पृथ्वीको वायुमण्डल


वायुमण्डल पृथ्वीको वरिपरि रहेको हावाको बाक्लो तहलाई भनिन्छ।पृथ्वीलाई जल मण्डल, भू मण्डल र वायु मण्डल गरी ३ भागहरूमा विभाजन गरिएको छ। यो नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड, जलवाष्प तथा धुलाका कणहरूको समिश्रण हो। वायु मण्डल पृथ्वीको गुरुत्वाकर्षण शक्तिको कारण अस्तित्वमा रहेको छ।वायु मण्डलको तापक्रम तथा आद्रतामा परिवर्तन हुँदा यसले जीवहरूको जीवन पद्धतिमा प्रतिकूल असर पार्छ।
पृथ्वीको सतहबाट माथितिर उचाइ बढ्दै जादा वायु मण्डलीय तहको घनत्व पनि घट्दै जान्छ। वायुमण्डलमा विभिन्न ग्यासहरूको उपस्थितिको कारण सौर्यताप सञ्चय भइरहन्छ। वायु मण्डलीय तहको घनत्व, उचाइ र तापक्रमको आधारमा यसलाई छ तहमा विभाजन गर्न सकिन्छ। ती निम्न प्रकार छन् :
- निम्न मण्डल
- समताप मण्डल
- मध्य मण्डल
- तापीय मण्डल
- बाहिरी मण्डल
वायुमण्डल संरचना
[सम्पादन गर्नुहोस्]| ग्यास | प्रतिशत आयतन |
|---|---|
| नाइट्रोजन | 78.09 |
| अक्सिजन | 20.95 |
| आर्गन | 0.93 |
| कार्बन डाइआक्साइड | 0.03 |
| निअन | 0.0018 |
| हाइड्रोजन | 0.001 |
| हिलियम | 0.000524 |
| क्रिप्टन | 0.0001 |
| जेनान | 0.000008 |
| ओजोन | 0.000001 |
| मिथेन | अल्प मात्रा |
विभाजन
[सम्पादन गर्नुहोस्]
निम्न मण्डल
[सम्पादन गर्नुहोस्]वायु मण्डलको सबैभन्दा तल्लो तह निम्न मण्डल हो। यो तह पृथ्वीको सतहबाट लगभग १६ किमी उचाइसम्म फैलिएर रहेको छ। ध्रुवीय क्षेत्रमा यसको चौडाइ ८ देखि १० किमी र भूमध्य रेखीय क्षेत्रमा १६ किमी सम्म रहेको छ। यस तहमा नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड, जलवाष्प तथा धुलाका कणहरू रहेका हुन्छन्। पृथ्वीको वायु मण्डलको लगभग ९५ % अवयवहरू निम्न मण्डलमा रहेको अनुमान छ। निम्न मण्डलको सबैभन्दा माथिल्लो तहलाई ट्रोपोपज भनिन्छ।
यस तहको उचाइ बढेअनुसार प्रति किलोमिटरमा करिब ६.५ ० सेल्सियस तापक्रम घट्छ। यो क्रम ट्रोपोपजसम्म भइरहन्छ। यस तहमा उचाइ बढेअनुसार तापक्रम परिवर्तन भइरहने हुनाले यसलाई परिवर्तन मण्डल पनि भनिन्छ। मानवीय क्रियाकलापको कारण निस्कने धुलाका कणहरू र धुवाले यस तहलाई नकारात्मक प्रभाव पारिरहेको छ।
समताप मण्डल
[सम्पादन गर्नुहोस्]पृथ्वीको निम्न मण्डलभन्दा माथि रहेको तह समताप मण्डल हो। यो तह पृथ्वीको सतहबाट लगभग १६ देखि ५० किमी उचाइसम्म फैलिएर रहेको छ। यस तहमा ओजोन, नाइट्रोजन, अक्सिजन आदि मुख्य ग्यासहरूका रूपमा रहेका हुन्छन्। समताप मण्डलको सबैभन्दा माथिल्लो तहलाई स्ट्राटोपज भनिन्छ। यस तहको उचाइ बढेअनुसार तापक्रममा वृद्धि हुदै जान्छ। यो क्रम स्ट्राटोपजसम्म भइरहन्छ। यस तहमा नगण्य मात्रामा ओसिलोपन हुने हुनाले बादल कम बन्छ। यस तहको विशेषगरी २० देखि ३० किमी माथि परावैजनी विकिरणको उपस्थितिमा ओजोन ग्यासको तह निर्माण र विनाश हुन्छ। त्यसैले यस तहलाई ओजोनोस्फेयर पनि भनिन्छ। यस तहले ९९ % परावैजनी सौर्य विकिरणलाई शोषेर लिन्छ। फलस्वरूप ती हानिकारक विकिरणहरू पृथ्वीसम्म आइपुग्दैनन्। यसले गदा पृथ्वीमा प्राणी र वनस्पतिहरू बाच्न अनुकूल वातावरण बन्छ।
मध्य मण्डल
[सम्पादन गर्नुहोस्]समताप मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई मध्य मण्डल भनिन्छ। यो तह पृथ्वीको सतहबाट करिब ५० देखि ८० किमी माथिसम्म फैलिएर रहेको छ। यस तहमा हावाको तह पातलो हुन्छ। यस तहमा उचाइ बढेअनुसार तापक्रम घट्दै जान्छ। यो सबैभन्दा चिसो तह हो। उल्काबाट निस्केका तातो ग्यासका रेखाहरू यस तहमा देखिन्छन्। यस मण्डलको सबैभन्दा माथिल्लो तहलाई मेसोपज भनिन्छ। यस तहमा कडा बतास बहन्छ। यस्तो बतास हिउदमा पश्चिमबाट पूर्वतर्फ र वर्षायाममा पूर्वबाट पश्चिमतर्फ बहन्छ।
तापीय मण्डल
[सम्पादन गर्नुहोस्]मध्य मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई तापीय मण्डल भनिन्छ। यो तह पृथ्वीको सतहबाट करिब ८० देखि ७२० किमी माथिसम्म फैलिएर रहेको छ। यस तहमा हावाको तह पातलो र हावा कम हुन्छ। यस तहमा सौर्य विकिरणको प्रभाव बढी पर्ने हुनाले उचाइ बढेअनुसार तापक्रम पनि बढ्दै जान्छ। यस तहको तल्लो भागमा नाइट्रोजन, अक्सिजन आदिका अणुहरू विच्छेदन भई परमाणु बन्छन् भने यसको माथिल्लो तहमा खासगरी हिलियम र हाइड्रोजन हुन्छन्। यस तहमा ग्यासका अणुहरू आयोनहरूमा परिणत हुने भएकाले यसलाई आयोनोस्फेयर भनिन्छ। यस मण्डलको सबैभन्दा माथिल्लो तहलाई थर्मोपज भनिन्छ।

बाहिरी मण्डल
[सम्पादन गर्नुहोस्]तापीय मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई बाहिरी मण्डल भनिन्छ। यो तह पृथ्वीको सतहबाट करिब ७२० किमी भन्दा माथि फैलिएर रहेको छ। यस तहलाई सिमा प्रदेश पनि भनिन्छ। यो वायु मण्डलको सबैभन्दा माथिल्लो तह हो। यस तहमा हावा नगण्य मात्रामा भए पनि हावाका अणु र परमाणुहरू ज्यादै तीव्र गतिमा बहन्छन्। यी अणु र परमाणुहरूको गति अत्यधिक बढी हुने भएकाले तिनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षण शक्तिले समेत प्रभाव पार्न सक्दैन। गुरुत्वाकर्षणबाट स्वतन्त्र भएका अणु र परमाणुहरू अन्तरिक्षतर्फ फुत्किन्छन्।