भट्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

भट्ट पुरातन बर्गिकरण अनुसार ब्राह्मण जातमा पर्ने थर हो। नेपाल तथा भारतको अधिकांश ठाउँमा भट्टहरूको बसोवास पाइन्छ। भट्टहरू नेपाल तथा भारतको विभिन्न भू-भागमा बसोवास गर्दछन् । भट्टहरू प्राय ब्राह्मण जातिका हुन्छन् । कतै कतै क्षेत्री भट्ट पनि भेटिएका छन् । भट्टहरूको अलग अलग गोत्र, अलग अलग शाखा, अलग अलग प्रवर हुन्छ । सबै भट्टहरू एकै वंशका तथा एकै गोत्रका हुँदैनन् । कोही भट्टहरू गौतम गोत्री छन् भने कुनै भट्ट आत्रय गोत्री छन् । त्यस्तै कुनै भट्टहरू कस्यप गोत्रका पनि छन् ।

गौत गोत्रीय भट्ट[सम्पादन गर्ने]

कर्मेन्द्रियलाई वसमा राख्ने प्रजापालक शक्तिशाली गायत्री मन्त्रको जप गर्ने ऋषिका रुपमा चिनिने गौतम ऋषिका सन्तान एक जना मूल पूरूष पण्डित बालराज पाण्डे थिए । उनी भारतको ज्वालामुखी क्षेत्र काँगडाबाट चन्द वंशी राजा थोहर चन्दको समयमा राजा सोम चन्दसँग काली कुमाउँ आएका थिए । सोम चन्द राजा भएपछि पण्डित बालराज पाण्डेलाई देवल भन्ने स्थान वृताको रुपमा सुम्पेपछि उनका सन्तानहरूलाई देवलिया पाण्डे भन्ने गरियो । यि देवलिया पाण्डेहरू चतुर र बुद्धिमान थिए ।[१] मुसलमान आधिपत्यको सामु टिक्न कठिन भएकाले कालीकुमाउका विभिन्न ठाउँमा आई पुरोहितको काम गर्दै वृति बढाउँदै गए । राजा सोम चन्दले कालु तडागी फौजदारको सहयोगले चम्पावतका खस राजालाई हराएर आफ्नो अधिपत्य जमाए पछि झिंगाडका जोशी सुधानिधी चौवेलाई दिवान, सिमल्टिया पाण्डे कश्यप गोत्रीलाई राजगुरू, देवलिया पाण्डे गौतम गोत्रीलाई राज पुरोहित, मण्डिया पाण्डेलाई कारवारी र विष्टहरूलाई कारदारको पदवी दिई कार्यक्रम चलाउन्थे ।[१]

नेपाल प्रवेस[सम्पादन गर्ने]

राज्य विस्तारको क्रममा र बसाई सराईको क्रममा बालराजका पाण्डेका सन्तान जयन्त पाण्डे डोटी राज्यमा गई बसोवास गर्न थाले । बाँकी सन्तान कल्याण, रुद्र, नरेन्द्र, लक्ष्मण, इन्द्र, भूमी, मनोरथ र भगिरथ पाण्डेहरूले कुमाउ क्षेत्रमा नै बसोवास गरेका थिए । ती मध्य केही हालको नेपालको उत्तरी क्षेत्रमा बसोवास गर्न गएका थिए । पाण्डेहरू साधनामा बस्न सक्ने साधक थिए । चार वेदको पुरा अध्यायन गरेका साथै ज्योतिष विद्यामा पनी पारंगत थिए भन्ने कुरा कुमाउका प्रसिद्ध इतिहासकार अटकिन्सनको अन्वेषण गजेटियरमा उल्लेख गरेको पाइन्छ । उक्त गजेटियरमा प्रजापालक ओलीहरू विभिन्न दैविक प्रकोपहरूबेट रक्षा गर्दथे । यिनीहरू विभिन्न गाउँहरूबाट मंसिर महिनामा आफ्नो ओल्को (कर) लिन्थे भनिएको छ । साथै आफ्नो योग र बलबाट प्रकृतिमा पर्नजाने विपत्तीहरूलाई रोक्न छेक्न सक्ने क्षमता थियो । खेती पातीको बेला ओला (असिना) ले नोक्सान हुने भएकोले उक्त असिनालाई रोकी, खेती पातीको रक्षा गरी, आफ्नो क्षेत्र भित्रका किसानको रक्षा गर्दथे । उनिहरू प्रजापालक थिए तन्त्र मन्त्रकै सहायताले चाहेपछि ओला हान्न पनि सक्ने भएकाले ओलाको अपभ्रंस शब्द ओली भनेर चिनिन थाले ।[१] राहुल सांस्कृत्यायनद्वारा लिखित कुमाउँको इतिहासमा पनि उल्लेख भएको पाइन्छ कि यहाँ २५० प्रकारका ब्राह्मणहरू छन् । यसको सूची पनि तयार गरेका छन् जसमा प्रथम आस्पदमा पाण्डे र द्वितिय आसपदमा ओली भनि जनाएको छ । कुमाउँ र डोटी क्षेत्रमा धेरैजसो ब्राह्मणहरूले आफ्नो आसपद तथा आफ्नो पैत्रिक परिचय दिन सकेका थिएनन् ति मध्य केही खस ब्राह्मण पनि थिए । आज भोली पनि काली कुमाउका विभिन्न गाउँहरूमा देवलिया पाण्डेका वंशजहरू बसी आएका छन् । काली कुमाउँ, चम्पावत निवासी पाण्डेहरू ओली कै वंशज हुन् ।[१]

उपाध्यायबाट जैसी भएको[सम्पादन गर्ने]

डोटी प्रदेश आएका जयन्तदेवका छोरा सुना पाण्डे र त्यसपछि बलिभोज पाण्डे हुन् । सुना पाण्डे बैतडी तिर गए भने बलिभोज रिंगडा गाउँमा बसे । बैतडी जिल्लाका बादीहरू विभिन्न चाडपर्वहरूमा यस भेगका विभिन्न खानदानीहरूको विरगाथा वर्णन गर्दछन् जसलाई "बर्मो" भनिन्छ । ओलीहरूको बर्मो गर्दा पण्डित बडा भोजका नाति प्रजापालकका नाति आकाशका गोला पतालका गडमोरा १६ कला ३६ को निधानी डोटी कुमाउको लगनाखाम दयामाछौ भनि उनले गरेका विरगाथाहरू वर्णन गर्दछन् । [१] सुना पाण्डे ओलीलाई ज्ञानी पनि भनिन्थ्यो । उनी पनि तान्त्रिक भएकाले गाउँमा ओल्को (कर) उठाउन हिड्न कठिन भएकाले नाङ्लोको पखेटा लगाई उड्ने र विभिन्न गाउँबाट ओल्को उठाउने गर्दथे । आकाश मार्गबाट यात्रा गर्दा देवताहरू रिशाउछन् भनेर उनी प्रत्यक देवताहरूको पूजा आजा गर्दथे । सुना पाण्डेका छोरा ध्यानी पाण्डे ओली भए । बरबुल्ले जोशीकी पाँच वर्षकी छोरी देवमती ध्यानी पाण्डेकी बाल सखी थिइन् । सँगै खाने, सँगै सुत्ने र सँगै खेल्ने भएकाले देवमतीका पिताले आफ्नो छोरीको विवाह ध्यानी पाण्डेसँग गरिदिने निर्णय गरेका रहेछन् । यसका साथै ध्यानी पाण्डेले पनि खेल्ने बेलामा देवमतीको औंलामा मालुको लहरामा बनेको गोलो मुन्द्री जस्तो फेराको अंगुठी लगाई दिएका थिए । तर पछि गएर अंगुठी लगाएको र विवाव गरौंला भनेको कुरा सबैले विर्सेर गए । त्यो बेला ९ वर्षकी कन्याको विवाह गर्ने चलन थियो । देवमती ९ वर्षकी भएपछि पाटन बस्ने एक जना धनिसैनी पंत नाम गरेका मान्छेले आफ्नो छोराको लागि देवमतीको मगनी गरेछन् । त्यतिबेला ९ वर्षकी कन्यालाई केटाको घरमा लगी राख्ने पछाडी उमेर पुगेपछि विधीपूर्वक विवाह गर्ने चलन थियो अर्थात पहिला सरौलो गर्ने दुई चार जना मान्छे आई केटीलाई केटाको घरमा लग्ने चलन थियो ।ध्यानी पाण्डे ओलीले वरमुनडी (औंठी) हालेकी कन्या धनीसैनी पन्तले लग्न थालेछ । त्यो देखेर ध्यानी पाण्डेका यजमान रिखले कार्कीबिष्ठलाई रिस उठेछ । आफ्नो गुरूले वरण गरेकी कन्या लग्न दिन्नौं भनी सबै गाउँले एक जुट भई आफ्नो डोली बोक्ने लोहारलाई समेत साथमा लगेर सरौलो गर्न लागेकी देवमतीलाई बाटैबाट फर्काएर ध्यानी पाण्डेको घरमा राखेका थिए । यजमानहरूले ध्यानी पाण्डेसँग देवमती बाट जन्मिएक सन्तानलाई खड्केलो अथवा जैसी नमान्ने, जसरी जसरी पुरोहित मानेचाछौं त्यसरी नै मान्नेछौं भन्ने वाचा गरेका थिए । त्यो वाचा पछि ध्यानी पाण्डे ओलीले ती ९ वर्षिय देवमतीसँग विवाह गरेका थिए ।[१] त्यस पछि समय बित्दै गयो समयले कोल्टो फेर्यो भित्री मनबाट अर्काले विवाह गर्न लागेकी कन्यालाई बिचैबाट ल्याई विवाह गरी जन्मेका बच्चाहरूमा सामाजिक परिवेशले नैरास्यता ल्यायो । पाण्डेहरू ब्राह्मणको कार्यलाई स्थगित गरी खेतीपातीलाई आफ्नो व्यवसाय बनाउन थाले । यो कुरा लगभग वि.सं. १६३० देखि १६३५ सम्मको थियो । [१]

पाण्डे बाट भट्ट भएको[सम्पादन गर्ने]

ध्यानी पाण्डेका मामा पाडी गाउँमा बस्ने तिवारी ब्राह्मण थिए । उनि पछनाली गाउँका पुरोहित बाहुन थिए । तिवारी ब्राह्मण आफु तिर्थ जाने भएकाले घरको र गाईगोरूको हेरचाहका लागि आफ्ना भान्जा ध्यानी पाण्डेलाई राखेर गए । ध्यानी पाण्डे गाईगोरू चराउन गोठाला जान थाले । एक दूधालु गाई वनबाट फर्केर आएपछि गोठको कुनामा आफै दूध दुहुने गर्ने रहेछ । माइजुले दूध दुहुन जाँदा गाईले दूध नदिने भएकाले उनी भान्जा ध्यानीले कतिबेला दूध निकालेर खाने रहेछन् भन्ने संका गरेर चेवा गर्न थालिन् । एक दिन ध्यानीलाई घरको काममा लगाएर माईजु आफै गोठालो गइन् । बेलुका घर फर्के पछि दूधालु गाईले गोठमा पसेर आफै दूध निकाल्न लागेको देखेर आश्चर्य मानिन् । माइजुले दूध खाने त यहाँ रहेछ भन्दै कोदालीले त्यस ठाउँमा खन्न थालिन् । त्यो ठाउँमा कोदालोले खन्दा रगत बग्न थाल्यो । यो देखेर डरले कोदालो त्यहीं छोडी भागिन् ।[१] ध्यानी पाण्डे तुरुन्तै गोठमा पसेर बग्न लागेको रगतलाई आफुले लगाएको लुगा निकालेर छोपे । साथै ध्यानीले आफुसँग भएको हँसियाले त्यो लुगालाई दबाएर राखेपछि रगत बग्न बन्ध भयो । दैविक चमत्कारले गर्दा लुगा देवताले ओढ्ने आकर्षक लुगा (पटेलो) भयो भने हँसिया पनि कटारो भयो भनिन्छ । भूमीबाट उत्पन्न शिव रुप हुनाले ध्यानी पाण्डे भूमीराज देवताका प्रिय भएका हुन् । २२ वटा सम्म गल्ति गरे पनि देवताले माफ गर्ने उक्ति छ ।[१] यसरी ध्यानी पाण्डेका सन्ततीहरू अघाडी बढ्दै गए । ध्यानी पाण्डे ओलीका कान्छा नाति उत्तम पाण्डे ओली भाईहरूसँग जग्गाको बारेमे खिचलो भएका कारण गाउँबाट टाढा दोगडा पातलमा गएर होम कुण्ड थापी होम गर्न थाले । सातौं दिन पूर्ण आहुतीका बेला ताकला निरास जन भयै फलौलो, फूलौलो जहाँ रात त्यहाँ थात गरौंलो भन्ने आकाश वाणी भयो । त्यो होम कुण्डबाट प्रसादको रुपमा खीर आयो । ध्यानी पाण्डे ओलीले त्यो खिर खाएकोले यस ठाउँलाई अहिले पनि खिरखेत भनिन्छ ।[१] त्यसैले उत्तम पाण्डे ओलीको वंश बढी ज्यादा जनसंख्या छ । अहिले ध्यानी पाण्डे ओलीका सन्तानहरू चार समूहमा विभाजित छन् :-

  • १) बुढो राठ
  • २) कस्वा राठ
  • ३) बाग राठ
  • ४) दामु राठ

निर्णय सिन्धुका अनुशार छ पिण्डको हात छुटेपछि जुठो नलाग्ने भएको र धेरै टाढा बसोवास गर्ने भएकोले अन्य राठहरू भएको पनि पाइन्छ । वि. सं. १९८० मा पाण्डे ओलीहरू जैसी भाट भए भने त्यस पछि भट्टको पदवी पाएकोले भट्ट जात लेख्ने गरेको पाइन्छ । [१]

जनसंख्या तथा वासस्थान[सम्पादन गर्ने]

गौतम गोत्रिय भट्टहरू नेपालमा बैतडी, दार्चुला, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर आदीमा बसोवास गर्दछन् भने भारतमा पिथौरागढ, बरेली, हल्द्वानी, टनकपुर आदी स्थानमा बसोवास गर्दछन् । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश प्रिय पहिलो संस्करण लेखक राजेश कुमार बटाला

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]