बोगटाकोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बोगटाकोट बोगटी राजाको कोट हो । यो प्राचीन कोट डडेल्धुरा जिल्लाको बोगटा मा छ । वोगटाकोट डडेल्धुरा जिल्ला भागेश्वर गाविस वार्ड न—१ मा पर्दछ । वोगटामा मल्लो, बीच र तल्लो गरी ३ कोट छन । प्रमूख कोटलाई मल्लोकोट भन्ने गरिन्छ । यस कोटको केही दुरीमा राजाको वैठक बस्ने घर छ । त्यसलाई बीच कोट र १०० मिटर तल राजाका घोडा बाँध्ने तवेला छ । तवेला भएको स्थानलाई तल्लोकोट भनिन्छ । प्रमूखकोट र बीचकोट वरपरका अन्य पत्थरले छाएका साना साना एक वा दुई तले घरहरुलाई पनि कोटमै गणना गरिन्छ । कोटघर सहित निर्माण भएका घरहरु एक मिटर चाक्लो गरी ढुङ्गाले चिनेर बनाएका छन । भूकम्प आउँदा नभत्केओस भनेर बीच बीचमा टाईबीम जस्तै सालका काठ हालेकाछन । तल्लोकोट भनिनेलाई भत्काएर त्यहाँ अर्को घर बनाउँदा चाक्लो गरी चिनेको र सालका काठहालेको त्यहाँका नरेन्द्र बहादुर शाहीले देख्नु भएको थियो । वोगटाकोट कब्जा गर्न गएका रैका राजवंश का शाहीका ७ भाइहरु मध्ये जेठो भाइ वोगटी राजाको मुलकोट तथा मल्लो कोटमा गई बसेका थिए । जेठो घर भएको कारण त्यस घरमा बस्नेलाई टिकैत भन्ने र दशैंको जमरा टिकैतबाट लाउने चलन छ ।

बोगटा कोटमा रहेका प्राचीन कोटका भवनहरु बोगटा डडेल्धुरा

वाराको डाडाबाट कोही पुरुषहरु आयो भने मल्लो कोट हुँदै प्रवेश गर्ने र महिला आए तल्लो कोटबाट प्रवेश गर्ने नियम थियो । डाँडाका टाकुरामा रहेको कोटका वरपर वोगटी राजाकै पालामा कोट सहित बनेका झण्डै २५/३० घरहरु वर्तमानमा पनि जिवित अवस्थामा छन । यी घरहरुको बीचमा पत्थर ओछ्याएको चाक्लो आँगन छ । त्यो बीचको आँगन तर्फ त्यहाँका सबै घरहरुका ढोकाहरु छन । वोगटी राजाका रानीहरु अधेका रहने गर्देथे । अधेका रहने भएको कारण कोट भित्र जेठाजु र भाइ बुहारी आउने जाने ढोका र बाटो पनि अलग अलग बनाएका थिए । त्यहाँ एक मुलबाटो छ । वाहिरबाट कोटमा आउने र कोटबाट बाहिर जानेको बाटो अलग अलग छ । महिलाहरुको वाटो अलग छ । मुख्य कोटको तल्लो तला जसलाई वारा भन्ने गरिन्छ । त्यहाँ भगवतीको थान छ । यी भगवतीलाई तारा भगवती भन्ने गरिन्छ । भगवतीको वारा नजीक तुलसाको मठ बनाईएको छ । भगवती स्थापना गरिएको ठाउँमा दशैको जमरा राख्ने गरिन्छ । बीचकोट नजिक भैरवको थान छ । दशैमा रावण मार्ने भनेर रावणलाई गोली हान्ने काट्ने चलन बोगटी राजाकै समयदेखि चलेको हो । यसलाई शाहीहरुलेपनि निरन्तरता दिंदै आएकाछन् । वोगटाकोट वरपर बनेका घरहरु र त्यहाँका हरेक विषयहरु पुरातात्विक सम्पती हुन । रैका राजा हरिशाहीको राज्यकाल शाके १५२० वि.स.१६५५ मा यो कोट रैका राजाका वंशजका शाहीले राजपुरबाट गएर कब्जा गरेको अनुमान गरिन्छ । रैका राजवंश का हरिशाही प्रथम अन्य राजा भन्दा तानाशाही प्रवृतिका थिए । त्यसै कारण त्यो समयमा भन्ने गरिन्थ्यो ।

  • पलमरी वाखरी, सेरमली गाई ।
  • धुरीमथि चान पुगाई धन्न हरि शाही ।।[१]

प्रथम हरिशाही तानाशाही भएको कारण यिनको शासनकाल हरिशाही दोस्रा भन्दा कम चलेको कुरा यिनको शासनकाल बाट पनि देखा पर्दछ । रैका राजवंश का राजा विष्णु शाहीको शाके १७१३ वि.स.१८४८ आश्विन शुदीको ताम्रपत्र अनुसार अघि श्री महाराजा हरि शाहीले वोगटो केसरी शाहीका भाग लाग्या हो । डुगरी कलाउ पानर शाहीका भाग छुट्याइ दियाको हो, भनेबाट डोटी राज्यका रजवारहरुको सेखी झार्न ढोकामा गामन टाँग्ने, भित्र कुकुरलाई सिगार पटार गरेर राजा हो भनि झुक्याएर ढोग्न लगाई रजवारहरुको वेइज्जत गराउने रैका राजा प्रथम हरिशाहीकै पालामा वोगटाकोट कब्जा भएको हो । यस कारण यो कोट आज भन्दा ४१५ वर्ष पहिलेको हो । पुरातात्विक महत्व रहेको वोगटा कोटको सरंक्षणमा राज्यले ध्यान दिनु आवश्यक छ । वोगटाका इतिहास व्याख्याता पण्डित खगराज चटौत (उपाध्याय)का अनुसार वोगटाकोटमा शौनक गोत्रीय, सूर्यवंशी तेज बोगटी राजा थिए । यिनका ६ भाइहरु हुन । ४ भाइ रैकाले कोट कब्जा गर्दाको लडाईमा काटिए भने बाँचेका दुई भाइ डोटी बोगटान तर्फ गए । यस कोटमा बोगटी राजाले १५देखि २० पुस्ता राज्य गरेका थिए । बोगटी राजाका देवता त्यहाँ स्थापित

  • भैरव,
  • मंगलेश्वर र
  • गंगेश्वर हुन । मंगलेश्वरको द्वारपाल, काली मसानी र सेती मसानी छन । गंगेश्वरको द्वारपाल मौरे देवता हो ।

प्रथम हरिशाहीका पालामा डोटी राजपुरबाट आएका सुन्दरशाहीका भाइहरुले यो कोट कब्जा गरेका थिए । वोगटी राजाको कोट कब्जा गर्नुको मुख्य कारण त्यहाँ सुर्नायनदीका किनारमा रहेका राँडील र भँराणशैन नामका सेराखेत र त्यहाँको मनमोहक जग्गा कब्जा गर्नु थियो । मारकाट गरेर कोट कब्जा भएपछि वोगटामा शाहीहरुको बसोबास भएको हो । यसपछि वोगटी राजाको सेराखेत पनि शाहीको भयो । शाहीहरुको बसोबास भएपछि वोगटाका शाहीका दुई खाले ब्राह्मण भए । पितृ कार्यगर्ने कश्यप गोत्रीय पाण्डेय र देवकार्य गर्ने कश्यप गोत्रीय चटौत । अन्य कार्यमा दुवैलाई बोलाउने चलन शाहीहरुको छ । वोगटाका नरेन्द्रबहादुर शाहीका अनुसार वोगटाकोट कब्जा गर्नमा ढोली(दमाई)ले शाहीलाई सहयोग गरेको थियो । यस कारण ७ भाइ शाही र १ ढोलीलाई गरी त्यहाँका जग्गामा ८ भाग लागेका छन् ।

कोटको भित्री भागमा भगवतीको स्थापना गरिएको छ । यस स्थानमा राजाका हातहतियार राखिन्थ्यो । प्रत्येक वर्ष दशैको नवमी (अष्टमीको राती) पर्वमा यस स्थानमा भगवतिको पूजागर्ने गरिन्छ । यस ठाउँका राजा वोगटी थरका थिए । वोगटी राजाका प्रधानमन्त्री देउवा थरका थिए । विचारी विष्ट थिए । मुख्यको रुपमा कठायत काम गर्दथे भने चिरालहरु लडाकु सैनिक थिए । यसका अलवा यस स्थानमा चटौत, पन्त, पनेरु, भाट, मणै, विष्ठ, कठायत, लोहार, सार्की, दमाई सहितका व्यक्तिहरु बस्दथे । हाल पनि यी जातिका व्यक्ति यस वरपर छन । मनमोहक सुन्दर भौगोलिक वनावट भएको यो क्षेत्रमा सुर्नयनदी र डोटी खोला पर्दछन । यिनै खोलाको दोभानमा वोगटी वाडा रैडको छेउ छ । मड भन्ने ठाउँ मंगलेश्वरको क्षेत्र हो । रानीभंडार र राडील भनिने स्थानमा ठूला ठूला खेत छन । यी खेतहरु यस ठाउँका महत्वपूर्ण खेत मानिन्छन । पहाडी भुभागमा यस प्रकारको समथर खेत प्राय कमै पाउन सकिन्छ । प्रत्येक वर्षको विषुपर्व(वैशाष १ गते नयाँवर्ष) मा राजाको दरवारमा सबै भेला हुने र राजाबाट सल्लाह सुझाव लिने दिने गरिन्थ्यो । वर्ष भरिको कामकुरा सम्बन्धी योजना वनाउने रैती, दरवारका कर्मचारी र राजाका भाइ भैयादहरु एकै स्थानमा बसेर भोज खाने गाड (ठूलोखोला)मा मैन हाल्ने, माछा मार्ने लाउन बावर (पुरी,सेल), भात पकाउने खाने राजाको नियम थियो । यहाँ के कति कारणले हो, वोगटी राजाको दमाई ले यो राज्य वोगटी राजाबाट खोस्नमा रैका शाहीको खान्दानलाई सहयोग गरेको थियो । जसले गर्दा हाल तल्लो र मल्लो कोट गरी दुई भागमा गणना गरिने यस कोटमा रैका राजाको वंशज सुन्दर शाहीको सन्तति बसेका छन ।

बोगटी राजा बाट रैका राजाका वंशजले कब्जा गरेको राडीलको सेराखेत बोगटा Dadeldhuraa
बोगटी राजा बाट रैका राजाका वंशजले कब्जा गरेको भरांडशैनका सेराखेत बोगटा/Dadeldhura

वोगटाका नारायण लोहारका अनुसार ः— “मेरो खान्दान वोगटी राजाको लोहार हो । लोहार वोगटामा छुटेको वोगटी राजालाई पनि ठुलो पछुतो थियो । शाहीहरुलाई पनि लोहार चाहिने भएका कारण मलाई यही बस्नु पर्यो । आप्mना राजा कहाँ जाने मेरो पूर्खाको चाहना थियो । तर जान सकिएन ।[२] वोगटामा मसानी देवात पनि छ । मसानी देवता मडै थरका व्यक्तिमा आउछ र मेरा हडमा पनि आउछ । यो मसानी काँपेर अवोलको वोल दिउलो भन्छ । यहाँको इतिहास हाम्रा पूर्खाले पनि यस्तै वर्णन गर्दथे र यो मसानी देवता पनि यही भन्ने गर्दछ । जून मैले भनेका कुराहरु छन । राजा बोगटी, प्रधनमन्त्री देउवा आदी । यस ठाउँको मसानी देवता वलि खान्छ । राती पूजा गरे कालो बोका र दिउसो पूजा गरे सेतो बोका चाहिन्छ ।

यस वरपर रहेका देवताहरु[सम्पादन गर्ने]

  • १— जेठो भाइ — भागेश्वर
  • २— माईलो भाइ —मंगलेश्वर
  • ३—साईलो भाइ —खेश्वर
  • ४—कान्छो भाइ —गयांश्वर ( गयांश्वर खापरेलाई मार्ने देवता हुन )
  • ५—बहिनी— डागेश्वरी ”

भागेश्वर ः— नागी मल्ल संग विवाद भएको भनिने भागेश्वर देवात हुन । भागेश्वर ठूलो छलको , नागी मल्ल ठुलो बलको ................... भने पछि नागी मल्लको दरवार कांप्यो, रानी काँपे पछि नागी मल्लले भाका कवोल गरे भागेश्वर लाई मान्न थाले । मंगलेश्वर ः— वोगटी राजाका देवता हुन । वोगटी राजा नभए पछि चटौत ब्राह्मणहरु पुज्न थाले । मंगलेश्वर देवता कल्याणगर्ने देवाता हुन । यिनको मन्दिर छ । यी शिवको पार्थिक लिङ्ग हुन । शुद्ध पवित्र वस्तु वाट मात्र यिनको पूजा हुन्छ । मंगलेश्वर देवता दशैको पडेवा देखि नवमी सम्म पुजिन्छन । यस क्षेत्रमा कश्यप गोत्रीय चटौत ब्रहमणहरु यस देवतालाई कुले जस्तै मानेर पुज्ने गर्दछन ।

  • गयांश्वर ः— खापरेले अत्याचार गरे पछि खापरे संग कोही सक्ने भएन र गयाश्वरलाई खापरे मार्न भनियो । खापरेलाई मार्न लगाउँदा कवोल यस प्रकार गरियो ः—

सोर सालमको सिद्रो दिउला, तलाई मानौला,बाईसपाट कुमाऊ र १२ बोगटान को सिद्रो तलाई भयो । भने पछि गयाश्वरले खापरेलाई मारेका हुन । खापरेलाई मारेपछि तं हत्यारो होस । खापरे जस्तो निचलाई छोईस हामीलाई न छो भनियो र त्यसै दिनबाट गयांश्वरसंग अरु भाइको डिठपर्ने भेट नहुने भयो । ढोग दिदाँपनि बुढीऔला देखाएर ढोगदिन थालियो । बोगटाकोट सम्बन्धमा वोगटाका टिकैत वर्ष ६८ का गजवहादुर शाही भन्नु हुन्छ , पूर्खाबाट सुनेको हुँ । कुमाऊँ जाने भनि हाम्रो पूर्खाका दुई भाइ भागेश्वरको डांडा हुदै आईरहेका थिए । बाटामा एक जना दमाई भेटिए । उनी संगको भेटमा एक आपसमा परिचय भयो । परिचय हुँदा दमाईले भने यहाँ वोगटी राजाको बहुत राम्रो कोट छ, जमिन छ । त्यो कब्जागरी बस्ता हजुरहरुलाई पुगी हाल्छ । भने पछि कसरी कब्जागर्ने भन्ने सवालमा दमाईले सल्लाह दियो —प्रत्येक वर्ष विषुपर्वमा राजाले सबै रैती, भाइभारदार सहितका लाई बोलाएर दरवारमा भोज ख्वाउने गर्दछन । यसमा राजा र राजाका सन्तान, राजकर्मचारी, रैती सबै आउने र सबै बसेर त्यस दिन सभा –बैठक गर्छन । गाडमा मैन हाल्छन । माछा मार्छन, लाउन,बाबर हाल्ने ,भात पकाउने खाने वर्षको योजना बनाउने गर्छन । यसो गर्दा सबै जम्मा भएका पनि हुन्छन । दिनभरीको कामले थाकेका पनि हुन्छन । त्यहाँ मैले बाजा बजाउनु पर्दछ । म पनि जान्छु हजुरहरुले कब्जा गर्ने हो भने । मेरो सल्लाह मान्नु पर्दछ । त्यस राती हजुरले दल बल सहित आउन पर्यो । मध्यरातमा सबै सुतेका हुन्छन । म आप्mना पालेका झप्पो र चप्पो कुकुरलाई ठूलो स्वरले बोलाउछु । मेरो ईसारामा हजुरहरुले आउदै गर्नु राजाले केही सोधी हाले भने म कुरो मिलाई हाल्छु । यसै गरी दरवारलाई पुरै घेरेर एकै चोटी आक्रमण गरेको खण्डमा कब्जा हुन्छ भनेर सल्लाह दियो र त्यही सल्लाह अनुसार सुन्दर शाहीको वंशजले कामकुरो गरे र त्यो राती दमाईको च्यो झप्पो र च्यो चप्पो को ईसारामा वोगटाको दरवार घेर्दै गए । राजाले त्यो दिन दमाईको चाला अनौठो मानेकाले दमाईलाई सोध्न लगाए तर दमाईले भन्यो “हामीले खांया मेरा कुकुर भोकेई रहिगे, यहाँको जुठो भात ,फालेको माछा तमाम छ । कुकुर लाई किन भोकई राखु भनि बोलाउन लाग्याछु ” भने पछि राजा सुत्न गए । तत्पश्चात मध्य रातमा सुन्दर शाहीको वंशजले हातहतियार सहितको दलवलले दरवार घेरेर राजा सहितका तमामौको हत्या गरे । त्यहाँंबाट बाँचेकाहरु डोटी वोगटान गए र सुन्दर शाहीको वंशजले वोगटी राजाको दरवार वोगटाकोट कब्जा गर्यो । भन्ने भनाई सुनेको छुु । हाल यहां सुन्दर शाहीका ७ भाइ मध्ये ६ भाइको बसोबास छ, भने एक भाइको अपुताली भईसक्यो । वोगटाका रैका शाही वंशजका इतिहास व्याख्याता नरेन्द्र शाही र गोकुल शाहीका अनुसार वोगटा क्षेत्रमा स्थापना गरिएका मंगलेश्वर देवता वोगटी राजाका कुलदेवता हुन । मंगलेश्वरको क्षेत्र मड, नानीगाड र वने सम्मको क्षेत्र हो । वने भन्ने स्थानमा फाँट छ । त्यहाँको जग्गा अन्यले प्रयोग गर्न मिल्दैन । मंगलेश्वरको गुठ भएको कारण वोगटी राजाका पालाका मानिने मडैले खाँदा हुन्छ । वोगटाक्षेत्रका गंगेश्वर देवतापनि वोगटी राजाकै पालाका देवता हुन । यस गंगेश्वर ले रैका राजवंशका कुलदेवता तेडी मष्टो लाई डडेल्धुरा क्षेत्रमा प्रवेश गर्न नदिए पछि रैका राजाका वंशज डडेल्धुरा बोगटाका शाहीले त्यसै स्थानका देवता मंगलेश्वर ,गंगेश्वर ,भागेश्वर मान्न थालेका हुन् । यिनको पुर्खाको देवता तेडी मष्ट र निमौने हो । गंगेश्वरमा पन्तलाई पूजारी नियुक्त गरेको र चटौत पछि पूजारी भएको भनाई छ । यस सम्बन्धमा पन्त ब्राह्मणलाई सपनामा गंगेश्वरले भनेछन । म धेउडानी भएको स्थानमा छु । त्यहाँ बल्लले खुरले खोर्सेको होला । म त्यही स्थानमा छु ,मलाई लगेर जा भनेपछि पन्तले ल्याएको र स्थापना गरेको भनाई पनि छ । गंगेश्वरको क्षेत्र भंडार र राडिल पनि हो । गंगेश्वरको पर्व पर्वमा जाँत सिम भन्ने स्थानमा हुन्छ । यस जाँतमा देवताका चौलो लिएर आउने तीन पक्षका बीचमा घम्सा घम्सी हुने गर्दछ । यहाँ

    1. उत्तर कोटीगाउँबाट विष्ट, ठकुराठी, ऐडी, लोहार, दमाई सहितकाहरु चौलो लिएर आउँछन् । टाढा भएको कारण यी ढिला पुग्छन ।
    2. पूर्व पिल्कोट क्षेत्रबाट पन्त, रावल, भडारी, महता, बुढा, ठगुन्ना, कामी, दमाइ देवताको चौलो लिएर आउँछन ।
    3. दक्षिण पश्चिमबाट वोगटाका शाही, भाट, मडै, जोरा, उन्याल, दमाइ, कामीहरु देवताको चौलो लिएर आउछन ।

यहाँ पहिले पुग्नेले पछि आउनेलाई स्वागत स्वरुप बाजा गाजा बजाएर धुलिमेधा गर्ने गर्दछन । पहिलो पटक वोगटाबाट आएको चौलो र पिल्कोटबाट आएको चौलोको बिचमा घम्सा घम्सी हुन्छ भने कोटी गाउँबाट आउने चौलो ढिलो पुग्ने भएका कारण त्यसमा वोगटा र पिल्कोटाहरु कोटी गाउँको चौलोसँग घम्सा घम्सी गर्ने गर्दछन । तीन वटै स्थानबाट देवताको चौलो आएपछि सबै मिलेर गंगेश्वरको जाँत सुरु गर्दछन । [३] इतिहास अध्ययन अनुसार कुमाऊ चन्द र रैका राजाका बिचमा समय समयमा युद्ध हुने गरेको पाइन्छ । पश्चिम क्षेत्रको सुरक्षाका लागि रैका राजाले वोगटाका वोगटी राजाबाट सहयोग नपाएपछि बोगटी राजाको वोगटाकोट कब्जा गरेका हुन । प्रथम हरिशाहीको पालामा रैका राजा र चम्फावतका चन्द राजाका विचमा युद्ध चर्केको समय थियो । यस समयमा चम्फावतका चन्द राजा र डोटी रैका राजाका बीच १२ वर्ष लगातार युद्ध भएको थियो ।

बोगटाकोट को बोगटी राजाको वंशज[सम्पादन गर्ने]

बोगटा बाट तल्लो बोगटान अन्तर्गत निगालीको पखिर र ओजेनामा आई बसेकाहरु डडेल्धुराको बोगटा बाट आएका बोगटी रजवारका वंशज हुन् ।[४] पखिरका ठकुरी बोगटी रजवारहरुको प्राप्त वंशावली अनुसार शौनक गोत्रीय, सूर्यवंशी तेज बोगटी रजवार का धेरै पुस्ता पछिका सन्तान निगाली को पखिर र ओजेना आई बसेका हुन् । जनश्रूति अनुसार डडेल्धुरा को बोगटामा मार काट भए पछि त्यहाँ बाट भागेर गडसेरा फाल्दा आएका बोगटी रजवार हरु त्यहाँ बाट निगाली गाउँ विकास समिति वार्ड नम्बर ५ पखिरमा आई बसेका थिए । यी बोगटी रजवारहरु बोगटा बाट गडसेरा हुँदै पखिरमा आउँदा बाटामा मसानी देवता पाएको इतिहास छ । केही जानकारहरुका अनुसार भैंरौ वेताल , गयाश्वोर र मंगलेश्वर यिनका कुल देवता हुन । बोगटामा रैका राजवंश का शाही वंशज संग लडाई काटमार हुँदा मान्छे काटेको तरवार यिनका घरमा थियो । महिलाहरुलाई बालबच्चा जन्माउन कठीन भए, यस तरवार धोएको पानी खुवाउने गरिन्थ्यो । पिचास काँपेर त्यो मारधाडको तरवार राख्नु हेँदैन भनेर फाल्न लगाएको भनिन्छ । यहाँ मल्लाघरी र तल्लाघरी गरेर दुई पट्टी बोगटी रजवार छन् । यी दुवै पट्टीका बीचमा १३ दिनको जुठो मान्ने चलन छ ।

पखिर मल्लाघरी पट्टी तर्फ[सम्पादन गर्ने]

दलजित बोगटी रजवारका दुई पुत्रहरु क्रमस जेठा धर्मसिह बोगटी रजवार र कान्छा महासिह बोगटी रजवार भए । जेठा धर्मसिहतर्फ : धर्मसिहका एकपुत्र गजैसिह बोगटी रजवार भए । गजैसिहका एकपुत्र तारासिह बोगटी रजवार भए । तारासिहका २ पुत्रहरु क्रमस जेठा टेकबहादुर रजवार र कान्छा तिलक रजवार भए । जेठा टेकका एक छोरा दिपेन्द्र बम रजवार छन भने कान्छा तिलकका ३ पुत्रहरु क्रमस गोविन्द बम, मिन बम र यकेन्द्र बम छन । कान्छा महासिहतर्फ महासिहका २ पुत्रहरु जेठा चन्द्रभान रजवार भए भने कान्छा लालसिह रजवार भए । जेठा चन्दभानका ५ पुत्रहरु क्रमस तेजबहादुर रजवार , टिकासिह रजवार, तापसिह रजवार, पदमसिह रजवार र यज्ञबहादुर रजवार(कालुसिह) भए । जेठा तेज र साईला तापसिहको अपुताली भयो । काँईला पदमसिहका छोरा छैनन । माईला टिकासिहका .......... छन । कान्छा यज्ञका २ पुत्र क्रमस ईन्द्र बहादुर रजवार र ........ छन । महासिहका कान्छा पुत्र लालसिह रजवार तर्पm ः लालसिह रजवारका एकपुत्र लक्ष्मण रजवार भए । लक्ष्मण रजवारका ४ पुत्रहरु क्रमस हिक्मत रजवार, टेकबहादुर रजवार, खड्कबहादुर रजवार र टेकेन्द्र बम छन । माईला टेक बहादुर रजवारको एक पुत्र हितेश बम छन् । अन्यका छोराहरु छैनन् ।

पखिर तल्ला घरी पट्टी तर्फ[सम्पादन गर्ने]

तल्ला घरीमा २ परिवार छन् । ....... रजवारका २ पुत्रहरु जेठा केशरसिह रजवार र कान्छा दलबहादुर रजवार भए । जेठातर्फ केशरसिह रजवारका एकपुत्र खड्कबहादुर रजवार भए । खड्कका २ पुत्रहरु क्रमस गणेश रजवार र रमेश रजवार छन् । कान्छातर्फ दलबहादुर रजवारका एकपुत्र ध्वजबहादुर रजवार भए । ध्वजबहादुरका एकपुत्र केशव रजवार छन् ।

ओजेना को शाखा तर्फ[सम्पादन गर्ने]

ओजेनाका मुख्य परिवार सहित हुन् । यिनको वंशावली संकलन गर्न बाँकि ............

वैवाहिक सम्बन्ध[सम्पादन गर्ने]

बोगटा बाट बोगटान गएका यी ठकुरी बोगटी रजवार को वैवाहिक सम्बन्ध शाह, शाही ,मल्ल, चन्द, देउवा ,सिंह , हमाल संग हुने गर्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. कुलासिह बम, मेल्टाबाट
  2. नारायण लोहार वर्ष ६५ वोगटा, हाल महेन्द्रनगर सुकासालका अनुसार
  3. वोगटाका रैका शाही वंशजका इतिहास व्याख्याता नरेन्द्र शाही र गोकुल शाहीका अनुसार
  4. इतिहास व्याख्याता बर्ष ६० का खडक बहादुर बोगटी रजवारका अनुसार