साम्यवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Communist star with golden border and red rims

साम्यवाद एउटा सामाजिक-आर्थिक संरचना एवं राजनीतिक विचारधारा हो। साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाजको स्थापना गरिन्छ। यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ। साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ। साम्यवादमा कुनै पनि सम्पतिमा कसैको पनि ब्यक्तिगत स्वामित्व हुन्न तर उसले आफ्नो आवश्यकता अनुसार भोगचलन गर्न भने पाउँछ।

इतिहास[सम्पादन गर्नुहोस्]

प्रथम विश्वयुद्ध समाजवादी आन्दोलनको लागि एउटा महत्त्वपूर्ण घटना थियो। एकापट्टि युद्धको शुरुवात सँगै समाजवादी आन्दोलन र यसका अन्तर्राष्ट्रीय सङ्गठन प्राय: छिन्न-भिन्न भए भनें अर्को पटि रूसमा रुसी क्रान्ति (अक्टूबर-नंवबर १९१७)मा भयो; अनि संसारमा प्रथम सफल समाजवादी राज्यको स्थापना भयो।। जसले गर्दा संसारको समाजवादी आन्दोलनमा गहिरो असर पर्यो। प्रथम विश्वयुद्धभन्दा पहिला समाजवादी दलहरूको यो मत थियो कि पूँजीवादी व्यवस्था नैं युद्धको निम्ति उत्तरदायी हुन्छ र विश्वयुद्ध शुरु भएको खण्डमा प्रत्येक समाजवादी दलद्वारा आफ्नो पूँजीवादी सरकारको युद्धनितिको विरोध गरिनुपर्छ र गृहयुद्धद्वारा समाजवादको स्थापनाको लागि प्रयत्नशील रहनुपर्यो। तर जब युद्ध शुरु भयो, रूसइटलीका समाजवादी दललाई छोडेर अरु सबै दलहरूको बहुमतले आ-आफ्नो सरकारहरूको नितिलाई समर्थन गरे। समाजवादीहरूको एउटा नगण्य अल्पमतले मात्र युद्धको विरोध गरे| पछि गएर यिनीहरूमध्ये कतिपय लेनिन र उनको साम्यवादी अन्तराष्ट्रिय सङ्गठनका समर्थक बने। परंतु विभिन्न देशका समाजवादी आन्दोलनहरूको परस्पर विरोधी युद्ध नितिको कारण उनीहरूको एकता समाप्त भयो।

बोल्शेविक दल रूसका समाजवादी दलहरू मध्येको एउटा दल थियो। १९१७ को विशेष परिस्थितिमा यसलाई सफलता प्राप्त भयो। रूसी समाजवादको पृष्ठभुमि अन्य युरोपिय समाजवादको स्थितिभन्दा भिन्न थियो। रूसी साम्राज्य युरोपको अग्रणी देशहरूभन्दा उद्योगधन्धामा पिछडिएको थियो, यसकारण त्यहाँ मजदूरवर्ग बहुसंख्यक र अधिक प्रभावशाली हुन सकेनन्। त्यहाँ लोकतन्त्रात्मक शासन र व्यक्तिगत स्वाधीनताको पनि अभाव थियो। रूसी बुद्धिजीवी र मध्यमवर्ग यसको लागि इच्छुक थिए तर जारशाही दमन नितिको कारण यो प्राप्त गर्न संवैधानिक मार्ग प्राय अवरुद्ध थियो। यिनै परिस्थितिहरूद्वारा प्रभावित त्यहाँका प्रथम समाजवादी रूसको ग्रामीण समुदायलाई आफ्ना विचारहरूको आधार मान्थे तथा क्रान्तिकारी मार्गद्वारा जारशाहीको नाश नै लोकतन्त्रवादको सफलताको लागि प्रथम सिढि मानेका थिए। ति विचारकहरूमा हर्जेन (Herzen), लावरोव (Lavrov), चर्नीशेव्सकी (Chernishevrzky) र बाकुनिन (Bakunin) मुख्य थिए। यिनीहरूबाट प्रभावित भएर अनेक बुद्धिजीवी क्रान्तितर्फ अग्रसर भए| यसप्रकार नरोदनिक (Narodnik) जनआन्दोलनको सुत्रपात भयो र नारोदन्या वोल्या (Narodnya Volya) सङ्गठन बन्यो। सन् १९०१ मा यसको नाम सामाजिक क्रान्तिकारी दल(Social Revolutionary Party) राखियो। सन् १९१७ को बोल्शेविक क्रान्तिको समयसम्म यो रूसको सबैभन्दा ठुलो समाजवादी दल थियो| तथापी यसको प्रभावक्षेत्रमा अधिकांश ग्रामीण जनता थिए। यसको वामपक्षले बोल्शेविक क्रान्तिको समर्थन गर्यो।

अर्को समाजवादी विचारधारा, जसमा बोल्शेविक दल पनि सम्मिलित थियो, रूसी सामाजिक लोकतन्त्रावादी मजदुर दल (Russian Social Democratic Labour Party, R. S. D. L. P.)को नामले प्रसिद्ध थियो। यसको प्रभाव मुख्यत: शहरका मजदुर वर्गमा थियो। रूसमा उद्योगहरू कम्ति थिए तर ति उद्योगहरू ठुला-ठुला भएका कारण अधिक संख्यामा मजदुरहरू राखिन्थे। यी मजदुरहरूमा राजनीतिक चेतना र सङ्गठन दह्रो थियो। लोकतन्त्रको अभावमा मजदुरहरूलाई संघर्ष गर्न कठिन थियो, यसले गर्दा मजदुरवर्ग क्रान्तिकारी प्रभावमा परे र जर्मनीको जस्तो परिस्थितिहरूको कारण त्यहाँका अधिकांश मजदुर नेता पनि मार्क्सवादी तथा जर्मनीका सामाजिक लोकतन्त्रवादी दलहरूबाट प्रभावित भए। सन् १८९० तिर एक्सलरोड (Axelrod) र प्लेखानोव (Plekhanov)ले पीटर्सवर्ग (लेनिनग्राड)मा प्रथम मजदुर समुह स्थापित गरे जो पछि गएर १८९८मा रूसी सामाजिक लोकतन्त्रवादी मजदूर दलका आधार बने।

रूसी सामाजिक लोकतन्त्रवादी मजदुर पार्टीका नेताहरू कट्टर मार्क्सवादी थिए, अत: उनिहरूले पुनरावृत्तिवादलाई अस्वीकार गरे अनि मार्क्सवादलाई विकसित गरेर रूसी परिस्थितिमा लागु गराए। मजदुरहरूको रहन सहनको स्तरमा उन्नति भएको थियो, यस सत्यलाई नमान्नु कठिन थियो, तर प्लेखानोवले नयाँ मसिनहरूको प्रयोग र ज्यालामा वृद्धि नहुनुको कारण पूँजीवादी शोषणको दर बढेको कुरा सिद्ध गरिदिए। बुखारिन (Bukharim)को तर्क थियो साम्राज्यवादी देश उपनिवेशको शोषणद्वारा आफ्ना श्रमजीवी वर्गलाई सन्तुष्ट राख्छन्। ट्राटस्की आदिले भने कि पूँजीवादीको संकट सर्वव्यापी भएको छ र यस्तो स्थितिमा यो सम्भव छ कि क्रान्ति पश्चिम युरोपको अग्रणी देशहरूमा नभएर अपेक्षाकृत पिछडिएका देशहरू जहाँ सम्राज्यवादी व्यवस्था सबभन्दा कमजोर भएको ठाउँमा हुनुपर्छ। केही विचारकहरूले सर्वप्रथम समाजवादी क्रान्तिको स्थान रूस हुनुपर्छ भने। ट्राटस्की र लेनिनको मत थियो समाजवादी क्रान्ति तब सफल हुनसक्छ जब यो धेरै देशहरूमा एक साथ फैलिन्छ, स्थायी क्रान्ति बिना केवल एक देशमा समाजवादको स्थापना कठिन छ। पछि गएर लेनिन र स्टालिनले यस सिद्धांतलाई संशोधन गरी एकदेशीय समाजवादको आधारमा सोभियत सत्ताको निर्माण गरे। निकोलाई लेनिनले उपर्युक्त विचारहरूको समन्वय गरेर बोल्शेविक दलको सङ्गठन र अक्टूबर (नवंबर) क्रान्तिको नेतृत्व गरे।

सन्दर्भ[सम्पादन गर्नुहोस्]