जीतबहादुर केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जीतबहादुर केसी नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रथमपटक पदक दिलाउने खेलाडी हुनुहुन्छ। उहाँको जन्म २००५ भदौ ४ दोलखा जिल्लाको चरीकोट, पोगटी गाविस ५मा भएको हो। उहाँ गरीब किसान परिवारमा जन्मनुभएको हो। उहाँका पिता बिर्खबहादुर र माताको नाम वन्दना हो। उहाँका एक दाजु र दुई दिदी जन्मनुभयो।
जीतबहादुर १६ वर्षै २०२१मा सैनिक हुनुभयो। १३ वर्षजागीर खाएर छाड्नुभयो। पहिलोपटक २०२८ सालमा वीरगंजमा आयोजित प्रथम राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा भाग लिई स्वर्ण पदक पाउनु भयो। यससहित १६ वटा राष्ट्रिय स्तरका प्रतियोगिताका स्वर्ण पदक पाउनुभयो। केसीले सन् १९७२को २० औँ म्यूनिख ओलम्पिकका लागि जर्मनीमा भएको छनौट प्रशिक्षणमा एसियाली मुलुकको २ घण्टा २३ मिनेटका रेकर्ड बनाउनु भयो। तर पदक पाउनुभएन। सन् १९७३मा फिलिपिन्सको राजधानी मनिलामा आयोजित ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा सहभागी हुनुभयो। म्याराथुन दौड २ घण्टा २६ मिनेटमा पूरा गरेर काँस्य पदक पाउनुभयो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको यही नै पहिलो पदक हो। सन् १९८०मा बैङ्ककमा भएको ८ औँ एसियाली खेलकूदमा १२ औँ भएपछि खेलबाट सन्यास लिनुभयो। २०२४ देखि खेलकूदमा लागेका केसी २०४९ सालमा कर्मचारी कटौतीमा पर्नुभयो। खेलकुद परिषद्को जागीर गयो। तर उहाँलाई परिषद्ले नै प्रशिक्षकका रूपमा काम दिइरहेको छ। प्रत्येक बिहान राजधानीको दशरथ रंगशालामा उहाँ सयौं धावकलाई सिकाइरहनु भएको भेटिनुहुन्छ। उहाँ खेल्नकै लागि फिलिपिन्स, थाइल्याण्ड, जर्मनी, इरान, दक्षिण कोरिया आदि देश पुग्नुभएको छ। केसीले ३ वटा एसियाली खेलकुद, एउटा ओलम्पिक र दुइटा एसियन ट्रयाक एन्ड फिल्डमा खेल्नुभयो।