मदानताल
मदान ताल दैलेख जिल्लाको सबै भन्दा ठुलो ताल हो। यो ताल दैलेख जिल्लाको बाहाकोट गा. वि. स.मा अवस्थीत छ। दैलेख जिल्लाको सबैभन्दा ठूलो मानिएको मदान ताल माथि भर्ता लेख, तल घना जङ्गल र बीचमा रमणिय मनमोहक बुकी र लाली गुराँसको जङ्गलले सजिएको वातावरणमा अवस्थित छ। यस तालमा पुग्ने जो कसैलाई पनि यहाँको रमणिय दृश्यले लठ्ठै पार्दछ साथै तालमा पौडी खेल्न मन लाग्छ।[१]
यात्रा जानकारी
[सम्पादन गर्नुहोस्]कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको रामघाट करिब एक दिनको सवारी यात्रा गरेपछि दायाँ तिरको रामघाट खोलामा रमाउदै र पौडी खेल्दै करिब २० किलोमिटरको यात्रा गरेपछि दैलेखको पश्चिममा पर्ने ठाँटीकाँध गाउँपालिका वडा नम्बर ३ वाहाकोट (विशाला) पुगिन्छ। यसै विशालाको रमणिय लेखमा मदान ताल अवस्थित छ। बाहाँकोट सम्म फाट्ट-फुट्ट साना गाडीहरू जान सक्ने भएकाले वहाँकोट सम्म गाडीमा यात्रा गरेर पनि पुग्न सकिन्छ। उक्त स्थानबाट करिब १ घण्टाको पैदल यात्रा गरेपछि मदान ताल पुगिन्छ। यस्तै दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका देखि १५ कोश टाढा रहेको विदाका स्थित मदान तालमा पुग्नेले वसन्त ऋतुका समयमा छुट्टै आनन्दको अनुभूति पाउँछन्। चैत्र, बैशाख र जेठ महिनामा रामघाट खोला हुँदै मदान तालको भ्रमण गर्ने र त्यहाँ काफल, गुराँस र ऐँसेलु टिप्ने र खानेहरूको सङ्ख्या निकै देखिन्छ। त्यसैले मदान ताल पुग्नलाई विशेष गरी फागुन देखि जेठ सम्मको समय उपयुक्त मानिन्छ [१]।
प्राकृतिक सौन्दर्यता
[सम्पादन गर्नुहोस्]विभिन्न भिरपाखाहरूलाई छिचोल्दै ठाँटीकाँध गाउँपालिका केन्द्र देखि ५ घण्टाको पैदल यात्रा पछि मदान ताल पुगिन्छ। गाउँपालिकाको केन्द्र देखि सडक सञ्जाल जोडिएको छैन। निलो आकाश मुनि देखिने सुन्दर डाँडाकाँडा र अलि भित्रपट्टी पसे देखिने अनेकथरी जंगली जनावरहरूले मदान तालको शोभा निकै बढाएको देखिन्छ। ताल नजिकै एक गुफा रहेको छ। यस गुफाको नाम नाके गुफा हो। नाके गुफा पनि दैलेख जिल्लाको निकै आकर्षक गुफा मानिन्छ। तालको नजिक पुगेर तालमा हेर्नेहो भने आकाशमा उडिरहेका चराचुरुङ्गीहरूको सजिलै अवलोकन गर्न सकिन्छ। दैलेख जिल्लाकै बिकट मानिने साविकको विशाला गाविसलाई हाल ठाँटिकाँध गाउँपालिकाको वडा नंवर ३ र ४ मा समावेश गरिएको छ। विशाला लगायत जिल्ला भरका विद्यार्थीहरूले मदान ताललाई पिकनिक स्थल बनाएको देखिन्छ [१]।
विकासका गतिविधिहरू
[सम्पादन गर्नुहोस्]केहि वर्ष पहिले तालको संरक्षणका लागि पर्यटन मन्त्रालयको पार्ट टु कार्यक्रमबाट विनियोजित रु. ३० लाखको बजेट छुट्याइएको थियो। उक्त रकमले जिर्ण तालको मर्मत गरिएपछि केहि महिनाका लागि यो ताल आन्तरिक पर्यटकका लागि महत्त्वपूर्ण पिकनिक स्पट बनेको थियो। सबै खाले समस्यालाई निर्मुल पार्नु यस तालको विशेषता हो। यति सुन्दर हुँदा हुँदै पनि प्रचार प्रसारको अभावले तालले परिवर्तन पाएको छैन। देशको मुहार परिवर्तनमा लम्किए पनि यो तालले परिवर्तन पाएको छैन। ताल ओझेलमा पर्नुको मुख्य समस्या भनेको सडक हो। बाह्य पर्यटकले समेत अवलोकन गरेको ठाउँ भएकोले यसलाई परिवर्तन गर्नुपर्ने देखिन्छ। यद्यपि जिल्लाकै सबैभन्दा ठुलो भनिएको यस तालको लम्बाई, चौडाई र गहिराई बारेमा यकिन भएको छैन। आर्थिक वर्ष २०७६/०७७ मा पुल बजार, मटेला, वाहाँकोट, मदान ताल हुँदै कालिकोट जोड्ने सडकका लागि प्रदेश सरकारले रु. १ करोडको रकम विनियोजन गरेको थियो। त्यो वर्षमै काम सुरु गर्ने भनिएको उक्त सडक प्राविधिक ढिलाईका कारण काम सुरु हुन सकेन। हाल तालमा पानीको मात्रा कम भई पानी सुक्दै गएकाले मदान तालको मौलिकता हराउँदै गएको छ [१]।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ "संरक्षणको प्रखाईमा दैलेखको मदानताल", khabar24nepal, ६ जुन २०१९।