भण्डारखाल पर्व (१८६३)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भण्डारखाल पर्व
तिथि वि. सं. १८६३ वैशाख
स्थान भण्डारखाल बगैचा, वसन्तपुर दरबार क्षेत्र
परिणाम बालनरसिंह कुँवरद्वारा शेरबहादुर शाहको हत्या
काजी त्रिभुवन खवास (प्रधान) तथा काजी नरसिंह गुरुङसहित ९३ लाई मृत्युदण्ड
भीमसेन थापा नेपालको मुख्तियार नियुक्त
ललित त्रिपुरा सुन्दरी नेपालको राजमाता घोषित
योद्धा
थापा वंश र गुटका भारदारहरू चौतारिया गुटका भारदारहरू
सेनानायक
भीमसेन थापा
बालनरसिंह कुँवर
बम शाह
शेरबहादुर शाह
त्रिभुवन खवास (प्रधान)
नरसिंह गुरुङ
मृत्यु एवं हानि
९३

वि.सं १८६३ वैशाखमा हनुमानढोकाको भण्डारखाल बगैचामा एक हप्तासम्म राजनैतिक नियतले रणबहादुर शाहको हत्याको अनुसन्धानमा चौतारिया शेरबहादुर शाहका गुटका भारदारहरूलाई मृत्युदण्ड दिइयो । यस घटनाको सुरुवात काजी त्रिभुवन खवास (प्रधान)को ब्रिटिशसंगको सम्बन्धमाथि छानबिन भयो । ब्रिटिश नक्स मिसनको स्थापना हुनुमा दोषी ठहरिएपछि काजी त्रिभुवनले चौतारिया शेरबहादुर शाह, काजी नरसिंह गुरुङ लगायत सबैको पोल खोलिदिए ।

राजकचहरी[सम्पादन गर्ने]

नेपालको राज्यकोषबाट शेरबहादुर शाहीले १८,०००/- झिकी भ्रष्टाचार गरेको कुरा खुल्यो र खजाञ्ची त्रिभुवन खवास पनि त्यस दोषका भागी भए । वि सं १८६३ बैशाख १४ गते राती त्रिभुवन खवासको घरमा भारदारी कचहरी बस्यो । राज्यकोषका हर्ताकर्ता त्रिभुवन खवास ज्यादै चलाख र सम्पन्न परिवारका थिए । उनै त्रिभुवन खवासले राज्यकोषबाट रकम हिनामिना गरी भ्रष्टाचार बढाएको प्रमाण प्राप्त भएकाले त्यस्को छानबिन गर्न राजकचहरी बस्नु परेको थियो ।[१] मानिसको ज्यान लिने कुरा परेमा राती सभा बोलाउने परम्परा नेपालमा भएकाले त्यसो गरिएको थियो ।[२]

काटमार[सम्पादन गर्ने]

रणबहादुर शाहले त्रिभुवन खवासलाई काट्ने र शेरबहादुर शाहका आँखा फोर्ने आदेश दिए। त्यति छलफल भएर बेलुकीको खाना खाने बनेर भीमसेन थापा चौतारिया रणोद्योत शाहको भान्छामा गए। शेरबहादुरले रिसको झोकमा रणबहादुर शाहलाई तरबार प्रहार गरे। थिलोथिलो गरी काटिएका रणबहादुर शाहले अंगरक्षक बालनरसिंह कुँवरलाई पुकारे।[३] तत्कालै राजाका अंगरक्षक बालनरसिंह कुँवरले तलवार झिकी पूर्व राजाका हत्यारा शेरबहादुरलाई काट्दा शेरबहादुरको पनि मृत्यु भयो । यसमा बम शाहको बालनरसिंहप्रति समर्थन देखिन्छ ।

राजकुमार रणोद्योत शाहका घरमा खाना खान गएका तत्कालीन काजी भीमसेन थापाले घटनाको अनुसन्धान सुरु गरे । दोषी ठहरिएकालाई भण्डरखाल बगैंचामा मृत्युदण्ड दिइयो (६४ साल पर्वमा) जसमा ९३ जना परे । मृत्यदण्ड पाउनेहरू मुख्यतय शेरबहादुर शाहका भारदारहरू थिए जसमा काजी त्रिभुवन खवास र काजी नरसिंह गुरुङ थिए ।

शेरबहादुर शाहीका दुई अंगरक्षक तत्काल काटिए। र, सुरु भयो- शृङ्खलाबद्ध हत्या। काजी त्रिभुवन प्रधान र नरसिह गुरुङ थुनिए । शेरबहादुर शाहीका दाजु विदुर शाही नजरबन्दमा परे । पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाइ त नजरबन्दमै थिए । हेलम्बुमा रहेका महारानी राजराजेश्वरीलाई पनि बोलाइयो। यिनीहरू सबै भण्डारखालको बगैंचामा काटिए, कुनै पुर्पक्षबिना काटिए। विदुर शाहीका नाबालक छोराहरू पनि बचेनन् । त्रिभुवन प्रधानका नातिहरू पनि विष्णुमती नदीमा काटिए ।पाल्पाली राजाका १८ अंगरक्षकले पनि ज्यान गुमाए । त्यसको अर्को दिन १३ अरू भारदार मारिए । राजराजेश्वरी १४ सुसारेहरूसँगै सति जान बाध्य पारिइन्। यसरी दुई सातासम्म लगातार हत्या शृङ्खला चलेको थियो, जसमा १६ महिला र ७७ पुरुषले ज्यान गुमाए, बाबुराम आचार्यले मृत्यु हुनेको संख्या यही टिपाएका छन् । 'यो हत्याकाण्ड कोतपर्वभन्दा पनि घटिया थियो, यसमा राति सुतिरहेका बालक र वृद्धलाई पनि छाडिएन,' इतिहासकारद्वय तुलसीराम वैद्यतीर्थप्रसाद मिश्रले लेखेका छन् ।

त्यस पश्चात्[सम्पादन गर्ने]

त्यसपछि भीमसेन थापा मुख्तियार बने। उनीहरूकै भाषामा, 'यो हत्याकाण्ड नेपालको इतिहासमा राजनीतिक परिवर्तनको घटना थियो । अब राजपरिवारबाट भारदारमा शक्ति र सत्ता हस्तान्तरण भयो। राजपरिवारको भूमिका न्यून हुँदै गयो । नरसंहार गरी सत्तामा आउने परिपाटी देखापर्‍यो । यस्ता घटनाहरू पुनरावृत्ति हुँदै गए। अन्ततोगोत्वा यस्तै हत्याकाण्डबाट जंगबहादुर सत्तामा आए । यस अर्थमा भीमसेन थापा जंगबहादुरका मार्गदर्शक देखिन्छन् ।' [४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ[सम्पादन गर्ने]

  1. नेपालको तथ्य इतिहास, काठमाडौँ: साझा प्रकाशन, २०६१, पृ: १९४। 
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २०१
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २०२, आइएसबिएन 99933-2-406-X 
  4. इतिहासको एउटा ट्र्याजडी श्रावण ११, २०७१हिमेशरत्न वज्राचार्य