चीनको जनवादी क्रान्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
चिनियाँ जनवादी क्रान्ति
中国人民解放战争
(Chinese People's War of Liberation)
反共衛國戡亂戰爭
(National Protection War against the Communist Rebellion)
第二次國共內戰 / 第二次国共内战
(Second Kuomintang-Communist Civil War)
मूल भाग: चिनियाँ गृहयुद्ध (१९६८-१९७२)
Part of the शीत युद्ध (१९४७-१९५०)
People's Liberation Army occupied the presidential palace 1949.jpg
जनमुक्ति सेनाद्वारा राष्ट्रपति महल, नानकिङ कब्जा। अप्रिल १९४९
मिति१९४५-१९५०[क][ख]
(४ वर्ष, ४ महिना र १ हप्ता)
स्थान
चीन
परिणाम
योद्धा
सेनापतिहरू
शक्ति
  • 1,270,000 (Sep 1945)
  • 2,800,000 (Jun 1948)
  • 4,000,000 (Jun 1949)
  • 4,300,000 (Jul 1946)
  • 3,650,000 (Jun 1948)
  • 1,490,000 (Jun 1949)
मृत्यु र क्षति
तीन अभियानमा २,५०,००० तीन अभियानमा १५ लाख [२]

चीनको जनवादी क्रान्ति सन् १९४९ मा सफल भयो । यसलाई मुक्ति युद्ध (सरलीकृत चिनियाँ: 解放战争; परम्परागत चिनियाँ: 解放戰爭; पिनयिन: Jiěfàng Zhànzhēng), भनेर पनि चिनिन्छ। यसको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टी र यसका अध्यक्ष माओ त्से तुङ्ले गरेका थिए। यसको नतिजा स्वरूप १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीनको घोषणा भयो। क्रान्तिको सुरुवात १९४६ मा दोश्रो चीन-जापान युद्ध (१९३७-४५) पश्चात भएको थियो र यो क्रान्ति चिनियाँ गृहयुद्ध (१९४५-४९)को दोश्रो संस्करण थियो। [३]

पृष्ठभूमि[सम्पादन गर्ने]

सन् १६४४ मा मन्चुरियाका चिङ वंशले पूरानो मिङ वंशलाई हटाई आफ्नो साम्राज्य स्थापना गर्यो । यो वंशलाई मञ्चु वंश भनेर पनि चिनिन्छ । सन् १६८५ मा क्यान्टुन बन्दरगाह हुँदै अङ्ग्रेजले चीनमा प्रवेश गरी कम्पनी मेत स्थापना गर्यो । यसपछि चीनमा जापान, अमेरिका तथा फ्रान्सको समेत हस्तक्षेप हुँदै गयो । यसले चीनको आर्थिक, सामाजिक, धार्मिक तथा राजनीतिक अवस्था दिन प्रतिदिन बिग्रँदै गयो । देश एक किसिमले विदेशीहरूको बन्धकीमा परेर जीर्ण हुँदै गयो । यो अवस्थामा सुधार गर्नका लागि चिनियाहरूले चिङ वंशको अन्त्य गरी गणतान्त्रिक राज्य व्यवस्थाको स्थापना गर्नु आवश्यक सम्झे ।

चीनको क्रान्ति, १९११[सम्पादन गर्ने]

चीनको गणतान्त्रिक क्रान्ति सन् १९११ को अक्टोबर १० मा हेनकाउको रुसी बस्तीमा एउटा विस्फोट भयो। यो विस्फोट गणतान्त्रिक क्रान्तिको थालनीको पूर्वसूचना जस्तो भयो । शाही सरकारले यस घटनाका बारेमा छानबिन गर्दा शाही सेना नै यो विस्फोटमा संलग्न देखिए। सरकारले यो विस्फोटमा संलग्न शाही सेनालाई कारबाही गर्न सुरु नगर्दै कर्णेल “ली–युआन–हङ” को नेतृत्वमा क्रान्तिकारी सैनिकहरू सङ्गठित भए। १२ अक्टोबरदेखि “बुचाङ” भन्ने स्थानबाट औपचारिक रूपमा क्रान्तिको थालनी भयो । २२ अक्टोबरको दिनमा क्रान्ति कारीहरूले “ली–युआन–हङ” को नेतृत्वमा साङ्घाइमा गणतान्त्रिक सरकारको गठन गरे । क्रमशः अन्य प्रान्तहरूमा समेत गणतान्त्रिक सरकार गठन हुँदै गयो । डा.सन यात्सेन “तुङ मिङ हुई ” नामको पार्टीका अध्यक्ष थिए। यो पार्टी पनि गणतान्त्रिक क्रान्तिमा संलग्न थियो। विभिन्न प्रान्तहरूमा गणतान्त्रिक सरकार गठन भएपछि ती गणतान्त्रिक प्रान्तहरूको परिषद् गठन गरी डा. सन यात्सेनलाई परिषद्को अध्यक्ष बनाइयो । क्रान्ति ले गति लिन थालेपछि शाही सरकार आत्तियो र क्रान्ति दबाउने उद्देश्यले “युआन–सिह–काई”लाई प्रधानसेनापति तथा प्रधानमन्त्री नियुक्त गर्यो ।

युआन शि-काई

तर शक्तिको प्रयोग गरी क्रान्ति दमन गर्न नसकेपछि मंचु सरकारले “युआन–सिह–काई” लाई क्रान्तिकारीहरूसँग वार्ता गर्ने प्रतिनिधि तोक्यो । यिनी महत्वाकांक्षी स्वभावका मानिस थिए। परिषद् अध्यक्ष डा. सन यात्सेन र “युआन–सिह–काई” बिच वार्ता भयो। “युआन–सिह–काई” लाई गणतान्त्रिक चीनको राष्ट्रपति बनाउने सहमति भएपछि उनले शाही सरकारलाई धोका दिए । सन् १९१२ को फेब्रुअरी १२ मा सम्राट “पु यी” ले गद्दी त्याग गरे। फलस्वरूप २६८ वर्ष लामो मन्चु वंशको शासन अन्त्य भयो र चीनमा गणतन्त्रको स्थापना भयो ।

गणतान्त्रिक चीन[सम्पादन गर्ने]

सन् १९१२ फेब्रुअरी १२ मा मन्चु वंशको अन्त्य र गणतान्त्रिक व्यवस्थाको थालनी भएपछि युआन–सिह–काई देशको राष्ट्रपति बने । गणतन्त्रको स्थापनापछि पनि देशको अवस्थामा खासै परिवर्तन भएन । युआन–सिह–काईले तानाशाहका रूपमा देशको शासन चलाउन लागे। उनी निकै ठुलो धोकेवाज र स्वार्थी व्यक्ति थिए। उनले आफैलाई चीनको सम्राट घोषणा गर्ने योजनासमेत बनाए। तर यो योजना सफल हुन भने सकेन। राजनीतिक स्थिरता कायम गरी सार्वभौमसत्ता जनतामा हस्तान्तरण गर्नु देशको प्रमुख आवश्यकता थियो। त्यसैले डा. सन यात्सेनले तुङ मिङ हुईलाई समेत मिलाएर “कोमिन्ताङ” भन्ने अर्को पार्टीको स्थापना गरे। यता युआन–सिह–काईको सर्बैसत्तावाद विरुद्ध आन्दोलनको थालनी गरे। सन् १९२१ मा पेकिङ राष्ट्रिय विश्वविद्यालयका १२ जना विद्यार्थीहरू मिलेर “कुङ चाङ तन” को स्थापना गरे। “कुङ चाङ तन” भनेको चिनियाँ कम्युनिस्ट पार्टी हो र यो साम्यवादी दल थियो। यी १२ जनाहरूमध्ये माओत्से तुङ पनि एक थिए। उता डा. सन यात्सेनले रुसका शासक भ्लादिमिर लेनिनसँग सम्पर्क गरेर कोमिङताङलाई साम्यवादी सिद्धान्तकै पार्टीमा परिणत गरे र “च्याङ–काइ–सेक”लाई “लाल सैनिक” को सङ्गठन गर्ने जिम्मेवारी दिए। सन् १९२५ मा डा. सन यात्सेनको मृत्युपछि कोमिङताङको जिम्मेवारी च्याङ काई सेकको काँधमा आयो । चिनियाँ कम्युनिस्ट पार्टी र कोमिङताङको संयुक्त पहलमा सन् १९२६ मा सैनिक शासकलाई पराजित गरियो र च्याङ काइ सेकले चिनियाँ सरकारको नेतृत्व गरे ।

यसै समयबाट चीनमा जनवादी क्रान्तिको पनि थालनी भयो र सन् १९४९ मा यो क्रान्ति सम्पन्न भयो।

जनवादी क्रान्तिका कारणहरू[सम्पादन गर्ने]

देशको प्रगति एक व्यवस्थाको अन्त्य र अर्को व्यवस्थाको थालनीले मात्र नहुने रहेछ । देशको प्रगतिका लागि असल योजना र योजनाकारको आवश्यकता पर्दछ । गणतन्त्रको स्थापना भएर पनि चीनमा राजनीतिक स्थायित्व कायम हुन सकेन । फलतः चिनियाँ कम्युनिस्ट पार्टीले जनवादी क्रान्तिको थालनी गर्यो । जसका कारणहरू तल दिइएको छन्:

च्याङ काई सेकको नीति[सम्पादन गर्ने]

Chiang Kai-shek(蔣中正).jpg
च्याङ काई सेक Chiang Kai-shek(蔣中正)

च्याङ काई सेक प्रभावशाली, महत्वाकांक्षी, अवसरवादी, विश्वासघाती र अदूरदर्शी नेता थिए । यिनले अरूको सल्लाह स्वीकार गर्दैनथे । यिनले सुधारका कामहरू गर्नुभन्दा पनि विरोधीहरूलाई शक्तिको भरमा दमन गरेर मनपरि शासन चलाउन चाहन्थे । उनी सत्तमा आएपछि कोमिङताङलाई साम्यवादी विरोधी दलका रूपमा विकास गरे र साम्यवादी विचारका मानिसहरूलाई कारबाही गर्न सुरु गरे । सन् १९२७ मा उनले चिनियाँ कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धसमेत लगाए ।

चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका[सम्पादन गर्ने]

च्याङ काई सेकको दमन सुरु भएपछि सन् १९२६ को मार्च महिनादेखि चिनियाँ कम्युनिस्ट पार्टीले हेनकाउबाट क्रान्तिको थालनी गर्यो । सन् १९२७ मा च्याङ काई सेकले प्रतिबन्ध लगाए पनि चिनियाँ कम्युनिस्ट पार्टीले भूमिगत रूपमा किसान, मजदुर र लाल सैनिकको व्यवस्थित सङ्गठन गर्दै आफ्ना गतिविधिहरूलाई अगाडि बढायो। सन् १९३१ मा चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनले माओत्से तुङलाई आफ्नो पार्टीको अध्यक्ष बनायो। माओत्से तुङको नेतृत्वमा पार्टीले “क्याङ्सी”लाई आफ्नो आधार इलाका कायम गरी देशको झन्डै ८ प्रतिशत भूभागमा जनसरकार गठन गर्यो। लाल सेनाको आधार इलाका ध्वस्त पार्ने उद्देश्यले राष्ट्रिय सेनाले क्याङ्सीमाथि ३ पटकसम्म हमला गर्यो। तर यसमा राष्ट्रिय सेनाले नै क्षति बेहोर्नु पर्यो। सन् १९३४को अक्टोबरमा १० लाखको सङ्ख्यामा रहेको राष्टिय सेनाले क्याङ्सीलाई घेरा हाल्यो। यस बेला लाल सेनाको पराजय हुने निश्चित थियो। तर संयोगवश लाल सेना त्यहाँबाट भाग्न सफल भयो। यो सेनाले १२ प्रान्त, १८ पहाड र १४ ओटा नदीहरू तरेर १० हजार कि.मि. को दुरी पार गर्दै सन् १९३५ को अक्टोबरमा सैन्सी”भन्ने स्थानमा एकत्रित भयो । यसलाई चीनको इतिहासमा लामो कदम (Long March) भनेर चिनिन्छ । यसबेला क्याङ्सीबाट हिँडेका १ लाख लाल सेनामध्ये २० हजार मात्र सैन्सी पुग्न सफल भएका थिए। सन् १९३६ मा च्याङ काई सेकले लाल सेनाउपर कारबाही गर्नका लागि राष्ट्रिय सेनालाई सैन्सी पठाए। तर राष्ट्रिय सेनाले लाल सेनाउपर कुनै किसिमको आक्रमण गरेन। यसरी हेर्दा च्याङ काई सेकबाट राष्ट्रिय सेना पनि सन्तुष्ट थिएन। अतः यो पनि चीनको जनवादी क्रान्तिको एउटा कारण र चरण बन्न गयो ।

जापानसँगको युद्धमा पराजय[सम्पादन गर्ने]

चीनमा पहिलेदेखि नै विदेशी हस्तक्षेप कायम थियो। च्याङ काई सेकले अमेरिकीहरूको सहयोग लिएका हुनाले जापान चीनसँग रुष्ट थियो। यसै बखत सन् १९३७ मा जापानले मन्चुरियामाथि आक्रमण गर्यो। द्वितीय विश्वयुद्ध कायम रहेसम्म नै यो युद्ध कायम रह्यो। यस बखत लाल सेना र राष्ट्रिय सेना संयुक्त रूपमा जापान विरुद्ध युद्धमा सहभागी भए। चिनियाँ जनताहरू यो युद्धमा आफ्नो पराजयले निराश भए। यस वेला चिनियांँ कम्युनिस्ट पार्टीले राष्ट्रिय सेना तथा जनसाधारणमा आफ्नो सङ्गठन र प्रभाव विस्तार गर्ने अवसर पनि पायो। यो युद्धको पराजयको दोष च्याङ काई सेक र उनको कोमिन्ताङ पार्टीमाथि लगाइयो। अतः यो पनि चिनियाँ जनवादी क्रान्तिको एउटा कारण बन्न गयो।

मुद्रास्फिती र महङ्गी[सम्पादन गर्ने]

जापानसँगको युद्धपछि चिनियाँ सरकार अमेरिकी सरकारमा आश्रित भयो । यस बेला अन्तर्राष्ट्रिय बजारमा चीनको मुद्राको मूल्य नराम्रोसँग घट्यो भने महङ्गी त्यस्तै गतिमा बढ्दै गयो । मुद्रास्फिती भनेको अन्तर्राष्ट्रिय बजारमा कुनै देशको मुद्राको मूल्य घट्नु हो । सरकारले मुद्राको अवस्था सुधार्ने र महङ्गी नियन्त्रण गर्ने कुरामा ध्यान दिएन । राष्ट्र सेवक कर्मचारी, किसान, मजदुर तथा अन्य तल्लो तहका नागरिकहरूको जीवनस्तर निकै कष्टकर बन्न गयो । यसले गर्दा किसान, मजदुर तथा राष्ट्रसेवक कर्मचारीमा सरकारप्रति वितृष्णाको भावना विकास भयो । उनीहरू सरकारका विरोधी बन्न गए । अतः यो पनि चिनियाँ जनवादी क्रान्तिको एउटा कारण बन्न गयो ।

भ्रष्टाचार र कालोबजारी[सम्पादन गर्ने]

च्याङ काई सेक सरकारको शासनकालमा देशमा भ्रष्टाचार निकै बढ्न गयो। ठुलो स्तरका कर्मचारीहरू यसैलाई आफ्नो आम्दानीको प्रमुख स्रोत मान्थे। त्यसै गरी व्यापारीहरूले दैनिक उपभोग्य सबै सामानहरू लुकाउँथे र बजारमा कृत्रिम अभावको सिर्जना गर्दथे। यसले गर्दा सर्वसाधारण वर्ग निकै आत्तिएको थियो। च्याङ काई सेकको सरकार यिनै ठुलो व्यापारी र कर्मचारीको आडमा चलेको हुनाले भ्रष्टाचार र महङ्गी नियन्त्रण गर्नेतर्फ कुनै सोच नै बनाउँदैन्थ्यो। अतः जनताले यो सरकारको विकल्प खोज्न थाले। यसरी यो पनि क्रान्तिको कारण बन्न गयो।

निश्चित वर्गको एकाधिकार[सम्पादन गर्ने]

एकाधिकार भनेको कुनै एक व्यक्ति वा वर्गसँग विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्ने व्यक्ति वा वर्ग नहुनु र एक व्यक्ति वा वर्गले मात्रै कुनै क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गर्नु हो । यस कालमा चीनमा कालोबजारीको विकास भएको थियो । कालोबजारी भनेको कुनै पनि वस्तुलाई आफू खुसी मूल्यमा किनबेच गर्नु हो । देशको प्रशासन, न्याय, उद्योग तथा व्यापारमा च्याङ, कुङ, सुङ र छेन वर्गका मानिसको मात्र हाली मुहाली थियो । चीनको अर्थतन्त्र यिनै पूँजीपतिहरूको नियन्त्रणमा थियो । च्याङ काई सेकले यिनीहरूकै सहयोगमा शासन टिकाइ राखेका हुनाले यिनीहरूको एकाधिकार नियन्त्रणमा चासो देखाउँदैनथे ।

माओत्से तुङको नेतृत्व र चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रम[सम्पादन गर्ने]

चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको हो । माओत्से तुङ यसका संस्थापक सदस्यसमेत रहेका थिए । यिनको जन्म सन् १८९३ मा हुनान प्रान्तको मध्यम वर्गीय किसान परिवारमा भएको थियो । उनले सन यात्सेनलाई आफ्नो आदर्श व्यक्ति मान्दथे । सन् १९११ मा उनले आफ्नो अध्ययनलाई रोकेर सेनामा भर्तीसमेत भएका थिए तर एक वर्षमै सेनाको जागिर छाडेर आफ्नो अध्ययनलाई निरन्तरता दिए । “साम्यवादको घोषणापत्र” को अध्ययन गरेपछि उनले आफू लाई पूर्णतः साम्यवादीमै समर्पित गरे । सन् १९३१ मा चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष भएपछि उनी पार्टी सङ्गठनमा लागे । उनको सफल नेतृत्वमा लाल सेना, किसान तथा मजदुरको सङ्गठन खडा गरियो । केन्द्रीय तहदेखि स्थानीय तहसम्म पार्टीका सङ्गठनहरू निर्माण गरिए । यस बेला देशमा अत्याचार, कालो बजारी, महङ्गी, विदेशी हस्तक्षेप आदि जस्ता समस्याहरू थिए । सरकारले यी कुराहरू मिलाउन सकेको थिएन । चिनियाँ कम्युनिस्ट पार्टीले विभिन्न स्थानहरूमा जनसरकार गठन गर्दै अत्याचार, कालो बजारी, महङ्गी आदि जस्ता समस्याहरूको समाधान गर्यो । त्यतिमात्र नभई विदेशी हस्तक्षेप विरुद्ध जनचेतना फैलाउने काम पनि गर्यो । माओत्से तुङको नेतृत्व र कार्यशैलीबाट चीनका जनताहरू प्रभावित र आशावादी भई उनलाई सहयोग गर्न थाले । यसप्रकार माओत्से तुङको नेतृत्व नै चिनियाँ क्रान्तिको महत्त्वपूर्ण कारण थियो ।

तत्कालीन कारण: लाल सेनामाथि राष्ट्रिय सेनाको आक्रमण[सम्पादन गर्ने]

सन् १९२६ देखि नै क्रान्तिका रूपमा गृहयुद्धको थालनी भएको थियो। सन् १९४८ मा राष्ट्रिय सेनाले मन्चुरियामा लाल सेनामाथि गरेको आक्रमण नै क्रान्तिको तत्कालीन कारण बन्यो। पछि यो युद्ध नै निर्णायक बन्न गयो। सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो। लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे। यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो। लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो। यसै पटक लाल सेनाले पेकिङसमेत आफ्नो नियन्त्रणमा लियो । सन् १९४९ अक्टोबर १ मा माओत्से तुङले जनवादी गणतन्त्र चीनको घोषणा गरे।

क्रान्तिको घटनाक्रम[सम्पादन गर्ने]

सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो। लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे। यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो। लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो। यसै पटक लाल सेनाले पेकिङसमेत आफ्नो नियन्त्रणमा लियो।

देशमा भएको अत्याचार, निश्चित समूहको एकाधिकार, विदेशी हस्तक्षेप, निरङकुशता आदि जस्ता कारणले कोमिङताङ पार्टीभित्रै च्याङ काई सेकको चर्को आलोचना भइरहेको थियो। यसैबखत लाल सेनासँग राष्ट्रिय सेनाको लज्जास्पद हार भएपछि उनले राष्ट्रपति पदबाट राजिनामा दिए। राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै उपराष्ट्रपति “ली सुङ जुङ” ले चिनियाँ कम्युनिस्ट पार्टीलाई वार्तामा आउन आह्वान गरे। उनको आह्वानमा चिनियाँ कम्युनिस्ट पार्टीले निम्न सर्तहरू प्रस्तुत गर्‍यो:

(क) च्याङ काई सेक र ली सुङ जुङलाई पदबाट बर्खास्त गर्ने

(ख) देशबाट पुँजीवादको अन्त्य गर्नका लागि साम्यवादी सिद्धान्तमा आधारित भूमि, र सैनिक नीति लागु गर्ने

(ग) विदेशीसँग भएका सबै सन्धि सम्झौता रद्द गर्ने

(घ) युद्ध बिराम गर्ने आदि ।

चिनियाँ कम्युनिस्ट पार्टीले राखेका सर्तहरूलाई नानकिङ सरकारले अस्वीकार गर्‍यो । च्याङ काई सेकले नानकिङमा राजधानी बनाई देशको शासन चलाएको हुनाले यो सरकारलाई नानकिङ सरकार भनिएको हो। कुनै पनि देशका सरकारलाई राजधानीको नामबाट सम्बोधन गरिने चलन अहिले पनि छ। नानकिङ सरकारले लाल सेनाका सर्तहरू अस्वीकार गरेपछि लाल सेनाले आफ्ना गतिविधिहरूलाई अझै तीव्र बनाउँदै लग्यो । सन् १९४९ को अप्रिलमा नानकिङ र साङ्घाई पनि लाल सेनाको नियन्त्रणमा आए। लाल सेनाले देशका विभिन्न स्थानहरूमा जनसरकार गठन गर्दै गयो । च्याङ काई सेक फारमोसा भन्ने टापुमा भाग्न सफल भए। फारमोसा टापुलाई हाल ताइवान भनिन्छ। हाल ताइवान एक स्वतन्त्र राज्य हो। माओत्से तुङले १ अक्टोवर १९४९ मा नयाँ सरकार गठन गर्दै जनवादी गणतन्त्र चीनको घोषणा गरे। यसप्रकार झन्डै २३ वर्षसम्मको युद्ध पनि समाप्त भयो। जनगणतन्त्रवादी चीनलाई सर्वप्रथम सोभियत संघ रुसले मान्यता दियो।

परिणाम[सम्पादन गर्ने]

राजनीतिक परिवर्तन[सम्पादन गर्ने]

सन् १९१२ मा चीनबाट मन्चु वंशको शासन अन्त्य भएको थियो । तर पनि देशमा चीनमा स्थिर राजनीतिक अवस्थाको सिर्जना हुन सकेको थिएन । मन्चु वंशको अन्त्यपछि युआन सिह काईको निरङकुश शासन चल्यो भने सन् १९२६ बाट च्याङ काई सेकको एकाधिकार कायम भयो । जनवादी क्रान्तिको सफलतापछि सामन्तवादी राज्य व्यवस्थाको अन्त्य भयो र जनवादी गणतान्त्रिक शासन व्यवस्थाको थालनी भयो । यो समाजवाद उन्मुख व्यवस्था थियो ।

राजनीतिक संयन्त्रको निर्माण[सम्पादन गर्ने]

देशको शासन व्यवस्थालाई सुचारु रूपमा सञ्चालन गर्नका लागि ५६ सदस्यीय केन्द्रीय जनसरकार परिषद्को गठन गरियो । यो सरकारमा गैरकम्युनिस्टहरूलाई समेत समावेश गरिएको थियो । तर सरकारको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टी र यसका अध्यक्ष माओत्से तुङले गरेका थिए । यसैगरी १२ सय सदस्य रहेको जनकाङ्ग्रेसको स्थापना भयो । यो नै चीनको संसद् हो । यसको अधिवेशन प्रत्येक वर्ष बस्ने नियम बन्यो । राष्ट्रिय जनकाङ्ग्रेसको पदावधि ४ वर्ष कायम गरियो । त्यसबैेला चीनका विभिन्न प्रान्तहरूमा प्रादेशिक शासन व्यवस्था थियो । यो व्यवस्थाको अन्त्य गरी २६ ओटा प्रान्तहरूमा केन्द्रीय शासन लागु गरियो ।

भूमिसुधार योजना कार्यान्वयन[सम्पादन गर्ने]

सन् १९५० जुनमा चीनमा कुषि सुधार कानुनको घोषणा गरी भूमि सुधार योजनाको कार्यान्वयन भयो । चीनमा हजारौँ वर्षदेखि जनसङ्ख्याको सानो हिस्साले भूमिको ठुलो हिस्सा ओगटेको थियो । हजारौँ किसानहरू त्यही मालिकको भूमिमा काम गर्दथे र आफूहरू भूमिहीन थिए । सरकारले भूमिपतिहरूको भूमि खोसेर भूमिहीन किसानहरूलाई वितरण गरेपछि सबै जना आफ्नो जमिनका मालिक बन्न गए । यसरी व्यक्तिगत रूपमा वितरण गरिएको जमिनलाई सन् १९५३ मा सामूहिकीकरणमा रूपान्तरण गरियो । यसको साथै देशबाट सामन्ती प्रथाको पनि अन्त्य भयो । भूमि सुधार योजनाको कार्यान्वयन गर्ने क्रममा कैयौँं भूमिपतिहरूलाई मृत्युदण्ड दिइएको थियो ।

संविधानको निर्माण[सम्पादन गर्ने]

सन् १९५३ मा माओत्से तुङको अध्यक्षतमा गठित “विधान समिति” ले संविधानको मस्यौदा तयार पार्यो । सन् १९५४ सेप्टेम्बर २० मा राष्ट्रिय जनकाङ्ग्रेसले यो मस्यौदालाई अनुमोदन गर्‍यो । यो संविधानमा प्रस्तावना, सामान्य सिद्धान्त, नागरिक हक, नागरिक कर्तव्य तथा राज्य संरचना गरी जम्मा ५ भागहरू थिए ।

आर्थिक सुधार[सम्पादन गर्ने]

जनवादी क्रान्तिभन्दा अगाडि चीनको आर्थिक अवस्था निकै नाजुक भइसकेको थियो । चीनमा जनशक्ति, स्रोत र साधनहरू भएर पनि त्यसको परिचालन हुन सकेको थिएन । रुग्ण भइसकेका उद्योग व्यवसाय, रेलमार्ग, सडक आदिको जीर्णोद्वार र निर्माणको गतिले तीव्रता पायो । मुद्रास्फितीको चर्को समस्या समाधानका लागि पिपल्स बैङ्क अफ चाइनाको स्थापना गरियो । यसले मुद्रास्फितीको अवस्थामा सुधार ल्यायो । उद्योगहरूको राष्ट्रियकरण गरी मजदुरहरूको सुविधा वृद्धि गरियो, जसले गर्दा उत्पादनमा वृद्धि हुन गयो र भ्रष्टाचार नियन्त्रण भयो । योजनाबद्ध विकासका लागि पञ्चवर्षीय योजनाहरूको थालनी गरियो । सरकारका योजनामा सहयोग नगर्नेहरूलाई मृत्युदण्डसमेत दिइयो ।

महिला सशक्तीकरण[सम्पादन गर्ने]

सामाजिक सुधारको क्षेत्रमा यो निकै महत्वपूर्ण र सकरात्मक कदम थियो । सन् १९५० को विवाह कानुनले महिलालाई विवाहसम्बन्धी निर्णय गर्ने अधिकार दियो । यसले चीनको परम्परावादी पारिवारिक संरचनामा फेरबदल गर्‍यो । चीनमा बहुविवाह, बाल विवाह, अनमेल विवाह, विवाहका लागि छोराछोरीको किनबेच र जबरजस्ती विवाहको परम्परा थियो । यी कुरामा पूर्ण बन्देज लगाइयो । महिलाले सम्बन्ध विच्छेद गर्न पाउने अधिकार भयो । यो कानुनको धारा ५ ले विवाहका लागि केटी २० र केटा २२ वर्षको हुनुपर्ने नियम बनायो । यसले गर्दा बालविवाहको अन्त्य भयो ।

धर्मनिरपेक्ष राज्यको निर्माण[सम्पादन गर्ने]

जनवादी क्रान्तिको सफलतापछि धर्म र धार्मिक संस्थाहरूमाथि प्रहार गर्न थालियो । धर्म भनेको अन्धविश्वास र भ्रम हो भन्दै धार्मिक संस्था र मन्दिरहरू भत्काउने, मूर्तिहरू फुटाउने र धार्मिक ग्रन्थहरू जलाउने गरियो । कतिपय मन्दिरहरूलाई जनवादी शिक्षाका केन्द्रका रूपमा परिणत गर्न थालियो । सानो रातो पुस्तकलाई निकै महत्वपूर्ण मानियो । सांस्कृतिक क्रान्तिको बेला त सबैले यो किताब सँग राख्नुपर्ने अनिवार्य नियम बनाइयो । सानो रातो पुस्तक भनेको माओत्से तुङका भनाइ र आदेशहरूको सङ्कलन हो ।

शिक्षा र साहित्य[सम्पादन गर्ने]

शिक्षा र साहित्यको विकास जनवादी क्रान्तिको एउटा उपलब्धि हो । किसान, मजदुर, सर्वसाधारण र केटाकेटीलाई जनवादी शिक्षा दिइयो । यही शिक्षालाई चीनभरि नै अनिवार्य गरियो । साहित्य र कलालाई पनि साम्यवादसँग जोडियो । स्वतन्त्र लेखकहरूमाथि भने अनेक किसिमका कारबाही र सजायहरू गरियो ।

सांस्कृतिक क्रान्ति[सम्पादन गर्ने]

चिनियाँ सांस्कृतिक क्रान्ति वियोगपूर्ण घटना हो । साम्यवाद विरोधीहरूलाई दमन गर्नका लागि माओ स्वयम्ले यो क्रान्तिको सञ्चालन र नेतृत्व गरेका थिए । यो क्रान्ति सन् १९६६ देखि १९७६ सम्म जम्मा १० वर्ष चलेको थियो । यसबेला माओले लाल सेनाको परिचालन गरेका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Westad, Odd (२००३), Decisive Encounters: The Chinese Civil War, 1946–1950, Stanford University Press, पृ: ३०५, आइएसबिएन 978-0-8047-4484-3, अन्तिम पहुँच २०१९-०३-०८, "last major GMD stronghold." 
  2. Lynch, Michael (२०१०), The Chinese Civil War 1945–49, Osprey Publishing, पृ: ९१, आइएसबिएन 978-1-84176-671-3, मूलबाट २०१६-०१-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-११-१५ 
  3. “Chinese Civil War of 1945–49”, Dictionary of Wars (2007), Third Edition, George Childs Cohn, Ed., pp. 121–122.


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found