त्रिपाठी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

त्रिपाठी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया ब्राह्मण जातिय थर हो । प्राचिन कालमा वैदिक अनुष्ठान गर्दा तीन वेदको पाठ गर्न सक्ने ब्राह्मणहरूलाई त्रिपाठीको उपाधी दिइयो र त्यो उपाधी नै उनिहरूको थर भयो । यसैले त्रिपाठीहरूको गोत्र, शाखा, प्रवरशुत्र फरक फरक हुन्छ ।

गौतम गोत्री त्रिपाठी[सम्पादन गर्ने]

गौतम गोत्रीय सामवेदी त्रिपाठीहरूका गोत्र पर्वर्तक ऋषि गौतम हुन् । गौतम ऋषि सत्य युगमा जन्मिएका कल्पजीवी ऋषि हुन् भन्ने प्रमाण पुराणहरूमा पाइन्छ । गौतम ऋषिको आश्रम उत्तर भारत र दक्षिण भारत छुट्याउने पर्वतमा थियो र दक्षिण भारतमा बग्ने नर्मदा नदीका उद्गम स्थलमा गौतम ऋषिको आश्रम थियो । गौतम ऋषि भगवान शिवका भक्त थिए र त्यस पर्वत शिखरमा उनले नर्मदेश्वर महादेवको स्थापना गरेका थिए । यिनी गायत्रीका उपासक थिए र गायत्री माता यिनमाथि प्रसन्न थिइन् ।[१] परशुरामले गरेको महायज्ञमा गौतम ऋषिलाई उद्गाताको पदमा वरण गरिएको थियो । उद्गाताको पदमा सामवेदी ऋषिलाई मात्र वरण गरिन्थ्यो । सुक्तापाठमा ऋग्वेदीहरू छानिन्थे । यज्ञीय मन्त्रहरू पढेर यज्ञसम्पादन गर्ने यजुर्वेदीहरू वरण गरिन्थे । यज्ञलाई मनोरञ्जक र आकर्षक बनाउन विविध भौतिक प्रयोगको लागि अथर्वेदी ब्राह्मणहरू नियुक्त हुन्थे । गौतम ऋषि उक्त यज्ञमा उद्गाता बन्नुबाट उनी सामवेदी थिए भन्ने कुराको प्रमाण मिल्छ ।[१] त्रेता युगकै मध्यभागतिर गौतमका सुपुत्र उत्तरतिर आएका थिए र जसको नाम सतानन्द थियो, सामवेदी थिए र नेपालमा आएर जनकपुरका राजा एक्काइसौं जनक अथवा सीताका पिता सिरध्वजका गुरू र पुरोहित पदमा नियुक्त थिए भन्ने कुरा बाल्मिकिय रामायणमा पाइन्छ । तर यो कुरा किटान गर्न अरू अध्यायन गर्न खाँचो छ कि कल्पजीवी गौतम ऋषिका कल्पजीवी पुत्र शतानन्द सिरध्वजकै पालामा जनकपुर आएका थिए या अरू कुनै जनकका पालामा यहाँ रहे र जनकको गुरुत्व स्विकारे त्यो पनि अनुसन्धानकै विषय छ । [१] गौतम ऋषि गौतम गोत्रका गोत्र पर्वर्तक मात्र थिएनन् । उनि मन्त्रद्रष्टा पनि थिए । न्याय दर्शनका प्रवर्तक र न्यायसुत्रका लेखक पनि उनि थिए । उनले स्मृति ग्रन्थ पनि लेखेका छन् र जुन ग्रन्थलाई 'गौतम स्मृती" भन्दछन् । उनले गौतम धर्मसुत्र पनि लेखेका छन् । यिनका छोरा शतानन्द पनि मन्त्रद्रष्टा, विद्वान र तपस्वी थिए । शतानन्द कल्पजिवी पनि थिए भन्ने कुरा द्वापर युगका अन्त्यमा शरशैयामा सुतेका भीष्मलाई भेट्न शतानन्द आएकोबाट स्पष्ट हुन्छ । [१] गुजरातको संस्कृत नाम गुज्जरदेश हो । उद्योग, वाणिज्य र राजनोति आदिमा प्राचिनकालदेखि नै प्रसिद्ध भए पनि ईश्वरभक्ति र वैद्धिक धर्ममा यो देश त्यति फस्टाएको देखिन्न । श्रीमद्भागवत माहात्म्यमा एउटा रुपक छ, जसलाई ईश्वरभक्ति भन्दछन् :- [१]

उत्पन्न द्रविडे साहं वृद्धि कर्णाटके गता ।
क्वचित क्वचिन्महाराष्ट्रे गुज्जरे जिर्णतां गता ।।

अर्थात म द्रविड देशमा दक्षिणात्य जनपदमा जन्मेकी थिएँ कर्णाटक देशमा म बढें महाराष्ट्रमा पनि मेरो कतै कतै सम्मान भयो तर गुज्जरदेशमा पुगेपछि म बुढी भएँ । वैद्धिक धर्म र ईश्वरभक्तिमा द्रविडका जनता प्रख्यात थिए । आज पनि वैद्धिक ब्राह्मण खोज्नु परेमा त्यहाँ जानु पर्छ । ईश्वरभक्ति, यज्ञानुष्ठान र पुराण वाचन तथा श्रवण कार्यमा कर्णाटकका जनता प्रसिद्ध थिए । गुजरातमा यस्तो धार्मिक चहल पहल कहेि थिएन । त्यहाँ पुगेपछि भक्ति बुढी हुनु स्वाभाविक थियो । गुजरातको धार्मिक स्थिति प्राचीन कालमा यस्तै थियो । अनिकालले त्यहाँका जनता पीडित रहन्थे । [१] यता सिरध्वज (राजा जनक) आफुलाई किसान राजा भन्दथे । राजा जनकले आफ्नो झण्डामा सिर अथवा हलो राखेका थिए । आफ्नो ध्वजामा सिर राखेको हुनाले उनको नाम सिरध्वज जनक रहेको थियो । उनी आफै हलो जोत्दथे । त्यसैले देशका किसानहरू धेरै उत्साही थिए । राजा सिरध्वजको देशमा सम्हाली नसक्नु अन्न फल्दथ्यो । गुजरात र नेपालको दुरी टाढा भएपनि धान रोप्ने र धान थन्काउने बेलामा गुजरातीहरू दलबद्ध भएर जनकपुर आउने गर्दथे । काम गरेर प्रसस्त अन्न कमाएर उनीहरू फर्कन्थे र अरु बेला पनि अनिकाल परेका बेला गुजरातीहरू अन्न बेसाउन अन्नको भण्डार जनकपुर आउने गर्दथे । यो क्रम आजभन्दा करिब ६०- ७० वर्ष पहिलेसम्म चल्दै थियो । जसका प्रमाणका लागि धरणीधर कोइरालाको कोदानुनय कविता साक्षी छ । [१] त्यसरी आवत - जावत गर्दा गुजरातीहरूले जनकपुरको धर्म र दर्शनसम्बन्धी उभाई र गौतमका सामवेदी ब्राह्मणहरूको बर्चस्व र उनिहरूले सम्पन्न गर्ने गरेका वैद्विक अनुष्ठानका कारणबाट भएको जनकपुरको समृद्धि देखेर यस्ता ब्राह्ममहरूलाई हाम्रा देशमा पुर्यान पाए देशको धार्मिक उथ्थान हुँदो हो भनेर शतानन्दकै कुनै पुस्ताका सन्तानलाई त्यहाँ लगे । त्यसबेलाका वैदिक ब्राह्मणहरू कुनै एउटा वेदलाई आफ्नो अध्याय माने पनि चारै वेदका मन्त्रहरू पढेका हुन्थे । वैदिक अनुष्ठान सम्पन्न गर्न चारै वेदका मन्त्रहरू आवस्यक पर्ने हुनाले त्यहाँ जाने ब्राह्मणले तीनै वेदको पाठ गर्न थाले । तीनै वेदको पाठ गर्ने हुनाले उपपद व्युत्पत्ति अनुसार "त्रिन पठति इति त्रिपाठी" भनिए । गुजराती भाषाको प्रान्तीय उच्चारणका भेदले त्रिपाठीहरू तिवारी, तिवाडी, तेवाडी आदी पनि भनिए । अरू अध्याय र गोत्रका भारतका विभिन्न प्रान्तका ब्राह्मणहरू पनि तीन वेदको पाठ गरेर त्रिपाठी कहलाए । [१]

गुजरातबाट कुमाउ प्रवेस[सम्पादन गर्ने]

गुजरात पुगेका तिनै सामवेदी ब्राह्मणका सन्तान श्रीचन्द त्रिपाठी गुजरातबाट अल्मोडा आएका थिए । यसको पूर्ण जानकारीका लागि गुजरातको प्राचिन इतिहास पढ्नु आवस्यक छ । महर्षि गौतमका सन्तान हुँदा गौतम गोत्र ऋग, यजुरसाम तीनै वेदका ज्ञाता हुँदा यहाँ आउने आद्य पूर्खा शिवदेव त्रिपाठीभन्दा धेरै पहिलेका पूर्खा सैचन त्रिपाठी गढ कुमाउ स्थित गोमति नदीको तटमा कुटी तयार गरेर तपस्या गरिरहेका थिए । कुनै बखत अल्मोडा नगरका राजा आफ्ना भाई भारदार र फौंजका साथ वनमा सिकार गर्न गए । शिकार गर्दागर्दै भोक प्यास र थकाइले असह्य हुँदा राजा सहित फौंज गोमती नदीको किनारमा पुगे । राजाको नजर ती त्रिपाठी ब्राह्मणको कुटिमा पर्यो । राजाले आफ्ना फौंजका सेनापतिलाई त्यहाँ को रहेछ ? हेर भनि आदेश गरे । गएर हेर्दा एक वृद्ध ब्राह्मण तपस्या गरिरहेका देखे । [१] सेनापतिेले राजालाई सबै कुरा भने । त्यसपछि राजा आफै ति तपस्वीको कुटीमा गए ती अद्वितिय तपस्वीलाई देख्दा राजालाई हर्षको अनुभुती भयो । राजाले ति तपस्वीलाई तपाईं को हो भनेर सोधे । राजाको प्रश्नमा ति तपस्वीले "म संसारको गतिविधीलाई बुझेर प्रमार्थको चिन्तनमा रहेको केवल आत्मा वा ब्रह्मको भरोसा राख्ने त्रिपाठी ब्राह्मण हुँ भनेर जवाफ दिए । त्यसपछि राजाले आफू र आफ्नो फौंज भोकै हुँदा सतम् बिहाय भोगतव्य -अर्थात सयौं कुरालाई छोडेर खानु पर्दछ भन्ने नैतिक पक्ष विचार गरेर राजाले सारा फौज भोकै छ, अब ब्राह्मणसँग आफ्नो वेदना पोख्नु पर्यॅ भनेर आफुलाई परेको आपत्तिको पोको फुकाउन सुरू गर्दै भने - "हे ! ऋषि सारा फौंज दिनभरी भोकै छ, तपाईंबाट हाम्रो पिडा हटाउने केही उपाय छ भने हामी भोकै छौं, हाम्रो उद्धार गर्नुहोस्" । [१] राजाको कुरा सुनेर ति तपस्वी ब्राह्मण त्रिपाठीले आफ्नो झोलाबाट एक माना पाक्ने तामाको ताउली र एक मुठी शालीधानको चामल निकालेर दिए ।ताउली यस्तो महत्वपूर्ण थियो कि त्यसमा एक दाना चामल राखेर पनी हाली पकायो भने ताउली भरी भात हुने थियो । ब्राह्मणले भनेजस्तै गरेर पकाउँदै खाँदै गर्दा राजासहित सम्पूर्ण फौज तृप्त भए । त्यो देखेर राजाले ती तपस्वीको प्रसंसा गर्दै भने - "हे ऋषि तपाईं तपोरुपि योगबलले परिपूर्ण हुनोहँदो रहेछ जो कि हाम्रो आपत्ति टार्नुभयो साथै मेरो इज्जत पनि राखिदिनुभो, ऋषि म तपाईंलाई केही धनराशी अथवा जग्गा दिन चाहन्छु इच्छा भएको कुरा लिनुहोस् ।" [१] ब्राह्मणले कुनै चिजको इच्छा नगर्दा पनि राजाको आग्रहले लिन बाध्य हुनुपर्यो । अन्त्यमा ब्राह्मणले भने- "यदी मैले लिनै पर्छ भने महाराज मलाई एक लौकीको बेलाले जति जमिन ओगट्छ त्यती जमिन बक्सियोस् ।" यो सुनेर राजाले पनि भने जस्तै गरी एक बोट लौकाले जति जमिन ओगट्छ त्यती जग्गा तपस्वी त्रिपाठीलाई भदाले बिर्ता नामाकरण गरी ताम्रपत्र समेत गरिदिए ।विर्ता पाएपछि त्यो जग्गा नदीको बगर हुँदा तपस्वी सैचन त्रिपाठीले लौकाको बोट लगाए । त्यो लौकाको लहराले बगरपाखा, भित्ता र अल्मोडाको आधा मुलुक ढाक्यो । लौकाको लहराले ढाके जति जग्गा सैचन त्रिपाठीको भदाले विर्ता भयो । यिनै सैचनका धेरैजना सन्तान मध्य हरिशर्मा त्रिपाठी नामका एक जना त्यहाँको अंशबण्डा न लिइ कुमाउगढ तर्फ आए । त्यहाँ रहँदाबस्दा चौपाखा भन्ने जग्गा राजाबाट विर्ता पाए । हरिशर्म त्रिपाठीका पनि धेरै सन्तान भए । तिमध्य एक नातिको नाम चतुर्भुज थियो । चतुर्भुज त्रिपाठीका ३ छोरा महादेव त्रिपाठी, शिवदेव त्रिपाठी र हरिदेव त्रिपाठी मध्य शिवदेव अंश नलिएर पृथक बसे । [१]

त्रिपाठी र सामवेदको सम्बन्ध[सम्पादन गर्ने]

त्रिपाठी र वेदका सम्बन्धमा छलफल गर्नु भन्दा पहिले वेदको अर्थ वेदको प्रकार आदिको बारेमा संक्षिप्त रूपमा विवेचना गर्दा पाठकलाई सजिलो होस् भनेर यहाँ वेदको विवेचना गरिएको छ । ऋग्वेद, यजुर्वेद, सामवेदअथर्ववेद गरेर वेद चार प्रकारका हुन्छन् । यहाँ सामवेदको बारेमा बढी विवेचना गर्न खोजिएको छ । तब मात्र त्रिपाठीहरूको सामवेदसँगको सम्बन्ध देखाउने प्रयास गरिएको छ । वेदलाई ब्रह्म भनिन्छ । वेद शब्द विद् धातुबाट बनेको छ । संस्कृतमा विद् धातुको एक मात्र अर्थ नभै तीनवटा अर्थ लाग्दछ, ति हुन् सत्ता, ज्ञान तथा प्राप्ती । त्यस्तै विद धातुका तीन गणका अलग अलग पाठ छन्, साथै प्रत्यक गणका विद तीन रूप अलग छन् ती हुन् विद्यत, वेत्री र विन्दते । यि तीनका अर्थ सत्ता, ज्ञान र प्राप्ति आनन्द हुन्छ । [१] वेदको अर्थ सच्चिदानन्द हुन्छ । सच्चिदानन्द नै ब्रह्म हो । यस प्रकार वेद भनेको ब्रह्म हो । जसले समस्त जगत उत्पन्न हुन्छ । वेदलाई अर्को तर्फबाट अर्थ्याउने हो भने वेद भनेको मन्त्रको समूह हो । वेदबाट गुण र कर्म अनुसार शब्द, स्पर्श, रुप, रस तथा गन्ध उत्पन्न हुन्छ । यि पाँच शब्द गुण, कमा, काशन र गन्धवती पृथ्वी आदि वैशेषिक दर्शनका परिभाषा अनुसार क्रमशः आकाश, वायू, अग्नी, जल र पृथ्वी नाम गरेका पाँच महाभुतका सूचक हुन् । यही पञ्चमहाभुतबाटै सम्पूर्ण जगतको सृष्ठी भएको छ । यस प्रकार वेदबाटै सृष्टी भएको हुँदा वैदिक धर्म वेदबाट निर्देशित छ । वेद भनेको भगवानका मुखको वाणी हो । वेद ज्ञान हो साथै वेद अनुभुतिहरूको संगालो फनि हो । वेद सबैभन्दा पुरानो ग्रन्थको रुप हो जुन दशहजार वर्ष पुरानो भएको मानिन्छ । यसले मानिसको मानसिक, शारिरिक, एवं अध्यात्मिक शक्ति प्रदान गर्दछ ।[१]

वेदका प्रकार[सम्पादन गर्ने]

हिन्दू धर्मको पवित्र ग्रन्थ मानिएको वेद ब्रह्माजीको वाक्य भनिएको छ । यसलाई द्वापर युगमा व्यास ऋषिले चार भागमा विभाजन गरेका थिए । चार वेदहरू यस प्रकार रहेका छन् ।

ऋग्वेद[सम्पादन गर्ने]

ऋग्वेद ज्ञानकुण्ड हो । ऋग्वेदमा दश हजार पाँच सय बाउन्न ( १०५५२) मन्त्रहरू छन् । वैदिक इतिहास अनुसार ऋग्वेदको ज्ञान अग्नि देवताको मुखबाट उत्पन्न भ्एको हो । ऋग्वेदमा खास गरी औषधीको वर्णन गरिएको हुनाले यसलाई आयुर्वेद पनि भनिएको छ । यस वेदको रचना सिन्धु पूर्व नर्ध सिन्धू पश्चिम दजला र फुराल नदीका पश्चिम उपत्यकामा भएको मानिन्छ । अतः ऋग्वेद सम्पूर्ण ज्ञान विज्ञानको आदिम स्रोत, ज्ञानसत्तालाभ, विचार, अर्थवोधक, ग्रन्थमा लिइन्छ । वेदहरूमा सर्वश्रेष्ठ ऋचाहरूको संगालो नै ऋग्वेद हो ।[१]

यजुर्वेद[सम्पादन गर्ने]

यजुर्वेद कर्म प्रधान छ । यसमा कर्मको वर्णन गरिएको छ । यसबा सृष्टीको रचनाको काम आरम्भ हुन्छ । यो वेद कर्मकाण्ड हो । वैदिक इतिहास अनुसार यजुर्वेदको ज्ञान वायु देवताका हृदयबाट उत्पन्न भएको मानिन्छ । यजुर्वेदको उपवेद धनुर्वेद हो । धनुर्वेदको मनसाय केवल धनुष विद्या मात्र नभएर विभिन्न किसिमका अस्त्र शस्त्रको विद्या हो । यस वेदका मन्त्रहरूको सङ्ख्या १९७५ रहेको छ । यस वेदका मन्त्रहरू अधिकांश गद्यमा रहेका छन् ।[१]

अथर्ववेद[सम्पादन गर्ने]

अथर्ववेदलाई विज्ञान काण्ड भनिन्छ । विज्ञान अथवा विशेष ज्ञान मानिएको अथर्ववेदमा शरिर विज्ञान, आत्म विज्ञान, ब्रह्म विज्ञान, भू-विज्ञान, समावेस भएको छ । विशेषत विज्ञानकै कारणबाट यसलाई विज्ञान काण्ड भनिएको हो । वैदिक इतिहास गाथा अनुसार अथर्ववेदको ज्ञान अङ्गीरश ऋषिका हृदयबाट उत्पन्न भएको मानिन्छ । समृद्धी एवं अर्थको वर्ण गरिने भएको हुँदा यस वेदलाई अर्थवेद पनि भनिन्छ । अथर्ववेदमा जम्मा पाँच हजार नौ सय सतासी (५९८७) वटा मन्त्रहरू छन् । [१]

सामवेद[सम्पादन गर्ने]

सामवेदमा विभिन्न कलाको विवेचना गरिएको छ । ज्ञान, कर्म, कला र वैभवले सबै प्राणीमा चेतना जागृत गराउँदछ । यि चारबाट धर्म, मोक्ष, काम र अर्थको सिद्धि हुन्छ । वैदिक इतिहासका गाथा अनुसार सामवेद आदित्य ऋषिका हृदयबाट उत्पन्न भएकच मानिन्छ । सामवेदलाई उपासना काण्ड पनि भनिन्छ । यस वेदमा ईश्वरको महिमा, सामर्थ्य एवं कृपा दयाको बारेमा विशेष वर्णन गरिएको छ । सामवेदका उपवेदलाई गन्धर्व वेद भनिन्छ जसमा छन्द एवं स्वर तथा गायनका लागि विशेष प्रशिद्ध छ । सा रे ग म प ध आदि गन्धर्ववेद प्रादुर्भाव स्वर गायनको विद्या हो । सामवेदमा लघु तथा मन्द गतिबाट पढ्न सकिने १८७५ मन्त्र छन् । धेरैजसो मन्त्र प्रभु प्रती ओत प्रोत छन् । सामगान एवं सामवेदको अध्यायनले जीवनमा भक्तिरसको सदार तथा मुक्तिमार्ग प्राप्त गर्न मद्दत पुर्याउँदछ ।[१] सामवेदका अधिकांश मन्त्रहरू ऋग्वेदबाट नै लिएका छन् । ऋग्वेदमा नभएका केही मन्त्रमात्र यसमा थप भएका छन् । पूर्वार्चिक र उत्तरार्चिक गरी सामवेद दुई भागमा रहेको छ । काथनिय, राणयाणीय र जैमिनिय गरी सामवेदमा तीन शाखा रहेको बताइन्छ । सामवेदमा नै ऋषिहरूले वेय, आरण्य, उह र ऊहय यि चार प्रकारका गान मन्त्रहरू बनाएका छन् भन्ने बताइएको छ । सामवेद नै गीत संगितको आधार हो भन्ने कुरा वेदको ज्ञान भएका विद्वानहरूमा प्रचलित छ । [१] यसो हुनाले पूर्वी संगित परम्पराको आधार नै सामवेद हो भन्न सजिलै सकिन्छ । गीत संगितमा देखिने प्रथम, द्वुतिय, तृतिय, चतुर्थ, पञ्चम, षष्ठ र सप्तम नामका सात स्वर, सा रे ग म प ध नि यि सात वणु, ग्रिम, मुछना, तान, स्थायी, अन्तरा आदि सबैको उद्गम सामवेद नै हो भन्न सकिन्छ । वेद ज्ञान हो, साम गान हो । वेदका पद्दनात्मक मन्त्रलाई गीतको कौशलमा प्रयोग गरिए पछि सामवेद बन्यो । गीत संगितले मानविय संवेदनालाई झंकृत गराउँछ यो अनुभुतिहरूको संगालो हो । शब्दले नत वेदको नै व्यक्त हुन सम्भव छ , न कुनै मानव नै वेदको गहिराइमा पुग्न सक्छ । अभेद्य रुपमा रहेको वेदको मर्म व्यक्त गर्ने उद्देश्यले प्राचिन ऋषिहरूले भाव सम्प्रेषणका सरल उपायको अन्वेषण गरी गीत संगितको विकास गरेका हुन् । सामवेदलाई गित हो भनेर चर्चा गरेको पनि पाइन्छ । [१] सामवेद मधुर रसको भण्डार हो । विधि पूर्वक सामगान गाउने व्याक्ति ब्रह्मको सामिप्यमा पुग्न सक्दछ । सामवेदका १८७५ मन्त्र मध्य ८५ मन्त्र मात्र सामवेदका मन्त्र हुन् भने बाँकी सबै मन्त्रहरू ऋग्वेदबाट लिएका हुन् । वास्तवमा साम त्यो विद्या हो जसमा संगित छ । विश्वको समन्वय कर्ता नै सामवेद हो, अथवा जीव प्रकृतिको खेल र परमात्मा वीचको समन्वय नै सामवेद हो । केही विद्वानको विचारमा सामवेदको सबैभन्दा पहिले आदित्य ऋषिले साक्षात्कार गरेका थिए । सामवेदमा वेद ऋषिको प्रमुख स्थानमा रहेको छ । सामवेदका १८७५ मन्त्रबाट २७२२ गाना बनाईएका छन् । तिनीहरूलाई गीत संगितको रुपमा गाइन्छ । गानालाई चार भागमा विभाजन गरिएको छ । ति हुन् वेय, आरण्य, उह र उहय । २७२२ गाना मध्य वेयमा ११९७, आरण्यमा १९४, उहमा १०२६ र उहयमा २०५ पर्दछन् । [१]

सामवेदका मन्त्रबाट गानाको सृजना जुन ऋषिबाट भएको थिए तिनै ऋषिको नाम रहन गएको हो भन्ने बुझिन्छ । गोतमा र कश्यप ऋषिको नामबापै गाना रचना भएको अनुमान छ । गौतम ऋषि गोतमा ऋषिका छोरा या शिष्य हुन जसले गाना गाउने कार्य गरी आफ्ना संततीलाई समेत अभ्यास गराउदै आएको भन्ने बुझिन्छ । [१]
साम मन्त्रका स्वरहरू[सम्पादन गर्ने]

साम मन्त्रका गायनमा उतार चढावका ध्यान स्वरका माध्यमबाट गरिन्छ । ती हुन् :- [१]

  1. मध्यम स्वर
  2. गान्धार स्वर
  3. ऋषभ स्वर
  4. षडज स्वर
  5. धैवत स्वर
  6. निषद स्वर
  7. पञ्चम स्वर अथवा अत स्वर
  • मध्यम स्वर:-

जुन स्वरमा नाभीबाट उडी वायु उर, हृदय कण्ठ र शिर्षबाट ठोकिएर ध्वनीको रुपमा उत्पन्न हुन्छ, त्यसैलाई मध्यम स्वर भनिन्छ ।

  • गान्धार स्वर:-

जुन स्वरमा नाभीबाट उठी वायु कण्ठ र शिर्षबाट ठोकिई नासीकामा पवित्र गन्ध ल्याउँछ, त्यसैलाई गान्धार स्वर भनिन्छ ।

  • ऋषभ स्वर:-

जुन स्वरमा नाभीबाट उठ्ने वायु कण्ठ शिर्षबाट ठोकिइ फैलेजस्तो हुन्छ, त्यसैलाई ऋषभ स्वर भनिन्छ ।

  • षडज स्वर:-

जुन स्वर नासिका, कण्ठ, उर, तालु, जिब्रो तथा दन्त यी छ स्थानबाट उत्पन्न हुन्छ, त्यसैलाई षडज स्वर भनिन्छ ।

  • धैवत स्वर:-

पूर्वमा उठेका स्वर अति सन्धान हुन्छ त्यसलाई, धैवत स्वर भनिन्छ ।

  • निषद स्वर:-

जुन कारण सबै स्वर बस्छ वा दबेर धुमिल हुन्छ, त्यसलाई निषद स्वर भनिन्छ ।

  • पञ्चम स्वर:-

जसको उच्चारणमा प्राण, अपान, व्यान, उदान तथा समान गरी पाँच वायुको उपयोग हुन्छ, त्यसलाई पञ्चम स्वर भनिन्छ ।

गौतम गोत्रिय त्रिपाठीहरूको जनै लगाउने विधि[सम्पादन गर्ने]

वेदको विभाजन हुनुभन्दा पहिला चारै वेदको नित्य पाठ सबै ऋषिहरूबाट हुँदै आएको थियो । यसरी सबै वेद पाठ गर्न कठिनाइ हुँदै आएको महसुस गरी अलग अलग वेद छुट्टा छुट्टै ऋषिहरूबाट पाठ गर्ने रहेको बुझिन्छ । आदि मनु स्वयम्भुवका पालामा सप्तर्षि मध्यका अङ्गिरा ऋषिका वंशका गोतम रहुगण ऋषिका सन्तति नै गौतम गोत्री मानिन्छ । त्यसैले सामवेदी गौतम गोत्रीका एक प्रवर अङ्गिरा पनि हुन् । यी अङ्गिरा र अर्का भृगु ऋषि मिली अथर्ववेदलाई अघि बढाए । [१] वेदव्यासले वेदको विभाजन गर्नु भन्दा पहिले सबै ऋषिले सबै वेदहरू पढ्दथे । पछि ऋग, यजुर र सामवेदलाई त्रयवेद पनि भन्न थालियो । वेदका ऋचाहरूलाई गायनको कौशलमा विणा, सारङ्गी, आदि वाद्य धुन सहित ढाल्ने कार्य धेरै ऋषिहरूबाट भएको अनुमान गरिन्छ । ती मध्य अङ्गिरश गौतम ऋषि पनि पर्दछन् । यिनै गौतम ऋषिका ब्राह्मणगणका संतती मध्य गौतम गोत्रिय त्रिपाठीहरू भएको हुँदा उनिहरू सामवेदी गौतम गोत्रिय त्रिपाठी हुन गएको बुझिन्छ । [१] हिन्दु परम्परा अनुसार ब्राह्मण जातिले जनै लगाउने क्रम धेरै पहिले देखि चल्दै आएको देखिन्छ । ब्राह्मणहरूको पहिचान नै जनै लगाउने र शिरमा लामो टुपी राख्ने हो । त्यसैले नेपालमा खस समाजमा जनै लगाउने र फेर्ने चलन रही आएको छ । सामवेदी त्रिपाठीहरूको जनै लगाउने र फेर्ने चलन अरु जातिको भन्दा केही भिन्न रहेको छ । सामवेद खुला स्थानमा गीत संगितको लयमा पाठ गरिने र पाठ गर्ने समय भदौ महिनामा शुरू भै पौष / माघमा सम्पन्न गरिने हुँदा वेदको पाठ भाद्र महिनाको हस्ता नक्षत्रका दिन खोलाखाल्सीबाट पानी जम्मा बनाई गौतम सर (तलाउ) बनाएर उक्त तलाउमा व्रतबन्ध गरेको सबै भन्दा कान्छो वन्धले बाटेर तयार पारेको जनै तलाउमा राख्ने गरिन्छ र अरु पाका बन्धुहरूले सामवेदको पाठ गरी जनैको जप गरिन्छ । [१] पाठ पुरा भएपछि त्यहाँ उपस्थित सबै जनाले जनै धारण गर्ने र घरमा लगेर इष्टमित्र र परिवारजनलाई जनै लगाई दिने गरेको पाइन्छ । तनहुँका त्रिपाठीहरूले जनै पूर्णिमाको दिन जनै नफेरी भदौमा हस्ता नक्षत्र परेको दिनमा जनै फेर्ने गर्छन् ।

तिवारीबाट त्रिपाठी भएको[सम्पादन गर्ने]

नेपालमा बसोवास गर्ने गौतम गोत्रिय त्रिपाठीका पूर्वजहरू कान्यकुब्जको उत्तरी पहाडी क्षेत्र गौतम सर (तलाउ) हालको भारतको अल्मोडामा आइ धेरै लामो समयसम्म बसोवास गरे । केही समय पछि पूर्वतर्फ पहाडै पहाड हुँदै कर्णाली प्रदेशको सिंजा आई बसोवास गर्न थाले । करिब १५० वर्ष सिंजामा नै बसोवास गरेको अनुमान गरिन्छ । वि.सं. १४५० मा खस राज्यको पतन भएपछि उनीहरू अझ पूर्वतर्फ आउने क्रममा पाल्पा आइ बसेको विभिन्न विद्वानहरूको मत पाइन्छ । पाल्पामा रहँदा सेन राज्यको उदय भएको थियो ।[१] सेन राजाका अत्यन्त प्रिय रहेको कारण उनीहरूले राज्यको दिवान तथा पूरोहितको कार्य गर्दै रहेको पाईन्छ । जय कृष्ण तिवारीलाई कास्कीका राजा कुलमण्डलन शाहले वि.सं. १५७६ मा लालमोहर गरी अर्घौं कालिकास्थान र अर्घौं पैतेको जग्गा विर्ता दिएका थिए । उक्त लालमोहर आगोले डढी नष्ट भएकाले जयकृष्णका नाति जागेश्वर तिवारीले थमौती गरी ल्याएका थिए । थमौती गरी जागेश्वरलाई दिएको लालमोहरमा जागेश्वर त्रिपाठी भनेर सम्बोधन गरिएको छ । सम्भवत जागेश्वरको पुस्ताबाटै तेवारीबाट त्रिपाठी भएको बुझिन्छ । जागेश्वरलाई प्राप्त भएको लालमोहर देहाय बमोजिम रहेको छ ।[१]

श्री मन्महाराज धिराज कस्यरुधाः
श्री ५ आगे जागेश्वर तेवारी के कस्क्याली राजाले तिम्रा बाजे जयकिष्ण तेवारीका सन्तानलाई सर्वाङ्ग माफ दिया बमोजिम श्री ५ बाट थामी बक्सनु भएको मोहर गृह दाहामा स्वोविस्तार कर्णेल उजिर सिंह थापा मार्फत हाम्रा हजुरमा जाहेर हुँदा अघिदेखि आजसम्म चलि वेहोरी आए बमोजिम थामी बकस्यै रवार्तिजामा सित चलन भोग गर । इति संवत १८७८ भाद्र वदि ५ रोज ७ शुभम् ।
थमौती गर्ने जागेश्वर त्रिपाठी

नेपालमा गौतम गोत्रिय त्रिपाठीका मुल स्थानहरू[सम्पादन गर्ने]

नेपालका गौतम गोत्रिय त्रिपाठीहरूको मूल आगमन थलो कुमाउ क्षेत्र नै हो भन्ने कुरा माथि नै उल्लेख भैसकेको छ । यस प्रकार नेपाल प्रवेस गरी बसीवास गरीरहेका गौतम गोत्रिय त्रिपाठीहरू मुलतः नेपालका काभ्रे, तनहुँको रम्घा, कास्की, दोलखा, चितवन, पर्वत, धादिङ, रुपन्देही, स्यांजा, भोजपुर, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लाहरूमा गौतम गोत्रिय त्रिपाठीहरूको बसोवास रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ १.१७ १.१८ १.१९ १.२० १.२१ १.२२ १.२३ १.२४ १.२५ १.२६ १.२७ १.२८ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक राजेश कुमार बटाला

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]