ढाँचा:प्रमुख लेख/नालापानीको युद्ध
नालापानीको युद्ध नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए। नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए । गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले ।
माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो । (पूरा पढ्नुहोस्...)