सामग्रीमा जानुहोस्

बासठ्ठीहरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१८६२ मा मुख्तियार रणबहादुर शाहले विर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरे। यसै घटनालाई ६२ हरण, विर्ता हरणको नामले चिनिन्छ। त्यो विर्ताहरणले शताब्दी देखि पाएका विर्तावाला भएका ब्राह्मण लगायत सबैजसो जातिमा ठूलो हलचल ल्यायो।[१]

राजा रणबहादुर शाह वि.सं. १८५८मा राज्य त्याग गरी बनारस गएका थिए। वनारसमा वस्दा अंग्रेजले सहयोग नगरेको [२] तथा धन सकिएर बिजोग स्थिति भएपछी पछि वि.सं. १८६२मा पुनः नेपाल फर्किए र दामोदर पाण्डे लगायत केहि भारदारको हत्या र केहि भारदारहरूको निर्वासन गरी शासन सत्ता आफ्नो हातमा लिए ।

भोगविलासमा मस्त रणबहादुर शाहले राजराजेश्वरी, सुवर्णप्रभा र कान्तिवतीका अतिरिक्त बनारसबाट फर्केपछि लक्ष्मीदेवी, महताव, चन्द्रावती, अमरराजेश्वरी तथा ललितत्रिपूरासुन्दरीसँग आफूखुसी विवाह गरेका थिए। नेपालको एकीकरण गर्न धनको आपूर्ति गर्न भनी ब्राह्मणले पाएको विर्ता, राईको किपट हरण गर्नपट्टी लागे।[१]

घटना[सम्पादन गर्नुहोस्]

आफू बनारस रहँदा लागेको ऋण तिर्न भीमसेन थापाको सल्लाहमा ६२ जना बाह्मणहरूले पाएको विर्ता, गुठी र राईहरूको किपट जग्गा जफत गर्ने घोषणा गरे। यसैलाई नेपालको इतिहासमा 'बासठ्ठी हरण'को नाम दिइएको छ।

चित्तरञ्जन नेपालीको अनुसार[३] रनबहादुर शाहले मुख्तियारी भै शासन भार लिएपछि नेपाल र ब्रिटिस भारत बीच तिक्ततापूर्ण सम्बन्धको परिवेशमा फौजलाई संगठित गर्नेतर्फ सोच्न थाले. तर , त्यस बखत सरजारी कोषको साधारण आयबाट मात्र फौजलाई पुनर्गठन गर्न गरी सगठित गर्न तथा नयाँ ढंगबाट तालीम दिलाउन आवश्यक खर्च पुर्याउन सक्दैनथ्यो. यसर्थ नयाँ आयको स्रोत निकाल्न जरुरी हुन गएको थियो. यसका निमित्त उनले विर्ता हरण गर्ने निश्चय गरे. त्यस बखत अधिकांश जग्गा याँ त देवीदेवताको गुठीमा याँ ब्राह्मणहरूको विर्तामा दरिएको हुन्थ्यो. सोही बिर्ता हरण गर्ने उनले बिचार गरे. तर त्यस बखत अरु काजी सर्दारहरूको पनि बिर्ता नभएको होइन. तर पनि फौज सम्बन्धि काममा खर्च गर्नको निमित्त हरण गर्ने जुन उद्देश्य थियो, त्यसबाट काजी सर्दार आदि फौज उच्च पदाधिकारीहरूकै बिर्ता हरण गरेमा सो उद्देश्य पुरा हुनुको साटो उल्टो प्रतिक्रिया पर्न जाने सम्भावना भएकाले उनीहरूको बिर्तालाई नछोइकन केवल ब्राह्मणहरूको विर्ता र देवदेवताको गुठी मात्र हेरे निर्णय गरिएको हो, जुनकि वीरताबाट आर्जित पनि थिएन. खुसी मनले दिन राजी नभएपछी रणबहादुर शाहले सारा ब्राह्मणहरूको बिर्ता र देवदेवताको गुठी जग्गा हरण गरी, त्यसको आम्दानी फौजमा खर्च गर्ने व्यवस्था गरे. नेपालको इतिहास यस कार्यलाई नै बासठ्ठीहरण भन्दछन्।

"बिर्ता हरण"को यो कार्य सम्वत् १८६२ सालमा रणबहादुर शाहले गरेका थिए. बासठ्ठी सालमा हरण गरिएको हुनाले यसलाई "बासठ्ठीहरण" भन्ने चलन चलेको हो. बनारस बाट फर्केर प्रशासन आफ्नो हातमा लिएपछि फौजलाई नयाँ ढंगबाट संगठित गर्नानिमित्त खर्च पुर्याउनको लागि गरेका थिए.[४] यी बिर्ताहरू उनले फौजी कम्पनीका नाममा दर्ता पनि गरेका थिए. यो भारतमा बढ्दै गएको अंग्रेजी उपनिवेशवादी नीतिको विरोधमा नेपालले दर्शाएको प्रतिक्रिया हो.[५]

असर[सम्पादन गर्नुहोस्]

बिर्ता सट्टा भर्ना[५][सम्पादन गर्नुहोस्]

स्वस्तश्री गिरिराज चक्रचूडामणि नरनारायणोत्यादिविबिध विरुदार्वाल विराज मान मानोन्नत श्री मन्महाराजधिराज श्री श्री श्री महाराज राजेन्द्र विक्रम शाह बहादुर सम्सेर्जंग देवानाम् सदा समर विजयिनाम् --

आगे हाम्रा मुलुकाका ब्राह्मणहरूका र देव देवताका पुजाहारी गुठीयार हरूके ६२ सालमा ब्राह्मणहरूका विर्ता देव देवता का गुठीहरण हुनाले दर्बारमा कहिल्यै सुविस्ता हुन्या भयन ती गुठी फोइ बक्स्या सर्कार्को बढीया हुन्याछ भनी श्री प्रायम मिनिस्टर यान् कम्यान्डर इन्चीफ जनरल जंग बहादुर कंवर गैर्हले हाम्रा हजूरमा बिंति पार्दा ६२ सालमा जबद भयाको विर्ता गुठी नालामा दरियाका छन् त्यो झिकिबहाल गर्याइ दिनलाई कंपु पल्टन कंपनि रहन्या भएन कम्पु पल्टन कंपनि नरह्या दुस्मनको प्रबल भाई हिन्दूको कर्म रहोइन जवद भयाको गुठी विर्ता पनि सट्टा पाउन्या कंपु पल्टन कंपनि रही मुलुक थामी हिन्दूको कर्म पनि रहन्या कुराको ताजावीज गरी षत वापत हरियाका र जाँच भै कट्टी भयाका बाहेक ६२ सालामा हरण भयाका तिमीहिरूका विर्ता र देव देवता का गुठी षेत पाषाको मध्येश पहाडका वैरान पर्ती वाझा जामइनमा हाम्रा हुकुमले लाल मोहर भाई बंद भयाका जग्गा र गौचर सन्धी सर्पन पर्न्या जगा बाहिका जगामा सट्टा लिनुभनी जगा अवाद गर्नालाई यथाशक्ति रुपैया बक्सी १९०४ सालका बाली देखि गुठि विर्ताको सट्टा बक्स्यौ षत बापत हरियाका र जाँचभै कट्टि भयाका बाहेक ६२ सालामा हरण भयाका आफ्ना विर्ता र देव देवताका गुठी षेत पाषो जती जती छ षसोषास सदर दफदर षानामा लेषाइ जाँच बुझ गराइ मध्येश पहाडका वैरान पर्तिवांझो जामइनमा हाम्रा हुकुमले लालमोहर भैबंद भयाका जगा र गौचर सन्धी सर्पन पर्न्या वाहेकका जगामा सट्टाली जग्गा अनुसार पायाको षर्च रुपयाले जग्गा आवाद गरी मुगलानीया रयेत ल्याई वसाउनु नेपालका रयेत लैगी नवसाउनु आफ्ना षातिरमा संग हाम्रो जय मनाइ गुठी विर्ता जानि भोग्य गर

इति संवत् १९०३ साम मितिमार्ग वदिद १२ रोज १ शुभम्

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

इतिहासमा

  1. १.० १.१ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २०१
  2. नेपालको इतिहासमा भएका प्रमुख युद्ध तथा महत्त्वपूर्ण घटनाहरु https://bishalnepal.com/नेपालको-इतिहासमा-भएका-प्/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-२३ मिति
  3. चित्तरञ्जन नेपाली, श्री ५ रणबहादुर शाह (व्यक्तित्व र शासन), पृ: ८२। 
  4. चित्तरञ्जन नेपाली (बि.सं २०२०), श्री ५ रणबहादुर शाह (व्यक्तित्व र शासन), पृ: ८३। 
  5. ५.० ५.१ चित्तरञ्जन नेपाली (बि.सं २०२०), श्री ५ रणबहादुर शाह (व्यक्तित्व र शासन), पृ: ८४।