चन्द

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

चन्द नेपालको सुदूर पश्चिम, मध्य पश्चिम हुँदै नेपाल भरी बसोवास भएका चन्द्र वंशी क्षेत्रीय ठकुरी मध्यको एक थर हो । खासगरी सुदूर पश्चिमको बैतडीदेखी मध्य पश्चिमको प्युठान हुँदै म्याग्दी, पोखरा हुँदै काठमाडौंसम्म चन्द ठकुरीको बसोवास रहेको देखिन्छ । भारतका विभिन्न भु-भागहरू मध्य खासगरी उत्तराखंड राज्यको काँगडा, गढवाल, कुमाउँ, पिथौरागढ हुँदै नेपालको बैतडी तथा सम्पूर्ण नेपालभर फैलिएको यस थरको नेपालमा ऐतिहासिक तथा सामाजिक पहिचान अत्यन्त सवल रहेको देखिन्छ । कालिकुमाउँ, चम्पावत, सिंजावलीगढी हुँदै, काँगडा क्षेत्रमा फैलिएको प्राचिन कत्युर राज्यमा आफ्नो आधिपत्य जमाइ राजकाज सुरु गरेका सोमचन्द्र र उनका वंशहरू अहिले भारतका विभिन्न राज्यहरू तथा नेपालको काठमाडौंसम्म फैलिएर बसोवास गरिरहेका छन् । नेपालमा चन्द ठकुरीहरूको अत्यन्त सबल सामाजिक अस्तित्व रहेको छ । नेपाली समाजमा राजनिती, व्यपार, सरकारी सेवा आदिमा चन्द ठकुरीहरूको अत्यन्त राम्रो उपस्थिति र इतिहास रहेको छ । यसको प्रारम्भिक श्रेय भारतबाट बैतडी आइ राजकाज थालेका चन्दहरूका पुर्खा रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउलाई जान्छ । तर, आधुनिक समयमा नेपाली समाजमा चन्दवंशको पहिचान बनाउन आधुनिक नेपाली राजनैतिक इतिहासका महान् शहिद दशरथ चन्दको योगदान सबै भन्दा माथी र अमुल्य रहेको देखिन्छ ।[१] त्यसपछि चन्द वंशलाई आजको अवस्थासम्म ल्याइ पुर्याउनमा चार पटकसम्म नेपालको प्रधान मन्त्री बनेका लोकेन्द्रबहादुर चन्दलाई जान्छ । नेपाली साशन व्यवस्थाको बागडोर चार पटकसम्म सम्हाल्ने व्याक्ति लोकेन्द्रबहादुर चन्दको कारणले नेपालका चन्द ठकुरीहरूको सामाजिक अस्तित्व अत्यन्त मजबुत बनेको देखिन्छ । उनीपछि विभिन्न चन्दहरू नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवा, नेपाली राजनिती, व्यापार व्यवसाय आदिमा उच्च पदस्थ भइ कार्य गरिरहेकाले पनि नेपाली समाजमा चन्द ठकुरीको पहिचान र स्थान अत्यन्त सबल देखिन्छ ।[१] यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औं शताब्दीदेखि चन्दवंशले १९ औं शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।[१]

चन्द वंशको उद्गम

चन्द ठकुरी गौतम गोत्री, कत्यायन श्राउतसूत्री, कत्यान गृहसूत्री, वौद्धायन धर्मसूत्री, मध्यनी शाखा, शुक्ल यजुर्वेद, त्रिनय (तीन) प्रवर (अङ्गिरा, अयस्या र गौतम) अन्तर्गत पर्दछन् । तसर्थ चन्द ठकुरी महर्षि गौतमका सन्तती हुन् भन्ने प्रष्ट छ । चन्द भन्ने थरको बारेमा प्राचिन कालिन खोज गर्दा निकै अगाडी पुग्नु पर्ने हुन्छ । किनकि महर्षि गौतमको जन्म र जिवन व्यतित कहाँ भयो, उनका सन्ततीहरू कहाँ बसोवास गर्नथाले र हजारौं वर्षको समयान्तरालमा उनीहरू कहाँबाट कहाँसम्म पुगे ? भन्ने विषयलाई निरुपण गर्नुपर्ने हुन्छ ।[१] प्राचिन ग्रन्थहरूले महर्षि गौतमको जिवन व्यतित भएको स्थान प्राचिन कालको मिथिला राज्य अन्तर्गत (मिथिला उपवन) जहाँबाट गोदावरी नदी बग्दथ्यो त्यही गोदावरी नदीको किनारमा महर्षि गौतमको आश्रम थियो । महर्षि गौतमले अहिल्यालाई विवाह गरी त्यही कुटीमा लगेका थिए । त्यो मिथिला वन गोदावरी नदी र गंगा नदीको बीचमा पर्दथ्यो । महर्षि गौतमको आश्रम भएको स्थानदेखि सामुन्ने गोदावरी नदीको पारी पट्टीको किनारमा त्यस समयको सबैभन्दा विकसित र सम्पन्न मानिएको पुष्कर नामको शहर थियो भनि उल्लेख छ । यस तथ्यबाट प्रष्ट हुन्छ कि, महर्षि गौतमका सन्ततीहरू मिथिला राज्यबाट फैलिएका थिए । महर्षि गौतमका छोरा शतानन्द त्यसबेलाको मिथिला राज्यका राज पुरोहित भएका थिए । तसर्थ महर्षि गौतमका सन्ततीहरूको विकास मिथिला राज्यमा भएको स्पष्ट छ । यसरी महर्षि गौतमका तीन छोराहरू वामदेव, नोधास र सतानन्दले मिथिला राज्यमा बसोवास गर्दै आफ्नो वंश फैलाएको देखिन्छ । [१] यसरी मिथिलाबाट फैलिएका महर्षि गौतमका सन्ततीहरू अर्थात सुरुवाती समयका गौतम गोत्रीहरू समयको अन्तरालसँगै मिथिलामा संख्यात्मक हिसाबले बढ्दै गए । चारै तिर फैलिदै जाने क्रममा मिथिला पछी गौतम गोत्रीहरूको संख्यात्मक विकास प्राचिनकालको लुम्बिनी क्षेत्रमा भएको देखिन्छ । गौतम गोत्रीहरूको संख्यात्मक विकाससँगै लुम्बिनीमा गौतम गोत्री क्षेत्रियहरूको राजवंश नै स्थापना भयो । त्यस राजवंशलाई शाक्य वंश भन्ने गरिन्छ । त्यही शाक्य वंशका एक जना राजा शुद्धोधनका जेठा छोराको रुपमा राजकुमार शिद्धार्थको जन्म भएको थियो । राजकुमार शिद्धार्थ पछि गएर भगवान गौतम बुद्ध कहलिए । गौतम गोत्रीहरूको सभ्यता अत्यन्त शिखरमा पुगेका बखत लुम्विनीमा विदुशक नामका राजाले गरेको आक्रमणबाट लुम्विनी सभ्यता समाप्त भयो । त्यस समयमा करिब ७७,००० मान्छेको ज्यान गयो । त्यस आम हत्यामा सबैभन्दा बढी गौतम गोत्रीहरूको मृत्यु भएको थियो । त्यो महाविनासबाट बचेर भागेका गौतम गोत्रीहरू वर्तमान भारतको इलाहाबाद नजिकै पर्ने कन्नौज क्षेत्रमा गइ बसोवास गर्न थाले । यसरी कन्नौज आइ बसोवास गर्ने गौतम गोत्रीहरूमा केही मिथिलाबाट सिधै आएका र केही लुम्विनीको महाविनासबाट बच्न भनि आएका थिए । कन्नौज हाल भारतको उत्तर प्रदेश राज्य अन्तर्गत पर्दछ । अहिले कन्नौज अवस्थित जिल्लाको नाम नै कन्नौज जिल्ला रहेको छ । यसको प्राचिन नाम कान्यकुब्ज थियो । आधिकारिक इतिहास अनुसार कन्नौज विक्रम संवतको सातौं शताब्दीमा सम्राट हर्षवर्धनको सामराज्यको राजधानी थियो । यो स्थान गौतम गोत्री क्षेत्रीय तथा ब्राह्मणहरूको इतिहास उजागर गर्ने एक प्रमुख स्थानको रुपमा रहेको छ । प्राचिन ग्रन्थहरूले उल्लेख गरे अनुसार कन्नौजमा सम्राट हर्षवर्द्धनको कब्जा हुनुपूर्व र हर्षवर्द्धन पछि त्यहाँ गौतम गोत्री हिन्दूहरूको शासन थियो । गौतम गोत्रीहरूले त्यस क्षेत्रमा एक समृद्ध र सभ्य राज्य खडा गरी राजकाज गरेका थिए । त्यस समयको कन्नौजी राजवंशलाई गहडवाला राजवंश भनिन्थ्यो । यस राजवंशले वि.सं. १११३ सम्म राज्य गरेको र यस वंशका अन्तिम राजा जय चन्द थिए । यस राजवंशको इतिहासले प्रष्ट बताउँछ कि चन्दहरूको थर १० शताब्दीको अघिबाट नै चन्द भनी प्रयोग गर्न थालिएको थियो । करिब दशौं शताब्दीको अन्त्यतिर कन्नौजमा मुसलमानहरूको आक्रमण भएपछि कन्नौजको चन्दराज्य छिन्न भिन्न भयो । त्यहाँका चन्दवंश राजपुरुषहरू ज्यान र धर्म जोगाउन यत्र तत्र भाग्ने क्रममा सबैभन्दा ठुलो समुह र सबै भन्दा प्रभावशाली व्याक्तीहरू कन्नौजबाट उत्तर पश्चिमको पहाड तर्फ गएका थिए ।[१] माथि उल्लेख गरिए झैं १० औं शताब्दि पूर्व नै कन्नौजमा चन्द भन्ने थर प्रयोगमा आइसकेको देखिन्छ । तर त्यस समयमा चन्द भन्दा बढी चन्द्र भन्ने शब्दको प्रयोग हुन्थ्यो । वास्तवमा कन्नौजको चन्द राजवंशलाई चन्द्रवंश भनिन्थ्यो । तसर्थ चन्द्रवंशी भएकाले थर पनि चन्द्र भन्ने गरेको हो कि भन्ने तिर संकेत गर्दछ । तर पछि बोलिचाली आदिमा चन्द्रको सट्टा चन्द बढी प्रचलनमा आयो यही कारणले होला गहडवाला राजवंशका धेरै राजाहरूको थर चन्द्र भनेर प्रष्ट लेखिएको छ । यसबाट प्रष्ट हुन्छ कि चन्द शब्द चन्द्रवंशबाट सुरू भएको हो । [१]

कत्युरमा चन्दहरू शासन

मुसलमानहरूको आक्रमणबाट कन्नौज छोडेर उत्तर पश्चिम पहाडतर्फ लागेका चन्दहरू आखिर तत्कालिन कत्युर राज्यको चम्पावत आइपुगे । चम्पावत तत्कालिन कत्युर राज्यको राजधानी थियो । कालिकुमाउँ चम्पावत क्षेत्रमा आइबसेका चन्दवंशी चन्दहरूसँग कन्नौजमा गरेको राजकाजको लामो अनुभव, चतुराई तथा उच्च सामाजिक सभ्यता थियो । जसले गर्दा उनिहरू चम्पावत क्षेत्रमा छोटो समयमा नै सामाजिक रुपमा राम्रो स्थान बनाउन सफल भए । यसरी आइबस्ने क्रममा चन्दहरू कुमाउँ क्षेत्रको चम्पावत तथा आसपासका इलाकामा बस्न थाले । कन्नौजबाट चम्पावत आएका चन्दहरूमा सबैभन्दा चलाख तथा प्रभावशाली व्याक्ति सोम चन्द थिए । उनि अत्यन्त कुटिल, चलाख र मानिसलाई रिझाउन सक्ने व्याक्ति थिए । यही कारणले सोम चन्दले कत्युरी राजदरबार तथा राजपरिवारमा अत्यन्त छोटो समयमा राम्रो पहुँच बनाई विश्वास जित्न सफल भए । केही ग्रन्थहरूका अनुसार सोम चन्दले तत्कालिन कत्युरी राज घरानकी सुपुत्री विवाह गरे भनिएको छ । यस तर्क अनुसार कत्युरी राजाले सोम चन्दलाई चम्पावतदेखि पश्चिम पिथौरागढ क्षेत्रमा सानो जमिनदारी दिएर राखेको भनिन्छ । जे होस् उनि कत्युरी राजाको विश्वास जित्न सफल भए । केही ग्रन्थहरूका अनुसार सोम चन्दले तत्कालिन कत्युरी राज घरानकी सुपुत्री विवाह गरे भनिएको छ । यस तर्क अनुसार कत्युरी राजाले सोम चन्दलाई चम्पावतदेखि पश्चिम पिथौरागढ क्षेत्रमा सानो जमिनदारी दिएर राखेको भनिन्छ । जे होस् उनि कत्युरी राजाको विश्वास जित्न सफल भए । त्यस समयमा कत्युरी राजवंश आन्तरिक झगडाका कारण अत्यन्त कमजोर बनेको थियो । त्यही कमजोरीको फाइदा उठाउँदै सोम चन्दले ठुलो रक्तपात नै नगरी कत्युरी राजसत्ता कब्जा गरे । वर्तमान कुमाउँका वैजनाथ तथा देवघाटमा भेटिएका शिलालेखहरूलाई उद्धृत गर्दै भारतीय इतिहासकार बद्रीदत्त पाण्डेले उल्लेख गरे अनुसार सोम चन्दले कत्युरको राजसत्ता कब्जा गरेको समय विक्रमको ११ औं शताब्दिको अन्त्य तिर हो । जनताहरू कत्युरी राजाबाट दिकदार भइसकेका थिए । सोम चन्दले कत्युरी राजसत्तालाई विस्थापित गरिदिए भनेर कत्युरी जनताले त्यसको खासै विरोध पनि गरेनन् । यसरी सोम चन्दको शासन कत्युर क्षेत्रमा सुरू भयो । कुमाउ क्षेत्रमा कत्युरी रावंशको अन्त्यपछि चन्दवंशको निम्नानुसार शासन चल्यो :- [१]

क्र.सं. राज्यकाल (सन्) राजाको नाम मुख्य कार्य
११ औं शताब्दिको अन्त्य तिरबाट सोम चन्द कत्युरी राजवंशको अन्त्यगरी आफ्नो शासन स्थापना, तत्कालिन राज्यहरू पाली, अस्कोट, बारामण्डल, सुईदोती, द्वाराहाट, लखनपुर आदी राज्यहरूलाई गाभी विशाल कुमाउँ राज्य खडा गरेको ।
१२६१ - १२७५ थोहर चन्द सोम चन्दले बसालेको विरासतको कडाइका साथ निरन्तरता
१३४४ - १३७४ अभय चन्द विभिन्न मन्दिरहरूको निर्माण
१३७४ - १४१९ गरुडज्ञान चन्द कालिकुमाउँ तथा वैजनाथमा विभिन्न शिलालेख र मन्दिर निर्माण गर्न लगाएको
१४३७ - १४५० भारती चन्द हरिद्वारमा विभिन्न मन्दिर निर्माण गर्न लगाएको
१४८८ - १५०३ किर्ति चन्द पुरै नैनिताल तथा आसपासका राज्यमाथि विजय हाँसिल
१५४२ - १५६३ कल्याण चन्द चन्द राजवंशको राजधानी चम्पावतबाट सारेर अल्मोडा कायम गरे साथै उनले आलम नगरको स्थापना गरे त्यस नगरलाई अहिले पनि आलम नगर नै भनिन्छ ।
१५६५ - १५९७ रुद्र चन्द रुद्र चन्द मुस्लिम बादशाह अकबरका समकालिन थिए । उनले अकबरलाई लाहोरमा भेटेको भनि अकबरको "अइन-इ-अकबर" मा उल्लेख छ । त्यसमा भनिएको छ, अकबरले रुद्र चन्द भारतको एक विशाल जमिन्दार हुन् भनि प्रसंसा गरेका थिए । त्यस भेटमा अकबर बादशाह र रुद्र चन्दबीच ऐन-इ-अकबरमा हस्ताक्षर गरी रुद्र चन्दले केही तिरो तिर्नुपर्ने सम्झौता भएको थियो । रुद्र चन्दले गढवाल राज्यमाथि हमला गरेका थिए ।
१५९७ - १६२१ लक्ष्मी चन्द रुद्र चन्दका छोरा लक्ष्मी चन्दले विभिन्न नयाँ शहरहरू बसाए जस्तै:- रुद्रपुर, काशिपुर, बाजपुर आदि, उनले १६०२ मा बागेश्वरको बाघनाथ मन्दिर बनाउन लगाए ।
१६३८ - १६७८ बजबहादुर चन्द यिनी चन्दवंशका सोम चन्द पछिका सबैभन्दा प्रभावशाली तथा विर राजा थिए । यिनी मुगल बादशाह शाहजाहाँका समकालिन थिए, यि र शाहजाहाँबीच विभिन्न मुद्दामा सहकार्य भएको र नियमित भेटघाट हुने गरेको इतिहास छ ।
१० १७७९ - १७८६ प्रद्युम्न चन्द पृथ्वीनारायण शाहद्वारा नेपाल एकिकरणको शिलशिलामा पश्चिम कब्जा गर्न हिँडेको फौज कुमाउ पुग्दा देहरादुनमा भएको युद्धमा वीरगती प्राप्त
११ १७८८ - १७९० महेन्द्र सिंह चन्द यिनको समयमा चन्दवंश पनि विभिन्न राज्यमा विभक्त भएको थियो, जस्तै:- कुमाउ, काँगडा, गढवाल आदि कुमाउँमा गोरखा फौंज पुग्दा त्यहाँका राजा यिनै थिए र आखिर गोर्खाली फौजले कुमाउँको चन्दवंशको अन्त्य गरी कुमाउँलाई नेपालमा गाभ्यो । महेन्द्र सिंह चन्द कुमाउँका अन्तिन चन्द राजाका रुपमा चित्रित छन् ।

यसरी कुमाउँका चन्दहरूको एक शिलशिलेबार शासन व्यवस्था थियो । यसै गरि कुमाउँ तथा त्यस आसपासका विभिन्न क्षेत्रमा इ.सं.को ११ औं शताब्दी देखी करिब १९ औं शाताब्दीको सुरुवातसम्म अर्थात करिब ८०० वर्षसम्म चन्दवंशको शासन चलेको देखिन्छ । तत्कालिन अवस्थामा नेपाल एकिकरण गर्न हिंडेको नेपाली फौंजले कुमाउँ विजय गरेको केही समय पछि उनिहरूले काँगडामा रहेको संसार चन्दको शासन माथि हमला गरे । सन् १८०६ मा नेपाली सेनाले काँगडा माथि हमला गरी संसार चन्दलाई काँगडा किल्लामा करिब ३ वर्ष बन्दी बनाएको थियो । यसबाट प्रष्ट हुन्छ कि काँगडामा पनि चन्दवंशको अलग र स्वतन्त्र राज्य थियो । त्यही समयमा कहलुर पनि एक स्वतन्त्र राज्य थियो ।

त्यहाँका राजा महान चन्द थिए । यसरी वर्तमान भारतको उत्तराखण्ड इलाकामा चन्दवंशका थुप्रै राज्यहरू थिए । यस वंशले करिब ८०० वर्ष शासन गरेको देखिन्छ ।[१]

चन्दहरूको वर्गिकरण

नेपालका चन्दहरू धौला चन्द हुन् । सोम चन्दले कत्युरी शासन कब्जा गरी सकेपछि चन्दहरू त्यस क्षेत्रका राम्रा र उन्नत ठाउँमा विभिन्न अधिकार लिएर बस्न थाले । यसरी बसेका ठाउँहरूमा चन्दको पारिवारिक संख्या बढ्दै गयो । ११ औं शताब्दी देखि १५ शताब्दीसम्मको करिब ३०० वर्षको समयमा चन्द परिवारहरूको संख्या पनि निकै विशाल हुन गयो । यसरी ठुलो क्षेत्रमा बसेका चन्दहरूको पहिचान पनि अलग-अलग किसिमले हुन थाल्यो । खासगरी बसोवास गरेको स्थानको आधारमा चन्द परिवारलाई चिन्न थालियो । चन्दहरूको बसोवास पनि मुख्य गरी तीन क्षेत्रमा भएको देखिन्छ ती तीन क्षेत्रहरू यस प्रकार छन् । कुमाउँ क्षेत्रमा तत्कालिन अवस्थामा सबैभन्दा बढी उब्जाउ हुने र बस्न उपयुक्त ठाउँहरूमा मुख्य तीन नदीका किनाराका क्षेत्रहरू पर्दछन् ती तीन नदीहरू हुन् :-

  1. गोरी नदी गोरो रङ्गसँग सम्बन्धित
  2. धौली नदी धमिलो रङ्गसँग सम्बन्धित
  3. काली नदी कालो रङ्गसँग सम्बन्धित

यी तीनवटै नदीहरू उत्तरी हिमालबाट दक्षिण तिर बग्ने कुमाउँ क्षेत्रका मुल नदीहरू हुन् र यि नदीहरू अन्ततः गंगामा मिसिन्छन् ।[१] यि नदीहरूका किनारको समतल क्षेत्र तथा भित्रीमधेसका नदी किनारका उर्भर क्षेत्रहरूमा चन्दहरू विभिन्न अधिकार सहित अधिकारी भएर बसेको देखिन्छ । लामो समयको अन्तराल पछि चन्दहरूको जनसंख्या पनि विशाल भयो र उनीहरूलाई चन्द मात्र भन्दा पारिवारिक परिचय नखुल्ने भयो । त्यसैले उनीहरू बसोवास गर्ने क्षेत्रका आधारमा परिचय खुलाउनु पर्ने भयो । जस्तै:-

१) गोरी नदीको किनारमा बस्ने चन्दहरूलाई "गोरा" भनेर चिन्न थालियो ।
२) धौली नदीको किनारमा बस्ने चन्दहरूलाई "धौला" भनेर चिन्न थालियो ।
३) काली नदीको किनारमा बस्ने चन्दहरूलाई "कल्यानी" भनेर चिन्न थालियो ।[१]

यसरी बसोवास गर्ने स्थानको आधारमा कुन चन्दभन्दा गोरा चन्द, धौला चन्द र कल्यानी चन्द भनेर परिचय दिने चलन १४ - १५ औं शताब्दी तिर चलेको देखिन्छ । करिब यहि समयमा धौली नदी किनारमा बस्ने केहि धौला चन्दहरू त्यहाँबाट पूर्व वर्तमान नेपाल तिर सरेको देखिन्छ । ति मध्य वर्तमान नेपालको बैतडीका चन्दका पूर्वज रणधौला र गढधौला थिए । उनिहरू आफुलाई चन्द भन्दापनि धौला भनेर परिचय दिन्थे । वर्तमानमा बैतडा, डोटेली, अछामी, स्वराडमा बस्नेहरूलाई सोडारी, बोगटानमा बस्नेहरूलाई बोगटी भनेजस्तै । वास्तविक नाम भन्नु पर्दा वा लेख्नु पर्दा रणदेउ चन्द, गडदेउ चन्द, मदनमाणीकदेउ चन्द जस्तो नाम संरचना हुन्थ्यो । त्यस प्रकार वर्तमान बैतडीका चन्दहरूका पुर्खा कुमाउँको धौली नदी किनारमा बसोवास गर्ने रणधौला र गडधौलाका सन्तानहरू थिए । ति धौलाहरूका सन्ततिहरू मध्य चार भाई रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउ आधिकारीक रुपमा बैतडी आएका थिए भन्ने इतिहासमा पाइन्छ । माथि उल्लेखित नाममा पनि केहि स्पष्ट पार्नुपर्ने देखिन्छ । रानादेउ, भानादेउ, उदयदेउ र जसदेउका नामको पछाडि किन धौला नलेखेर देउ मात्र लेखे ? यो प्रश्नको जवाफ पनि सहज छ । कुमाउँमा प्राप्त शिलालेख तथा इतिहासवादीहरूको भनाई अनुसार त्यसबेला चन्दहरूका ठुलाबडा, मान्यगणलाई देउ भनेर सम्मानित गरेको पाइन्छ । आजकल ब्राह्मणलाई गुरू भन्ने, क्षेत्रीलाई काजीसाप भन्ने, ठकुरीलाई राजा भन्ने गरे जस्तो देउ भन्ने चलन रहेको र देउ शब्द तत्कालिन समयको नाम संरचनाको मध्य नामको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ जस्तै:- रानादेउ चन्द, भानादेउ चन्द, उदयदेउ चन्द, जसुदेउ चन्द आदि ।[१] त्यस समयका चन्दहरू उदयदेउ, रानादेउ, भानादेउहरूको चन्दको टाइटलबाट भन्दापनि देउको टाइटलबाट बढी प्रख्यात भएको देखिन्छ । त्यसैले उनीहरूको प्रख्यात टाइटल देउ नै रहेका देखिन्छ । अहिले बैतडीका चन्दहरू खासगरी रानादेउ र उदयदेउका सन्ततिहरू आफ्नो कुल देवताको रुपमा रानादेउ र उदयदेउलाई पूजागर्ने तथा आफ्ना निकटतम पुर्खा उनीहरूलाई नै मान्ने गरेका छन् । स्मरण रहोस् धौला र देउशब्द चन्दहरूले मात्र प्रयोग गरेको नभइ यो शब्द पाल, बम, मल्ल आदिले पनि प्रयोग गरेको देखिन्छ । यही कारणले केही खोजकर्ताहरूले पाल, बम, मल्ल र चन्दहरूका वंशज एउटै थिए भन्ने अनुमान गरेका छन् त्यो अनुमानमा सहमत देखिदैन । किनकी १० औं शताब्दीभन्दा अघि देखि नै कन्नौजमा चन्दहरू अलग्गै अस्तित्वमा रहेको देखिन्छ । पछि चन्दहरू कन्नौजबाट चम्पावत आएपछि लगभग १२ औं शताब्दीको अन्त्यतिर कत्युरी राज्य कब्जा गरेका सोम चन्द र उनका सगोत्री स्पष्ट अलग छन् र पछि चन्दहरूले कुमाउँ, गढवाल, असकोट, पिथौरागढ, काँगडा आदि स-साना राज्य खडागरी बसेका मल्ल, बम, पाल तथा शाहीहरूलाई युद्धमा परास्त गरी लखेटेको इतिहास छ । चन्दवंश १० औं शताब्दिभन्दा पहिलेदेखि हालसम्म अटुट रुपमा चलिआएको स्पष्ट छ । तसर्थ मल्ल, बम, शाही, पाल आदिका पुर्खासँग चन्दका पुर्खालाई जोड्ने तर्कसँग सहमत हुन सकिदैन ।[१]

नेपालका चन्दहरू

कालीकुमाउँ चम्पावतबाट रणधौला तथा गडधौलाका सन्ततिहरू उदयदेउ चन्द, रानादेउ चन्द, भानादेउ चन्द र जसुदेउ चन्दहरू करिब शाके १४०० को आसपासमा अर्थात करिब ५३५ वर्ष पहिले कुमाउँबाट पश्चिम महाकाली नदी तिर वर्तमानको बैतडी जिल्लाको तल्लो तथा उपल्लो स्वराड क्षेत्रमा तथा बैतडीको अन्य क्षेत्रमा बसोवास गरेको देखिन्छ । यसरी १४०० शाकेमा बैतडी आउने चन्दहरू चार भाई जेठा रानादेउ, माहिला उदय देउ, साइला भानादेउ र कान्छा जसुदेउ थिए । अहिलेसम्म प्राप्त सूचना तथा नेपाल प्रहरीका पूर्व डि.आई.जी रणबहादुर चन्दका अनुसार माथि उल्लेखित चारभाईहरू मध्य माहिला भाई उदयदेउ बैतडीको स्वराड क्षेत्रमा बसोवास गरेका र उनका सन्ततिहरू जसीवाम, हंशराज र जगी चन्दले बैतडीको स्वराड क्षेत्रमा राजसत्ता स्थापना गरे । त्यस्तै जेठा रानादेउ मध्य-बैतडी तिर बसोवास गरी बसेका र उनका सन्तति कर्म चन्द, रुप चन्द आदिले त्यस क्षेत्रमा राजसत्ता स्थापना गरी चन्दवंशलाई फैलाएका थिए । त्यस्तै साहिला भाई भानादेउ बैतडीमा नबसी त्यहाँबाट पूर्व वर्तमान नेपालको मध्य पश्चिम क्षेत्र ( जाजरकोट, सुर्खेत, रुकुम, रोल्पा ) तथा सल्यान, प्युठान तिर गएको र उनका सन्ततीहरू त्यही क्षेत्रमा फैलिएको बताइन्छ । त्यस्तै कान्छा भाई जसुदेउका एक मात्र सन्तान भएका र उनी बैतडीमा नबसी कुमाउँ क्षेत्रमा फर्केका थिए । त्यसैले नेपालमा रानादेउ, भानादेउ र उदयदेउका सन्तति चन्दहरू मात्र छन् भनिन्छ ।[१] अहिले बैतडी, डोटी, अछाम, डडेलधुरा हुँदै पूर्व दैलेख, जाजरकोट, सुर्खेत, रुकुम, रोल्पा, प्युठान, म्याग्दीसम्म फैलिएका चन्दहरू तथा अछामको बाटुलासैन (झाँता), बाबला, पुलेतोला तथा कालीकोटको ठिकेका बटाला (चन्द) हरू र अछामको कालागाउँ, दर्ना, तोली, लयाँटी, सुर्खेत, दाङसम्म फैलिएका सोडारी (चन्द) हरू पनि रानादेउ, उदयदेउका सन्तानहरू हुन् ।[१] यसरी अहिले नेपालमा रानादेउ, उदयदेउ र भानादेउका सन्तति चन्दहरू, बटालाहरू र सोराडीहरू रहेका छन् । यसरी तीन भाईका सन्ततिहरू अहिले नेपालको राष्ट्रिय जीवनमा अत्यन्त महत्व राख्ने चन्द थरलाई अघी बढाई रहेका छन् ।

प्रतिहार चन्द

चन्द्रवंशी प्रतिहार चन्द ठकुरी[२] गौतम गोत्रीय ,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीका कुलदेवता केदार, धिरगाँणी (गणेश), औखरे भगवती, कालिकादेवी हुँन् । यिनकी ठकुरानीहरू ठूला केदार (केदार) देवताका अधेगा (पर्दा) हुन्छन् । डोटी बोगटानमा यी ठूला केदारका करावाला हुन् । ठूला केदार यिनकै देवता बताईन्छ । यिनकाकुलगुरु उपमन्यु गोत्रीय विनाडी ब्राह्मण छन् ।

  • (१) भाइभाइमा मनमुटाव हुँदा भानादेव वैतडी तल्लो स्वराडबाट सिधै पूर्व एक हप्ताको पैदलदुरीमापर्ने वोगटान आएर बसेका हुँन् । डोटी प्रवेश गर्ने कत्युरी नरेश राजा निरयपालका बि.स १४०९ देखि १४१९ सम्मका ताम्रपत्रमा यिन (प्रतिहार) को उपस्थिति देखिन्छ । कत्युरी राजवंश का बैबाहिक इस्टमित्र हुन् । देउवा ठकुरी पनि यिनका पुर्खेउली बैबाहिक इस्टमित्र हुन् । डोटीमा देउवाहरूले यिनको वंशनास गर्ने गरि मारकाट गरेको रिसले हाड परेको भनेर देउवा र यी चन्द बीच बैबाहिक सम्बन्ध बर्तमानमा नभए पनि कुमाउँ क्षेत्रमा चन्द्रवंशी देउवा ठकुरी संग गौतम गोत्रीय चन्दको हजारौं बर्षदेखिको बैबाहिक सम्बन्ध अहिलेपनि छदै छ । भानादेवका तीनपुत्र
  • (२) जेठा - करणदेव, माईला - मानदेव र कान्छा चतुरदेव भए । चतुर देवको अपुताली भयो ।
  • (३) जेठा - करणका मुसु देव भए ।
  • (४) मुसुद्योका ४ छोराहरु भए । जेठा झापरदेव, माईला नरसिहद्येव, साईला जय र कान्छा भिमहुँन् । माईला ः मानका एक पुत्र प्रताप चन्द्र भए । मानले कापडी खुवाको मानकोट भन्ने स्थानमा बसोबास गरेका थिए । यिनका सन्तान भूजाली, छेडा क्षेत्रमा फैलिएर रहेकाछन् ।
  • (५) जेठा झापरदेवका ३ पुत्रहरु । जेठा लक्षण, लक्षु, संकर हुँन् । झापरदेवको कोट गडसेरा खतेडा भन्ने ठाउँमा थियो । यी कालिका देवीका भक्त थिए । वैतडी स्वराडबाट उपमन्यू गोत्रीय ब्राह्मण, भण्डाराको काम गर्ने भण्डारी, ओखेडो, ढोली, भूल र लोहार पनि साथै लगेर खतेडामा बसे । कालिका, केदार, मसानी सहितका देवता स्थापना गरी खतेडामा राजगर्न थालेकाहुँन् । यिनको देउवाहरुसँग मारकाट मचेको हो । यिनको काटमारमा हत्या भयो । यहाँ यिनका छोराहरू लक्षमण, लक्षु, संकर पनि काटिएका थिए । देउवाहरूसँग युद्ध मचेपछि यिनकी रानी भागेर गर्भको रानीभँुईकुडा भन्ने स्थानमा आएर राजीसँग बसीन । त्यहाँ गर्भमा रहेका गर्भदेवको जन्म भयो । यिनका सन्तान पनि गर्भहुँदै लानागएका थिए । माईला नरसिहदेव लानाको गडगाउँमा गएर बसेका हुँन् । जयका सन्तान लाना बास्तोलामा गई बसेकाहुँन् । भिमका सन्तान लाना धामी गाउँ र मारकोट क्षेत्रमा फैलिएर बसेकाछन् । देउवाहरूसँगको युद्धमा देउवाहरुले प्रतिहार/पड्यार शब्दसँग मेलखाने व्यक्ति, वोट विरुवा, किडपत्तंक सबैको नाम निसान मेट्ने भनि काट्दै र मार्दै चलाएको यिनको नरसंहार तथा वंशनासको अभियानबाट बाँच्न भानादेव खान्दानकाहरुले प्रतिहारबाट रिथी थर लेखेका थिए । रिथि उल्लेखित थरका व्यक्तिहरुको नामबाट मुख्यली चलेका आधारहरु अझै वोगटानमा भेटिन्छन् । गर्बा र रानी भुँईकुडा यस खान्दानसँग सम्बन्धित नाम हुन । मारकाटबाट बाँच्न सफल भएकी रानी आई राजीका गोठमा बसेका कारण रानी भुँईकुडा र यी ग्रभिणी रानीबाट जन्मेका गर्भदेवको नामबाट गर्भा स्थानको नाम रहन गएको हो । प्रतिहार थरबाट परिचित यस झापरदेवको शाखा सन्तानको विरुद्धमा देउवाहरुले वंशनासको अभियान चलाएपछि लुक्तै भाग्दै, झापरदेवकी महारानी राउते÷राजीहरूको सरणमा गोठमा बसेकी थिईन् । त्यहाँ गर्भिणी रानीबाट गर्भचन्ददेव नामका राजकुमार÷रौतेला जन्मे । त्यहाँ राजाको रौतेलाले २२ हारी पातलोमा भातखाने गरेको कुरा राईभाट मार्फत देउवाहरुले थाहा पाउँदा देउवाहरु त्यहाँ पनि मार्नको लागि खोजिमा गए । यस खान्दानको बचाउ गर्न राजीहरुले यी प्रतिहार होईनन् । यी त हाम्रा रिथि(मालिक)हनु प्रतिहार यहाँ छैनन् भनेर देउवाहरूलाई त्यहाँबाट फर्काएपछि यिनको ज्यान बच्यो यसपछिका दिनबाट यिनलाई रिथि भन्न थालियो । लाना क्षेत्रमा फैलिएकाहरुमा पनि देउवाहरूको आतंकबाट डर त्रासमा थिए । उनीहरूले पनि देउवाहरुबाट बाँच्नकोलागि रिथी थर लेखेका हुँन् । यसकारण भानादेव ÷ झापरदेवको वंशजले प्रतिहार, रिथी, चन्द जस्ता थरहरुबाट परिचित हुनु पर्यो । हाल यस कुलका सबैले चन्द थर लेखेकाछन् । गौतम गोत्रीय, चन्द्रवंशी चन्दको वंशज कर्णाली पूर्व गएको भेटिदैन् । यस विषयको खोज अनुसन्धान गर्दा यो कुरा थाहा भएको हो । कर्णाली पूर्वका भारद्वाज गोत्र, मष्टो कुलदेवता बताउने चन्द थर लेख्नेहरु सम्बन्धीको इतिहास फरक छ ।

डोटी बोगटानमा बसोबास

डोटी वोगटानका गौतम गोत्रिय चन्द्रवंशी प्रतिहार चन्द ठकुरीहरुको वर्तमानमा बसोबास रहेका गाउँहरु यसप्रकार छन् । कैलाली जिल्लाका पहाडी भूभाग खैरला गाउँ विकास समिति अन्तरगतका

  • बँन्वार,
  • गर्वा र

डोटी जिल्ला बोगटान अन्तरगतका गाउँहरु

  • बाँस्तोला,
  • धामीगाउँ,
  • गडगाउँ,
  • मारकोट,
  • भुजाली,
  • छेडा,
  • लाना हुन् ।

गुप्तचरगर्दा

डोटी पाल(कत्युरी नरेश ) राज्य रैका मल्ल राजाका वंशजले बिजय गरेपछि यस खान्दानले रैकाको बिरुद्दमा डोटीबाट चम्फावतको चन्द राज्यमा गुप्तचर भएर समाचार पुगाउने र रैका बिरुद्द गरेको कुरा रैकाराजाले थाहा पाएपछि डोटी रैका राजाले यस वंशलाई आफ्नो राज्यमा जागिर दिएँन केहिलाई डोटी बाट कुमाऊ धपाएको थियो । यो गुप्तचर भएर डोटीकाकुरा चम्फावत पुगाउने गरेको भन्ने कुमाऊका इतिहासमा पनि उल्लेख छ ।

चन्दवंशका महत्वपूर्ण व्याक्तित्व

  1. अहिलेसम्म नेपाली समाजमा चन्दवंशका सबैभन्दा पूज्य व्याक्तित्वको रुपमा अमर शहिद दशरथ चन्द रहेका छन् । उनी नेपालको १०४ वर्षे राणा शासनको अन्त्य गर्ने प्रजातान्त्रिक आन्दोलनका अभियन्ता थिए जसलाई राणाहरूले मृत्युदण्ड दिए । शहिद दरथ चन्द रानादेउ पट्टीको वंशमा जन्मिएका थिए ।
  2. उदयदेउको वंशबाट अहिले नेपालको राष्ट्रिय जिवनमा महत्व राख्ने र प्रभाव पार्ने व्याक्तित्वहरूमा नेपालको चार पटकसम्म प्रधान मन्त्री भएका लोकेन्द्रबहादुर चन्द उल्लेखनिय छन् । [१]
  3. राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द
  4. अंगेज राज्यकालमा चर्चित रहेका कप्तान जय बहादुर चन्द केही उदाहर्ण मात्र हुन् |

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक- राजेश कुमार बटाला
  2. सामाजिक मान्यता, भानाई, ताम्रपत्र,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीको इतिहास ,वंशावली अनुसार ।

बाह्य लिंकहरू