सामग्रीमा जानुहोस्

शिवराज आचार्य कौण्डिन्न्यायन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवराज आचार्य कौण्डिन्न्यायन
काठमाडौँंमा २०५९ सालतिर
जन्मवि.सं १९९७ माघ२०
तनहुँ, नेपाल
मृत्युवि.सं २०७४ भाद्र १५ (७७वर्ष)
वागमतीतट, पशुपति
वासस्थानकाठमाडौ
राष्ट्रियतानेपाली
शिक्षाआचार्य(साहित्य,वेदान्त), एम्.ए.(संस्कृत, दर्शनशास्त्र), विद्यावारिधि (वेद वेदान्त), वाचस्पति(डी.लिट्.)(संस्कृत ध्वनिशास्त्र)
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय, आगरा विश्वविद्यालय, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय
पेशाशिक्षण
कार्यकालवि.सं. २०२० देखि २०७४
चिनारीको कारणजिम्दो नेपालि भासाअभियान, वेदाङ्गज्योतिषव्याख्या, वैदिकशास्त्रज्ञ
जीवनसाथीनारायणी देवी
सन्तानआमोद सहित ७
मातापितानरनाथ आचार्य, गङ्गामायादेवी

शिवराज आचार्य कौण्डिन्न्यायन (जन्म - वि.स. १९९७ माघ २०, तदनुसार सन् १९४१ फेब्रुअरी २ निधनः वि.सं २०७४ भाद्र १५ तदनुसार २०१७ अगष्ट ३१) नेपालका एक विशिष्ट संस्कृत विद्वान्, वैदिक, शिक्षाशास्त्री, भाषाशास्त्री, कोषकार, वेदाङ्गज्योतिषविद्, मीमांसक तथा वेदान्तज्ञ हुन् ।[] उनका नेपाली, संस्कृतहिन्दी भाषामा चालीसभन्दा बढी कृतिहरू नेपालभारतबाट प्रकाशित छन् ।[][] []

प्रारम्भिक जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

उनको जन्म पश्चिम नेपालको तनहुँ जिल्लाको बन्दिपुरमा भएको थियो। प्राथमिक शिक्षा चुँदीको भाषापाठशालामा र घरमा पिता पं.क. नरनाथशर्मा आचार्यबाट पाएपछि वि.सं. २०१२ (सन् १९५५) मा उच्च अध्ययनको लागि काठमाडौंमा आएका उनले त्रिभुवन विश्वविद्यालयबाट वेदान्त तथा साहित्यमा आचार्य तथा संस्कृतमा एम.ए. गरे। पछि भारतको आगरा विश्वविद्यालयबाट दर्शनशास्त्र मा एम.ए. उत्तीर्ण गरे पछि उनले वाराणसी को सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वैदिक यज्ञ तथा वेदान्त विषयमा विद्यावारिधि तथा वैदिक शिक्षाशास्त्र (ध्वनिविज्ञान) विषयमा वाचस्पति (डी.लिट्.) उपाधि प्राप्त गरे। उनले आफ्नो शाखाका वेद, सूत्र र परिशिष्टको गुरुमुख गरेर अध्ययन गरेका छन् र स्मृति पुराण आदि अनेक ग्रन्थको उनले स्वाध्ययन गरेका छन्।[] उनले वि.सं. २०१८ को प्रवेशिका परीक्षा (एस.एल.सी.) मा बोर्डमा चाैथो स्थान ल्याएर उत्तीर्ण गरेका थिए। वि.सं. २०२३ मा आयुर्वेदशास्त्रीमा प्रथम श्रेणीमा सर्वप्रथम भएका थिए। संस्कृतमा एम.ए. गर्दा त्रिभुवनविश्वविद्यालयमा सम्पूर्ण स्नातकोत्तर (माष्टर्स) परीक्षामा सर्वप्रथम भएर चान्सलर मेडल (कुलपतिपदक) पाएका थिए। अर्को वर्ष साहित्य विषयमा आचार्य उत्तीर्ण गर्दा पनि त्रिभुवनविश्वविद्यालयका सम्पूर्ण स्नातकोत्तर (माष्टर्स) परीक्षामा सर्वप्रथम भएर चान्सलर मेडल (कुलपतिपदक) पाएका थिए। यसरी एकै व्यक्तिले दुइ पटक चान्सलर पदक पाउने उनी एक मात्र व्यक्ति हुन्। उनले त्यसै समय अङ्ग्रेजीमा विशिष्टशास्त्री पनि उत्तीर्ण गरेका थिए।

उनले आफ्नो जीवनको करीब चार दशक (२०२४-२०६०) वेदान्तविषयको प्राध्यापनमा बिताए। आफ्नो पचास वर्षभन्दा लामो लेखनजीवनमा उनले नेपाली भाषा, व्याकरण, ध्वनिविज्ञान, संस्कृतशिक्षा, संस्कृतध्वनिविज्ञान, वेदाङ्गज्योतिष, तथा अनेक वैदिक शास्त्रीय संस्कृत ग्रन्थ एवं पद्धतिको सङ्ग्रह, व्याख्या, तथा परिमार्जनको क्षेत्रमा योगदान दिएका छन् । नेपाली भाषामा उच्चारणको अनुकूल लेखन हुनुपर्छ भन्ने उनको अभियान जिम्दो नेपालि भासाअभियानको रूपमा चर्चित छ ।[][][][] नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य जन्मेकै कुलमा जन्मेका उनले आफ्ना पिता नरनाथ आचार्यले लेखेको आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र सम्पादन तथा भानुभक्तकृत भाषारामायणको सम्पादन समेत गरेका छन् ।[१०] उनले सुरभि भानुदर्शन जस्ता पत्रिकाहरू सम्पादन पनि गरेका छन्।

शिवराज आचार्य कौण्डिन्न्यायनको निधन २०७४ भाद्र १५ गते काठमाडौँँको पशुपतिनाथ नजिकै वागमतीतटमा भयो ।[११] शारीरिक रूपमा कृशकाय रहेका तर विशेष कुनै पनि रोग भने नरहेका उनलाई अन्तिम अवस्थामा भने पाचनप्रणालीमा समस्या देखा परेको थियो ।

उनका चालीसभन्दा बढी प्रकाशित पुस्तकहरूमा प्रमुख पुस्तकहरूको सूची यसप्रकार छ ।


  1. Nepal Who's who, page 10, 1997, Research Centre for Communication and Development
  2. शिवराज आचार्य कौण्डिन्न्यायनका कृतिहरूको सूची वर्ल्डक्याटमा
  3. रत्न पुस्तक भण्डारले प्रकाशित गरेका शिवराज आचार्य कौण्डिन्न्यायनका पुस्तकहरू
  4. ई पुस्तकालयमा शिवराज आचार्य कौण्डिन्न्यायनका रचनाहरू वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-२० मिति
  5. दहाल, टेकनाथ, शिवराज आचार्यको व्यक्तित्त्व र कृतित्त्व, त्रिभुवन विश्वविद्यालयको अनुसन्धानकृति
  6. नेपाली भाषा अधिगोष्ठी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  7. पच्चीस वर्षका भाषिक चर्चा २०३९ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  8. A Few Moments with a Lingiust Vasudha xvi Feb March 1978
  9. नेपाली भाषा व्याकरण चिन्तनमा जिम्दो नेपालि भासा सिद्धान्त, गरिमा २०६२ वैशाख
  10. धिताल, रामप्रसाद भानुभक्तकृत भाषारामायण(कृतिसमीक्षा) अनलाइनसाहित्य डटकम
  11. http://www.thahakhabar.com/news/22751

वाह्य सूत्रहरू

[सम्पादन गर्नुहोस्]