सामग्रीमा जानुहोस्

पाण्डे (पलेउ)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पलेउ पाण्डे नेपाल तथा भारतमा बसोवास गर्ने गौतम गोत्रिय ब्राह्मण थर हो । पलेउ पाण्डेका पूर्वजहरू आज भन्दा करिब ७०० वर्ष पहिले अर्थात विक्रम संवत १४०० साल पहिले भारतको उत्तराखण्ड राज्यको कुमाउँ क्षेत्रको मानली भन्ने गाउँमा बस्दथे । त्यहाँ बस्दा तिनीहरू आफ्नो धर्म अनुसार त्यहाँका वासिन्दा थिए । उनीहरूले अन्य जातिको यजमानी र देवताहरू पूजा गरेर आफ्नो जिविकोपार्जन चलाएका थिए । उनीहरूको खेतीपाती पनि थियो र खेतीपातीको काम गर्नको लागि तल्लो जातको मान्छे राखेका थिए । उनीहरू मध्य एक जना मन्दिर तथा घर बनाउने काममा निपूर्ण डकर्मी थिए । ति डकर्मी आफ्नो जातिका मान्छे (पाण्डे) का घर तथा मन्दिर मात्र बनाउने काम गर्थे तर अन्य जातिका मान्छेको घर बनाउदैनथे । उनले बनाएका मन्दिरहरू निकै सुन्दर थिए । त्यो देखेर त्यहाँका राजा रजौटाहरूले त्यस डकर्मीलाई आफ्नो काममा लगाउने विचार गरे र त्यो कुरा सुनाए । तर ति डकर्मी पाण्डेले पाण्डेय ब्राह्मण बाहेक अरुको काम गर्न अस्विकार गरे । त्यस बेला ति रजौटाहरूको निकै रवाफ चल्दथ्यो । त्यसैले रजौटाहरूले डकर्मी पाण्डेको दाहिने हात काटिदिए । त्यसपछि पाण्डेका पुर्खाहरूको एक नाउलो (कुवा) बनाउन बाँकी नै थियो । त्यो कुवा बनाउने तिनै हात काटिएका डकर्मीको जिम्मा लगाइएको थियो । ति डकर्मीले आफू गारो बनाउन नसक्ने हुनाले आफ्नी छोरीलाई खटाए । बायाँ हातले नै एक सुन्दर नाउलो (कुवा) बनाउन सफल भए । त्यस नाउलोलाई अहिले पनि बायाँहाते नाउलो भन्ने गरिन्छ । त्यो नाउलो मानलीमा अझैं सुरक्षित छ । ति डकर्मीले त्यो नाउलो बनाउन सफल भएको थाह पाएर त्यहाँका रजौटाहरूले उनको बायाँ हात पनि काटिदिए ।[]

नेपाल प्रवेस

[सम्पादन गर्नुहोस्]

मानलीका रजौटाहरूको अमानवीय कार्य देखेर असह्य भई गौतम गोत्रिय पाण्डेहरूका पुर्वजहरू मध्य केहिले त्यो ठाउँ छोडेर हालको डडेल्धुरा जिल्लाको ठुणा भन्ने आए । त्यो ठाउँमा अजयमेरू राजा राज्य गर्दथे । पाण्डेहरू दुई भाइ थिए एक भाईकी स्वास्नी देख्नम अत्यन्तै सुन्दर थिइन् । ति पाण्डेकी स्वास्नीको सुन्दरता देखेर राजा अजयमेरुले जबरजस्ती हरण गरेर लगे । ति आईमाईले बाटोमा नै आत्महत्या गरेर मरिन् । राजा अजयेमेरुको त्यस्तो कार्य देखेर असह्य भई त्यो ठाउँ पनि छोडेर गए । [] ती दुई भाइ मध्य जसकी श्रीमतीलाई राजा अजयमेरुले हरण गरेको थियो तिनले एउटा बिष्टको छोरीसँग विवाह गरेर बैतडी जिल्लाको लिस्किटा भन्ने ठाउँमा बस्ती बनाए । अर्का भाइ जोगी भएर बैतडी जिल्लाकै श्रीकोट भन्ने ठाउँमा बस्ती गरे । जेठा भाइ हरिराज र माइला भाइ धर्मदासले पाण्डेय बैतडी जिल्लाको कोलेउडा भन्ने ठाउँमा बस्ती गरे । त्यसबेला कोलेउडामा कोली, ढिमरामा चन्द, चौपाडी कुंवर गाउँमा कुँवर आदी जातिहरू बस्दथे । कोलेउडाको उत्तर पश्चिम पारीपट्टी काशी चन्दका छोरा हरी चन्द भन्ने राज्य गर्दथे त्यस ठाउँलाई पत्थरकोट भनेर चिनिन्छ ।[]

कोलेउडामा बस्ती

[सम्पादन गर्नुहोस्]

पत्थरकोटका राजा हरिचन्दले कोलेउडामा नयाँ बस्ती देखेर आफ्ना मान्छे पठाएर ती मान्छेले पलेउ पाण्डेका पूर्वजको सबै हालखबर बुझी जेठा भाईको नाम हरीराज हो भन्ने बताए । यसरी आफ्नो नाम सँग मेल खाएको र उत्तम खान्दानी ब्राह्मण बुझी उनीसँग मितेरी लगाई मित्र बनाए । हालको गुणना र प्यानी भन्ने ठाउँको जग्गा दाइजो दिएर आफ्नो राज्य गरे पाउ पाला उब्जाई खानु भन्ने हुकुम दिए । यसरी ती हरी चन्द राजाको राज्य गरी अरु ब्राह्मणहरूले गरेको यज्ञबाट आर्जन भएको सबै धनले पाण्डेयका पूर्जहरू कोलेउडा हालको कैलपाल गाविस रुपल्लीमा रहन थाले ।

कैलपाल देवताको आगमन

[सम्पादन गर्नुहोस्]

एक दिनको कुरा हो, कोलेउडाका पाण्डे, कोली र कुंवर भैंसी लगेर लेक गएका थिए । त्यो दिन बरङ्ली भन्ने ठाउँमा कैलपाल देवताको पूजा भईरहेको थियो । पूजामा सल्लोको लिसो (खोटो) बाठ बत्ति बालिएको थियो र कुरोको पातिले पूजा भईरहेको थियो । तर देवताको शक्ति भने अपार थियो जुन अहिले पनि विद्यमान छ । त्यहाँका मानिसहरूको इच्छा अनुसार देवताले मन्दिर अगाडि नै बाघबँदेल जस्ता जनावरहरू खडा गरी दिएको थियो । देवताको त्यस्तो शक्ति देखेर पाण्डे, कुंवर र कोली "यस्ता देउता हाम्रो गाउँमा भएको भए हामीले घिउको बत्ती बालेर चामलले पूजा गर्ने थियौं" भनी एक आपसमा कुरा गर्न थाले । तीनको त्यो कुरा सुनी देवता प्रसन्न भई तुरुन्तै कम्मान लिई तिनीहरूलाई आजको मितीले छ दिन भित्र तिम्रो गाउँमा आउने छु भन्ने बचन दिए । त्यस समयमा कोलेउडाको बसकट्टे भन्ने ठाउँमा निलपाल देउताको मन्दिर थियो । निलपाल देवताका धामी कोली थिए । तिनीहरू देउताको त्यो बचन सुनी खुशी भएर तुरुन्तै भैंसी ल्याएर घरमा आए । तेश्रो दिनमा बरङ्लीबाट एउठा ध्वजा उडेर आयो । त्यो ध्वजा जहाँ हाल कैलपाल देवताको मन्दिर छ त्यहाँ रोकियो । त्यो कुरा कुंवर गाउँका कुंवरले पाण्डेका पूर्वजलाई सुनाए । पाण्डेले गएर हेर्दा ध्वजाको फेद तिर एउटा लिङ्ग फुटेको देखे र असुरोको स्याउलाले छोपेर आए । कोलीको आरनमा गएर एक ताउली बनाउन लगाए । त्यो ताउली लिएर त्यो देवताको लिङ्गलाई छोपे । पछि सबै जना मिलेर मन्दिर बनाए । पाण्डेलाई पूजारी बनाएर पूजा आरम्भ गरे । [] कैलपाल देवताको पूजा अहिले सम्म चलिरहेको छ र यस गाविसको नाम पनि यसै मन्दिरको नामले कैलपाल गाविस राखिएको छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण, लेखक राजेश कुमार बटाला

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]