सामग्रीमा जानुहोस्

थापाथली सन्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थापाथली सन्धि
थापाथली सन्धि(१९१२)
{{{image_alt}}}
हस्ताक्षर१९१२ चैत्र १३ (१८५६ मार्च २४)
स्थानथापाथली दरबार, नेपाल काठमाडौँ
कार्यान्वयन१९१२ चैत्र १३
हस्ताक्षरकर्तानेपालका प्रधानमन्त्री जंगबहादुर राणा
तिब्बतका कोलान सत्र
भाषाहरूअंग्रेजी
विकिस्रोतमा

थापाथली सन्धि तिब्बत (चिङ वंश मातहत) र नेपाल अधिराज्य बीच तेश्रो नेपाल तिब्बत युद्ध अन्त्य गर्न थापाथली दरबारमा भएको सन्धि हो। १९१२ पुस मा तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो। लामो छलफलपछी , प्रतिनिधि मण्डल बीच १९१२ चैत्र १३ मा थापाथली दरबारमा सन्धि गरियो । नेपालका प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले र तिब्बतका कोलान सत्रले सन्धीमा हस्ताक्षर गरेका थिए। यहि सन्धिलाई थापाथली सन्धि भनिन्छ ।[]

वि.सं १९१२ (जून १८५६ )मा तिब्बतले क्षतिपूर्ति स्वरूप २ लाख ३३ हजार प्रदान गर्यो ।

पहिलो वार्ता

[सम्पादन गर्नुहोस्]

वि.सं १९१२ श्रावणमा युद्धबाट थकित तिब्बतीले वार्ताका लागि आफ्नो प्रतिनिधि मण्डल लाई सन्धिको लागि काठमाडौँ पठाए तर कुरा नमिलेकाले वार्ता असफल भयो ।[]

दोश्रो वार्ता

[सम्पादन गर्नुहोस्]

सन्धिपत्रको पूर्ण पाठ

[सम्पादन गर्नुहोस्]

[][]

स्वस्ती श्री ५ गोर्खा सर्कार श्री भोट सर्कार दुवै तर्फका तपसील बमोजींका उमराव भार्दार लासामा बसी भोट् गोर्खा दुवै तर्फबाट मीली तपसील बमोजींका १० कुराको घावन्दोवस्त गऱ्याका पत्रका श्री परमेश्वर साक्षी राखी आफूना आफ्ना खुसीराजीसङ्ग छाप सही गरी कवुल गर्‍यौं. श्री ५ चीन बादुसाहलाई अघी देखी मानी आया बमोजीं मानी रहनु. ई लेखीयाका कुरामा दुवै सर्कारका तर्फबाट बराबर चलंज्याल् सम्म दुई दाज्यू भाइ जस्तो भै मीली रहनु. जौनतफंबाट लडाई गर्नमा अघीसर्ला उस्‌ लाई श्री परमेश्वरले भलो नगरून्‌. ई लेखीयाका बन्दोबस्तका कुरामा जौन तर्फबाट मीची तल माथी पार्ला तेसमाथी लडाँई गर्न्यालाई पाप्‌ नलागोस्‌
तपसील
प्रथम कुरा- भोट्बाट सालीन्दा १०,ooo रुपैञा श्री गोर्खा सरकारलाइ दिनु .....१
दोश्रा कुरा- गोर्खा, भोट्‌ श्री ५ चीन बादसाह लाई मानी आयाको हुदा भोट्को लामाका गुम्बा र जपतपमात्र गर्न्या हुनाले अब उप्रान्त भोट्माथी अरू राजाको फौज लड्न आयो भने, अव उप्रान्त, नेपाल सर्कारले सकुन्‌ज्याल सम्म अरू राजाको फौजको वीरुद्धमा लडी भोट्लाई मदत गर्नेछ. नेपाल उपर अरु कुनै देस लड्न आयेमा, भोटमा रहेका नेपालीहरूको धनसम्पत्ती सबै, भोट सर्कारले, नेपाल सर्कारले बताई दीयेको ठांमा नेपाल सरहद भीत्र पुन्याई दीनेछ, र लडाँई सुरू भयेको पैला दुई महीना सम्म भोट् सर्कारले सकुन्‌ज्यालको रसोदहरू वीना पैसाले नेपाललाई दीनेछ, तेस्पछी चाँही बजारमा चलेको दरले रूपैञा ली नेपाल सर्कारलाई पुऱ्याई दीनेछ......२
तेश्रा कुरा- श्री गोर्खा मुलुकका महाजन्‌ वेपारीहरूसङ्ग भोट्बाट लीने जगात महसुल दस्तुर अव उप्रान्त भोट्वाट नलीनु.....३
चौथा कुरा- भोट्बाट पक्री राख्याका सीखका सीपाही र लडाँईमा पक्री राख्याका गोर्खाका पगरी सीपाही स्वास्नी मानीस औ तोपहरू भोट्बाट गोर्खा सर्कारलाई फीराई दीनु पर्ने र गोर्खा सर्कारले पनी भोटका सीपाहीहरू र केरुङ कुती ताक्लाखार छेवागुम्बाका रैयतहरूको हतीयार चौरी जो रह्र्का गोर्खा सर्कारले फीराइ दीनु. घावन्दोबस्त भै सकीया पछी ताक्लाखार छेवागुम्बा केरुङ कुती झुँग ह्याकलिङ भैरव लङ्गुर सम्म रहेका गोर्खाका फौज् झिकाई जग्गा छोडी दीनु.....४
पाँचौं कुरा- लासामा अव उप्रान्त गोर्खा सर्कारबाट नाइक्या नराख्नु, भार्दार राखनु......५
छैंटौ कुरा- लासामा गोर्खा सर्कारबाट दर्वारको कोही राखनु जवाहेर गहनादेखी लगायत लाउन्या खान्या वस्तुको खुसीले वेपार गन दीनु.....६
सातौं कुरा- लासामा भोट्का रैयत महाजन्‌ गैह्रको झै झगडा पर्दा गोर्खाका भार्दारले नीसाफ्‌ नहेर्नु. लासाका अम्मलमा रह्याका गोर्खाका महाजन्‌ रैयत नेपालका कस्मेरी गैह्रका झै झगडा भोट्वाट नीसाफ्‌ नहेर्नु. भोट, गोर्खाका रैयत महाजनहरूको झगडा पर्‍यो भन्या गोर्खा भोट्‌ दुवै तर्फका भार्दार वसी नीसाफ्‌ हेर्नु नीसाफ्‌ हेर्दा आयाको आम्दानी भोट्का रैयत महाजनको भोटैबाट लीनु. गोर्खाको रैयत महाजन्‌ कस्मेरी गैह्रको गोर्खावाट लीनु.....७
आठौं कुरा- गोर्खाका मानीसको ज्यू मारी भोट का मुलुकमा जान्या गोर्खाका रैयत भोटबाट गोर्खालाई सौपी दिनु, भोटका मानीस्को ज्यू मारी गोर्खाका मुलुकमा आउन्या भोटका रैयत गोर्खाबाट भोटलाई सौपी दिनु.....८
नवौं कुरा- गोर्खाका रैयत महाजनको धनमाल भोटका मानीस्ले लटपीट गर्‍यो भने त्यो धन गोर्खाका रैयत महाजन्‌लाई भोटका भार्दार बसी भराई दीनु लुटपीट गर्न्याबाट धन्‌ नीस्केन भने असामी सङ्ग भाका बन्देज भोट बाट गराई दीनु भोट का महाजन्‌ रेयतको धनमाल गोर्खाका मानीस्ले लुटपीट्‌ गर्‍यो भने त्यो धन भोटका रेयत महाजनलाई गोर्खाका भारदार बसी भराई दीनु लुट्पीट गर्नेबाट धन नीस्केन भने असामीसङ्ग भाका बन्देज गोर्खाबाट गराई दीनु.....९
दसौं कुरा- लडाँई हुँदा भोटका रैयतहरु गोर्खाका दर्बारसङ्ग मील्न आउन्या र गोर्खाका रैयतहरु भोटका दर्वारसङ्ग मील्न जान्यालाई घा भै सके पछी दुवै तफबाट उनका ज्यू धनमा रीस नगर्नु.....१०

मिती चैत्र सुदी तृतीया सम्बत् १९१२ शुभम्

माथी लेखीयेको यो घा बन्दोबस्त पत्रमा सहीछाप परेको दुवै तर्फका मानीस हरुको नाम :-- नेपाल तर्फको

  1. श्री ५ गोर्खा सर्कारका हुकुम्‌ले भर मुलुकका काज्‌ काम्‌ गर्न्या मुख्य वजीर श्रीमद्राजकुमार कुमारात्मजश्री प्राइम्मीनीष्टर याण्ड कम्याण्डर इन चीफ जनरल जङ्गबहादुर कुंवर राणाजी
  2. श्रीमद्राजकुमार कुमारात्मजश्री मीनीष्टर जनरल बमूबहादुर कुँवर राणाजी
  3. श्री गुरुराज्‌ पण्डीत्‌ धर्माधीकार श्रीवीजयराज पण्डीत्‌ ज्यू
  4. श्रीमद्राजकुमार कुमारात्मजश्री कम्याण्डी ङ्ग कर्णेल कृष्णबहादुर कुँवर राणाजी
  5. श्रीमद्राजकुमार कुमारात्मजश्री कर्णेल रणोद्दीपसीङ्ग कुँवर राणाजी
  6. श्रीमद्राजकुमार कुमारात्मजश्री कर्णेल जगतशंशेर कुँवर राणाजी
  7. श्रीमद्राजकुमार कुमारात्मजश्री कर्णेल धीरशंशेर कुँवर राणाजी
  8. श्रीमद्राजकुमार कुमारात्मजश्री काजी भक्तवीर कुँवर राणाजी
  9. श्रीमद्राजकुमार कुमारात्मजश्री कर्णेल बखतजङ्ग कुँवर राणाजी
  10. श्री चोतरीया रणसेर साहा
  11. श्री कर्णेल त्री वीक्रमसिह थापा
  12. श्री कर्णेल डील्ली सींह
  13. श्री कर्णेल कुलमान सींह बसून्यात्‌

भोट तर्फका

  1. श्री पोतला लामाज्यूको साटो आउन्या छेन्‌ मेर ङावाङ् ध्यान्‌ छेन्
  2. श्री घैवुङ्‌ गुम्वाका लामा खैवो ङावाङ सन् डुक्
  3. श्री धैवुङ् गुम्बाका तावेदार अरू गुम्बा सबैको थुईमी लोपूसाङ्‌ राप्के
  4. श्री सेरा गुम्बाका लामा खैवोलोसान्‌ ढुछेन्‌
  5. श्री सेरा गुम्बाका तावेदार अरू गुम्वा सबैको थुईमी लोप्‌ साड ज्याम याड
  6. श्री घाल्देन्‌ गुम्बाका लामा खैनबु ङावाङ्‌ नीमा
  7. श्री घाल्देन गुम्वाका तावेदार अरू गुम्वा सबैको थुईमी राप्के नीमा.
  8. श्री तासी लुम्बो गुम्बाका लामा खैनवोलोसाङ घ्यालूछत्‌
  9. श्री तासी लुम्बो गुम्बाका तावेदार अरू गुम्वा सवैको थुईमी घेलेनाक्‌पा
  10. श्री साख्या गुम्वाको लामा थीछेन्रीमूवोर्छको साटो ज्यामघाङ् मनलाम
  11. श्री छेयोलोङ् गुम्बाको लामा तुलवीको को साटो घ्याल्छेन तोनदुप्‌
  12. श्री ल्हासा भोटको काम्‌ काज गर्न्या मुख्य पुङ्‌ एसेटा काजी
  13. श्री पैलीङ्‌ काजी
  14. श्री थेंची सनडुप्‌ प्राङ्‌ काजी
  15. श्री थेंची टासी खाङ्सार काजी
  16. श्री टासी लुम्बाको खजान्ची नीमा टुनडुप
  17. श्री पुङ् यसेठा काजीको भतीजा कास्याङोङ्डेर डुम्बीसे.
  1. तिब्बत सरकारले नेपाल सरकारलाई वर्षेनी रु १०,००० नेपाली रुपैया बुझाउनु पर्नेछ ।
  2. तिब्बत र नेपाल चिनियाँ सम्राटलाई सम्मानका साथ मान्छन। तिब्बत माथि कुनै तेश्रो पक्षबाट आक्रमण भएमा , नेपाल सरकारले तिब्बत सरकारलाई सहयोग गर्नेछ । यदि नेपालमा आक्रमण भएको खण्डमा , तिब्बत सरकारले नेपाली धनजनको रक्षा गर्नेछ तथा सुरक्षित स्थानमा सार्नेछ । यसको परिवहन खर्च पहिलो दुई महिना तिब्बत सरकारले व्यहोर्नेछ र त्यसपछिको नेपाल सरकारले व्यहोर्नेछ ।
  3. नेपाल तथा तिब्बत बीचको व्यापारमा , तिब्बत सरकारले नेपाली उत्पादनमा कुनै भन्सार लगाउने छैन । साथै यस सन्धि भन्दा अघि लगाइएका भन्सार पनि मिनाहा गरिनेछ ।
  4. तिब्बत सरकरले नेपालका सम्पूर्ण युद्धि बन्दि र हतियार बुझाउनु पर्नेछ । साथै नेपाल सरकारले पनि युद्धको समयमा लिएका युद्धबन्दी तथा याकहरु बुझाउनु पर्नेछ ।
  5. नेपाली व्यापारीको रेखदेखको लागि , अब उप्रान्त नेपाल सरकारको प्रतिनिधिको रूपमा नायकको सट्टा भारदार नियुक्त हुनेछ ।
  6. तिब्बतमा व्यापार गर्न सबै नेपालीलाई बिना रोकतोक अनुमति हुनेछ । सशत्र सैनिक बाहेक, सबै नेपालीलाई तिब्बतमा स्वतन्त्रतापुर्वक हिडडुल गर्न अनुमति हुनेछ ।
  7. नेपाली प्रतिनिधि ले तिब्बतको आन्तरिक मामिलामा कुनै हस्तक्षेप गर्ने छैन, साथै नेपाल भित्रको कुनै विवादमा तिब्बत सरकारले हस्तक्षेप गर्ने छैन । तर तिब्बत र नेपालवीचको विवाद को लागि, विवाद समाधानको लागि दुवै सरकारले एक एक प्रतिनिधि नियुक्त गर्नेछ।
  8. यदि कुनै अपराधी एक देशबाट उम्केर दोश्रो देशमा बसेमा, दोश्रो देशले सो अपराधी सम्बन्धित सरकारलाई सुपुर्दुगी गर्नेछ ।
  9. यदि कुनै देशको नागरिकले अर्को देशको नागरिकको चोरी गरेमा , सो देशले पिडितको सम्पूर्ण सम्पति फिर्ताको व्यवस्था र अपराधीलाई सजायको व्यबस्था गर्नेछ ।

तिब्बत सरकार ( २००६ पछि जनवादी गणतन्त्र चीन सरकार)ले नेपाल सरकारलाई सय वर्षसम्म (२०१२ सम्म) वर्षेनी रु १०,००० नेपाली रुपैया बुझायो ।

प्रधानमन्त्री चन्द्रशमशेर को पालामा ग्याल्पो काण्डले पुन: नेपाल भोट युद्ध हुन लागेको थियो तर अंग्रेजको मध्यस्ततापछी सो युद्ध टर्यो ।

चीनमा कम्युनिस्ट क्रान्तिपछि लालसेनाले तिब्बत लिन खोजिरहेको थियो । दलाई लामाको सरकार नेपालको सहयोग लिएर अस्तित्व जोगाउन चाहन्थ्थे । विसं १९१२ को थापाथली सन्धिको दफा २ अनुसार तिब्बतले नेपालसँग सैन्य सहयोग माग्यो । तर नेपालमा राणा शासन हट्न लागेकाले यता अर्कै संकट थियो । नेपालले तिब्बतलाई सघाएन । त्यसपछि तिब्बती काजीहरु रिसाए । नेपाल र भारत दुवैको साथ नपाएपछि तिब्बतीहरु चीनसँग आत्मसमर्पण गरेका थिए ।[]

यो पनि हेर्नु होस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. नेपाल र चीन–तिब्बत सन्धिसम्झौता अभिलेखिकरण २०१९-०४-२६ वेब्याक मेसिन
  2. सामान्य ज्ञान पृष्ठ १०५ (भीम राना 'जिज्ञासु')
  3. Purushottam Shamsher J B Rana, Shree 3 Haruko Tathya Vrittanta, पृ: ८०-८४।
  4. रामजी उपाध्याय (१९५०), नेपाल को इतिहास, सुब्बा होमनाथ केदारनाथ, बनारस सिटी, पृ: २७८।
  5. "सुधीर शर्माका दुई पुस्तक : बीपी र महेन्द्रमध्ये को राष्ट्रवादी ?", अनलाइनखबर, २०८१ भदौ ३०।