बाबु, आमा र छोरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाबु, आमा र छोरा (उपन्यास)
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विधाउपन्यास
प्रकारमनोवैज्ञानिक
प्रकाशकसाझा प्रकाशन

बाबु, आमा र छोरा नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो । नेपाली भाषाको यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो। [१] साहित्यकार बिपी कोइरालाले यस उपन्यास मार्फत व्यक्तिका दमित इच्छा, भावना एवं मनाद्वेगहरूलार्इ स्वतन्त्र आत्म निर्णय गर्न दिइनुपर्छ भन्ने सन्देश दिएका छन् ।

कथा सारांश[सम्पादन गर्ने]

यस उपन्यासको कथावस्तुलार्इ वृत्ताकारीय रूपमा विन्यास गरिएको छ । कान्छी पत्नी उमासँगको विवाह पछिका सन्दर्भहरूबाट कथालार्इ सुरूवात गरिएको भएपनि वास्तवमा सरल रूपमा हेर्दा कथा बाबुपात्रको प्रथम विवाहबाट सुरू भएको छ । काठमाडौंका वासिन्दा बाबुपात्र एक धनाड्य पारिवारिक पृष्ठभुमीका मानिस हुन् । उनको विवाह पश्चिम पहाडकी एक अनपढ तर गृहकार्य र कुराकानी गर्न सिपालु युवतीसँग हुन्छ । अत्यन्त मायालु पति र पतिलार्इ देवतासमान मान्ने पत्नी भएका कारण उनीहरूको वैवाहिक जीवन अत्यन्तै सुमधुर बितेको हुन्छ । विवाह भएको एक वर्षमै छोरा पनि जन्मिएपछि उनीहरूको जीवन झनै उत्साहपूर्ण बितेको हुन्छ । उनीहरूको जीवनमा कुनै कुराको अभाव थिएन । सबैले उनीहरूलार्इ भाग्यमानी दम्पतीको संज्ञा दिएका थिए । उनीहरूले छोरा शिवप्रसादलार्इ आफ्नो प्रेमको स्मारकको रपमा मानेका हुन्छन् । तर समय सधैं अनुकुल रहँदैन, अर्को सन्तानको रूपमा जन्मिएकी छोरी हुर्कन नपाउँदै मर्छिन् । छोरीको मृत्युको पीडा र प्रशव पीडाबाट जेठी मुक्तहुन सक्दिनन् र जीर्ण रोगी हुन पुग्छिन् । अझ लगातार अरू तीन सन्तान पनि नबाँचे पछि जेठी श्रीमती बिछ्यौनामा पर्छिन् । उनी दीर्घ रोगी भएपछि बाबुपात्र पनि श्रीमतीकै स्याहार सुसार गरी बस्छन् तर जेठी श्रीमती यस्तो चाहँदिनन् । उनी आफ्नो श्रीमान बाहिरी संसारमा रमाओस भन्ने चाहन्छिन् । पछि जेठी श्रीमतीले बाबुपात्रलार्इ विवाह गर्न आग्रह पनि गर्न थाल्छिन् । यस्तैमा उनीहरूको छोरा पढ्नको लागि वनारस जान्छ । छोरा वनारस गएको केही समयपछि जेठीको मृत्यु हुन्छ । वनारसबाट आमाको काजक्रिया गर्न आएको छोराले पनि बाबुलार्इ विवाह गर्न आग्रह गर्छ । आमाको काजक्रिया सकेर छोरा फेरि वनारस नै फर्किन्छ ।

वनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत रहँदा शिवप्रसादको सोही विश्वविद्यालयमा अध्ययनरत धरान घर भएकी एक नेपाली केटीसँग परिचय हुन्छ । शिवप्रसादले प्रथम भेटमै उनीसँग प्रेम प्रस्ताव त राख्छ तर भोलिपल्ट जवाफ दिन आएकी ती केटीलार्इ उसले बेवास्ता गर्नाले त्यो त्यतिकै सेलाउँछ । तर समयसँगै विस्तारै उनीहरूको मित्रता प्रेममा परिणत हुन्छ । एकदिन उनीहरूले गन्धर्व विवाह पनि गर्छन । विवाहको भोलिपल्ट आफ्नी श्रीमतीलार्इ फुपुको घरमा छोडेर शिवप्रसाद बाबुको विवाहका लागि सामान खरीदगर्न कलकत्ता जान्छ । यता त्यही दिन त्यस केटीको दाजु उसलार्इ लिन आउँछन् र फकाएर नेपाल लिएर जान्छन् ।

केटी नेपाल आएपछि उसको कुरा कसैले सुन्दैनन् । केटीका बाबुले यो विवाहलार्इ गुमेको खान्दानी शान पुन फिर्तागर्ने अवसरको रूपमा लिएका हुन्छन् । हुन त केटीले सबैलार्इ आफ्नो स्वयम्वर भइसकेको र आमालार्इ आफू गर्ववतीसमेत भएको कुरा बताउँछिन तर उनको कुरा कसैले सुन्दैनन् । केटीले घरभेटीको छोरालार्इ वनारस पठाएर शिवप्रसादलार्इ बोलाउन पठाउँछे तर उ पनि भेटिँदैन । आफ्नी प्रेमीकालार्इ नपाएर उ विरक्तिएर हिँडिसकेको हुन्छ । हरेक प्रयत्न गर्दा पनि असफल भएपछि केटी बाबुले खोजेको मानिससँग विवाह गर्न बाध्य हुन्छिन् ।

हुन त छोराले नै आग्रह गरेर बाबुलार्इ विवाह गर्न तयार बनाउँछ । दुलही आमाका लागि चाहिने सम्पूर्ण सामग्रीहरूसमेत छोराले नै भारतबाट पठाइदिन्छ तर बाबुको विवाह पश्चात छोरा एकाएक गायब हुन्छ । उसले त्यसपछि न त कुनै सन्देश पठायो न त बाबुको चिठीको उत्तर नै दियो । यता बाबु र नयाँ दुलहीको जीवन बिस्तारै अघि बढ्न थाल्छ । नयाँ दुलही मनमनै बाबुपात्रलार्इ अत्यन्तै घृणा गर्छिन तर पेटमा भएको बच्चाको लागि उनले सम्झौता गरेको मानेर पतिको सम्मान गरेको नाटक गर्छिन् । बाबुपात्रले आफू बाबु हुने भएको थाह त पाउँछन् तर त्यो बच्चा आफ्नो होइन भन्ने उनलार्इ थाह हुँदैन । समय भएपछि छोरा जन्मीन्छ । छोरा जन्मिने समयसम्म उनीहरूबिचको सम्बन्ध पनि केही सुमधुर भइसकेको हुन्छ । अर्को छोराको जन्मसँगै जेठो छोराको अभावमा उनीहरूको घरमा छाएको शुन्यता हटेको महशुस गर्छन् । तर यतिकैमा उनीहरूको जेठो छोरा पनि फिर्ता आउँछ । बाबुपात्र अत्यन्तै खुसी हुन्छन् । शिवप्रसादले आफू बेखबर भएकोमा बाबुसँग माफी माग्छ । उसलाई नयाँ आमा भेट्ने हतारो भएकोले कुद्दै आमाको कोठातिर जान्छ । आमाको रूपमा आफ्नी प्रेमीका उमालाई पाउँछ ।[२]

पात्र परिचय[सम्पादन गर्ने]

बाबुपात्र[सम्पादन गर्ने]

यस उपन्यासका बाबुपात्रका रूपमा काठमाडौंका एक सम्पन्न परिवारका व्यक्तिलाई उभ्याएकाछन् । उनको नाम उल्लेख गरिएको त छैन तर उनी बस्नेत थरका भएको उपन्यासकारले उल्लेख गरेकाछन् । यिनलाई उपन्यासकारले अत्यन्तै मायालु पतिका रूपमा यस उपन्यासमा चित्रण गरेकाछन् । बाबुपात्रको जेठी श्रीमतीको मृत्युपश्चातको अवस्थाबाट यो उपन्यास सुरू भएको छ ।[२]

समालोचना[सम्पादन गर्ने]

उनले यस उपन्यासमा विशेषगरी एउटै घटना र सन्दर्भलार्इ दुर्इ फरक दृष्टिकोणबाट प्रस्तुत गरेकाछन् । यौनमनोविश्लेषणमा सिपालु कोइरालाले यस उपन्यासमा प्रौढ अवस्थामा पुगेका एक मानिसको विभिन्न अवस्थाका मनोदशालार्इ उतारेकाछन् । मुख्यपात्रको रूपमा उभ्याइएका उपन्यासका बाबु पात्रले जेठी श्रीमतीसँग बिताएको सुखद पलहरू, पुत्रपाप्तीको खुशीयाली, श्रीमती रोगी भएपछिको अवस्था र श्रीमतीको मृत्युपश्चात भोगेको पीडालार्इ सम्झनाको रूपमा विश्लेषण गरेकाछन् । बाबु पात्रले पीडा भुल्न र एक्लोपनबाट छुटकारा पाउन छोराको उमेरकी युवतीसँग विवाहपछि गरेको हिनताबोधलार्इ पनि उपन्यासकारले राम्रोसँग उतारेकाछन् । श्रीमानलार्इ भगवानको वरदान सम्झने जेठी श्रीमतीले बाँचिन्जेल देखाएको समर्पण र मृत्युपश्चात पनि श्रीमानको सेवा गर्न कोही भइदियोस भन्ने चाहनालार्इ कोइरालाले प्रश्तुत गरेकाछन् । आफू रोगी भएपछि श्रीमान पनि आफ्नो पीडामा रूमल्लिएर बस्नुभन्दा बाहिरी दुनियाँको रमझममा सहभागी होस भन्ने भाव जेठी श्रीमती मार्फत दिएर उपन्यासकारले समय र परिस्थिति जे जस्तो भएपनि मानव जीवनलार्इ गति दिनुपर्ने सन्देश दिएका छन् । त्यस्तै मनमा एक पुरूषलार्इ सजाएर अर्कै पुरूषलार्इ शरीर सुम्पन वाध्य युवतीको रूपमा उमा थापा अर्थात यस उपन्यासकी अर्की पात्रा आमालार्इ उभ्याएकाछन् । एउटै घटनालार्इ दुर्इ फरकफरक मनले कसरी विश्लेषण गरेका हुन्छन् भन्ने कुरालार्इ विभिन्न सम्वाद तथा मनोवाद प्रयोग गरी दर्शाइनु यस उपन्यासमा गरिएको फरक प्रयोगको नमुना हो । उदाहरणका लागि उपन्यासकारले चौधौं पृष्ठमा उमाले आफू गर्भवती भएको खबर सुनाएपछि बाबुपात्रले आफ्नी श्रीमती गृहस्तीमा प्रवेश गरेको अनुभव गरेका छन् तर सोही घटनालार्इ उमाको नजरबाट गर्भमा रहेको सन्तानका लागि गरेको सम्झौता भनेर देखाएका छन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]