पुमाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालमा बसोबास गर्ने राई राई पगरी पाएको समुदाय भित्रको एक जाति पुमा हो । पुमाली शब्द पुमा समुदायमा प्रयोग गरिएको छैन.

पुमा राई जाति तथा संस्कृतिः एक परिचय[सम्पादन गर्ने]

नेपालको पूर्वी पहाडी जिल्लाहरूमा किरातीहरूको बसोबास क्षेत्र रहेको छ । उनीहरू आफूलाई प्रकृति पुजक भन्न रुचाउछन् । किरात भित्रकै एक जाति पुमा राई पनि हो । पुमाहरूको आफ्नै मौलिक भाषा संस्कृति र परम्पराहरू छन् । खोटाङ जिल्लाको दक्षिणी भेगका दिप्लुङ मौवाबोटे र देवीस्थान गाविसहरू पुमाहरूको प्रमुख बोबी थलो हो । त्यसैगरी खोटाङकै चिसापानी सुन्तले साउनेचउर फाक्टाङ पौवासेरा काहुले र बोपुङ गाविसहरूमा उनीहरूको बाहुल्यता रहेको छ । त्यस्तै उदयपुर जिल्लाका बेल्टार बसाहा रामपुर गाविसहरू लगायत अन्य जिल्लाहरू सुनसरी सप्तरी मोरङ झापाकाठमाण्डौ उपत्यकामा पनि उल्लेख्य रूपमा उनीहरूको बसोबास रहेको छ । साथै भारतको दार्जिलिङमा पनि पुमाहरूको बसोबास रहेको तथ्यहरू प्राप्त भएका छन् । तर जहाँ बसे पनि प्रकृति पुजक पुमाहरूको संस्कृति र रहनसहनमा एकरूपता देखिएको छ ।

पुमा जाति र तिनको संस्कृतिको अध्ययन गर्न निम्न तथ्यहरू उल्लेख गर्न गरिन्छ १) पुमा राईको उत्पत्ति विकास र बसोबास २) पाछा विभाजन ३) भाषा ४) धर्म ५) संस्कार १) पुमा राईको उत्पत्ति विकास र बसोबास पुमा जातिको उत्पत्ति र विकास सम्बन्धि स्पष्ट लिपिवद्ध इतिहास पाउन सकिएको छैन । तर यस सम्बन्धि आख्यान भनाई र लोककथाहरू भने प्रशस्त मात्रामा चलनचल्तीमा रहेका छन् । तिनै लोककथा र केही छिटफुट अनुसन्धानात्मक ऐतिहासिक विश्लेषणहरूबाट प्राप्त तथ्यहरू यस लेखमा प्रस्तुत गरिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरूलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरूले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गरे । यो तथ्य इतिहासहरूमा पढ्न पाउँछौं । त्यतिखेर तिनको शासन सुव्यवस्थालाई देखेर लिच्छबीवंशी आर्य जातिहरू ईष्याले जल्दथे । उनीहरूले कैयौं पटक किराती राज्यमा आक्रमण गरे । तर हरेक पटक हार व्यहोर्थे । कारण किरातीहरू नाग वृक्ष हावा पानी आगो चट्याङ हेन्खामा र निनाम्माको पूजा अर्चना गर्दथे । साथै किरातीहरूले आफ्ना तीन चुलालाई सुम्निमा पारुहोङ र दृष्टिकर्ता निरेवाभुमोङको रूपमा पूजा गर्दथे । र तिनै प्रकृति र सुप्तुलुङबाट किरातीहरूले अथाह शक्ति प्राप्त गर्दथे । पछि किराती चेलीलाई टुनामुना लगाई उनीहरूले फसाए । यो उनीहरूको कुटनीति जालझेल थियो । किरातीहरूको पतनको इतिहास यहीबाट शुरु हुन्छ । किरातीहरूको राज्यमा कैयौं पटक विशाल शक्ति लगाउदा पनि लिच्छबीहरूले हार व्यहोनु परे पछि किरातीहरूको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरूले किराती चेलीसँग नाटकीय माया रची विबाह गरेका थिए । देखावटी रूपमा उनले श्रीमानबाट धेरै माया पाएकी थिइन् । त्यसै त किरातीहरू कोमल हृदयका हुन्छन् । श्रीमानको अभुतपूर्व मायाको जालमा फसेकी किराती चेलीले श्रीमान समक्ष आफ्ना माइती किराती हरूको शक्तिकेन्द्रका बारेमा एक पछि अर्को गर्दै जानकारी गर्दै गईन् । उनले आफ्नो श्रीमानलाई सर्वस्व ठानेकी थिइन् । यद्यपी उनलाई आफ्ना माइतीको माया पनि बचेकै थियो । त्यसैले उनले आफ्ना बाउमाइतीको शक्तिश्रोतको बारे सुनाउनु अगाडि उनले श्रीमानलाई तीनवटा बाचा गर्न लगाएकी थिइन् । ती तीनवटा बाचाहरू १) बाउलाई नमार्नु २) दाजुलाई नमानु र ३) भाइलाई नमार्नु थिए । लिच्छबीवंशी आर्य जातिको कुटनीति यसरी सफल भयो । उनीहरूले किरातीहरूको शक्तिकेन्द्र र तिनको कमीकमजोरीको बारेमा किरातीचेली बाटै थाहा पाए । त्यसपछि लिच्छवीहरूले सर्वप्रथम किराती शक्तिश्रोतहरूलाई वित्तल पारे । तिनको सांस्कृतिक धरोहरहरू नास गर्न थाले । कूलपितृ र भूमिदेवहरूमा वित्तल पार्न थाले । शुरुमा किरातीहरू जाड रक्सी खादैनथे । काटमार गर्दैनथे । किरातीहरूको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरूले जाडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किराती शक्तिकेन्द्रमा वित्तल पारे । र अन्तमा तत्कालिन किराती राजा खिगुहोङलाई पराजित गरेरै छाडे ।

राजा खिगुहोङलाई उपत्यकाको अन्तिम किराती राजा मानिन्छ । उनी यङलुहोङ यलम्बर का बत्तीसौं सन्तान थिए । उपत्यकामा किराती राजा खिगुहाङले पराजय भोगे पछि आर्यहरूको किरातीहरू माथि दबाब बढ्दै गयो । क्रमैसँग किरातीहरूको मौलिक भाषा संस्कृति र परम्पराहरू माथि लिच्छवी शासकहरूले प्रतिवन्ध लगाउदै गए । लिच्छवीवंशी आर्यहरू किरातीहरूको समूल नास चाहन्थे । जसको लागि किराती सांस्कृतिक धरोहरमा प्रतिवन्ध लगाएका थिए । तिनले किराती वेद मुन्दुम र किराती शिलालेखहरू नष्ट गर्दै लगे । उनीहरूले किराती चेलीबाट किराती धर्म र संस्कार महत्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए । यसरी तिनको किरातीहरू माथिको दबाब बढ्दै गए पछि किराती राजा खिगुहोङ काठमाण्डौ उपत्यकाबाट पूर्वतिर लागे । केही किरातीहरू उपत्यकामा नै रहे । हाल काठमाण्डौ उपत्यकाका ज्यापुहरू किराती राजाका सन्तति हुन् भन्ने भनाई छ । मिथाहोङ पालुन पुमा राई वंशावली-२०६२ खिगुहोङ काठमाडौंबाट पूर्व लागि बनेपालाई आफ्नो राज्यकेन्द्र बनाए । उनको छोरो योक्नेहोङ त्यहाँका दोस्रो राजा भए । योक्नेहाङका दुई छोराहरू भए । उनीहरू लेलिमहोङ र खम्सोङहोङ थिए । योक्नेहोङको मृत्यु पछि उनका छोराहरूले सन् ६०० राज्य विभाजन गरे । राज्य विभाजन अनुसार लेलिमहोङ लिम्वुवन र खम्सोङहोङ खम्बुवानको राजा भए । खम्सोङहोङका छोरा जुमहोङ थिए । जुमहोङका छोरा खम्बुहोङ भए । खम्बुहोङले आफ्नो राज्यकेन्द्र बेलकातरी वालिखामा सारे ।

इतिहास अनुसार किरातीहरू उपत्यकाबाट बनेपा हुँदै बेलकातरी सम्म पुग्दा जंगली रूपमा परिणत भइसकेका थिए । आफ्नो मुन्दुम भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले काठमाण्डौ उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्व शिलालेखहरूको अभावमा तिनको मौलिकता क्रमशः नास हुँदै गयो । यसरी समयक्रम सँगै किरातीहरूले आफ्नो मौलिकताका धेरै हद सम्म गुमाउन पुगे । उनीहरू शतप्रतिशत वनमा निर्भर हुन पुगे । वनकै कन्दमुल तरुल र खोलाको माछा तिनको मुख्य आहारा बनेको थियो भन्ने आख्यानहरू पाइन्छन् । खम्बुहोङले वेलकातरीमा आफ्नो राज्यकेन्द्र बनाए । उनले नाहिमा नागाकी चेली सँग विबाह गरे । उनीहरूका दश छोरा र एक छोरी गरी जम्मा एघार सन्तान भए । तिनको नामावली यसप्रकार छः १) जेठो : मापेहोङ २) माइलो : खिन्चीहोङ ३) साँहिलो : हिनाहोङ ४) काँइलो : वानाहोङ ५) अन्तरे : खप्पाहोङ ६) जन्तरे : कुसे्रहोङ ७) लखन्तरे : चालिमहोङ ८) पानी मन्तरे : सेकुहोङ ९) गनन्तरे : रामलिहोङ १०) कान्छो : सेक्रोहोङ ११) छोरी : सायामा खम्बुहोङले आफ्नी छोरी सायामाको उनकै मन्त्री न्योहोङसँग विबाह गरिदिएका थिए ।

समयक्रम बढ्दै गयो । किरातीहरू ताडो चढाउन खप्पिस थिए । उनीहरू धनुवाण लिएर सिकार खेल्न जान्थे । यसैक्रममा खम्बुहोङका छोराहरू मापेहोङ र सेक्रोहोङ बेलकातरीबाट शिकार खेल्दै सप्तकोशी पूर्वतिर लागे । घनघोर जंगलमा शिकार गर्ने क्रममा उनीहरूले आफ्नो शिकारलाई घेरामा पार्ने क्रममा थिए । दुईजनाले दुईतिरबाट घेर्न थाले । घेर्ने क्रममा मापेहोङको अगाडि चाल सुन्यो । नदेखिकनै शिकार हो भनी हानेको मापेहाङको बाणले भाइ सेक्रोहोङको मुटु छिचोल्यो । उनी त्यही ढले । मापेहोङ बेहद बेहद पछुताए । पीडा ग्रस्त मापेहोङलाई घरमा बाबाको पनि डर भयो । र उनी अरुणको उत्तरै उत्तर लागे । उनी हालको तिब्बतमा फगे र त्यहाँका ग्याल्जुङमा भुटिया सँग विबाह गरे । र नाम्चेमा आइ त्यसको आसपासमा उनले आफ्नो बोबी थलो बनाए । छोराहरू हराए पछि खम्बुहोङले अदुवाको कचुर काटी आफ्नो छोराहरू भएको दिशा पत्ता लगाए । कचुर जोखानामा उनीहरू बेलकातरीबाट उत्तर दिशामा भएको देखे । उनले रामलिहोङलाई छोराहरूको खोजी कार्यमा खटाए । रामलिहोङले मापेहोङलाई भेटे । मापेहोङले बाबु समक्ष उपस्थित भइ दुर्घटनाको वृत्तान्त बतए । उनले बाबुको गाली खानसम्म खाए । फेरि मापेहोङ आफ्नै बोबी नाम्चेतिर लागे । खम्बुहोङले छोरा सेक्रोहोङको मृत्यु पछि उनको ठाउँमा छोरी सायामालाई राखेर दश सन्तानलाई दश किरातको नाम दिए । हाल पनि दश किरात एक भान्सा भन्ने लोकोक्ती किरात समुदायमा पाइन्छ । सायामा र न्योहोङको सन्तानलाई आफ्नै सन्तानमा गाभे । किराती लोककथा अनुसार मापेहोङका सन्तान खालिङ खिन्चीहोङका सन्तान सुनुवार हिनाहोङका सन्तान वायुङ वाहेङवाम्बुले अम्बु खप्पाहोङका सन्तान कुलुङ कुसे्रहोङका सन्तान तिलुङ चालिमहोङका सन्तान चाम्लिङ साङपाङ र पुमा सेकुहोङका सन्तान दुमी नाछिरिङ लोहरूङयाक्खा रामलिहोङका सन्तान थुलुङ र सायामाका सन्तान यम्फुनेवाहोङ हुन् भन्ने छ ।

समय सँगै किरात बस्ती विस्तार हुन थाल्यो । दश किरातले आ-आफ्नो बोबी क्षेत्र छुटाउँदै बस्न थाले । उनीहरू जहाँ जुन ठाउँ राम्रो लाग्यो त्यही बस्न थाले । यसरी खम्बुहोङका सन्तानहरू खम्बुवान क्षेत्रभित्र आफ्नो साहोन बोबी या क्षेत्र बनाएर बस्न थाले । आफ्नो बोबी सोहोन या किपट चुन्ने क्रममा चालिमहोङका छोराहरू पनि अग्रसर भए । यस क्रममा चाम्लिङ मूलघरमा बस्ने भयो भने साङपाङले आफ्नो सोहोन छुट्यायो । दाइहरूले राम्रो क्षेत्र उनीहरूको साहोन बनाए पछि पुमाहोङ पनि आफ्नो अनुकुल ठाउँ खोज्न मूलघरबाट दक्षिणतिर परदेश झर् यो । झर्ने क्रममा उनी दक्षिणी खोटाङ जिल्लाको सावाखोला तरे । हालको दिप्लुङ गाविसको आसपासमा उनले आफ्नो अनुकुल वातावरण पाए । स्वच्छ हावापानी हिमाल र समतलको एकैचोटी दृष्यावलोकन गर्न सकिने दिप्लुङ क्षेत्रले उसलाई मोहक बनायो । र दिप्लुङ क्षेत्रलाई उनले पुमा बोबी सोहोन बनाए । यसरी खोटाङको दिप्लुङबाट पुमा बस्ती दिप्लुङ लगायत मौवाबोटे देवीस्थान चिसापानी सुन्तले साउनेचउर फाक्टाङ पौवासेरा काहुले र बोपुङ सम्म विस्तार भयो । र पछि उदयपुर जिल्लाको बेल्टार बसाहा रामपुरमा बसाइँ सराई गरे । बसाइँसराईको क्रममा पुमा जाति हाल सुनसरी सप्तरी मोरङ झापा काठमाडौं र भारतको दार्जिलिङ सम्म पुगेका छन् ।