बटाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बटाला पश्चिम नेपालको एक खड्ग क्षेत्रिय थर हो । खासगरी अछामको बाटुलासैन गा.वि.स. वडा नं. ७ झाँतामा बसोवास गर्ने बटाला अछामकै पुलेतोला गा.वि.स.को द्वारेपडा, निज्वला, वनसैन तोली गा.वि.स.को खक्लाना आदि तथा अछामकै लयाँटी गा.वि.स.मा बसोवास गर्ने गर्ने बटाला, त्यस्तै अछाम जिल्लाको बाबलाको बाब्लीकोटमा बसोवास गर्ने बटाला, त्यस्तै कालीकोट जिल्लाको ठिकेमा बसोवास गर्ने बटालाहरू झाँती बटालाका नामले परिचित हुन्छन् ।

झाँती बटालाको उद्गम[सम्पादन गर्ने]

झाँती बटालाहरू गौतम गोत्री, कत्यायन श्राउतसूत्री, कत्यायन गृहशुत्री, वौद्धायन धर्मशुत्री, वाजसानेयी मध्यनी शाखा, शुक्ल यजुर्वेद तीन प्रवर (अङ्गिरा, अयस्या, गौतम) भएका चन्द्रवंशी खड्ग क्षेत्री हुन् । यसरी माथि उल्लेखित गोत्र - शुत्र - शाखा - प्रवर भएका बटालाहरूको वंशावली खोतल्दा झाँती बटालाको वंश सम्बन्ध प्राचिन कन्नौज सभ्यतासँग जोडिन्छ । त्यस प्राचिन कन्नौज सभ्यता अनुसार विक्रमादित्यको सम्वतको ७ औं शाताब्दितिर तत्कालिन अवस्थामा कान्यकुब्ज भनिने कन्नौज क्षेत्रका गौतम गोत्री चन्द्रवंशी राजखानदानको उदय भएको देखिन्छ । राजा चन्द्रदेवका पुर्खाले उक्त राज्यसत्ता स्थापना गरेका हुन् ।[१] यसरी वर्तमान भारतको इलाहाबाद नजिकै पर्ने कन्नौजबाट चन्द्रवंशी राजसत्ताको सुरुवात भएको देखिन्छ । करिब ११ औं शताब्दिमा कन्नौजमा मुसलमानहरूले आक्रमण गरी हिन्दूहरूमाथि अत्याचार गर्न थालेपछि कन्नौज छोडेर सोम चन्द लागायतका केही चन्द खलकहरू कन्नौजबाट उत्तर पश्चिममा पर्ने तत्कालिन कत्युर (हालको कुमाउँ) राज्यमा प्रवेश गरेका थिए । यसरी कन्नौजबाट कत्युर आएका चन्दहरू मध्य सोम चन्द अत्यन्त चलाख, बहादुर र राजकाजमा अनुभव भएका पुरुष थिए । उनले छोट समयमा नै कत्युरी राजसत्ताको उच्च स्थानसम्म आफ्नो पहुँच बनाए । उनी तत्कालिन कत्युरी राजा वीरदेवकी छोरीसँग विवाह गरी कुमाउँको एक इलाकामा सानो राजवारी चलाउन थाले । विस्तारै सोम चन्दले कत्युर राज्यको चलखेल गर्न थाले र अन्ततः ११ औं शताब्दिको अन्त्यतिर सोम चन्दले कत्युरी राजसत्ताको अन्त्य गरी आफू कत्युरको राजा भए । यसरी ११ औं शताब्दीको अन्त्यतिरबाट कत्युरमा चन्दवंशको शासन सुरु भयो । ११ औं शताब्दिमा सोम चन्दले सुरु गरेको चन्द राजवंश त्यस क्षेत्रमा यस प्रकारले चलेखो देखिन्छ ।[१]

  • ११ औं शताब्दिको अन्त्यदेखि १२ शताब्दिको सुरुसम्म राजा सोम चन्द
  • १२६१ देखि १२७५ सम्म थोहर चन्द
  • १३४४ देखि १३७४ सम्म अभय चन्द
  • १३७८ देखि १४१९ सम्म गरुडज्ञान चन्द
  • १४३७ देखि १४५० सम्म भारती चन्द
  • १४८८ देखि १५०३ सम्म किर्ति चन्द
  • १५४२ देखि १५६३ सम्म कल्याण चन्द
  • १५६५ देखि १५९७ सम्म रुद्र चन्द
  • १५९७ देखि १६२१ सम्म लक्ष्मी चन्द
  • १६३८ देखि १६७८ सम्म बजबहादुर चन्द
  • १७७९ देखि १७८६ सम्म प्रद्युम्न चन्द (नेपाल एकिकरणको क्रममा गोर्खा सैन्यद्वारा मारिएका)
  • १७८८ देखि १७९० सम्म महेन्द्र सिंह चन्द

यो त कुमाउँमा सोम चन्दले ११ औं शाताब्दिमा स्थापना गरेको चन्द वंशको कुरा भयो । यसैगरी चन्दहरूका अलग - अलग राजसत्ता गढवाल, काँगडा आदि क्षेत्रमा पनि फैलिएका थिए । त्यस्तै चन्दवंशको एक हाँगा १४ शताब्दितिर कुमाउँ क्षेत्रबाट पूर्व वर्तमान नेपालको बैतडी जिल्लामा आएको देखिन्छ । त्यसमा मुख्यतया रानादेउ चन्द, उदयदेउ चन्द, भानादेउ चन्द र जसुदेउ चन्द चार भाई मुख्य मानिन्छन् । उनीहरू बैतडीमा आइ बसोवास गर्न थाले । यसरी बस्ने क्रममा जेठा भाई रानादेउ मध्य-बैतडी क्षेत्रमा बसोवास गर्न थाले, माइला भाई उदयदेउ तल्ला स्वराडमा बसे र साहिला भाई उदयदेउ बैतडीबाट पूर्वतिर लागेको देखिन्छ । तर, कान्छा भाई जसुदेउ भने बैतडी मन परेन भन्दै पुनः कुमाउँ तिर फर्किएको इतिहास छ ।[१] यसरी बैतडी आइ बस्ने क्रममा जेठा भाई रानादेउ बैतडी क्षेत्रमा राजसत्ता स्थापना गर्न तम्सिए । उनी दलबल निर्माण गर्न थाले तर माहिला भाई उदयदेउ भने धार्मिक कर्ममा लागे र करिब करिब सन्यासी जस्तै भए । बैतडीमा बसेका दुई भाई मध्यका जेठा रानादेउ नै झाँती बटालाका वास्तविक पूर्वज हुन् । रानादेउ आफैमा शाहसी, कर्मठ र पुरुषार्थी व्याक्ति थिए । त्यसैले उनले आफ्नै जिवनकालमा मध्य बैतडी क्षेत्रमा चन्दवंशको राजसत्ता स्थापना गरेका थिए । यसरी स्थापना भएको राजसत्ता क्रमशः फैलिदै गयो तर रानादेउको अन्त्यपछि उनका सन्ततिहरूले राज्य भागबण्डा गरी अलग - अलग राज्य लिई शासन गर्न थाले । यसरी बाँडिएका राज्य मध्यको एक राज्यका प्रथम राजा एकल चन्द, द्वुतिय राजा शैकल चन्द भए भने तेश्रो राजा रंग चन्द, चौथो राजा रंगध्वज चन्द र उनका छोरा पाँचौ राजा मदनमाणिक चन्द भएको इतिहास छ । तर, यहाँ उल्लेखित राजाहरूले राज्य गरेको ठाउँ बैतडीको कुन ठाउँ हो भन्ने एकिन हुन सकेको छैन । त्यो राज्य अत्यन्त शक्तिशाली र प्रभावी राज्य थियो भन्ने कुरामा कुनै संका छैन किनकी झाँती बटालाहरूको पाटापत्र अनुसार राजा मदनमाणिक चन्दका बारेमा यस्तो भनिएको छ :-[१]

खिर खण्डित खाओ, मदनमाणिक चन्दको ढोग कसै नजाओ ।

अर्थात माथि उल्लेखित राजाहरू मध्यका पाँचौ राजा मदनमाणिक चन्द अत्यन्त प्रभावशाली थिए । उनी कसै गरे पनी कसैसँग नझुक्ने निडर र प्रतापी राजा थिए । माथिको उखानले उनको व्यक्तित्व र शक्तिलाई दर्शाउँछ ।

बटाला शब्दको प्रयोग[सम्पादन गर्ने]

मदनमाणिक चन्दको तेश्रो पुस्ताका सन्ततीहरूलाई बटाला चन्द भन्न थालिएको इतिहास छ । यस कुरालाई झाँती बटालाको पाटापत्रमा उल्लेख गरिएको निम्न लिखित तथ्यले पुष्टी गर्दछ :-[१]

१. तीनै प्रवर मध्यनी शाखा गौतम गोत्री चन्द्रवंशी
प्रथम राजा ऐकल भया, ऐकलका शैकल
शैकलका रंग भया, रंगका ध्वंगध्वज भया ।
ध्वंगध्वजका मदनमाणिक चन्द ।।
२. खीर खण्डित खाओ, मदनमाणिक चन्दका ढोग कसै नजाओ ।
मदनमाणिक चन्दका साथ, कसैको नलागोस् खाँडो ।
ऐनकी रक्षा पालक, बलियाकी खन्दी खोपाल ।।
३. पर्वत गाड्न्या, माल सार्न्या, अचाक्ला वैरीका नलिकन्दा झार्न्या ।
आकाश बाँडो, पाताल खाँडो, अचाक्ला बैरीका मस्तिष्क झल्काया खाँडो ।
४. खाँडा जुज्या, कटारा जुज्या, जुज्या काट्या अनभाँती ।
कालीकुमाउ, चम्पावती, सिंजाओलीगढीमा बाटो लाउँन्या मदनमाणिक चन्दका नाती ।

माथि उल्लेखित वंशावलीमा विभिन्न प्रवर मध्य तीनै प्रवर, वेदका विभिन्न शाखा मध्य शुक्ल यजुर्वेदको वाजसानेयी मध्यनी शाखा, गौतम गोत्री, चन्द्रवंशी, खड्गक्षेत्री, रानादेउका सन्ततिका विभिन्न राज्यका राजाहरू मध्य एक राज्यका मध्य एक राज्यका प्रथम राजा ऐकल चन्द उनका छोरा शैकल चन्द उनका छोरा रंग चन्द उनका छोरा ध्वंगध्वज चन्द उनका छोरा मदनमाणिक चन्दसम्म आफ्नो राज्य संचालन र विस्तार हुँदै आएको र ती राजाहरू अत्यन्त वीर, पराक्रमी, शाहसी भएको देखिन्छ ।[१] राजा मदनमाणिक चन्द अझैं सबैभन्दा लडाकु, पराक्रमी, शाहसी, तेजिला र प्रभावशाली हुनाले राज्य विस्तारको कार्यमा आफ्नो राज्यलाई बढाउन निकै ठुलो योगदान गरेका व्याक्ति थिए भन्ने पुष्टी हुन्छ । खानामा खीर खण्डित खाने अर्थात शाही व्यञ्जन खाने, उनको ढोग कसैलाई पनी नजाने, उनलाई सबैले ढोग्नु पर्ने, शरिरमा लामो झगुली पैरन गर्ने, शिरमा पगडी र शिर भुषण पैरन गर्ने, उनलाई कसैले पनी खाँडा चक्र प्रहार गरी भेद्न नसकेको वंशावलीको सातौं पंक्तिले प्रष्ट पारेको छ । आठौं पंक्तिमा गरिबको रक्षा गर्ने, कानुनको रक्षा गर्ने, प्रजा र असहायलाई मद्दत गर्ने तर बलियाको खन्दिखोपाल गर्ने अर्थात बैरीको शिर फोर्ने पराक्रमी थिए भनिएको छ । त्यसपछिका पंक्तिले पहाडका टाकुरामा आफ्नो झण्डा गाड्ने, वेंसी अथवा मालमधेशसम्म आफ्नो सिमानी कायम गर्ने, आफूसँग निहुँ खोजी चलखेल र हरकत गर्ने शत्रुहरूको माथै ताकेर खाँडो प्रहार गरी निस्तेज तुल्याउने, आकाशमा बाण प्रहार गर्ने, धर्तिमा खाँडो प्रहार गर्ने, अचाक्ला उप्रदव दुश्मनलाई खाँडो प्रहार गरी शिर भेद्ने । लडाइँको शिलशिलामा खाँडा जुधे, कटारा जुधे, अनेक हातहतियारहरू जुधे उनको दलबलसँग विरोधीहरूको केही नचली सम्पूर्ण हतियार काटेर भाँची नष्ट बनाइदिए । कालिकुमाउ, चम्पावत हुँदै सिंजावलीगढीमा राज्यहरूलाई पराजित गरी बैतडीको सानो राज्यलाई कालिकुमाउँ, चम्पावत, सिंजावलीगढी राज्यहरू माथि विजय हाँसिल गर्ने अभियानको नेतृत्व गरी सामाजिक सम्बन्धको बाटो खोल्ने कलिला, आँटिला, शाहसी, राज्यका सैन्य कमाण्डर सहित रहेका ति कुशल नातीलाई मदनमाणिक चन्दले रजवार, मुक्तियार, काजीजस्तै अतुलनिय "बटाला" उपाधी दिएका थिए । वास्तवमा मदनमाणिक चन्दका नातीले सैन्य शक्तिको आडमा कालिकुमाउँ, चम्पावत, सिंजावलिगढी राज्यहरूसँग रहेको वैमनष्यताको अन्त्य गरी ति राज्यहरूलाई आफ्नो राज्य सामु झुकाई ति राज्यहरूमा आफ्नो राज्यको सामाजिक सम्बन्धको बाटो लाउने काम गरेकाले यो बटाला उपाधी दिइएको हो । बटाला शब्दले बाटोसँग तादाम्यता राख्दछ । वास्तवमा राजा मदनमाणिक चन्दले आफ्ना बहादुर नातिलाई दिएको उपाधी हो बटाला । यो कुरालाई माथि वंशावलीमा उल्लेख भएको अन्तिम पंक्तिले प्रष्ट पारेको छ । अर्थात सिधा शब्दमा भन्नुपर्दा बाटो लगाएकोले बटाला उपाधी दिइएको थियो । बाटो कहाँ लगाए भन्ने कुरा वंशावलीको अन्तिम पंक्तिले स्पष्ट पारेको छ । यसले प्रष्ट पार्छ कि आफ्नो राज्यसँग वैमनष्यता रहेका कालिकुमाउँ राज्य, चम्पावत राज्य, सिंजावलिगढी राज्य माथि सैने हमला गरी, विजय हाँसिल गरी, ति राज्यमा आफ्नो राज्यको सामाजिक सम्बन्धको बाटो खोल्ने काम गर्ने बहादुर नातिलाई राजा मदनमाणिक चन्दले दिएको बटाला उपाधी दिएर विभुषित गरेका थिए ।[१] यसरी विभुषित हुने ति मदनमाणिक चन्दका नातिको नाम झँती चन्द थियो । आफ्ना बाजेले दिएको उपाधीलाई बटाला शब्दलाई उनले गौरवका साथ आफ्नो नामको बीचमा राखे र आफ्नो नाम झँती बटाला चन्द राखे । ति झँती चन्द आफ्नो राज्य अथवा छिमेकी राज्यमा झँती बटाला चन्दका नामले प्रख्यात भए । उनकै पालाबाट बटाला शब्दको सुरु भएको देखिन्छ । ति झँती बटाला चन्दका दुई छोराहरू पनि वीर पुरूष थिए । उनीहरू पनि आफ्नो नामको पछाडी आफ्ना पिताले पाएको उपाधी बटाला जोडेर प्रयोग गर्दथे । त्यस राज्यमा झँती बटाला चन्दका सन्ततिहरूले आफ्नो परिचय आफ्नो बहादुर पिता झँती बटालाको नामसँग जोडेर दिन थाले । जंगबहादुर राणाका सन्तानहरूले आफ्नो नामको पछाडी गौरव स्वरुप ज.ब.रा. जोडे झैं झँती बटाला चन्दका सन्तानहरूले पनि आफ्नो नामको पछि आफ्ना पिता झँति बटाला चन्दको नाम जोडेर उच्चारण गर्न थाले । यसरी झँती बटाला चन्दका सन्तानहरूले आफ्नो थर चन्द भन्दा पनि बटाला शब्दलाई आफ्नो परिचयको विषय बनाउन थाले । उनीहरू चन्द भन्दा बटालाका नामले बढी परिचित हुन थाले । कुँवरहरूले कुँवर शब्दलाई थरको रुपमा प्रयोग गर्न छोडेर उपाधीको रुपमा पाएको राणा शब्दलाई थर माने झैं झँती चन्दका सन्तानहरूले झँती चन्दलाई उनका बाजेले दिएको बटाला उपाधीलाई आफ्नो थरको रुपमा प्रयोग गर्न थाले र नामको पछाडी चन्दको सट्टा झँती बटाला चन्द भनी प्रयोग गर्न थाले ।[१]

बटालाहरू बैतडीबाट भागेको[सम्पादन गर्ने]

यसरी झँती बटाला चन्दका दुईटा छोरा हरी बटाला चन्द र हिरू बटाला चन्द सैन्य कमाण्डर रहेको राज्यमाथि एक दिन चन्दहरूकै अर्को राज्यको फौंजले आक्रमण गर्दा झँती चन्दका दुई छोरा मध्य कान्छा भाई हिरू बटाला चन्द लडाईमा काटिए । यसरी भाई काटिए पछि विरोधीहरूले सारा परिवार नै सखाप गर्ने निश्चित भयो र परिवार जोगाउन जेठा भाई हरी बटाला चन्द बैतडीको आफ्नो राज्य छोडि गर्भवती अवस्थामा रहेकी भाईकी पत्नी सहित आफ्नो परिवार लगेर बैतडीबाट डोटी तर्फ भागे । डोटीको बुडर भन्ने स्थानमा केही समय बसेर उनी अछामको श्रीकोटमा आइपुगे । अछाम श्रीकोटमा केही समय बस्दा त्यहाँ पनि हरि बटाला चन्दको परिवारसँग भएको कुटभारी (त्यो समयको धन सम्पती राख्ने भारी) लुट्न उनको परिवारमाथि आक्रमण भयो । एक्लै आएको हरी बटाला चन्दले लडेर जित्न सम्भव भएन, त्यसैले उनको अगाडि भाग्नुको अर्को विकल्प रहेन । उनी कुटभारी बोकेर राता-रात त्यहाँबा भागे । उनीसँग भएकी उनकी भाई बुहारी गर्भवती भएकाले भाग्न सकिनन् । उनी त्यहीं छुटिन् र जेठा हरी बटाला चन्द परिवार सहित त्यहाँबाट राता-रात अछामको बजगाउँ भन्ने ठाउँमा गइ बसे । हरी बटाला चन्द बसेको बजगाउँको त्यो ठाउँलाई अहिले पनि बटालीगडो भनिन्छ । यसरी जहाँ बसे पनि बटाला चन्दहरू आफू झँती बटाला चन्दका सन्तान भएकाले आफ्नो परिचय दिंदा झँती चन्द बटालाका सन्तान अर्थात झाँती चन्द बटाला भनेर दिने गर्दथे । यसरी झाँती शब्द बटाला चन्दहरूका बाजेको नाम भन्दा पनि उनीहरूको परिचय दिने थर जस्तै बन्न गयो । साथै एक्लै भागेर आएकाले आफ्नो थप चन्द हो भन्दा त्यस समयका खोले राजाहरूबाट आक्रमण हुन सक्ने डरले उनले आफ्नो थर चन्द भन्दा पनि बटाला हो भन्न थाले र बटालाको नामले प्रख्यात भए । कुन बटाला भन्दा चन्द्रवंशी गौतम गोत्री झँती चन्द बटालाका सन्तान हौं भनेर परिचय दिनथाले । यही कारणले उनीहरू झाँती बटालाका नामले प्रख्यात भए । यसरी अछामको बजगाउँ पुगेका हरी बटाला त्यहीं बसोवास गर्नथाले । त्यस क्षेत्रमा बस्दा झाँती बटाला भनि परिचित भए । बजगाउँमा हरी बटालारा करिब १/२ पुस्ता बसेको देखिन्छ [१] बजगाउँमा बस्दा त्यहाँ एक जना चलाउने थरका व्याक्तिसँग झगडा भएपछि बटालाले त्यो चलाउनेलाई मारी दिए । चलाउने मारिएपछि बदला लिन उनीहरू पनि तम्सिए । बटालाले चलाउनेलाई काटी दियो भनेर तत्कालिन खोले राजासँग चलाउनेहरूले उजुर गरे । बटालालाई समातेर कारवाही गर्न सकिन्न भनेर खोलेराजाले चलाउनेलाई भने । बटाला बलियो छ, बरू बदला लिने भए लुकेर तिमीहरू पनि त्यसलाई मार भनि त्यस समयका खोलेराजाले चलाउनेहरूलाई भने । त्यही अनुसार चलाउनेहरू पनि बटालालाई मार्न भनि बाटोमा लुक्न थाले । चलाउनेहरू आफूलाई मार्न भनेर बाटोमा लुकेको थाह पाएर बटालाले चलाउनेहरूलाई त्यहाँबाट लखेटेको बताइन्छ । तर त्यस ठाउँमा लामो समयसम्म बस्द पनि आफ्नो सङ्ख्या नबढ्ने, १२ घर भन्दा नबढ्ने, अकालमा ज्यान जाने जस्ता घटना घट्न थालेपछि बटालाहरू बजगाउँ छोडी कवाल्लेख हुँदै मंगलसेनको पूर्वपट्टीको चौसाल गाउँ आई बसेको इतिहास छ । चौसालमा बटाला परिवारको अत्यन्त विकास भएको र धन सम्पतिले पनि भरिपूर्ण भएका बटालाहरूले अहिलेसम्मकै सबै भन्दा बढी सम्पन्नता हाँसिल गरेको बताइन्छ । त्यहाँ आई पुग्दासम्म बटाला परिवारमा एक अधेका (घर परिवार बाहेक अरुले देख्न नहुने) महिला थिइन् । चौसालमा बस्दा बटालाहरूमा एक देउता थिए जसको पूजा गर्दा दूध चढाइन्थ्यो । दूध पनि विहान दूहुने बित्तिकै सबैभन्दा पहिले ति देवतालाई चढाई पूजा गर्ने प्रचलन थियो । एक दिन खेतको रोपाई थियो । सबै जना विहानै देखि रोपाईको तयारीमा जुटेका थिए । ति अधेका महिला पनि घरायसी काममा व्यस्त थिइन् । भैंसीको दूध भर्खरै दूहेर चुलोमा तताउन लगाइएको थियो । दूध तात्दै थियो यता अधेका आफ्नो काममा व्यस्त थिइन् । त्यही बेला दूध उम्लेको उनलाई थाहै भएन छ । दूध त सबै उम्लेर आगोमा जाने र देवतालाई चढाउनसम्म पनि नरहने भएपछि उनी आत्तिएर पूजाको लागि समेत दूध नरहने भो भन्दै हतारमा त्यो अलिकति बचेको तातो दूध लिएर ति गोप्य देवताको शिलामा खन्याइन् । यसबाट देवता रिसाए । देउता रिसाएपछि बटालाहरूलाई चौसालमा अफल भयो र त्यो ठाउँ छोड्नु पर्यो । चौसालमा अहिलेसम्म पनि बटालाहरूको कुलदेवता पूज्ने ठाउँलाई बटालाको कुलदेउताको थान भनि बाँझै छोडिएको छ ।[१] चौसालमा अफल भइ बस्न नभएकोले बटालाहरू चौंसाल छोडी अछामकै मुजाबगर भन्ने गाउँमा गएको भन्ने इतिहास छ । यसरी चौसाल पछि मुजाबगर बसे, त्यहाँबस्दा एक बटालाको विवाह मानाकोटी रावलकी छोरीसँग भएको थियो । एक दिन मानाकोटी रावलको राँगोले रावलकै छोरी ति बटाल्नीलाई मार्न खोज्दा बटाल्नी रुखमा चढेर बचाउ भन्दै कराउन थालिन् । त्यो आवाज सुनी उनका पति बटाला गई रुखमा चढेर मार्के राँगाको दुवै सिङ्ग समातेर फुकाली दिएकाले रक्ताम्य राँगो दगुरी घरमा गयो । यस राँगाको सिङ्ग किन फुक्लियो भन्दै खोज खबर गर्दा छोरीलाई मार्नलाग्दा ज्वाँइले राँगोको सिङ्ग फुकालेको हो भन्ने थाह पाए ।

बटालाहरूको झाँतामा बसोवास[सम्पादन गर्ने]

यो घटना देखे पछि यस्ता सुरवीर बटालाहरूबाट पछि आफूलाई खतरा हुन सक्ने ठानी मानाकोटी रावलले बटालाहरूलाई मुजाबगरबाट भगाउने गोप्य चाल चले । उनीहरूले आफ्ना भैंसी र बटालाहरूका भैंसी एकै साथ मिलाई माथि तिर चरन राम्रो छ, भैंसी बढी दूध दिन्छन्, त्यहाँको वातावरण पनि राम्रो छ, त्यतै जाउँ उतै बसौंला भन्दै बटालाहरूको सबै परिवार बाटुलासैनको हुँडोतोला पुर्याए । राति रावलले आफ्ना भैंसीहरू सुटुक्क भँचाएर मुजबगर फर्किए । झाँती बटालाहरू हुँडेतोलामा नै बस्न थाले । यसरी हुँडेतोला पुगेका बटालाहरू विस्तारै विस्तारै अलि माथि माथि चढ्दै बाङ्तडा, ठुलाखला, बस्दै वर्तमानको झाँता बसेका हुन् । अहिले झाँती बटालाहरू बसेको बाटुलासैनको झाँता भन्ने गाउँको नाम झाँती बटाला बसेको कारणले रहन गएको हो । झाँती बटालाहरू जानुभन्दा पहिले त्यो गाउँको नाम अरू नै थियो ।[१]

झाँता र झाँती बटाला[सम्पादन गर्ने]

अहिले सम्म झाँता र झाँती बटालाबीचको शब्द सम्बन्धलाई वास्तविक रुपमा अर्थ्याईएको पाइन्न । वास्तवमा चन्दवंशी बटाला चन्दलाई झाँती बटाला भन्नुको वास्तविक कारणलाई थाहै नपाई झाँता गाउँमा बसेकाले झाँती बटाला भनिएको हो भन्ने बुझाइ छ । तर वास्तविकता त्यो हैन । गौतम गोत्री चन्दवंशी बटालालाई झाँता आउनु भन्दा निकै पहिले देखि नै झाँती भन्ने गरेको इतिहास छ । हालको अछाम जिल्लाको बाटुलासैन गाविस वडा नं. ७ स्थित झाँता आउनु भन्दा निकै पहिले अछामको श्रीकोटबाट छुटेका बटालाहरू पनि आफुलाई झाँती बटाला भन्दछन् । त्यस्तै झाँता आउनु भन्दा निकै पहिले अछामको बजगाउँ बस्ने बेलामा नै बटालाहरूलाई झाँती बटाला भन्ने गरेको पाइन्छ । बजगाउँमा रहेको बटालाहरूको कुलदेवताको स्थानलाई अहिले पनि झाँती बटालाको मष्टाको थान भन्ने चलन छ ।[१] त्यसैले झाँती भन्ने शब्द बटालाहरू अहिलेको झाँता बसेका कारणले भन्दा झाँती बटाला बसेकोले त्यो ठाउँको नाम झाँता रहेको भन्ने प्रष्ट हुन्छ । वर्तमान झाँतामा बटालाहरूको वस्ती र बटालाहरूको इतिहासका बारेमा झाँता गाँउका न्यौपाने ब्राह्मणका पुराना पण्डितहरू, त्यस्तै बजगाउँ र चौसाल गाउँका पुराना पण्डितहरूले गर्ने सुप्कार यस्तो पनि छ :-[१]

बैतडी गडको चनै ठकुरी हो, गौतम गोत्रै पनी ।
बाटोलाई बटालो पथै फेरीगयो, थरै बटालो रया ।।
अघि कटकमा काटिया कान्छा जो सुरवीर भाई छिया ।
भागे अधरात बाँचौला भनि परिवार साथमा लिया ।।
दुश्मनको बिहु बाँचिगो भनि कटकले पिछा हर्यो ।
कटक पछि-पछि आफु अघि-अघि झन् उब्बो-उब्बो सर्यो ।।
झर्रा ठकुरी हो ठुलाई राज-काजको तर लुकी लुकी भाग्यो ।
छाडिदिया राजकाज त्याग्या पाप-दम्भ बाँचुला भन्न्या लाग्यो ।।
ठाउँ खोज्दै उत्तम माटो-पानी तोल्दै आई पुग्या श्रीकोट उनी ।
धन दौलत लुट्न्या वैरीले बस्न दिएनन् तहाँ पनी ।।
हँट्या पूर्व तर्फ पुग्या बजगाउँमा बडो शान्ती छियो जहाँ ।
शिखर जग्गा छियो डुँगाला वस्तीमा राईदाई चलाया तहाँ ।।
बुढा हरि र हिरु समेत मेहरमान पुग्या चौसाल कोइली गडा ।
चार वर्ष तेइथी बस्या र यि सबै कहलिया क्षेत्री बडा ।।
पराक्रम हर्दै अघि-अघि बढ्दै सर्या उब्बा-उब्बा अनि ।
चोखो राम्णो-उच्चो कोटमा वस्ती बसाउँला भन्न्या मानि ।।
कुलान्न्या देउता श्रीदाडेमष्टो साथमा बोकि गया ।
बुढो खड्का उग्ली पट्बाँझो पड्याको बुढ्यातोला आई माट्या भया ।।

माथि उल्लेखित यो तत्थ्यले प्रष्ट पार्छ कि वास्तवमा बटालाहरू झाँता आई बसेकाले झाँती भएको नभई झाँती बटालाहरू आई बसेकाले पहिले बुढेतोला भनिने ठाँउको नाम झाँता रहन गएको हो । माथि उल्लेखित सुप्कारको अन्तिम पंक्तिले प्रष्टै भनेको छ कि वास्तवमा झाँता पहिले बुढाखड्काको बस्ती थियो । उनीहरू हल्क्यामा परी उग्लेपछि त्यो ठाउँ खाली भई पट्बाँझो परेको थियो । पछि झाँती बटालाहरू आई बसेकाले त्यस ठाउँको नाम झाँता रहन गएको हो ।[१] यसरी झाँता आईसकेपछि झाँताबाट झाँती बटालाहरू कालिकोट जिल्लाको रकु गाविसको ठिके भन्ने ठाउँमा, अछामकै पुलेतोलाको द्वारेपडा, वनरसैन, निज्वला, तोली, खक्लाना, लयाँटी, कैलाली जिल्लाको टिकापुर, सुँगुरखाल, धनगढी, लम्की, जानकी नगर, लगायतका गाविसहरूमा फैलिएका छन् ।[१]

झाँती बटालाहरूको संस्कृति[सम्पादन गर्ने]

झाँती बटालाहरू शुक्ल यजुर्वेदको मध्याण्डिना शाखा अन्तर्गत रही आफ्नो कर्मकाण्ड गर्ने गर्दछन् । झाँती बटालाहरूका पुर्खा प्राचिन समयको कन्नौजबाट कत्यौर हुँदै तत्कालिन खस प्रदेश प्रवेस गर्दासम्म विभिन्न ठाउँहरूमा भएको बसाई, त्यहाँको स्थानिय संस्कार-संस्कृतिको प्रभावबाट प्रभावित हुँदै अघि बढ्ने क्रममा अहिले मुलतः अछाम जिल्लामा बसोवास गरिरहेका छन् । बटालाहरूका मुख्य सांस्कृतिक पर्वहरू दशैं, तिहार, जेठ पूर्णिमा, बिसु पर्व, पुष पन्ध्र, माघे सङ्क्रान्ति, भुवा पर्व, रत्यौली, आदी रहेका छन् । ।[१]

बटालाहरूको कुल देवता[सम्पादन गर्ने]

बटालाहरूको मुल कुल देवता दाडे मष्टो हो । बटालाहरूको मुल बसोवास रहेको झाँता गाउँमा मैठा थान रहेको छ । दाडेमष्टो वास्तवमा बटालाहरूको फलिफाप गराउने इष्ट, कुलदेवताको रुपमा रही आएको छ । यसको शक्तिसँग तमाम ऐतिहासिक घटनाहरू जोडिएका छन् । एक समयमा बटालाका पुर्खाहरू हैजामा परेर समाप्त हुनलाग्दा एक गर्भवती महिला मात्र गाउँमा रहिन् बाँकी कति मरे कति हैजाबाट जोगिन जंगल तिर भागे । त्यसैबेला बिम्कोटे राजाका सिपाहीहरू तिरो उठाउँदै झाँता आईपुगे । बटालाका तर्फबाट तिरो तिर्ने कोही भएन । जसले तिरो दिन्न त्यसलाई पक्राउ गरेर ल्याउनु भन्ने राजाको आदेश थियो । सोही अनुसार बटालाका तर्फबाट तिरो दिने कोही नभएकोले सिपाहीहरूले तिनै दोजिया महिलालाई पक्राउ गरेर लिन निर्णय गरे ।[१] यही क्रममा उनीहरूले ति महिलालाई पक्रेर अहिलेको भेरगाउँ भन्ने स्थान ल्याएर राखे । त्यही समयमा अचानक हुरी बतास चलेर अनावृष्टी भयो । यो देखेर राजाका सिपाहीहरू आत्तिएर यो के भयो भन्दै साथमा रहेको ज्योतिषलाई हेर्न लगाउँदा ज्योतिषले धुलौटो हेरे । ज्योतिषले यि आज विहान पक्राउ गरेर ल्याएकी बटाल्नीको कुल देउता रिसाएको छ, यिनलाई यहींबाट फिर्ता पठाईदिनु पर्छ अन्यथा यिनको कुल देउता दाडेमष्टाले हाम्रो राजकाजको नाश गर्छ भन्दा सिपाहीहरूले ति बटाल्नीसँग माफी माँगी त्यही ज्योतिषको भनाई अनुरुप पाँच रोत-पाँच खत (पाठा-५, लोहागुर्जा-५, घण्ट-५, गादी-५, पगडी-५) पुर्याइ दाडेमष्टाको पूजागरी ति बटाल्नीलाई खनाल पण्डितको जिम्मा लगाई सिपाहीहरू गएको र त्यसपछि कहिल्यै पनि तिरो उठाउन नआएको भनाई रहेको छ । [१] बटालाहरूको कुलदेवताको सबैभन्दा ठुलो स्थलको रुपमा अछाम, बाटुलासैन गाविसको झाँताको विद्यालय भन्दा माथि पट्टी रहेको जंगलमा छ । यो स्थानलाई बटालाहरूले पुर्खौं देखि दाडेमष्टाको स्थान मानी पूजा गर्दै आई रहेकाछन् ।[१]

भगवतीहरू[सम्पादन गर्ने]

झाँती बटालाहरूले मुलरुपमा पूजा गर्ने देवीको रुपमा नवदुर्गा र महाकालीलाई लिइन्छ । झाँतामा देवीको मौलो भनेर भाडेचाखा भन्ने ठाउँको तलतिर कालिका देवीको स्थान (मौलो) छ । यो स्थानमा स्ववंशी शाह र चन्दवंशी बटालाहरूको सामुहिक प्रयासमा मौलो स्थापना गरिएको हो । यस मौलोमा चैते दशैंमा बटालाहरू र बडा दशैंमा शाहहरूको अगुवाइमा दशैं मनाइने र भगवती पूज्ने काम गरिन्छ । बटालाहरूले पूज्ने अन्य भगवतीहरूमा नन्दादेवी, रुपादेवी, डाँडाकाली, वर्जुकी दुर्गा, जाल्पादेवी, साँचुल्ला, कुईकाल्याँ, बडिमालिका आदी हुन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ १.१७ १.१८ १.१९ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक "गौतम गोत्र वंश परिच" पहिलो संस्करण लेखक- राजेश कुमार बटाला

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]