अलौ पर्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अलौ पर्व
जङ्गबहादुर राणा

श्री श्री श्री ३ महाराज जंगबहादुर राणाजी
तिथि १९०४ साउन
स्थान नेपाल अलौ
परिणाम जंग बहादुरको विजय
योद्धा
नेपाली सेना राजेन्द्रको जंगबहादुर बिरोधी सेना
सेनानायक
जंग बहादुर कुँवर राजा राजेन्द्र
गुरूप्रसाद शाह
मृत्यु एवं हानि
0 300

भण्डारखाल पर्वपछी राजा राजेन्द्र विक्रम शाह पनि रानीसँगै केही समयका लागि काशी गए । तर राजा नफर्केर षड्यन्त्रमा व्यस्त रहेकाले प्रधानमन्त्री जङ्गबहादुरले बीस १९०४ मा राजालाई पदच्युत गरि युवराज सुरेन्द्रलाई गद्दीमा राखे । राजा राजेन्द्र केही समयका लागि काशी मात्र काशी गएका बहए पनि त्यहाँ जम्मा भएका भारदारहरुको उक्साहट लागेर जङ्गबहादुरको हत्या गर्ने षड्यन्त्र गर्न लागे । जङ्गबहादुरले राजासंगै पठाएका आफ्ना गुप्तचर्हरुद्वारा काशीमा भएका सबै षड्यन्त्र एवम् योजनाको बारम्बार जानकारी पाइरहन्थे ।

अलौ पर्व वि.सं. १९०४ साउन महिनामा राजा राजेन्द्रको समयमा उनी बनारसबाट फर्केर नेपाल आउँदा वीरगञ्ज नजीकै अलौ भन्ने ठाउँमा जङ्गबहादुर राणााको हातबाट सत्ता फर्काउन गरिएको सैनिक विद्रोहको प्रयासको उपज हो ।

पृष्ठभुमि[सम्पादन गर्ने]

भण्डारखाल पर्वपछी रानी लक्ष्मीदेवी राज्यबाट निकाला भै दुई छोराहरू सहित काशी गइन् । राजा राजेन्द्र विक्रम शाह पनि रानीसँगै केही समयका लागि काशी गए । १९०३ साल पौषकृष्ण पञ्चमी मंगलवारका दिन ८ घडि ३२ पलाको साइतमा नेपालसरहद पार गरी भारत प्रवेश गरे । राजेन्द्रविक्रमको काशी आगमनको सूचना पहिले नै प्राप्त भएको हुँदा इष्टइण्डिया कंपनीका तर्फबाट कुवाडिमा डेरा दण्डाको राम्रो प्रबन्ध गरी दिएको थियो ।

कुवाडिदेखि नै जङ्गबहादुरका विरोधीहरू राजेन्द्रविक्रमको संपर्कमा आउन थालिसकेका थिए । राजेन्द्रविक्रम शाहको निर्वासित भारदारहरूसँग भेट्ने क्रममा अरू तीव्रता आउन थाल्यो । कोतपर्व तथा अन्य विभिन्न समयमा नेपालबाट भागेर गएका भारदारहरुसँग राजाको भेट भयो । यसै क्रममा गोरखपुरमा बसेका प्रभु शाहलाई पनि वनारसमा भेटगर्न आऊ भनी बोलावटको पत्र गएको थियो ।|

संवत् १९०३ साल पौष शुक्लषष्ठी बृहस्पतिवार का दिन छपरावाट राजेन्द्रविक्रमले वनारसका लागि प्रस्थान गरे । यसवेला सम्ममा श्री ५ राजेन्द्र र प्रधानमन्त्री जङ्गबहादुरका बिचको खाडल झन्झन् गहिरो र चौडा हुँदै गइरहेको थियो । यस्तो सथितिमा जङ्गबहादुरले राजालाई नेपाल फर्कन बारम्बार अनुरोध पत्र पठाइरहे । तसर्थ राजेन्द्रविक्रम शाह महारानी राज्यलक्ष्मी र चौतरीया गुरुप्रसाद शाह आदि निर्वासित भारदारहरूको सल्लाह बमोजिम अन्य पुराना बागीहरूलाई समेत प्रभावमा पारी जङ्गबहादुरलाई सिध्याउने योजनामा संलग्न हुन पुगे । यसै सिलसिलामा उदयबहादुर र सम्शेरवहादुर पाँडेलाई, माथवरसिंह थापा लगायतका भारादारसहित "तेरा बाबु वीरकेशर पांडेलाई मार्ने पनि जङ्गबहादुर नै हो तसर्थ म मुडको वदला मुड बक्सौला'' तं डराउनुपर्दैन भनी राजेन्द्रविक्रमले खातिरदारीको पंजा-पत्र गरी आफ्नो पक्षमा मिलाएका थिए ।

लगभग तीन महिनाको वनारस बसाइपछि आफ्ना विशेष सहयोगीहरूको परामर्शमा श्री ५ राजेन्द्रविक्रम महारानी राज्यलक्ष्मीलाई पनि पुनः दरबारमा भित्र्याउने उद्देश्य लिएर नेपाल फर्कने तरखरमा लागे । संवत् १९०३ साल चैत्र ७ गते बृहस्पतिवार दिनको १६ घडि १५ पलाको साईतमा वनारसबाट प्रस्थान गरी चैत्रशुक्ल नवमी अर्थात् रामनवमीका दिन दरवार प्रवेश गर्नेछु तसर्थ कान्छा बडामहारानीलाई जसरी हुन्छ त्यही साईतमा नेपाल फर्काउने कामगर भनी जीवनाथ शर्मालाई राजेन्द्रविक्रमले पत्र लेखेथे२२ । परन्तु राजेन्द्रविक्रमको यो अभियान पनि सफल हुन सकेन । निर्वासित भारादार र श्री ५ राजेन्द्रका बीच भएको सरसल्लाह र योजनाका एक एक सूचना खड्गबहादुरहरू द्वारा प्राप्त भैरहेकाले राजेन्द्रविक्रम कुन उद्देश्य लिएर नेपाल फर्कदैछन् भन्ने कुरा पनि जङ्गबहादुरवाट छिपेको थिएन । तसर्थ रामनवमीका दिन हनूमान्ढोका प्रवेश गर्ने श्री ५ राजेन्द्रको यो योजना पनि असफल रह्यो र उनी सुगौलीमै रोकिन बाध्य भए । । आफ्ना सारा कार्यक्रम र योजना विफल भएपछि राजेन्द्रविक्रम निकै आत्तिए । स्थितिलाई सामान्य पार्ने विचारले "हामी दुईका बीचमा फाटो ल्याउने उद्देश्यले कसैले केही कुरा सुनाए पनि नपत्याउनू । मैले तँलाई केही भनेको छैन र भन्ने पनि छैन । तर भगुवाहरूले र श्री ५ कान्छा बडामहारानीले तेरा विरुद्धमा जतिकुरा मसँग गरेका छन् ती सवै म त्यहाँ आएपछि तेरा सामुन्यमा निरूपण गर्नेछु" भनी सुगौलीवाट राजेन्द्रविक्रमले चैत्रशुक्ल पूर्णिमाका दिन जङ्गबहादुरलाई पत्र लेखेथे ।

राजेन्द्रविक्रम नेपाल नपुग्दै वीचैमा रोकिएको खवरले बागी भारादारहरू सुगौलीमा जम्माहुन थाले । यी विद्रोहीहरूमध्ये विशेष गरेर शाह, पांडे, थापा एवं वस्नेतहरू नै मुख्य थिए र पुराना दरवारिया हुँदा यिनीहरू प्रति राजेन्द्रविक्रम विशेष आशावादी पनि थिए । अव जङ्गबहादुरलाई सिध्याउनु सिवाय अर्को विकल्प नभएको ठहर गरी यसको उचित व्यवस्था गर्न चौतरिया गुरुप्रसाद शाह, काजी जगतराम पाँडे र रघुनाथ पण्डित आदि नियुक्त गरिए । यसमा राजेन्द्रविक्रमलाई गोपालपुरका राजाको पनि नैतिक समर्थन प्राप्त थियो । यो योजना सफल भएमा गुरुप्रसाद शाहलाई प्रधानमन्त्री, जगतराम पाँडेलाई कम्यांडर इन्चीफ र रघुनाथ पण्डितलाई बडागुरुजुको पदमा आसीन गराउन राजेन्द्रविक्रम तयार थिए । तर जङ्गबहादुरलाई नपन्छाई कुनै पनि कार्य फत्य गर्न नसकिने भएकाले उसको वध गर्नु नितान्त आवश्यक थियो । यसै कुरालाई दृष्टिगत गरी आफ्ना विश्वस्त तीन सैनिकलाई भरिएको पिस्तोल सहित जङ्गबहादुरलाई जहां भेटे पनि मार्ने भन्ने लालमोहर गरी गोप्य रूपले काठमाडौं पठाइयो । जङ्गबहादुरको हत्या गर्ने उद्देश्यले गुप्त भेषमा आएको उक्त सैनिकहरू किलागल स्थित एकजना उदासको घरमा लुकेर बसी अनुकुल समयको प्रतीक्षा गर्दै थिए । परन्तु जङ्गबहादुरका गुप्तचरहरूले शंकाका लागि उनीहरूको जीउ खानतलासी गर्दा लालमोहरसहित पिस्तोल बरामद भयो । तत्पश्चात् तिनीहरूलाई श्री ५ सुरेन्द्रविक्रमसमक्ष उपस्थित गराई केरकार गर्दा षड्यन्त्रको सारा भेद खुल्यो । षडयन्त्रको पर्दाफास भएपछि जङ्गबहादुरले बिगुल फुक्न लगाई भाइ–भारादार लगायत संपूर्ण कर्मचारीलाई टुडिखेलमा सामेल हुने आदेश दिए।

राजालाई पदच्युत[सम्पादन गर्ने]

उपस्थित भद्रभलाद्मी सहित जङ्गी तथा निजामती कर्मचारीका समक्ष राजेन्द्रविक्रमलाई अयोग्य घोषित गरी वर्तमान युवराजाधिराज सुरेन्द्रविक्रमशाह आजदेखि नेपालअधिराज्यको श्री ५ महाराजाधिराज भएको घोषणा गरे । सेनाले जङ्गबहादुरको घोषणालाई सहर्ष स्वीकार गरी श्री ५ सुरेन्द्रको जय जयकार गरयो । अतः तत्कालै राज्याभिषेकको तयारी भयो र सोही दिन अर्थात् संवत् १९०४ साल अधिक ज्येष्ठकृष्ण त्रयोदशी बुधवार राती करीव साढे आठ बजेको शुभ-मुहूर्तमा विधिपूर्वक सुरेन्द्रविक्रमको राज्याभिषेक गरियो । जङ्गी, निजामती र भाइ भारदारहरूले दाम राखी श्री ५ को दर्शन गरे । भारदारहरूले दोसल्ला सहित मान र खिलत पाउँदा जङ्गवहादरुले सन्तान दरसन्तान सम्मका लागि खोस मोस नहुने गरी सर्वाधिकार सम्पन्न मुख्तियारीको लालमोहर पाए । यसको भोलि पल्ट अर्थात् १९०४ साल अधिक जेष्ठकृष्ण चतुर्दशी बृहस्पतिवार का दिन ३७० जना भाइ–भारादार र अफिसरहरूको हस्ताक्षर सहितको पत्र बृटिस लिगेसन मार्फत् इष्टइण्डिया कंपनीका गभर्नर जनरलका नाउमा पठाउने काम भयो । त्यसपछि अघिल्लो दिन पक्रिएका बागीहरूलाई शहर घुमाई विष्णुमती पारी खरीको रूखमा लगी दुईजनालाई झुण्ड्याउनाको साथै एकजना ब्राह्मणलाई जात पतित गर्दा किलागल स्थित उदासले पनि घर सर्वस्वको दण्ड भोग्नु परेको थियो ।

रानी लक्ष्मीदेवीसँगै राजा राजेन्द्र पनि बनारस गएपछि जंगबहादुर झन् शक्तिशाली भए र उनले अनुकूल स्थितिको सिर्जना गरी सुरेन्द्रलाई विधिवत् रूपमा नेपालको नयाँ राजा घोषित गरे । उता बनारसमा जंगबहादुरद्वारा धपाइएका वा भाग्न सफल भएका भारदारहरूले राजेन्द्रलाई नेपाल फर्की शासन पुनः कब्जा गर्न दबाब दिइरहेका थिए ।

फौज निर्माण[सम्पादन गर्ने]

आफू छँदाछँदै आफ्ना छोरा सुरेन्द्रलाई राजा घोषित गरेको खबरले त राजा निकै क्रोधित भए । उनले एउटा सानो फौजको निर्माण गरे र केही भारदारहरूसहित नेपालको पर्सा अलौ सीमाभित्र प्रवेश गरे ।

विद्रोह दमन[सम्पादन गर्ने]

फौजसहित राजेन्द्र नेपालतर्फ आएको थाहा पाउनेबित्तिकै जंगबहादुरले ठूलो फौज त्यसतर्फ पठाए । नेपालको सीमा नजिकै अलौ भन्ने ठाउँमा दुई फौजबीच मामुली भिडन्त भयो जसमा राजेन्द्रको फौज सजिलै पराजित भयो र राजा राजेन्द्र स्वयं कैदीको रूपमा काठमाडौं ल्याइए । उनलाई उकास्ने भारदारहरू जंगबहादुरले ठूलो फौज पठाएको थाहा पाउनेबित्तिकै राजेन्द्रको साथ छाडी सीमापारि भागिसकेका थिए ।

यस पर्वमा जङ्गबहादुरले राजेन्द्रलाई बन्दी बनाई भक्तपुरमा नजरबन्दमा राखे र सुरेन्द्रको शासन यथावत् राख्न उनी सफल भए । यस घटनामा अङ्ग्रेजले जंगबहादुरलाई र फत्तेजङ्गका भाइ- गुरूप्रसाद, काजी जगतबम पाण्डे, रङ्गनाथ पौडेल आदिले श्री ५ राजेन्द्रलाई सहयोग गरेका थिए जो मारिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]