सन्दुक रुइत
सन्दुक रुइत | |
---|---|
डा. सन्दुक रुइत | |
जन्म | सन् १९५५ ताप्लेजुङ |
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | Ophthalmologist [Eye Surgeon] |
जीवनसाथी | नन्दा रुइत |
सन्तान | एक छोरा दुइ छोरीहरू |
वेबसाइट | www.tilganga.org |
डा. सन्दुक रुइत सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन। बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति 'रुईतेक्टोमी'का सुरुवातकर्ता पनि हुन। उनले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई आज देश–दुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।[१]
परिवार र प्रारम्भिक जीवन[सम्पादन गर्ने]
डा. रुइत तमोरखोलाको शिरमा रहेको ओलाङचुङ गोलामा हुर्किए, जहाँ पुग्न अहिले पनि जिल्ला सदरमुकामबाट चार दिन लाग्छ। बुबा सोनाम, नेपाल-तिब्बतबीच नुन, चामल, घोडा, च्याङ्ग्रा व्यापार गर्नुहुन्थ्यो। बुबाका ६ मध्ये तीन छोराछोरी कलिलैमा बिते। डाक्टर् बन्ने सपना भएका उनी जन्मस्थान ताप्लेजुङको ओलाङचुगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुगे। त्यहाँको मिसनरी स्कूल सेन्ट रोबर्ट्समा भर्ना भएँ। सन् १९६२मा चीन-भारतबीच सीमा युद्ध भयो र ती युद्धसँगै दार्जलिङका स्कूल बन्द भए। उनलाई बुबाले काठमाडौँ ल्याउनुभयो र सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिनुभयो। सन् १९७०मा सिद्धार्थ वनस्थली स्कूलबाट पहिलो श्रेणीमा एसएलसी पास भए।
त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे। एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा 'जनरल फिजिसियन'का रूपमा तीन वर्ष बिताए। फेरि भारत गए र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाले। तीन वर्ष एम्समा पढेपछि १९८४मा नेपाल फर्किए र त्रिपुरेश्वर आँखा अस्पतालमा जागीरे भए। त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया गए। अस्ट्रेलिया बसेकै वेला उनलाई अमेरिका-युरोप-अस्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आयो। उनले ती प्रस्तावलाई हेरेनन् र नेपालमै आए।
तिलगंगा आँखा केन्द्र[सम्पादन गर्ने]
मुख्य लेख तिलगंगा आँखा केन्द्र
उनले एउटा आँखा अस्पतालको सपना देखेको थिए, जसलाई अस्ट्रेलियाका डा.हलोजले साथ दिए। यो अस्पताल खोल्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण-हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डा.रीता गुरुङलगायतले साथ दिएका थिए। यसरी १९९४ जुनमा जन्मियो-तिलगंगा आँखा केन्द्र जुन अस्पताल अहिले मानव संसाधन तालीम केन्द्र बनेको छ। [२]
अन्य देशहरूमा रुइतेक्टोमि[सम्पादन गर्ने]
उनले धेरै बिकसोन्मुख देशहरूमा गएर आफ्नो सेवा दिएका छन्। उत्तर कोरियामा उनले गरेको काम नेशनल जियोग्राफिकले एउटा वृतचित्रको रूपमा प्रसारण गरेको थियो [३]
पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]
- रमन म्याग्सेसे पुरस्कार - सन् २००६
- पद्मश्री - भारत सरकारद्वारा सन् २०१८[४]
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार - नेपाल सरकार सन् २०१९[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "डा. सन्दुक रुइतसँग कुराकानी ‘मलाई सधैंजसो इच्छाशक्तिले डोर्यायो", अन्तिम पहुँच ४ नोभेम्बर २०१९।
- ↑ दीपक सापकोटा, डाक्टर बन्ने पुरानै सपना, नयापत्रिका जुलाई ११, २०११
- ↑ उत्तर कोरियामा गरिएको उपचारको भिडियो, नेशनल जियोग्राफिक
- ↑ "These Are The Unsung Heroes In The 2018 Padma Shri Awards List", NDTV.com, जनवरी २५, २०१८, अन्तिम पहुँच २०१८-०१-२५।
- ↑ राजकुमार बानियाँ, सन्दुकका सकल सपना, आश्विन ११, २०७६