघर्षको आगो ओकल्ने प्रवृत्तिको देखिन्छ ! यस अन्तर्गतको " बैंसको मान्छे " उपन्यास देखापर्छ ! यसपछि तेस्रो चरण अन्तर्गत विशुद्ध प्रगतिवादी बिचारधाराका उपन्यास लेखे ! शोषित.पीड़ित,नेपाली जातिका दुर्दशा ,पीड़ालाई झल्काएको पाइन्छ ! शोषित जन्ताहरुले भोग्नु परेको समस्याहरुको प्रस्तुति र तिनको आलोचना स्वच्छ रुपमा भएको छ ! तेरीबारी बाटा र सपनाहरु,परिभाषित आँखाहरु,पर्खालभित्र र बाहिर,बोनी जस्ता उपन्यासहरु यस प्रगतिवादी धारामा रचिएका छन् ! यी उन्यासहरुमा सामाजिक बिसंगती र विकृतिप्रति व्यांग्य,आलोचना र आक्रोश व्यक्त गरिएको पाइन्छ ! उसले रोजेको बाटो,अनिँदो पहाड़सँगै जस्ता उपन्यासहरुमा प्रगतिवादले प्रखर रुप लिएका छन् ! पारिजातका उपन्यासमा मूल रुपमा बिसंगतिबाद,शून्यबाद,अस्तित्वबाद,बिद्रोह चेतना,काव्यात्मक भाषा,आलोचनात्मक यथार्थबाद ,सूक्ष्म मनोविश्लेषण ,आत्मपरकता जस्ता प्रवृत्तिहरु पाइन्छ ! यी बाहेक यिनका औपन्यासिक प्रवृत्तिहरु यस प्रकार छन् - बिसंगतिबादी उपन्यासकार (शिरिषको फूल र महत्तहीन/अन्तर्मुखी) बिद्रोही/क्रान्तिकारी उपन्यासकार (बैंसको मान्छे ) प्रगतिबादी उपन्यासकार (तोरीबारी बाटा र सपनाहरु/परिभाषित आँखाहरु/पर्खालभित्र र बाहिर ) सामाजिक यथार्थवादी /आलोचनात्मक यथार्थबादी उपन्यासकार ( पर्खालभित्र र बाहिर/शिरिषको फूल/महत्ताहीन/अन्तर्मुखी ) व्यांग्यबादी उपन्यासकार (उसले रोजेको बाटो/अनिन्दो पहाड़सँगै ) सूक्ष्म मनोविश्लेषणबादी उपन्यासकार (शिरिषको फूल ) आत्मपरकाता उपन्यासकार ( शिरिषको फूल /अन्तर्मुखी ) बैचारिकता उपन्यासकार (शिरिषको फूल /पर्खालभित्र र बाहिर ) कवितात्मका उपन्यासकार (शिरिषको फूल /परिभाषित आँखाहरु ) स्वच्छन्दताबादी उपन्यासकार (यिनको उपन्यासहरुमा भावुकता,बिद्रोही/द्वन्द्व,प्राकृति चित्रण आदि पाउन सक्छौ ) व्यक्तिवादी/निराशबादी/सुधारबादी उपन्यासकार यौवन मनोबैज्ञानिक उपन्यासकार द्वन्द्वप्रधानता उपन्यासकार  !

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]