सोडारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सोडारी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।

Sodari
सोडारी
Kalagaun VDC, Seti .jpg
उच्चारणसोडारी
भाषानेपाली भाषा, डोटेली भाषा, हिन्दी भाषा
उत्पत्ति
भाषासंस्कृत
अर्थबैतडीको स्वराडबाट आएको चन्द हुनाले[१]
अन्य नाम
भिन्नतास्वराडी, सोडारी, चन्द(सोडारी)

सोडारीहरूको उद्गम इतिहास[सम्पादन गर्ने]

गौतम गोत्री चन्दहरूको शासन रहेको कन्नौजमा १० औं सताब्दीको अन्त्यतिर मुसलमानहरूले आक्रमणगरी चन्द वंशको शासन अन्त्य गरेपछि धर्म तथा संस्कृति बचाउन कन्नौजबाट उत्तर पश्चिमको कत्युर राज्यमा प्रवेस गर्ने सोम चन्दले तत्कालिन कत्यौर (कालीकुमाउँ, गढवाल, चम्पावत) मा आफ्नो बलियो सामाजिक अस्तित्व बनाए । त्यसपछि कत्युरी राज्यलाई चलाखीपूर्ण ढङ्गले सोम चन्द्रले कब्जा गरेर चन्द वंशको शासन व्यवस्था स्थापना गरे । ११ औं सताब्दीमा स्थापना भएको चन्द वंशले कुमाउँ, गढवाल, चम्पावत, काँगडा तथा पूर्व महाकाली, डोटी हुँदै कर्णाली नदीसम्म शासन स्थापना गरेको देखिन्छ ।[२] यसरी सोम चन्दले ११ औं सताब्दीमा स्थापना गरेको चन्दवंश त्यस क्षेत्रमा १९ औं सताब्दीसम्म अर्थात करिब ८०० वर्षसम्म चलेको देखिन्छ । यही क्रममा करिब १४ औं सताब्दीमा कुमाउँ गढवाल क्षेत्रबाट बैतडी आउने रणधौला चन्द र गणधौला चन्दका सन्तति रानादेउ, उदयदेउ, भानादेउ र जसुदेउ बैतडीका विभिन्न क्षेत्रमा बसेको इतिहास छ । यस बारेमा चन्द वंशको इतिहास हेरे बढी प्रष्ट हुन्छ । यसरी कुमाउ गढवालबाट बैतडी आएको चार भाई मध्य माइला उदयदेउ चन्द बैतडीको स्वराड क्षेत्रमा बसे भने जेठा रानादेउ मध्य-बैतडी क्षेत्रमा बसे । त्यस्तै साइला भानादेउ बैतडीको पूर्वतिर लागे तर कान्छा जसु देउ चाहीं बैतडी ठिक लागेन भन्दै पुनः कुमाउ तिर फर्केका थिए । [२] यसरी बैतडीको स्वराडमा बस्ने माईला भाई उदयदेउका सन्तानहरू स्वराड क्षेत्रमा फैलिए । तिनै उदयदेउका सन्तति मध्यका एक हरी चन्द आजभन्दा करिब तीनसय वर्ष पहिले बैतडीको तल्लो स्वराडबाट अछाम जिल्लाको सदमुकान मंगलसेन देखि उत्तर पश्चिममा पर्ने कालागाउँमा आई बसोवास गरिरहेका छन् । यसमा पनि विभिन्न जनश्रुतीको आधारमा फरक फरक मत देखिन्छन् । कसैले भन्छन् कि बैतडीको पाटन सोराडबाट चन्दहरूका तीन भाईहरू आएर कालागाउँको वडपिपल स्थित द्यानलाको गडोमा बसोवास गर्दै आएका हुन् भन्ने भनाई छ भने कसैले चन्द ठकुरीका तीन भाईहरू बैतडीबाट अछाम हुँदै दैलेख जिल्लाको दुल्लु सरेका त्यहाँबाट पनि दैलेखकै सिंगौडीको निमायलमा बसोवास गरेका र केही समयपछि त्यहाँबाट फेरी अछामको कालागाउँ स्थित वडपिपल बजारभन्दा तल द्यानलाको गडोमा आइ बसोवास गरेका हुन् भन्ने भनाई छ । पुर्खाहरूले बसोवास गरेको गरेको गडोलाई अझ पनि द्यानलाको गडो भनिन्छ ।[२] यसै ठाउँमा बसोवास गरी जिवीकोपार्जन गर्ने सिलसिलामा सोराडीका पुर्खाहरूले विभिन्न चुनौतीहरू खेप्नु परेको बताइन्छ । चन्द ठकुरीका ३ भाईहरू पादुका तिर्थ जाने क्रममा विनायक भएर पादुका गई फर्केर आउने बेलामा विनायकका तत्कालिन शासकसँग झगडा हुँदा ३ भाई मध्य एक भाई काटिएका थिए भन्ने भनाइ छ । तीन भाई मध्य एक भाई काटिए भन्नेमा अझैं विवादमा छ । कसैले जेठा भाई काटिएका हुन् भन्छन् भने कसैले माइला भाई काटिएका हुन् भन्ने मत राख्दछ्न । [२] जे होस् बैतडीको तल्लो सोराड पाटन भन्ने ठाउँबाट विभिन्न कारणको सिलसिलामा गौतम गोत्र, मध्यायनी शाखा, तीन प्रवर भएका सोराडी चन्द ठकुरीहरू तत्कालिन जुम्ला राज्य सिंजा राज्य अन्तर्गत हालको अछामको कालागाउँ भन्ने ठाउँमा बसोवास गर्दै आइरहेका छन् ।[२] अछामको तत्कालिन समयका शासक र जातिय बाहुल्यता भएका पक्षबाट चन्द ठकुरीहरूलाई ठुलो जाल झेल षडयन्त्र गरी माटे गर्खाल जुपाल रावलहरूले जात खसाई आफू र आफ्ना इष्टमित्रहरूसँग विहेवारी गर्न बाध्यता पारिएको र चन्द थरबाट बैतडीको सोराडबाट आएकाले थर सोराडी राख्नु परेको कुराहरू सन्तान दर सन्तानमा सर्दै आएको छ । यसरी जुपु पृथु रावलका पुर्खाहरूले चन्द थरबाट सोराडी थरमा बदलेको र १९९० अघि "सोराडी" भन्दै आएको प्रमाणको रुपमा १९११ को काश्यपात्रमा उल्लेख छ र १९९० पछि मात्र सोराडीबाट अपभ्रंस भई सोडारी हुन गएको प्रमाणहरू भेटिन्छन् ।[२]

सोडारीहरूको जनसङ्ख्या[सम्पादन गर्ने]

अछाम स्थित कालागाउँमा सोडारीका सन्तानहरू बढ्दै जाँदा त्यस ठाउँको जल, जमिन र जंगललाई आफ्नो हातमा पारेको देखिन्छ । किनभने सोडारीहरूसँग भात खानको लागि थुप्रै खेतहरू र मकै, गहुँकोदोको लागि आजकल जमिन प्रसस्तै छ, समयको क्रमसँगै विविध कारणवस सोडारीहरू कालागाउँबाट जुपु गाविसको ठाना, बाटुलासैन गाविसको भेरगाउँ भन्ने ठाउँमा, तोली, लयाँटी, सुर्खेत जिल्लाको धनरास, कैलाली जिल्लाको सोल्टा, कटाँसे, बौनिया, लम्की, चौंरी, खैरिफाँटा, टिकापुर, बर्दिया जिल्लाको शान्ति बजार, कटासीपुर दाङकाठमाडौंसम्म बसोवास गरी रहेका छन् । हाल सम्म सोडारीहरूको जनसङ्ख्या २५००/३००० सम्म रहेको छ ।[२]

सोडारीहरूको स्थानिय शासन[सम्पादन गर्ने]

यसरी हरी चन्दका सन्तानहरू अगाडि बढ्दै जाँदा बलभद्र सडारीबाट अछामको कालागाउँमा जिमुवाली चलाएको बताइन्छ । जिमुवाल बलभद्रका जेठा छोरा बलरामेले ठुलै क्षेत्रफलभीत्र आफ्नो जिमुवाली चलाएको इतिहास पाइन्छ । उनले बान्नातोली र जुपु गाविसबीचको जुडिखाको खोलादेखि सान्तडा गाविसको पसेला गाउँसम्म आफ्नो जिमुवाली चलाएका थिए । त्यसपछि मुखियाली परम्परा सुरु भयो । कपुरे सोडारी, गंगु सोडारी, माने सोडारी, धनपती सोडारी, धनसिंह सोडारी, नन्दसिंह सोडारी, बलबहादुर सोडारीहरूले क्रमशः आ-आफ्नो कार्यकालमा साम, दाम, दण्ड, भेद प्रयोग गरी मुखिया भएर मुखियाली चलाएको इतिहास पाइन्छ । यी सबै मुखियाहरू र जिमुवाल मध्य सबैभन्दा नामी जिमुवाल बलरामे सोडारी र मुखियामा नन्दसिंह सोडारी नै हुन् । उनको आफ्नो कार्यकालमा डोटी, अछाम, बाजुरा, जुम्ला, कालीकोटदैलेखसम्मका समकक्षीहरू चिन्दथे भनिन्छ ।[२] नेपालको राणा कालीन समय वि.सं. १९९० सालमा कालागाउँमा पाटी पौवा तयार गरिएको थियो । उक्त भवनको चारैतिर पर्खाल लगाइएको थियो र भवन १ तले ३ कोठा माथि २ कोठा तल बनाइएको थियो । राण शासनको समयमा कैदीहरू लैजाँदा ल्याउँदा, डाँकहरू ल्याउँदा लैजादा र सरकारी हाकिम वा कर्मचारीहरू आउँदा उक्त ठाउँमा नै वास बस्थे । उक्त भवनको तल्लो तलामा रहेको दक्षिण तिरको कोठामा कैदीहरूलाई राखिन्थ्यो । उक्त कोठामा प्रकाश थिएन र बीच कोठामा कैदीलाई बाँध्ने ठुलो खम्बा राखिएको छ । त्यसको अगाडि घोडा राख्ने ठाउँ छ । हाकिमहरू बस्ने माथिल्लो तलामा कोठाहरू बनाइएको छ । उक्त भवन हालसम्म पनि छँदैछ ।[२] उक्त भवन भौतिक पूर्वाधार भएको र अछामको बीच खण्डमा पर्ने ठाउँ कालागाउँ भएकोले नै सदरमुकाम बनाउनका लागि माल कार्यालय बसेको थियो । तत्कालिन समयका स्थानिय अगुवाहरूको अदुरदर्शिता र असक्षमताले उक्त माल कार्यालय धेरै समयपछि मंगलसैन गएको र त्यही सदरमुकाम भएको इतिहास पाइन्छ ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]

  1. Platts, John T. (1884). A dictionary of Urdu, classical Hindi, and English. London: W. H. Allen & Co.. http://dsal.uchicago.edu/cgi-bin/philologic/getobject.pl?c.0:1:1246.platts. [dead link]
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ २.८ २.९ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक राजेश कुमार बटाला

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]