कुलचन्द्र गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुलचन्द्र गौतम

कुलचन्द्र गौतम (जन्म वि.सं. २००६) नेपालका कूटनीतिज्ञ हुन्। उनले लामो समय संयुक्त राष्ट्रसंघमा काम गरेका छन्। संयुक्त राष्ट्रसंघमा सबैभन्दा माथिल्लो ओहदामा पुग्ने उहाँ एक नेपाली पनि हुनुहुन्छ। उहाँको जन्म गुल्मी जिल्लाको अमरपुर गाउँमा २००६ साल मंसिर ६ गते (सन् १९४९) भएको हो। उहाँका पिताको नाम ओमप्रसाद र माताको नाम हिमा गौतम हो। [१] उहाँ पहिलो सन्तान हो। उहाँहरू ३ भाइ र ४ बहिनी जन्मनु भएको हो।

शिक्षा[सम्पादन गर्नुहोस्]

स्कूलको पढाई सकेपछि सिधा सम्पर्कबाट अमेरिका पढ्न जान खोज्दा उहाँले पासपोर्ट पाउनु भएन। एक वर्ष काठमाडौंं बस्नुपर्‍यो। त्यो बेला उहाँले काठमाडौंंको त्रि-चन्द्र कलेजमा पनि पढ्नुभयो। पढाई खर्च जुटाउन अमेरिकी सहयोग नियोग (युएसएआइडी) का विभिन्न सामग्री अनुवाद गर्नुभयो। एक वर्षपछि सहसचिव दीर्घराज कोइरालाको मद्दतले उहाँ अमेरिका आउन पाउनु भयो। सन् १९६८ सेप्टेम्बरमा अमेरिकाको न्यू ह्याम्सर राज्यको डार्मोथ कलेजमा आएर पढ्नुभयो। त्यहाँ पढ्न आइपुग्ने उहाँ पहिलो नेपाली विद्यार्थी हुनुहुन्थ्यो। प्रिन्स्टन र हार्भर्ड युनिभर्सिटीमा पढ्नुभयो। भियतनाम युद्धप्रतिको चासो र त्यसपछि युद्धविरामका लागि भएको पेरिस सम्झौताले उहाँलाई संयुक्त राष्ट्रसंघ प्रति आकषिर्त गर्‍यो।

संयुक्त राष्ट्रसंघमा प्रवेश[सम्पादन गर्नुहोस्]

उहाँले सन् १९७३मा संयुक्त राष्ट्रसंघमा प्रवेश गर्नुभयो। संघमा उहाँलाई राष्ट्रसंघीय बालकोष (युनिसेफ)मा खटाइयो। भियतनाम जानुभयो। त्यसपछि संघका लागि निरन्तर काम गर्नुभयो। गौतमले कम्बोडिया, हैटी, ल्याटीन अमेरिका तथा क्यारिबियन देशहरू, लाओस, भारत आदिमा पुगेर काम गर्नुभयो। बालकोषका कार्यकारी निर्देशक हुनुभयो। सन् २००७ डिसेम्बरमा संघबाट सेवानिवृत्त हुनुभयो। उहाँ अहिले धेरै सामाजिक संस्थामा रहेर काम गर्नुहुन्छ। विश्वका धेरै देश पुगेका गौतमले विश्व चर्चित सम्मान पाउनुभएको छ।

कुल चन्द्र गौतम संयुक्त राष्ट्रसंघका भुतपूर्व सहायक महासचिव र युनिसेफका उपकार्यकारी निर्देशक हुनुहुन्छ। वहां सामाजिक र आर्थिक विकाश, मानव अधिकार र वालकल्याण संबन्धि विशेषज्ञ हुनुहुन्छ। हाल श्री गौतमले नेपालको शान्ति प्रक्रिया, लोकतन्त्रको सुदृढीकरण र आर्थिक-सामाजिक विकासकोबारेमा देशका राजनीतिक र नागरिक समाजको नेतृत्वलाई अनौपचारिक सल्लाह-सुझाव दिनेगर्नुहुन्छ। सन् २०१०-११मा वहां नेपालको प्रधानमन्त्रीका अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रिया सम्बन्धि विशेष सल्लाहकार र संयुक्त राष्ट्रसंघको महासभाका लागि नेपालका उम्मेदार पनि हुनुहुन्थ्यो। त्यस अबधिमा वहां गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरष्कार समितिका संयोजक र नेपालस्थित सिटिजन्स बैङ्क इन्टर्न्यासनलका अध्यक्ष पनि हुनुहुन्थ्यो। वहां अन्य प्रतिष्ठित नेपाली नागरिकको साथमा “हिंसा अन्त्य अभियान”का अगुवा हुनुहुन्छ। साथै नेपाल सार्बजनिक स्वास्थ्य प्रतिष्ठान, आरोग्य प्रतिष्ठान, मदन पुस्तकालाय प्रतिष्ठान, रातो बंगला शैक्षिक प्रतिष्ठान र रोटरी आदि संस्थाका सदस्य-सल्लाहकार हुनुहुन्छ।

अन्तर्राष्ट्रियस्तरमा श्री गौतम जापानस्थित बालकल्याणकालागि विश्व अन्तर्धार्मिक प्रार्थना र सेवा दिवस (World Day of Prayer and Action for Children) का अध्यक्ष, संयुक्त राज्य अमेरिकास्थित अड्रे हेपबर्न बाल प्रतिष्ठान (Audrey Hepburn Children’s Fund) का अध्यक्ष, रगमार्क-गुडवीभ, (RugMark/Goodweave USA) का सदस्य र विश्वबैङ्कद्वारा आयोजित दक्षिण एसियाली खाद्य तथा पोषण सुरक्षा कार्यक्रम (South Asia Food and Nutrition Security Initiative)का सल्लाहकार पनि हुनुहुन्छ।

संयुक्त राष्ट्रसंघको तीन दशकभन्दा लामो र गरिमामय सेवागर्नुभएका श्री गौतमले वहांको कार्यकालमा विश्वका सरकारी र गैरसरकारी शीर्ष नेताहरू र अन्तर्राष्ट्रिय संघसंस्थाका उच्च पदाधिकारीहरूसँग भेटवार्ता र सम्झौता गरेर विकाशनिर्माण, मानव कल्याण, वालअधिकार इत्यादि क्षेत्रमा नीतिनिर्धारण गर्न, उक्त नीतिहरूको कार्यान्वयनको लागि योजना तर्जुमा गर्न र आर्थिक श्रोत जुटाउन सरीक हुनुभएको थियो।

अन्तर्राष्ट्रियस्तरमा वहांले संयुक्त राष्ट्रसंघका महासभा, सुरक्षा परिषद, आर्थिक र सामाजिक परिषद, युनिसेफको कार्यकारी बोर्ड जस्ता सर्वोच्च निकायको काममा योगदान दिनुकोसाथै, युनिसेफले सहयोग गर्ने १५० भन्दा बढी विकासोन्मुख देशका कार्यक्रमको रेखदेख, नीतिनिर्धारण, मुल्यांकन र निरिक्षण गर्नुहुन्थ्यो।

संयुक्त राष्ट्रसंघको तर्फबाट विभिन्न देशको स्थानिय, राष्ट्रिय र क्षेत्रियस्तरमा बिकाश कार्यक्रमको नीतिनिर्माण र कार्यान्वयनगर्ने काममा पनि वहां निकै अनुभवी र क्रियाशील हुनुहुन्थो। यसक्रममा वहांले १०० भन्दा बढी देशहरू भ्रमण गर्नुभएकोछ र ती देशका उच्च नेता एबं विकास कार्यकर्तासँग अन्तर्क्रिया गर्नुभएकोछ।

युनिसेफको सेवामा वहांले क्याम्बोडिया, इन्डोनेसिया, लाओस, हाइटी, भारत, थाइलैन्डजस्ता देशमा अधिकृत देखि कार्यालय प्रमुख, निर्देशक र संस्थाका देशव्यापि प्रतिनिधिको कार्यभार पनि दक्षताका साथ सम्हाल्नु भएको थियो।

ल्याटिन अमेरिका तथा क्यरिबियन क्षेत्रका प्रमुख, एसिया र प्रशान्त क्षेत्रका निर्देशक, तथा युनिसेफ मुख्यालयमा योजना, समन्वय र कार्यक्रम विभागका निर्देशक समेत हुनुभएका श्री गौतमले सन् १९९०मा संयुक्त राष्ट्रसंघले आयोजना गरेको विश्वइतिहासमै सबभन्दा ठूलो राष्ट्रप्रमुखहरूको भेला “बालकल्याण सम्बन्धि शिखर सम्मेलन”को घोषणापत्र र कार्ययोजानाको मस्यौदा तयारगर्ने अभिभारा पनि सम्हाल्नु भएको थियो।

पछिफेरि सन् २००२मा संयुक्त राष्ट्रसंघ महासभाको बालबालिका सम्बन्धि उच्चस्तरिय महाधिबेशन सम्पन्न गराउनमा पनि वहांले महत्त्वपूर्ण नेत्रृत्व गर्नुभएको थियो। यी दुबै शिखर सम्मेलनमा ७० भन्दा बढी राष्ट्रप्रमुख, सयौं बालअधिकार विशेषज्ञ, नागरिक समाजका नेता, विश्वप्रख्यात कलाकार र नोबेल पुरष्कारपाउने प्रतिष्ठित व्यक्तित्वको समेत सहभागिता थियो।

कुल चन्द्र गौतम विभिन्न अन्तर्राष्ट्रिय बिकाशसंस्था, सार्वजनिक र नीजिक्षेत्रका साझेदारीसंस्था आदिका बोर्डका सदस्य र अध्यक्षसमेत हुनुहुन्थो – जस्तोकि मातृ, नवजात शिशुस्वास्थ्यको साझेदारि (Partnership for Maternal, Newborn and Child Health (PMNCH); खोपाइ र बालस्वास्थ्य तथा पोषणसम्बन्धि विश्वव्यापि सांठगांठ (Global Alliance for Vaccines and Immunization (GAVI) र Global Alliance for Improved Nutrition (GAIN); अल्पपौष्टिक आहार निवारण परियोजना (Micronutrient Initiative), बालअधिकार प्रबर्धनकालागि विश्व अभियान (Global Action for Children), बालकल्याण प्रवर्धनकालागि विश्वधर्मको सन्जाल – Global Network of Religions for Children (GNRC); अन्तर-धार्मिक नैतिक शिक्षा परिषद (Inter-faith Council for Ethics Education), इत्यादि।

वहांले बचपनमा “बालकवि” देखि, विश्वबिख्यात अभिनेत्री अड्रे हेपबर्नको नामबाट परिचित मानवीय पुरष्कार (Audrey Hepburn Humanitarian Award-२००८) र डार्टमथ कलेजले आजीवन उच्चसेवा र उपलब्धिको सराहनागर्दै प्रदानगर्ने मार्टिन लुथर किंग सामाजिक न्याय पुरस्कार (Martin Luther King, Jr. Social Justice Award – २००९ for Lifetime Achievement) जस्ता विभिन्न सम्मान पदक पनि पाउनुभएको छ।

उच्चशिक्षा र ब्यावसायिक कामको शिलशिलामा चार दशकसम्म देशबाहिर रहेतापनि श्रीगौतमले मातृभूमि नेपालको बिकाशका सम्बन्धमा सधै गहीरो चाख राखिरहनुहुन्छ। सयुक्त राष्ट्रसंघको सबभन्दा उच्च पदमा रहेको नेपालीको नाताले वहांले द्वन्दकालमा नेपालको शान्तिप्रक्रियामा सहयोगगर्न सयुक्त राष्ट्रसंघ र अन्य अन्तराष्ट्रिय समुहलाई प्रभावपार्न ठूलो प्रयास गर्नु भएको थियो।

वहांले नेपालमा भएको हिंसा, हत्या र मानवअधिकार उल्लंघंनको बिरुद्ध शाहस र निर्भिकताकासाथ जोडदार आवाज उठाउनुभएको थियो र नेपालका सवै दलका नेताहरूलाई अनौपचारिक रूपमा सम्पर्कगरि शान्तिप्रक्रियामा सरिकहुन आग्रह गर्नु भएको थियो। नेपालमा शान्तिसुरक्षा, सामाजिक न्याय, मानविय विकास र द्वन्द पछिको पुननिर्माण र विकाशकोलागि एक बृहत र महत्त्वाकांक्षी योजानाको तर्जुमा गर्नेबारेमा वहांले धेरै लेखहरू लेख्नुभएकोछ, बक्तब्य दिनुभएकोछ र त्यसबारेमा आफुले सक्दो सहयोग गर्ने इच्छा र प्रतिबद्धता पनि ब्यक्तगर्नुभएको छ। ब्यक्तिगतरूपमा वहांले स्थानीयस्तरमा आफ्नो गाउं, जिल्ला र आफुले पढेका बिद्यालयहरूलाई आफुसक्दो सहयोग पनि गर्दै आउनुभएकोछ।

श्रीगौतमले आफ्नो उच्चशिक्षा अमेरिकाको डार्टमथ कलेज र प्रिन्स्टन विश्वबिद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक बिकाश र आधुनिकिकरण बिषयमा हासिलगर्नुभएको र हार्वर्ड विश्वबिद्यालयमा पनि पठनपाठन गर्नुभएको थियो।

मंसिर २००४ सालमा गुल्मी जिल्लाको अमरपुर गाउंमा जन्मनुभएका श्रीगौतमकी धर्मपत्नी बिनता, छोरी सुश्री ज्योत्स्ना द्यु सिएल कलाकार र छोरा बिप्लव गौतम खेलकुद विशेषज्ञ हुनुहुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]