कोइलीदेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोइलीदेवी
वास्तविक नामराधा बस्नेत
जन्म१९८७ भदौ १२
चिसापानी गढी मकवानपुर
मृत्यु२०६४ पुस ६
काठमाडौँ, नेपाल
पेशानोकरी
सक्रिय वर्ष१९९८ देखि २०५९ सम्म

कोइलीदेवी माथेमा (वि. सं. १९८७- वि. सं. २०६४) प्रख्यात नाम कोइलीदेवी नेपाली गायिका हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

कोइलीदेवीको जन्म वि. सं. १९८७ भदौ १२ ऋषिपञ्चमीका दिन पिता रामबहादुर बस्नेत र माता नीलम बस्नेतको सन्तानका रूपमा मकवानपुर, चिसापानी गढीमा भएको हो। उनको जन्म नाम राधा बस्नेत हो। जन्मिएको एक वर्षमा उनकी आमाको निधन भएपछि उनी पाँच वर्षको उमेरमा आफ्नी फुपू मानप्रिया भट्टसँग काठमाडौँ आएकी हुन्। सानामा उनलाई राधाभन्दा पनि पान्तरी भनेर बोलाइन्थ्यो। त्यही नाम लिएर मखनटोलको स्कुलमा पढ्न थालिन्। फुपू सङ्गीतकी अनुरागी भएकाले उनलाई सङ्गीत पनि सिकाउन थालिन्। फुपूको प्रयासमा उनी ११ वर्षको उमेरमा सिंह शमशेर जबराको दरबारमा सेविकाका रूपमा काम गर्न थालिन्। आमा-बुबाले माया गरेर राखिदिएको नाम सिंह शमशेरले परिवर्तन गरिदिए। खासमा पान्तरीको स्वरबाट मुग्ध भएर सिंह शमशेरले 'कस्तो कोइलीको जस्तो मीठो स्वर' भनेपछि उनको नाम कोइलीदेवी भएको थियो। सिंहदरबारमा उनी नाँच्ने र गाउने गर्दथिन्। वि. सं. २००७ सालमा प्रजातन्त्र आएपछि देशमा धेरै परिवर्तहरू आएसँगै उनी सिंहदरबारबाट निस्केर एउटी स्वतन्त्र गायिकाका रूपमा रेडियो नेपालमा गाउन थालिन्।

परिवारको माया ममताबाट वञ्चित कोइलीदेवीकी फुपू मानप्रिया निःसन्तान थिइन्। मानप्रियाले छोरीझैं उनलाई हुर्काइन् बढाइन्।

वैवाहिक जीवन[सम्पादन गर्नुहोस्]

फुपूको मृत्युपछि कोइलीदेवी एक्ली भइन्। यही बेला उनको भेट साकारभक्त माथेमासँग भयो। १० वर्ष लामो प्रेमपछि ३५ वर्षको उमेरमा वि. सं. २०२१ साल वैशाख शुक्ल पक्ष अक्षय तृतीयाको दिन पवित्र लगनगाँठोमा बाँधिए। साकारभक्त त्यसबेला ५१ वर्षका थिए अनि उनी ३५ वर्षकी थिइन्। शायद दुवैको विवाह ढिला र अनमेल भएका कारण पनि सन्तान भएनन्। यता साकारभक्तका परिवारले पनि कोइलीदेवीलाई बुहारी मान्न अस्वीकार गरे। वि. सं. २०५६ साल जेठ ८ गते साकारभक्तको देहावसानपछि उनी फेरि एक्लो भइन्।

निधन[सम्पादन गर्नुहोस्]

वि. सं. २०६४ पुस ६ गते काठमाडौँमा कोइलीदेवीको निधन भयो। निधनअघि छ वर्षदेखि मुटुरोगले सताएको थियो। उनी काठमाडौँ, घट्टेकुलोस्थित निवासमा भान्जीसँग बस्दै आएकी थिइन्। उनको वि.सं. २०६४ पुस ६ गते नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।

साङ्गीतिक जीवन[सम्पादन गर्नुहोस्]

बाल्यकालदेखि नै साङ्गीतिक वातावरण पाएकी कोइलीदेवीले राणा दरबारमा एक दशक लामो समय गायिका तथा नायिका भएर नृत्य तथा नाटकमा भाग लिइन्। त्यसपछि वि. सं. २००७ सालमा रेडियो नेपालको स्थापनापछि पहिलो पटक चैत २६ गते आफ्नै रचना र सङ्गीतमा उनले गीत गाएकी थिइन्। कोइलीदेवीले रेडियो नेपालमा 'संसारको झमेला लाग्दछ क्या यो मेला, यो दुनिया सदा रसिलो' रेकर्ड गरी गायनयात्रा थालेकी थिइन्। यो स्वर नै रेडियो नेपालको प्रथम गायिकाका रूपमा परिचित छ। त्यसपछि रेडियो नेपाल उनको नियमित गाउने थलो बन्यो। रेडियो नेपालसँग उनी ४४ वर्ष गाँसिइन्। खरदार पदबाट उनको बढुवा हुँदै वि. सं. २०४४ साल चैत १५ गते शाखा अधिकृतसरहको पदमा पुगी शास्त्रीय सङ्गीत प्रबन्धकसम्म भइन्। उनले आधुनिक, लोक र राष्ट्रिय तथा भजन गरी चार हजारभन्दा बढी गीत दिएकी थिइन्।

सेवा-निवृत्त[सम्पादन गर्नुहोस्]

वि. सं. २०५९ साल असार ८ गतेदेखि कोइलीदेवीले औपचारिक रूपमा गायन, सङ्गीत र वाद्यवादनलाई तिलाञ्जली दिएको घोषणा गरिन्। आफूसँग भएका हार्मोनियम, तबला, तानपुरा आदि सम्पूर्ण वाद्ययन्त्र ललितपुरस्थित इन्दिरा सङ्गीत महाविद्यालयलाई दान दिइन्। उनका 'सेवा' र 'समर्पण' दुई एल्बमसमेत छन्। उनी गायनबाहेक गीतलेखन र संगीत संयोजनमा समेत संलग्न थिइन्।

पुरस्कार/सम्मान[सम्पादन गर्नुहोस्]

उनले पाएका पुरस्कार एवम् सम्मानको सूची लामो छ। खासगरी गोरखा दक्षिण बाहु पाँचौँ, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता गीत पुरस्कार, वीरेन्द्र-ऐश्वर्य सेवा पदक, दर्जनौं सङ्घ-संस्थाबाट सम्मान तथा रेडियो नेपाल तथा टेलिभिजनबाट समेत पुरस्कार प्राप्त गरिन्। कोइलीदेवीका नाममा नइ प्रकाशनले कोइलीदेवी सङ्गीत कोषको प्रबन्धक समिति २०५६ समेत स्थापना गरेको छ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]