महत
महत नेपालमा बसोवास गर्ने एक क्षेत्रिय जाति हो । खास गरेर जुम्ला जिल्लाको महतगाउँबाट उद्गम भएर हाल नेपाल भर फैलिएका महतहरू आज भोली कसैले महतारा, कसैले कठायत लेख्दछन् । जुम्ला महतगाउँका महतहरू गौतम गोत्री हुन् । नेपालमा गौतम गोत्री महतहरूको गर्वयोग्य इतिहास रहेको छ । गौतम गोत्री महतहरूको नेपाल आगमनको इतिहास खोतल्न प्राचिन खस प्रदेश हालको कर्णाली प्रदेशको जुम्ला जिल्लामा पुग्नु पर्ने हुन्छ । जुम्लाको चौघानबाट नेपालका गौतम गोत्री महतहरूको इतिहास आरम्भ हुन्छ । [१]
इतिहास
[सम्पादन गर्नुहोस्]मल्लकालिन समयमा जुम्ली मल्ल राजाले आफ्नो कान्छो भाई धर्म मल्ललाई सेनाको प्रमुख बनाएको बखत महत नामको उत्पत्ति भएको हो । यसले धर्म मल्ललाई महत (जसको अर्थ महान् व्यक्ति ) भन्ने उपाधि प्रदान गर्यो र परिणामस्वरूप, उनका सन्तानले 'महत' लाई उपनामको रूपमा प्रयोग गर्न थाले।
महतहरूको विभिन्न ठाउँमा बस्ती
[सम्पादन गर्नुहोस्]जुम्ला जिल्ला महतगाउँमा स्थाइ बसोवास भएका महतहरू मुलतः एकल कुल क्षत्रिय हुन् । नेपाल अधिराज्यको एकिकरणको शिलशिलामा प्रशासनिक तथा सैनिक सेवामा संलग्न रही महत्त्वपूर्ण योगदान गरेकाले कार्यक्षमताको मुल्यांकन गरी जुम्लाका महतहरूलाई आफुसँगै पूर्वी नेपाल तर्फ लगेको देखिन्छ । यसरी फौज तथा विभिन्न सरकारी कार्यमा जुम्लाबाट अन्यत्र (पूर्व, पश्चिम, उत्तर, दक्षिण) लागेका महतहरूलाई आफुसँगै लिने राजा-महाराजाहरू तथा अधिकारीहरूले आफ्नै गाउँमा जमिन वा विर्ता दिइ राखेको र कतिपय अवस्थामा आफ्नै गोत्र दिएर भाइ बनाएको पनि पाइन्छ । राजकाज तथा सामाजिक कार्यमा आफुलाई सहयोग होस् भनि महतहरूलाई आफ्नै गोत्र दिई भाइ बनाएका घटनाहरू देखिएका छन् । यही कारणले जुम्लाबाट गएका महत काठमाडौँ, नुवाकोट, रामेछाप, काभ्रे, ललितपुर र भक्तपुरमा पुग्दा आफ्नो गोत्र छोडेर अन्य गोत्र धारण गरेको देखिन्छ । यस्तै जुम्लाको महतगाउँबाट जुम्लाकै अन्यत्र गाउँमा जाने तथा कालिकोट, डोल्पा र हुम्ला जिल्लाको विभिन्न गाउँमा रहेका महतहरूले वैवाहिक सम्बन्ध एवं बकसपत्रबाट अंश प्राप्त गरेका कारण आफ्नो गोत्र छोडी अन्य गोत्र धारण गरेको देखिन्छ । यो कुराहरू नेपाल अधिराज्य भर बसोवास गर्ने महतहरूको महत वंशिवली पुस्ट्याई गर्दछ । [१]
दैलेख सोतका महतहरू
[सम्पादन गर्नुहोस्]हालको जुम्ला जिल्ला सदरमुकाम चौघान महतबाडा भन्ने ठाउँमा महतहरूको बसोवास रहेको थियो । तिनै महतहरू मध्यबाट एकजना नरिमान महत नामका व्याक्ति जुम्ला जिल्लाको माल कार्यालमा कार्यालय प्रमुख थिए । कारणवस तिनै नरिमान महत जुम्ला देखि दैलेख जिल्लाको माल कार्यालयमा हाकिम भई काम गर्न आउनु भयो । त्यो बेलामा दैलेख जिल्लाको माल कार्यालय सोत गाउँ पन्चायत मा रहेको थियो । त्यही सोत गाउँमा कठायतहरूको बस्ती थियो र त्यही सोत गाउँ पन्चायतका मुखिया एकजना कलुसिङ कठायत मुखिया थिए । कलुसिङ कठायत मुखियाकी दुईवटी स्वास्नी थिए । जेठीको नाम धर्मेनी साउनी कठायत र कान्छीको नाम विन्द्रा साउनी कठायत थियो । दुई स्वास्नी भएका मुखिया गाउँ घरको तिरोभारो उठाई जग्गा जमिनको काम गर्दथे । कुनै समयमा त्यो कठायत गाउँमा हैजा आयो । हैजामा परि सम्पुर्ण मान्छे हरु सहित त्यो गाउँका मुखिया कलुसिङ कठायतको मृत्यु भयो । मुखियाकी दुइवटी स्वास्नीहरू बाचिन् । जेठी पट्टिबाट एक छोरी र कान्छी पट्टीबाट एक लाटो छोरा मात्र बचेका थिए । गाउँका मान्छेहरू हैजाको कारण कोही मरे र कोही हैजाको डरले गाउँ नै छोडेर टाढा गएकाले गाउँ खाली भएको थियो । यसरी गाउँ खाली हुँदा मुखियाकी दुवै स्वास्नीहरूलाई जिवन धान्न र आफ्नो छोरा छोरी पाल्न निकै समस्या भयो । मुखियाकी स्वास्नीहरूले आफुलाई सहारा दिने मान्छे खोजीरहेकी थिइन् । त्यो खबर नरिमान महतले थाह पाएर दुःखीको दया गर्ने वाचा गरी आफू त्यो गाउँको मुखिया भई ति दुवै मुखियाकी स्वास्नी र उनको घरमा भएको धन सम्पती सहित राखेर आफ्नो जिवनोपार्जन गर्ने निर्णय गरे । कठायतको मुखेली लगेर बसेकाले नरिमानका सन्तानहरूले अहिले सम्म पनि आफुलाई कठायत नै लेख्ने गरेका छन् । हाल तिनै नरिमानकी दुईटी स्वास्नीबाट दैलेख जिल्लाको नारायण नगरपालिका वडा नंवर ४ सोत गाउँमा कठायत लेख्ने महतहरूका ६० घर धुरी रहेका छन् भने त्यहाँबाट बसाइसराई गरी हाल महेन्द्र नगर, चाँदनी, सुर्खेत, छिन्चु, कोहलपुर, रम्भापुरमा र टिकापुरमा छरिएर रहेका छन् । [१]
कालिकोट फुकोटका महतहरू
[सम्पादन गर्नुहोस्]जुम्लाका महतहरू जुम्लाबाट यताउता सर्ने क्रममा विक्रम संवत १९८१ सालमा महत थरका व्याक्ति प्रहरी भएर कालिकोट जिल्लाको फुकोट गाविस अन्तरगत पर्ने फुकु गाउँमा आएर बसेका हुन् । अहिले त्यो ठाउँमा महतहरूको एक गाउँ नै बनेको छ । [१]
महत खानदानका केही विशिष्ठ व्याक्तिहरू
[सम्पादन गर्नुहोस्]हालको जुम्ला जिल्लाको महतगाउँ लगायत अन्य विभिन्न गाउँमा बसोवास गर्ने महतहरूको करिब ६०० जति घरधुरीमा करिब ४००० जति जनसङ्ख्या रहेको छ । महतहरू आफू बसोवास गर्ने ठाउँको विकास निर्माणका लागि उच्चस्तरीय सामाजिक सेवा गर्ने भावना राख्ने प्रवृत्तिका भएका कारण नेपालको २००७ सालको प्रजातान्त्रीक क्रान्ति कर्णालीमा २००८ सालमा क्रान्ति भएको थियो । सो क्रान्तिको अगुवाइ जय बहादुर महत, श्रीराम महत, लक्ष्मिमान महत लगायतका व्याक्तिले गरेको हुँदा अगवाइ गर्ने मध्य जयबहादुर महतलाई बडाहाकिम, श्रीराम महत समेत अन्यलाई भूमिका निर्वाह गरे बमोजिम विभिन्न पदमा तत्अवस्थामा विभिन्न पद सहितको जिम्मेवारी दिई पजनी गरिएको थियो । प्रजातान्त्रिक क्रान्तिमा सहभागी नहुने तर पदको लालच मात्र राख्ने जुम्ला जिल्लाका अदनसिंह कठायतले कुनै पद तथा जिम्मेवारी नपाएको कारणबाट राणाकालिन बडाहाकिमसँग मिलेर सिमित मान्छे जम्मापारी प्रजातान्त्रिक क्रान्तिको विरुद्धमा प्रतिक्रान्ति गरी प्रजातान्त्रिक क्रान्तिबाट नियुक्त भएका जनप्रतिनिधिहरूलाई थुनक्षक गराएकोमा केही दिनपछि केन्द्रबाट हस्तक्षप भई तत्अवस्थाको परिस्थितिलाई हेरी पूनर्वहाल गरिएको थियो । [१] अहिले जुम्ला जिल्लाको महतगाँउ कर्णाली अञ्चल, जुम्ला जिल्ला महतगाउँ गाविसमा परिणत भएको छ । महतहरूमा सर्व प्रथम जयबहादुर महत २०१५ सालको संसदिय आम निर्वाचनमा क्षेत्र नंवर ७३बाट सांसद निर्वाचित भएका थिए । उनी २०१७ सालमा भएको शाही कु पछि सांसद पदबाट हटेका थिए । तत् पश्चात २०२४ सालमा हरिश्चन्द्र महत राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भई विभिन्न विभागिय मन्त्रमा रहनुका साथै नेपालको पहिलो जलस्रोत मन्त्रीसमेत भए । पछिल्लो कालमा राजाको सल्लाहकारको रूपमा रहनेगरी राजसभा स्थायी सदस्य भई सेवा गरेका थिए । त्यस्तै २०४८ सालको प्रजातन्त्रपछिको पहिलो निर्वाचनमा जुम्ला जिल्लाबाट डिल्लिबहादुर महत सांसदमा निर्वाचित हुनुका साथै २०६७ सालमा शान्ति तथा पुनः निर्माण राज्यमन्त्री भई देशको सम्पूर्ण राजनिती प्रक्रिया र शासन व्यवस्थापनको परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी प्रजातान्त्रिक व्यवस्था पछिको राज्यको औपचारिक जिम्मेवारो बहन गरेका थिए । हाल देशभरि रहेको महतहरूको अवस्थालाई दृष्टिगत गरी उनीहरूको सम्पूर्ण सूचना सङ्कलन तथा आपसी हितका निमित्त अग्रिणी भूमिका निर्वाह गर्दै अग्रज भरतराज महतबाट महत वंशावली तयार पारी त्यसलाई प्रकाशित एवं प्राप्त भएका थप विवरण समावेस गरी पुनः प्रकाशन गर्ने कार्य भईरहेको छ भने महत समाज को विधिवत संस्था दर्ता गरी संस्थाको अध्यक्षको रूपमा कुशेन्द्रबहादुर महतले महतसँग सम्बन्धित विभिन्न कार्यहरू गरी रहेका छन् । [१]