नरनाथ आचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(नरनाथ अाचार्य बाट पठाईएको)
Jump to navigation Jump to search
पण्डित, कविराज
नरनाथ अाचार्य
काठमाण्डाैंमा २०३७ सालतिर
जन्मवि.सं १९६२ चैत्र १९
तनहुँ, नेपाल
मृत्युवि.सं २०४५ वैशाख २५ (८२ वर्ष)
काठमाण्डाै, नेपाल
वासस्थानतनहुँ, नेपाल
राष्ट्रियतानेपाली
शिक्षासंस्कृतव्याकरणमध्यमा, अायुर्वेदशास्त्री
पेशाकविराज (अायुर्वेद चिकित्सक), कृषि, लेखन
प्रसिद्ध कार्यअादिकवि भानुभक्त आचार्यकाे सच्चा जीवनचरित्र
जीवनसाथीगङ्गामाया देवी
सन्तानभाेजराज, हरिमाया, शिवराज,साम्बराज, विश्वराज, जयराज, विजयराज, साेमराज
मातापितालाेकनाथ अाचार्य तथा यशाेदादेवी

पण्डित कविराज नरनाथ अाचार्य (अङ्ग्रेजी: Naranath Acharya  जन्म - वि.स. १९६२ चैेत्र १९ निधन- वि.स. २०४५ वैशाख २५) अादिकवि भानुभक्त आचार्यकाे सच्चा जीवनचरित्रनामक ग्रन्थका रचियता हुन् ।[१] तनहुँ चुँदी रम्घामा भानुभक्त अाचार्यकै कुलमा जन्मेका नरनाथ अाचार्यले अाफ्नाे कृति मार्फत् अादिकविका बारेमा अनेक तथ्य पहिलाेपटक सार्वजनिक गरेका थिए ।[२][३][४] उनी पेशाले कविराज (अायुर्वेद चिकित्सक) भएता पनि कवि तथा लेखक पनि थिए ।[५]

आफ्नो व्यावहारिक जीवनका धेरै काम गर्नुबाहेक नरनाथ आचार्यले नेपाली साहित्यको इतिहासमा समेत योगदान गरेर जानुभयो । रम्घाको आचार्य कुलमा जन्मेर आदिकवि भानुभक्त आचार्य (१८७१-१९२५) ले रामायण नेपाली भाषामा लेखी नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा अत्यन्त महत्वपूर्ण योगदान गर्नुभयो । त्यसै कुलमा जन्मेका नरनाथ आचार्यले आदिकवि भनुभक्त आचार्यको जीवनी (प्रथम संस्करण २०१७, द्वि. सं. २०३६) प्रकाशित गर्नुभयो र नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गर्ने रम्घाको आचार्य वंशका दोस्रो सन्तति हुनुभयो । वहाँले लेखेको भानुभक्तको यो जीवनी मोतिराम भट्टले लेखेको जीवनीपछि सर्वाधिक महत्वको छ, र यसबाट आदिकविको जीवनवारे तथ्यहरू दोब्बर थपिएका छन् । यसबाहेक वहाँका अरू पनि केही साहित्यिक कृतिहरू छन् ।

जीवनका लागि संघर्ष[सम्पादन गर्ने]

नरनाथ आचार्य आफ्नी आमा यशोदा देवीका गर्भबाट वि. सं. १९६२ साल चैत्र १९ गते जन्मिनुभएको थियो । त्यतिखेर वहाँका पिता लोकनाथ आचार्य (१९२७-१९६३) घरमा हुनुहुन्थेन । धेरै टाढा पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा सरकारी कर्मचारीको रूपमा काम गर्दै हुनुहुन्थ्यो । असहाय एक्ली आमाको शिशुका रूपमा जन्मिनु नै नरनाथ आचार्यका लागि कठिन संघर्षमय यात्राको प्रारम्भको संकेत थियो ।

वि. सं. १९६३ सालको असार महिनामा आमा यशोदा देवी आचार्यले आफ्नो तीन महिने शिशु नरनाथलाई सालटारीको चौतारोमा घोचाको झोलुङ्गोमा सुताउनुपर्‍यो । अनि वहाँ १५ मिनेटको पैदल हिंडाइको दूरीमा मझुवा (खेतको माझमा रहेको) धान रोपाइँको बासी मेलो सिद्ध्याउन जानुभयो । मेलो निकै नै धेरै थियो । बच्चा बिउँझिएर रुन थाल्यो । एक जना किसानले चौतारोमा झोलुङ्गोमा बच्चा धेरै वेरसम्म छट्पटाएर रोएको रोएको सुन्यो तर उसकी आमालाई वरपर कतै देखेन । उसले सोधखोज गर्‍यो र निकै बेर पछि पर खेतमा धान रोपिरहेकी महिलाको बच्चा हो भन्ने पत्ता लगायो । उसको मनमा दया र रिस एकैसाथ पैदा भए । गएर उसले भन्यो, “तिम्रो छोरालाई कमिलाले टोकेर मारिसके, तिमी यहाँ के गरिरहेकी?” त्यति लामो समयसम्म बच्चालाई विना हेरचाह छोडेर जान उहाँलाई पनि मन थिएन । तर वहाँले बध्यतावश बच्चालाई छोड्नैपर्‍यो । अर्को कुनै विकल्प थिएन ।आफूले भोग्नुपरेको त्यो पीडाको अनुभवबाट यशोदाकाे मनमा एउटा कुरा आयो -- ‘यहाँ एउटा ठाँटी या चौतारीसम्म भइदिएको भए म आफ्नो शिशुलाई यहीं सुताएर ढुक्कसित काम गर्न पाउँथें । अब मैले सकें भने यो फाँटको माझमा एउटा ठाँटी बनाइदिनेछु । मैले भोग्नुपरेको यो दुःख अरु कसैले भोग्नुनपरोस्’ । स्वयं दीनहीन अवस्थामा रहेकी, ३२ वर्षीया एक गरिब पहाडी कृषक नारीको मनमा अकस्मात परोपकारको भावना जागृत भएको थियो ।

नरनाथ आचार्यको जन्म भएको दश महिना पछि वि. सं. १९६३ साल पौष महिनाको अन्त्यतिर आमा यशोदाले नराम्रो सपना देख्‍नुभयो र कुनै दुःखद खबर आउने हो कि भनेर मनमनै डराइरहनु भयो । वहाँको मनमा जुन खबर आउला भन्ने डर थियो त्यो खबर आखिरमा आएरै छाड्यो । माघे संक्रान्तिका दिन सोमवार र औंसी समेत भएको सूर्यग्रहणमा काशीमा गङ्गास्नान गर्न ताप्लेजुङबाट जानुभएका पति लोकनाथको देहान्त त्यहीं नै भएछ र देहान्तको खबर निकै दिनपछि वहाँको घर तनहुँमा आइपुग्यो । नवजात शिशु नरनाथले त आफ्ना पिता लोकनाथजीको अनुहार पनि देख्‍नुभएन ।

विद्याका लागि संघर्ष[सम्पादन गर्ने]

बालक नरनाथ आचार्यको वि. सं. १९७० साल वैशाख ५ गते व्रतबन्ध भयो । दाजु उमानाथ आचार्य (१९५७-२०१७) ले भाइ नरनाथलाई गायत्रीमन्त्र प्रदान गर्नुभयो । जेठाबा विश्वनाथ आचार्यले दीक्षामन्त्र दिनुभयो । अनि चण्डी, रुद्री, अमरकोश, लघुकौमुदी, हितोपदेश, रघुवंश आदि ग्रन्थ पनि विश्वनाथले नै पढाउनुभयो । पढाइमा उहाँ तीक्ष्णा हुनुहुजन्थ्याे । । वि. सं. १९७८ सालको भदौमा दाजु उमानाथ आचार्य बनारस हिन्दू विश्वविद्यालयमा आयुर्वेद पढ्न जान छानिनुभयो र तीनधारा पाकशालामा बसेर पढ्ने सीट खालि भएको देख्‍नुभयो । त्यसकारण वहाँले भाइ नरनाथलाई काठमाडौं बोलाउनुभयो र अन्तरवार्तामा बसाउनुभयो । नरनाथले आफूलाई सोधेका सबै प्रश्नको उत्तर दिनुभयो र पाकशालामा खानपिन गरेर बसी पढ्न पाउने अवसर पाउनु भयाे । उहाँ एक व्युत्पन्न एवं मेधावी छात्र हुनुहुन्थ्यो । प्रथम परीक्षामा वहाँ दोस्रो स्थानमा पास हुनुभयो । व्याकरण मध्यमाको प्रथम खण्डमा वहाँ पहिला हुनुभयो ।

विवाह[सम्पादन गर्ने]

नरनाथ अाचार्यकाे १९ वर्षको उमेरमा (१९८१ साल फाल्गुन १४ गते) विवाह भयो ९ वर्षकी कन्या गङ्गा माया देवीकासाथ । कन्याका पिताजी अनिरुद्ध वाग्ले तनहुँ क्यामिन धरमपानीका एक सदाचारी कृषिजीवी ब्राह्मण हुनुहुन्थ्यो जो प्रतिदिन विहान वेदको एक अध्याय पाठ नगरी खाना खानुहुँदैनथ्यो । त्यस वखतको चलन अनुसार वहाँका दौंतरीहरू सबैको १२-१३ वर्षको उमेरमा विवाह भइसकेको हुन्थ्यो । तर आफू भने १९ वर्षसम्म अविवाहित रहनुपरेकोमा वहाँ खिन्न हुनुहुन्थ्यो । विवाहको कार्यक्रम सकिनासाथ नरनाथले आफ्नी नववधू गङ्गाका कानबाट सुनका मुन्द्री, हातबाट बाला र पाउबाट चाँदीका कल्ली फुकाल्नुभएछ र ती बेचेर आफ्नो परिवारको ऋण तिर्नुभयो । वहाँको आफैले लिएको ऋण त केही थिएन । तर वंशानुगत ऋण थियो । वहाँका पिता र काकाहरूको अंशबण्डा हुँदा पैतृक धन मात्र होइन, पैतृक ऋण पनि भागमा आएको थियो । नरनाथका ६ वटी फुपूहरूको विवाह गर्दा लिएको ऋणको भार वहाँका दाजुसहित वहाँको भागमा चार शय रूपियाँ पर्न आएको रहेछ। आफू कान्छो सन्तान हुनाले अब अरू विवाह गर्न बाँकी कोही नहुँदा कसैलाई केही नभनी उहाँले ती गहना बेचेर ऋण तिर्ने अठोट गर्नुभएको थियो । आगो, शत्रु र ऋणको बीऊ राख्‍न हुन्न, राख्यो भने त्यो बढ्दै जान्छ र टुहुराले त झन् ऋण बोकेर बस्नै हुँदैन भन्ने उहाँको विचार थियो ।

आयुर्वेद[सम्पादन गर्ने]

आफू विरामीहुदा, दाजु कविराज उमानाथले पठाइदिएका केही औषधी सेवनले फाइदा गरे, स्वास्थ्य निकै राम्रो भयो । त्यसपछि उहाँका मनमा प्रश्न उठ्यो - ‘म पनि आयुर्वेद किन नपढूँ ?’ आफ्नो स्वास्थ्यमा आएको बाधा र दुनियाँको पनि बाधा हटाउनका साथै आयुर्वेद आफ्नो अर्थोपार्जनका स्रोत समेत हुने देख्‍नुभयो । अतः उहाँले काठमाडौं गई आयुर्वेद पढ्ने निश्चय गर्नुभयो [६]

उहाँ १९८८ सालमा काशी आयुर्वेद सम्मिलनीको आयुर्वेद-शास्त्री परीक्षा पास हुनुभयो र आचार्य-कक्षाको पढाइ चालू राख्नुभयो । तर १९९० सालको वैशाख तिर तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरमा त्रि-जुद्ध आयुर्वेदीय औषधालय खुल्यो र “जागिर खाने हो?” भनी आयुर्वेद विभागका प्रमुख हाकिम हरिप्रसाद खकुरेलले सोध्नुभयो । आफ्नो घरपायकमा जागिर पाउँदा खानु नै ठीक छ भन्ने लागेर उहाँ तयार हुनुभयो । अनि खकुरेलले उहाँलाइ बबर शमशेर राणाकहाँ लिएर गई चिनाउनुभयो । उहाँबाट नियुक्तिपत्र लिई १९९० साल जेठ १ गतेबाट बहाल हुन बन्दीपुर जानुभयो ।

नरनाथ आचार्यको जीवनका मुख्य मितिहरू

जन्म              वि.सं. १९६२ साल चैत्र १९ गते (ई. सं. १९०६ अप्रिल १) बेलुकी ९ घडी रात जाँदा चैत्र शुक्ल सप्तमी तिथि; आर्द्रा नक्षत्रको तेस्रो पाउमा, वृश्चिक लग्न सिंह नवांशकमा । पिताः लोकनाथ आचार्य (१९२७-१९६३ माघ) माताः यशोदा (खनाल) आचार्य (१९२९-१९८५) । यशोदाजीको देहावसान मितिः कार्तिक २७ सोमवार, १९८५ तदनुसार नोभेम्बेर १२, १९२८) ।

व्रतबन्ध            १९७० वैशाख ५ । (१७ अप्रिल, १९१३) ।

पाकशालाप्रवेश        १९७८ पौष १ गते ।

प्रथम परीक्षा         १९७९ मंसिर (प्रथम स्थानमा उत्तीर्ण) ।

मध्यमा प्रथमखण्ड    १९८० मंसिर ।

विवाह              १९८१ फागुन १४ गते । कन्याः गङ्गा वाग्ले, क्यामिन धरमपानी ।

व्याकरणमध्यमा      १९८४ । क्वीन्स कलेज, बनारस, भारत ।

भाषा पाठशाला शिक्षक १९८५ पौष १ । लाङ्दी सिह्राञ्चोक, गोरखा ।

अस्वस्थ भई अवकाश  १९८७ मंसिर ३ गते ।

आयुर्वेद शास्त्री       १९८८ काशी आयुर्वेद सम्मिलनी ।  

कविराज            १९९० जेठ १ गते । May 14, 1933. आयुर्वेद विद्यालय नरदेवी, काठमाडौंमा आचार्यको अन्तिम वर्ष पढ्दैगर्दा बन्दीपुर आयुर्वेदीय औषधालयमा ।

                 २००४ साल असार १ गते लमजुङ, तार्कुघाटमा । June 15, 1947.

                 २००६ माघ २१ गते तनहुँ म्याग्देमा । Feb. 3, 1950.

                 २००९ पौष १ गते तनहुँ श्याम्घामा । Dec. 15, 1952.

                 २०१३ मंसिर तनहुँ म्याग्देमा । November, 1956.

                 २०१५ माघ-फागुन, गोरखा मनकामनामा । Feb.-April, 1959.

                 २०१६ पुनः म्याग्देमा । May, 1959.

                 १०१७ असार ९ गते पाल्पा जपगादिमा । June 22, 1960.

                 २०१८ वैशाख १८ गते तनहुँ टुहुरेपसलमा । April 30, 1961.

अवकाश            २०३० मंसिर ३० गते । December 15, 1973.

देहावसान           २०४५ वैशाख २५ गते (ज्येष्ठ कृष्ण षष्ठी) पशुपति, आर्यघाटमा । Apr. 7, 1988

कृतिहरू[सम्पादन गर्ने]

नरनाथ अाचार्यका प्रकाशित कृतिहरू यसप्रकार छन् ।[७]

  • वधूरक्षा, सत्यहरिश्चन्द्रकथा र सुभाषितसङ्ग्रह ( एकै पुस्तकमा २०१६)
  • अादिकवि कविसम्राट भानुभक्त अाचार्यकाे सच्चाजीवनचरित्र (प्रथम संस्करण २०१७)
  • लक्षहाेम यज्ञकाे वर्णन (२०१८)
  • लक्षाहुति पञ्चदशी (प्रथम तथा द्वितीय २०३३)
  • अादिकवि भानुभक्त अाचार्यकाे सच्चा जीवनचरित्र(द्वितीय संस्करण २०३६)
  • कवितासङ्ग्रह (२०४०)
  • पद्यमाला (२०४०)
  • चतुरशीतिपूजाविधि (चाैरासिपूजाकाे पद्धति, २०६३)

भानु प्रति उद‍्गार
-पण्डित कविराज नरनाथ अाचार्य

लाग्याँ भन्न भन्या सिलाेक कविका बिर्सन्छु कामै पनी,
गाँठाे पर्छ मुटुविषे गिरि ठुला हर्षाश्रुधारा पनी ।
भन्नै शक्तिनँ कण्ठ राेकिन गई केइ बेर् पछि ता म ता,
भन्नै शक्ति नभै किताप पनि त्याे पञ्छाइदिञ्छू उता ।।

सभ देखी[सम्पादन गर्ने]

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. https://www.worldcat.org/title/adikavi-bhanubhakta-acaryako-sacca-jvanacarittra/oclc/10023122
  2. Subedi, Abhi Nepali Literature: Background & History p217, Sajha Prakashan, 1978
  3. Pradhan, Kumar A History of Nepali Literature p217, Sahitya Academy, 1984
  4. Pradhan, Parasmani Adikavi Bhanubhakta Acharya p26, Bhagya Laxmi Prakashan, 1979
  5. ढकाल, यशाेदा नरनाथ अाचार्यकाे जीवनी, व्यक्तित्त्व र कृतित्त्वकाे अध्ययन, Thesis Tribhuvan University
  6. स्वकीयां स्वास्थ्यबाधाञ्च लोकबाधाञ्च दृष्टवान् । आयुर्वेदस्याध्ययने मतिं स व्यदधात् पुनः।।
  7. अाचार्य, पण्डित कविराज नरनाथ, चतुरशीतिपूजाविधि (चाैरासिपूजाकाे पद्धति, २०६३)