जीवनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ ।

जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित सम्बन्ध राख्ने विभिन्न सामग्रीहरू उपयोग गरेको हुन्छ । जीवनी लेख्ता दैनिकी, चिठी, अभिलेख, उसका साथीहरूको संस्मरण, उसका बारेका पुस्तकहरू, फोटा तथा तस्वीर र अन्तर्वार्ताबाट उससम्बन्धी आफूले प्राप्त गरेको ज्ञान आवश्यक पर्दछन् । यहाँ लेखिने जीवनी भनेको पनि महत्त्वपूर्ण व्यक्तिको जीवनी नै हो, जसका लागि आवश्यक बुँदा टिपोट गरिएको हुन्छ ।

जीवनीमा शङ्कास्पद अनुमान र अतिकाल्पनिक उडन्ते कुराहरू तथा तथ्य नै बिग्रने गरी भवनमा बगेर गरिएका अतिशयोक्तिपूर्ण मूल्याङ्कन औचित्य भने रहँदैन । व्यक्तिलाई आकाशमा पुर्याउन प्रयोग गरिने अनावश्यक विशेषणहरूले पनि जीवनीलाई खल्लो बनाउँछन् । यसमा त प्रमाणित सत्य कुरा प्रस्तुत गरी सौन्दर्यपूर्ण भाषामा वस्तुपरक विश्लेषण गर्नुपर्दछ ।

जीवनी लेख्ने तरिका[सम्पादन गर्ने]

  • दिइएका बुँदाहरूलाई विभिन्न उपशीर्षकहरूमा बाँड्नुपर्छ, जस्तै :
    • बाल्यकाल,
    • पारिवारिक जीवन,
    • प्रमुख कार्य,
    • योगदानको वर्णन,
    • पाएको भए पुरस्कार, सम्मान र
    • निष्कर्षात्मक मूल्याङ्कन ।
  • उपयुक्त शीर्षक दिएर जीवनी लेख्न सुरु गर्नुपर्छ ।
  • घटनाहरूलाई क्रमबद्ध रूपमा संयोजन गरी उपशीर्षक अनुसार फरकफरक अनुच्छेदमा लेख्तै जानुपर्छ तर कहिलेकाहीँ जन्म र बाल्यकाल पछाडि लेख्न पनि सकिन्छ ।
  • भाषामा सरलता र मिठास हुनुपर्छ ।
  • अनावश्यक ठट्टा, काल्पनिक सन्दर्भ वा अफबाहका कुराहरू समावेश गर्नुहुँदैन ।
  • तयार परेको जीवनीलाई भाषिक शुद्धताका साथ साफी लेखन गर्नुपर्दछ ।

जीवनी लेखनको नमुना[सम्पादन गर्ने]

बुँदाहरूका आधारमा लेखिएको मोतिराम भट्टको सङ्क्षिप्त जीवनी
बुँदाहरू
  • युवाकवि, मोतिराम भट्ट
  • वि.सं. १९२३ भाद्र कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा जन्म
  • पिता, माता दयाराम भट्ट र रिपुमर्दिनी देवी
  • ६ वर्षको उमेरमा आमासँग बनारस प्रस्थान
  • बनारसमा संस्कृत र फारसी भाषाको अध्ययन
  • त्यहाँ गायन र वाद्यवादन सिकेका
  • वि.सं. १९३७ मा नेपाल आई विवाह गरेका
  • १९३८ मा फेरि बनारस गई अङ्ग्रेजी पढ्न सुरु गरेका
  • नेपालीमा गजल र समस्यापूर्ति कविताको आरम्भकर्ता
  • नेपालमा भारतजीवन नामक प्रेस स्थापना
  • भानुभक्तीय रामायणको बालकाण्डको प्रकाशन
  • गोरखा भारत जीवन नामक नेपाली भाषाको पत्रिका प्रकाशन
  • बनारस र काठमाडौँमा मोती मण्डलीको स्थापना
  • कवि, गजलकार, नाटककार, जीवनीकार, समालोचक, पत्रकार, खोजकर्ता आदि बहुमुखी व्यक्तित्व
  • भाषाप्रेमी, देशप्रेमी, सौन्दर्यका प्रसिद्ध कवि, अग्रजको सम्मान गर्ने
  • प्रमुख कृतिहरू - 'प्रह्लाद भक्तिकथा', 'पीकदूत', 'उषाचरित्र', 'प्रियदर्शिका नाटिका', 'शकुन्तला', 'भानुभक्त आचार्यको जीवनचरित्र'
  • वि.सं. १९५३ मा मृत्यु
युवाकवि मोतिराम भट्ट

नेपाली साहित्यका क्षेत्रमा युवाकविका नामले चिनिने मोतिराम भट्टको जन्म वि.सं. १९२३ कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा भएको थियो । उनका बुबाको नाम दयाराम भट्ट तथा आमाको नाम रिपुमर्दिनी देवी थियो ।

मोतिराम भट्ट छ वर्षकै कालिको उमेरमा आमासँग बनारस गए । उनी बनारसमै बसी संस्कृतफारसी भाषाको अध्ययनमा लागे । त्यहाँ उनलाई गायन तथा वाद्यवादन सिक्ने अवसर समेत प्राप्त भयो । त्यसपछि नेपाल फर्केर उनले वि.सं. १९३७ मा विवाह गरे । विवाह गरेको एक वर्षभित्रै वि.सं. १९३८ सालमा पुनः बनारस गई अङ्ग्रेजी पढ्न थाले । यसरि विभिन्न क्षेत्रमा उनको अध्ययनको काम अघि बढ्यो ।

मोतिराम भट्टले नेपाली साहित्यको विकासका लागि धेरै पक्षबाट सिर्जनात्मक कामहरू आरम्भ गरे । उनले नेपाली काव्यजगतमा गजल र समस्यापूर्ति कविता सुरु गरे भने अरूलाई लेखनतर्फ आकर्षित पनि गरे । स्वदेशबाटै पुस्तक प्रकाशन सम्भव होस् भन्ने अभिप्राय राखी उनले नेपालमा भारतजीवन नामक प्रेस स्थापना गरेर आदिकवि भानुभक्तको रामायणको 'बालकाण्ड' छपाए । त्यसै सिलसिलामा उनले 'गोरखा भारत जीवन' भन्ने नेपाली भाषाको पहिलो पत्रिका समेत चलाएर नयाँ परम्परा भित्र्याए । उनले कविहरूलाई भेला पारेर कविता सुन्ने र प्रेरणा दिने उद्देश्य राखेर बनारस र काठमाडौँमा मोती मण्डली नामको कविहरूको समूह स्थापना गरी एउटा जोसिलो साहित्यिक वातावरण खादा गरे । उनले 'पीकदूत' जस्तो उत्कृष्ट काव्य, 'शकुन्तला' नाटक, 'भानुभक्त आचार्यको जीवनचरित्र' शीर्षकको जीवनी तथा समालोचना लेखेका छन् । यीबाहेक उनका अन्य कृतिहरूमा 'प्रह्लाद भक्तिकथा', 'उषाचरित्र', 'गजेन्द्रमोक्ष', 'प्रियदर्शिका नाटिका' आदि पर्दछन् ।

युवाकवि मोतिराम भट्टले छोटो आयु पाए तापनि उनको नेपाली भाषा र साहित्य प्रतिको प्रेम र आफूभन्दा अग्रजको सम्मान गर्ने बानि हाम्रा लागि निकै महत्त्वपूर्ण प्रेरणाका स्रोत हुन् । उनले साहित्यका क्षेत्रमा कवि, गजलकार, नाटककार, जीवनीकार, समालोचक, पत्रकार तथा खोजकर्ताको रूपमा सफलतापूर्वक काम गरेका छन् । यस्ता बहुमुखी प्रतिभा भत्ताको मृत्यु वि.सं. १९५३ सालमा तीस वर्षकै युवा कालमा भएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, सरल माध्यमिक व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-9937-535-46-5 
  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, तलेजु नेपाली व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-99933-45-46-6 

बाह्य कडी[सम्पादन गर्ने]