सामग्रीमा जानुहोस्

धर्मभक्त माथेमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धर्मभक्त माथेमा
Dharma Bhakta Mathema in 1939
जन्म(१९०९-०९-२४)२४ सेप्टेम्बर १९०९
काठमाडौं
मृत्यु२४ जनवरी १९४१(1941-01-24) (उमेर ३१)
सिफल, काठमाडौं
स्मारकशहिद गेट
राष्ट्रियतानेपाली
पेशाशारीरिक तन्दुरुस्ती
चिनारीको कारण१९९७ मा चार शहिद मध्ये एक
जीवनसाथीउत्तरा देवी
सन्तानरेणु माथेमा श्रेष्ठ (छोरी)

धर्मभक्त माथेमा नेपाल प्रजा परिषद्को संस्थापक सदस्य तथा एक व्यवसायिक शारिरीक सुगठन बडीबिल्डर थिए। उनले नेपालमा आधुनिक शारीरिक शारिरीक सुगठनको सुरुवात गराए ।[१] उनलाई राणाको एकतन्त्री शासन विरुद्ध को स्वतन्त्रता को लागि चिनिन्छ।[२] उनी १९९७ मा पक्राउ परे र माघ १३ मा मृत्युदण्ड दिइयो र चार शहिद मध्ये एक को रुपमा उनलाई सम्मान गरिन्छ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो।[३] बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउनुहुन्थ्यो। त्यही कारणले धर्मभक्तले दार्जीलिङमा शिक्षा आर्जन गर्नुभयो। केही समय कलकत्तामा पनि पढनुभयो। शरीर दुब्लो भएकाले व्यायाम गर्न थाले । बङ्गालको शारीरिक व्यायामशालाबाट उनी बङ्गाल च्याम्पीयन भएर नाम कमाए। बङ्गाल अङ्ग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उनलाई राजनीतिको ज्ञान मिल्यो। उनको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो। केही समयपछि उहाँका बुबालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिए। वि.सं. १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आई.ए. उत्तीर्ण गरेका थिए ।

शारीरिक सुगठन

[सम्पादन गर्नुहोस्]
Mathema started bodybuilding while living in Calcutta
Mathema started bodybuilding while living in Calcutta

बाल्यकालमा धर्मभक्त माथेमालाई दुबलो र पतलो भएका कारण साथीहरुले निकै सताउँथे । कलकत्ता हुँदा उनी शरीर बनाउन जिमखाना भर्ना भए । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हाँसिल गरेर उनी बंगाल च्याम्पियन (श्री बङ्गाल,मिस्टर बङ्गाल जस्तै) समेत भए । कलकत्ताबाट काठमाडौं फर्केर उनी ले ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना स्थापना गरे । उनको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । उहाँको जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरु समेत जिमका लागि आउँथे ।

एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उहाँको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित भए । पछि त्रिभुवनले उहाँलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गरे । माथेमा सम्भवतः नेपालको पहिलाे शारीरिक सुगठनका खेलाडी थिए जसले राणाकालीन समयअन्तर्गत वि.सं १९९० को दशकतिर काठमाडौं टुंडिखेलको खुला चौरमा बलिष्ठ शरीरद्वारा पहिलोपटक शारीरिक सुगठन खेलको प्रदर्शनी गरेका थिए ।[१]

राजनैतिक गतिविधि

[सम्पादन गर्नुहोस्]
धर्मभक्त माथेमाको प्रतिमा

नेपाल प्रजा परिषद्को स्थापना

[सम्पादन गर्नुहोस्]

वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो। पछि चन्द पनि नेपाल प्रजापरिषद्को संस्थापक सदस्य हुनुभयो। उहाँले घोडेजात्रामा टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित होइबक्स्यो। उहाँ स्व.राजा त्रिभुवनका व्यायाम शिक्षक हुनुभयो। उहाँले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजापरिषद्को स्थापना गर्नुभएको थियो। प्रजापरिषद् र राजा त्रिभुवनका बीचमा उहाँबाटै सम्पर्क भयो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए। धर्मभक्तलाई पक्राउ गरियो। वि.सं. १९९७ माघ १३ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।[४]

‘नेपाल प्रजा परिषद्‌’ले काठमाडौं उपत्यकामा १९९७ को  ९ असार, ३० असार, १७ साउन र २४ भदौमा राणाविरोधी पर्चा छर्‍यो ।[५] राणाहरूले गरेको अत्याचार र त्यसविरुद्ध वगावत गर्न छरिएका यी पर्चा शहरभरि पुग्यो ।

राणाहरूले आफूविरुद्ध पर्चा छर्ने प्रजा परिषद्‌का सदस्यको खोजी तीव्र पारे । २ कात्तिक १९९७ मा प्रजा परिषद्‌ सदस्य धर्मभक्त माथेमा पक्राउ परे । त्यसपछि प्रजापरिषद्‌का सबैजसो सदस्य पक्राउ परे ।

पक्राउ परेकालाई सिंहदरबार (रेडियो नेपालको पुरानो भवन)मा राखियो । यहाँ उनीहरूमाथि चरम यातना दिइयो । यही यातनाका बीच पक्राउ परेकाहरूको बयान र अदालती प्रक्रिया सुरु गरियो ।

पक्राउ गरेको तीन महिनापछि ६ माघ १९९७ मा फैसला सुनाइयो । फैसलाअनुसार शास्त्री, माथेमा, चन्द र श्रेष्ठलाई मृत्युदण्ड र बाँकीलाई कैद तथा जन्मकैदको सजाय सुनाइयो । ब्राह्मण भएका कारण टंकप्रसाद आचार्यलाई मृत्युदण्ड दिइएन । वि.सं. १९९७ माघ १३ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।[४]

माघ १३ गते राति दस बजेतिर धर्मभक्तलाई सिफल पुर्याइयो । दुवै हात पछाडि फर्काएर बाँधिएका धर्मभक्तलाई नरसमसेरले अन्तिम इच्छा सोध्दा उनले जवाफ दिए—“राणशासनको छिट्टै अन्त्य भएर जनताले सुखशान्ति पाउन् भन्ने इच्छा छ” धर्मभक्तको यस्तो भनाइबाट रिसले मुर्मुरिएका नरसमसेरले हतारहतार फाँसीमा झुण्डयाउने आदेश दिए ।

रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो । फेरी अर्को हाँगामा झुण्ड्याइयो । धर्मभक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो । यसरी हाँगा भाँचिएर दुइ पल्टसम्म फाँँसीबाट बँचेका धर्मभक्तको गाला नरसमसेरले चक्कुद्धारा चिरिदिए । बेस्सरी पिटे, सिपाहीहरुलाई पिट्न लगाए । धेरै बेरको पिटाईपछि उनी बेहोस भए । अनि बेहोस भएकै बेला फेरी डोरीले घाँटी कसेर उनलाई रुखमा झुण्डयाइयो । “संस्था खडा गरेर दुनियाँ भड्काउने पर्चा छरेको र राजकाज समेत आफैँ चलाउने प्रयास गरेकोले यस्तो सजाय पायो ।” भन्ने लेखेर धर्मभक्तको छातीमा टाँसिएको थियो ।

अर्को दिन बेलुकीसम्म रुखमा झुण्डिएको धर्मभक्तको शव हटाइएन । उनका पिता आदिभक्त र भाइ धुव्रभक्त पनि जेलमा भएकाले अरु कोही आफन्त शव बुझ्न आएनन् । चौविस घण्टापछि सरकारले नै उनको सद्गत गर्यो ।[६]

  • सहिद गेट
  • धर्मपथ
  • शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "धर्मभक्त माथेमा, नेपालको पहिलो व्यवसायिक शारिरीक सुगठनका खेलाडी" 
  2. "शहीद धर्म भक्त माथेमा प्रति श्रद्धा सुमन", Newslines Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-२६ 
  3. "सहिद धर्मभक्त माथेमा (संक्षिप्त चिनारी)", Likhu Online (Nepaliमा), २०२१-०१-२६, अन्तिम पहुँच २०२२-०४-२६ [स्थायी मृत कडी]
  4. ४.० ४.१ Lal, C. K. (१६ फेब्रुअरी २००१), "The Rana resonance", Nepali Times, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१३ 
  5. चन्द, सागर (माघ १५), "गोपी च्यामेले ज्यान दिए, टंकप्रसादले जात फिर्ता मागे", शिलापत्र 
  6. "सन्तान्नब्बेको शहीद प्रसङ्ग", नयाँ विकल्प, २०७४ फाल्गुन १४। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]