६४ साल पर्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

६४ साल पर्व भन्नाले १८६२ मा बासठ्ठीहरण गरी माझकिरातका जङ्गी बाहुन–क्षेत्री र राईहरूको विर्ता, किपट जमिन खोसेपछी बाहुन, क्षेत्री र राईहरु मिली राज्य विरुद्ध गरेको विद्रोहलाई चिनिन्छ। यो पर्व नेपालको पूर्वप्रदेश माझ्किरातको भोजपुरखोटाङमा घटेको थियो।

Rana Bahadur Shah.jpg
Rana Bahadur Shah

संवत् १८६४ मा नेपालको राजसिंहासनमा १० वर्षका गीर्वाणयुद्धविक्रम शाह विराजमान थिए। जोगी राजा रणबहादुर शाह, उनका पत्नी, भाइभारदारसमेत ९३ जना स्त्रीपुरुष मारिएको प्रथम भण्डारखाल पर्व परेको डेढ वर्ष भइसकेको थियो।

नेपालको सम्पूर्ण शासनको बागडोर भीमसेन थापाको हातमा परिसकेको थियो। सबै अरिष्ट पन्साएर उनी नेपालका सर्वेसर्वा बनेका थिए।

त्यसबेलाको नेपालको इतिहासको सिंहावलोकन गरेको खण्डमा अलिकता ऐतिहासिक पृष्ठभूमि पहिल्याएको खण्डमा त्यो पर्व पर्नामा त्यसअघिका विनाशकारी गृहकलहबाट उब्जेका पर्वहरू नै जिम्मेवार देखिन्छन्।

विशेषतः स्वामी महाराजभीमसेन थापाका सल्लाह–सहमतिबाट ढुकुटीको धन बढाउन गरिएको बिर्ता, गुठी, किपट अधिग्रहण अर्थात् बासठ्ठी हरण जस्ता कामकुरा नै पूर्व–पश्चिममा असन्तोषका लहर उठाउने र यो पर्व पार्ने कारण बनेका थिए।

पृष्ठभुमी[सम्पादन गर्ने]

रणबहादुर शाहले औपचारिक रुपमा बहादुर शाहलाई नायब पदबाट हटाई राज्याधिकार लिएर मनखुशी गर्न थाले। बहादुर शाहको अवसानपछि नेपालको दुर्दशा शुरू भएको कुरा घटनाक्रमले देखायो । तात्कालिन स्वामी महाराज रणबहादुर शाह नै त्यसका प्रमुख कारक देखिए। पश्चिमतर्फ राष्ट्र एकीकरण लडाइँ, भोटसँगको दुई पटकक युद्ध र चीनसँगको जोखिमी लडाइँ लड्दा ढुकुटी रित्तो थियो तर रणबहादुर शाहलाई काका बहादुर शाहले धन मासेको वा राखेको शंका भयो।

तर, रणबहादुर शाहले आफूले गरेको, भनेको कुरा नमान्ने भनी वीर देशभक्त सपूत बहादुर शाहलाई भए नभएको राजद्रोहको झूटो अभियोग लगाई जेलमा कोचे।

रणबहादुर शाहले परम्परा विपरीत ब्राह्मण कन्या कान्तिवतिसँग प्रतिलोम प्रेमविवाह गरी त्यसबाट जन्मने सन्तानलाई राजगद्दी दिने कबोल गर्ने, त्यसको विरोध गर्नेको दोहोलो काढ्ने, काका बहादुर शाहलाई बन्धनमा पारेर मार्ने काम गरे।

कान्तिवती क्षयरोगले ग्रसित भएपछि रणबहादुर शाहले मठमन्दिर र देवीदेवता भाकल गर्न थाले तर अवस्था सुधार भएन। कान्तिवतिले आफ्ननो पुत्र गीर्वाणयुद्ध विक्रमलाई राजगद्दी भएको हेर्ने इच्छा व्यक्त गरेपछि डेढ वर्षका शिशुलाई राजा बनाउने, तीन–चार वर्षका बालकलाई मुख्य चौतरिया घोषित गर्ने, २४ वर्षको उमेरमा जोगी हुन राजकाज त्याग्ने काम गरे। कान्तिवतिको मृत्यु पछि रणबहादुर शाह पागल जस्तै भए। कान्तिवतिलाई औषधि बनाउने वैद्यको हात कोलमा पेल्न लगाए, देवी देउता मन्दिरको अपमान गरे र फेरि राजकाजमा हस्तक्षेप गर्ने, सात कुल उँभो सात कुल उँधो धर्म भकाएर राजभार सुम्पेका भाइभारदारसँग लड्न मोर्चा कस्ने, आफ्नो राष्ट्रको सम्प्रभुतामा समेत आँच पुर्‍याउँदै पराइलाई उठाएर राजपाठ पुनः प्राप्त गर्ने, आफ्ना अधीनका भारदारलाई नानाभाँती अप्टिक लगाई बध गराउने, आफ्ना हातमुखले गद्दी सुम्पेको आफ्नै छोराका बफादार भाइभारदारमाथि राजद्रोहको बात लगाउने लगायतका कुकामहरू भए।

उनका तिनै कार्यले प्रजामा आतङ्क र नेपालको इतिहासमा जहानियाँ शासनको शुरूआत गराएको थियो। गुठबिर्ता, किपट हरण त्यस जमानामा चिताइनसक्नु कुरा थियो।

राजा नाबालक छँदा कुमन्त्रीका खेलमा परेका, जोगी भएर द्यौता–पितृबाट अलग्गिएका भूतपूर्व राजाबाट पो त्यस्तो काम भएको थियो, उनी आफ्नै कर्मले नष्ट भएपछि वर्तमान राजाबाट पुनः धर्म थामी ब्राह्मणहरूको खाइनपाइन पनि फिर्ता हुन्छ भन्ने अड्कलबाजी देशभर फैलियो।

बूढा–पुराना भाइभारदारहरू पनि विन्तीपत्र दिन आउने, कराउन आउने ब्राह्मण गुठियारहरूलाई देश जित्नका लागि त्यस्तो काम भएको भए पनि किल्ला काँगडा फत्ये हुनासाथ आफ्नो–आफ्नो खाइनपाइन फिर्ता, थमौती हुने आश्वासन पनि दिइराखिएकै थियो। त्यो पृष्ठभूमिमा चौसठ्ठी साल पर्व भएको थियो।

१८५४ सालमा बहादुर शाह मारिएपछि नेपाल केन्द्रमा राजनीतिक जालझेल र खेलखाल शुरू भयो। अर्को साल श्री ५ स्वामी पनि पाल्नुभयो, त्यस्तै हुँदा घरकलह हुँदै थियो।

श्री बहादुर शाहका पालादेखि श्री ५ स्वामी स्वर्गे हुँदाका बीचमा धेरै भारदार खर्च भया।'

यो पर्व नेपालको पूर्वप्रदेश माझ्किरातको भोजपुर र खोटाङमा घटेको थियो। त्यसबेला खोटाङ खुटा पनि भोजपुरभित्रै पर्दथे। दूधकोशीअरुणबीचको भाग माझकिरात कहिन्थ्यो। वि.सं. १८६२मा गरिएको बिर्ता हरणबाट रिसाएका ब्राह्मणहरू र राईहरूले पूर्वको माझकिराँतमा विद्रोह गरे, जुन विद्रोह दबाउन अनेकौँको ज्यान लिइयो। आफैं वा पूर्वराजाहरूले दिएका बिर्तावितलप, छाप, खर्क किपट हरण गर्नु भनेको त्यस बेला सानो कुरा थिएन। त्यही कारण माझकिरातका जङ्गी बाहुन–क्षेत्री र राईहरूले राजा विरुद्ध वाग्यान उठाएका थिए।

यसलाई ६४ साल पर्वको नामले प्रचारमा ल्याएको छ।

चौसठ्ठी साल पर्वमा पूर्वका निकै मानिस लागेका थिए। यसमा लागेका मानिस र दण्डसजायको स्वरुप हेर्दा यो निकै डरलाग्दो भएको बुझिन्छ, तर तुरुन्तै यसलाई दबाइयो। सबैलाई मार्ने, मुड्ने, सर्वस्व गर्ने, मास्ने आदि दण्डसजाय गरियो। तिनको सर्वस्व गरेर जायदाद र जहानपरिवारसमेत ल्याउन केन्द्रबाट हवल्दार केहरसिंह थापा खटाइएका थिए।

दण्डसजाय[सम्पादन गर्ने]

यस पर्वमा परेका १९ मध्ये ६ जना बाहुन, दुई जना क्षेत्री, ६ जना राई र पाँच जना घर्ती छन्। बाहुनलाई मृत्युदण्ड दिनु नहुने नियम भएकोले उनीहरू चारपाटा मुडिए, सर्वस्वहरण, जात पतित गरिए।

रामभद्र पाध्या र पीताम्बर नेपालको चाहिं भाइ–छोराको अंश पर सारेर उनको जति मात्रै सर्वस्व गरियो। अरू चारजना बाहुनको पूरै सर्वस्व गरियो। क्षेत्री, राई र घर्ती जति सबै काटिए।

अटल खत्रीका छोरा दरबारमा जागीर खाई बसेका हुनाले उसको अंश राखी बाँकी सर्वस्व भयो। अटल राई, भरतसिंह राई, कंठवीर राईहरूको जहान छोराछोरी समेतलाई कमाराकमारी बनाइए। अरूका आ–आफ्नो ज्यान र धन मात्र गयो, भाइ–छोरा, तिनको अंश र जहान छोराछोरीमाथि दाग लागेन। यस पर्वमा लागेका अरू चार जनालाई सर्वस्व गरी कायनामा लेखाई दरबारै लगियो भनिएको छ।

नेपाल कुलका भएकाले पीताम्बर उपाध्याय (पीतांपाध्या) बारे केही कुरा श्रुतिपरम्पराबाट र कागतलिखत छ। केहरसिंह थापाले पीतांपाध्याको सर्वस्व गर्न खोज्दा उनका दाजुभाइले अंश नै नभएको जनाइदिए। त्यसपछि सर्वस्वको कारबाही त्यतिकै रोकिएर रह्यो।

पछि सबै दाजुभाइ–इष्टमित्र मिलेर नेपाल ब्राह्मणको सिक्तेल कुशबिर्ताको खर्कको रूपमा रहेको सल्लेनी निजको अंश देखाइदिए। पीताम्बरको जवदी अर्थात् सर्वस्वमा परेर रैकरमा परिणत भएको सो ठाउँबाट धेरै पछि भीमसेन थापाको अन्तिम कालतिर मुखिया चामुनारायण नेपालमार्फत रकमकलम असुलतहसिल हुन लाग्यो।

पीताम्बर नेपाललाई वाग्यान लागेर अंश सर्वस्वमा परे तापनि दाजुभाइहरूले बहिष्कार गरेनन्, बरु आ–आफ्ना अंश बाँडीचुँडी गरेर उनलाई दिन थाले। सल्लेनी खर्कलाई चाहिं उनको अंश देखाई सर्वस्वमा पारी रैकर गराए। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://himalkhabar.com/news/5170