वसुधारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
वसुधारा
Vasudhara, Goddess of Abundance, view 1, Nepal, 1082 AD, gilded copper inlaid with semiprecious stones, traces of vermilion - Arthur M. Sackler Gallery - DSC06033.JPG
संस्कृतवसुधारा
चिनियाँ
  • 持世菩薩 (परम्परागत, उच्चारण: चिसी पुसा)
  • 持世菩萨 (सरलीकृत, उच्चारण: काइयुएन टिएन्मु)
जापानी持世菩薩じせぼさつ (उच्चारण: जिसे बोतात्सु)
कोरियाली지세보살 (उच्चारण: जिसे बोसाल)
तिब्बतीནོར་རྒྱུན་མ་ (उच्चारण: नोर्ग्युमा)
भियतनामीTrì Thế Bồ Tát (उच्चारण: त्रि थे बोतात)
Information
आदरमहायान, वज्रयान
P religion world.svg धर्म पोर्टल

वसुधारा (संस्कृतमा रत्नको धारा) धन, समृद्धि र प्रशस्तताका बौद्ध बोधिसत्त्व हुन् । उनी कयौँ बौद्ध देशहरूमा प्रख्यात छिन् र बौद्ध कथा तथा कलामा पनि वसुधाराको चित्रण गरिएको पाइन्छ । भारतीय बोधिसत्त्वको रूपमा पूजिने वसुधाराको ख्याती अन्य दक्षिण बौद्ध राष्ट्रहरूसम्म फैलिएको छ । उनको प्रसिद्धि, यद्यपि, काठमाडौँ उपत्यकाका बौद्धमार्गी नेवार समुदायमा बडी फैलिएको पाइन्छ । उनलाई नेवार बौद्धवादको प्रमुख देवी मानिन्छ ।[१] लाहौल र स्पीतीमा उनलाई शिष्कर आपा भनेर चिनिन्छ । उनी हिन्दु धर्मकी महान् देवी लक्ष्मीकी नातेदार हुन् ।

उनको छोटो मन्त्र ॐ वासुधरे स्वाहा हो ।

लक्ष्मीसँगको समानता[सम्पादन गर्ने]

वसुधारालाई धेरैजसो हिन्दु धर्मकी महान् देवी लक्ष्मीसँग तुलना गरिन्छ । धनकी देवी भनी दुबै देवीलाई उस्तै तरिकाले चित्रण र प्रशस्त फसलका लागि पूजा गरिन्छ ।[२] चित्रहरूमा दुबै जनाको वरिपरि सुनौलो रङ्ग लगाइन्छ र दुबै जनाले उस्तै मुद्रा तथा वस्तु धारण गरेको देखाइन्छ । उदाहरणका लागि वसुधारा र लक्ष्मी दुबैले रत्न बोकेको र उनीहरूको चरणमा खजानाको भाँडो राखिएको देखाइन्छ । वसुधारालाई फूलदानमा उभिएको देखाउने चलन पनि लक्ष्मीका पुराना चित्रहरूबाट नै चल्तीमा आएको मान्यता छ ।[२] यसका साथै दुबै देवीलाई आफ्ना पतिको साथमा चित्रण गरिन्छ: लक्ष्मीलाई विष्णुको साथमा र वसुधारालाई जम्भालाको साथमा ।

मन्त्र[सम्पादन गर्ने]

वसुधाराको मन्त्र ॐ श्री वसुधारा रत्न निधन कशेत्री स्वाहा हो । वसुधाराको भक्ति गर्ने व्यक्तिले पहिलो दिनमा ८०० चोटी मन्त्र जप्नुपर्छ । दोस्रो दिन देखि बिहान, दिउँसो र राति सुत्नु अघि १००/१०० चोटी मन्त्र जाप गर्नुपर्छ । यसो गर्नाले धन, गुण, सन्तान, दीर्घायु, सुख, प्रशंसा र बुद्धि गरी ७ प्रकारको समृद्धि हासिल गर्न सकिने मान्यता छ । यस अभ्यासले ज्ञान प्राप्त गर्न सकिने मान्यता पनि छ ।

किम्बदन्ती[सम्पादन गर्ने]

सुचन्द्रको प्रश्न[सम्पादन गर्ने]

बौद्ध धर्ममा वसुधाराको प्रथम उल्लेख वसुधारा धरणी मा भएको थियो ।[३] उक्त पाठको "सुचन्द्रको प्रश्न" नामक कथामा एक गरिब सुचन्द्र बुद्ध शाक्यमुनिकहाँ पुगी आफ्नो परिवार पाल्न र दान गर्न टन्नै सुन, चाँदी, धन र अन्य अमूल्य रत्नहरू कमाउने तरिकाको बारेमा सोध्छ । शाक्यमुनिले उनलाई वसुधाराको मन्त्र जाप गर्ने र पूजा गर्ने तरिका बताउछन्, जुन सही ढङ्गले गरे स्वयम् वसुधाराको वरदान पाइन्छ । मन्त्र जाप र पूजा गर्न थालेपछि सुचन्द्रको प्रगति हुन थाल्छ, जसलाई देखेर भिक्षु आनन्दले पनि शाक्यमुनिलाई छिटो समृद्धि प्राप्त गर्ने तरिकाबारे प्रश्न गर्छन् । शाक्यमुनिले आनन्दलाई पनि वसुधाराको मन्त्र जाप र पूजा गर्ने सुझाव दिन्छन् र जनहितका लागि अरूहरूलाई पनि यसको ज्ञान गराउने आदेश दिन्छन् ।[३]

"सुचन्द्रको प्रश्न" ले शाक्यमुनिको धनसम्पत्ति र सांसारिक सुखभोगको त्यागलाई खण्डन गरेजसो सुनिन्छ तर शाक्यमुनिले ती भिक्षुलाई धन कमाउने तरिकाको लागि त्यो ज्ञान बाँड्नु भन्दा पनि जनहितको लागि अरूहरूलाई वसुधारा धरणीको ज्ञान गराउन लगाउँछन् ।[३] तसर्थ उक्त मन्त्रले भौतिक धनसम्पत्ति कमाउन सहयोग गर्नुका साथै आध्यात्मिक सुख र शान्ति प्राप्त गर्न पनि सहयोग गर्छ ।[३]

तारानाथका पौराणिक कथा[सम्पादन गर्ने]

वसुधाराको पौराणिक कथा, सन् १७४४ को नेपाली चित्र ।

प्रख्यात तिब्बती भिक्षु र विद्वान तारानाथका लेखहरूमा वसुधाराको उदारताका कयौँ उदाहरण पाइन्छ । उनले लेखेको इतिहास अनुसार बोधिसत्त्व वसुन्धाराले भिक्षु बुद्धज्ञानलाई प्रतिदिन ३०० मोतीको माला दिन्थिन् र ती मालाहरू किन्ने टन्नै उपभोगीहरू प्रदान गर्थिन् । यो सफलताबाट भिक्षुले आफ्ना मित्र भिक्षु तथा विद्यार्थीका लागि मठमा लगानी गरे । व्यक्तिगत लाभका लागि धन प्रयोग नगरेका बुद्धज्ञानलाई वसुधाराले आजीवन धनसम्पत्तिको वर्ष गराइराखिन् । तारानाथको अर्को कथाले "सुचान्द्रको प्रश्न" सँग मेल खान्छ । त्यो कथा अनुसार एक गरिब दार्शनिक आफ्नो परिवारलाई पाल्न नसक्ने स्थितिमा हुन्छन् । उनले एक भिक्षुलाई भेट्छन् जसले उनलाई वसुधाराको मन्त्र जाप र पूजा गर्ने तरिका बताउँछन् । उनले पूजा गर्न थालेपछि उनी पनि छिटै समृद्ध हुन्छन् र उनलाई परेको बेला सहयोग पर्ने भिक्षुले जस्तै अरूहरूलाई पनि वसुधाराको मन्त्र जाप गर्ने र पूजा गर्ने तरिका सिकाउन थाले ।

"सुचन्द्रको प्रश्न" जस्तै यी पौराणिक कथा र किम्बदन्तीहरू पनि महत्त्वपूर्ण छन् किनभने यिनीहरूले वसुन्धाराको मन्त्र जाप र पूजा गर्ने तरिका सिकाउँछ ।[३] यसका साथै यी किम्बदन्तीहरूले भौतिक सम्पत्ति आफैसँग राख्नुको साटो अरूहरूमा बाँड्नुपर्छ भन्ने कुरा पनि सिकाउँछ ।

बौद्ध कलाकृतिमा चित्रण[सम्पादन गर्ने]

इस्वी सम्बत १२ औँ शताब्दीमा बनाइएको वसुधाराको सुनको जलप गरिएको चरेसको मूर्ति ।

बौद्ध कलाकृतिमा वसुधाराको अत्यन्तै महत्त्वपूर्ण स्थान रहेको छ । उनको विशेष मुकुट र गरगहना हेरेर नै उनलाई बोधिसत्त्वको रूपमा चिनिन सकिन्छ ।[४] चित्रहरूमा उनको छालाको रङ्ग सुनौलो देखाइन्छ । यो रङ्ग अमूल्य धातुहरू सम्बन्धित छ र बौद्ध कलाकृतिमा यसले ऐश्वर्य, उर्वरता र उदारतालाई जनाउँछ । सामान्यतया वसुधारा कमलको फूलमाथि एउटा खुट्टा आफूतिर र अर्को खुट्टा खजानाको भाँडोमा विश्राम गरी ललितासनमा बसेको देखिन्छ ।[५] उनलाई, यद्यपि, उभिएको रूपमा नि चित्रण गर्न सकिन्छ, जसमा उनको खुट्टाको तल प्रशस्तता जनाउने भारी कलशहरू राखिएको पाइन्छ ।[६]

वसुधाराको बौद्ध कलाकृतिमा लगातार चित्रण गरिएपनि उनको हातको संख्या चित्र अनुसार फरक हुन्छ । कलाकृतिमा वसुधाराको दुई देखि छ हात भएको देखिएको पाइन्छ । तिब्बती र भारतीय कलाकृतिमा दुई हात देखाइन्छ भने छ हात देखाइने चलन नेपाली कलाकृतिमा मात्रै देखिन्छ ।[७] छ हाते वसुधाराको चित्रण भारतबाट सुरु भएपनि यसका नमुनाहरू कमै भेटिन्छ ।

नेवार समुदायका धनका देवता जम्भालाकी पत्नी वसुधारा प्रजनन र समृद्धिकी देवी हुन् । उनी कमलको फूलमाथि एउटा खुट्टा आफूतिर र अर्को खुट्टा खजानाको भाँडोमा विश्राम गरी ललितासनमा बस्छिन् । यस आसनले उनी धर्तीमा भक्तहरूको सहयोग गर्न आउँछिन् भन्ने जनाउँछ । उनले एक हातमा सेतो शंख बोक्छिन्, जसले बोलीमा नियन्त्रण जनाउँछ र अर्को हातमा धनकलश बोक्छिन्, जसले धनसम्पत्ति र समृद्धि जनाउँछ । उनी जवान युवतीझैँ आकर्षक छन् र उनको शरीरबाट विशेष आभा निस्कन्छ । उनी त्रिमुखी हुन् र प्रत्येक मुखलाई भिन्न रङ्गले प्रतिनिधित्व गर्छ । दाहिने मुखलाई नियन्त्रण गर्ने शक्ति भएको जनाउन रातो रङ्ग लगाइन्छ । बिचको मुखमा सुनौलो रङ्ग लगाइन्छ, जसले सम्वृद्धि जनाउँछ । देब्रे मुखमा पनि रातो रङ्ग लगाइन्छ, जसले उनको अनुकम्पा, बुद्धि, समझ र अन्तर्दृष्टिको सङ्केत गर्छ । उनमा ५ दिव्य कौशल छन् र उनी ८ गहनले शृङ्गारित छन् । छ हाते वसुधाराको प्रथम दाहिने हातमा उदारताको मुद्रा देखिन्छ भने अन्य दुई दाहिने हातमा बुद्ध, धर्म र संघका संगम देखिन्छ । उनका देब्रे हातमा समृद्धि जनाउने धनकलश र ज्ञान जनाउने पवित्र पद देखिन्छ । वसुधाराका हातमा उनीसँग सम्बन्धित विशेषताहरूको भान हुन्छ । धेरैजसो कलाकृतिमा उनको देब्रे हातमा प्रशस्त फसल जनाउने मकैको बिटा बोकेको देखिन्छ ।[८] वसुधारा कयौँ कलाकृतिको प्रमुख पात्रको रूपमा देखिएपनि उनी कहिलेकाहीँ आफ्ना पति, बौद्ध धर्ममा धनका देवता, वैश्रावन (जम्भाला) सँग पनि देखिन्छन् । उनको प्रतिष्ठाबावजुद वसुधारा उनीभन्दा बडी प्रख्यात छिन् ।

नेपाली बौद्धवादमा वसुधारा[सम्पादन गर्ने]

वसुधाराको मण्डलाको नेपाली चित्र, सन् १४९५ ।

वसुधारा काठमाडौँ उपत्यकाका बौद्धमार्गी नेवार समुदायमा प्रसिद्ध छिन् । उनी यस क्षेत्रमा घरेलु देवी भैसकेकी छन् । घरघरमा पाइने उनका कयौँ १८ सेमि वा सानो चरेसका मूर्तिहरूले यस बयानको समर्थन गर्छ ।[९] यी मूर्तिहरूको सानो आकारले गर्दा यिनीहरूलाई वसुधाराको घरमा पूजाको लागि राखिन्छ । यसका साथै वसुधारालाई पूजा गर्ने बौद्धमार्गी नेवारहरूको गुट नै छ ।[१०] यस गुटका अनुयायीले वसुधाराको पूजाले धन र स्थिरता कमाउने मान्यता राख्छन् । बौद्धमार्गी नेवार समुदायमा यो गुट प्रचलित भएपनि आजकल गिरावटमा छ ।

काठमाडौँ उपत्यकामा खेतीपाती र व्यापारलाई आयको स्रोत मानिने हुनाले यस क्षेत्रमा वसुधाराको ख्याती फैलिएको पाइन्छ ।[१] उनको सम्मान गरेमा सौभाग्य प्राप्त हुने नेवार समुदायको मान्यता रहेको छ ।

मण्डला[सम्पादन गर्ने]

सन् १३६५ मा नेपालका जसराज जिरिलीद्वारा सिर्जित वसुधाराको मण्डला ।

नेपालमा वसुधाराको प्रथम चित्रण सन् १०१५ को पौभाचित्रमा देखिन्छ ।[११] उक्त पौभालाई वसुधाराको मण्डला पनि भनिन्छ । शिक्षाप्रदको उद्देश्यले बनाइएको यस चित्रमा समर्पण, अनुष्ठान दीक्षा, उत्सव सङ्गीत र उनको पूजासँग सम्बन्धित नृत्यको चित्रण गरिएको छ । यस मण्डलाले अविश्वासी व्यक्तिबाट विश्वासी भक्त भएको व्यक्तिको दृष्टिकोण देखाउँछ ।[१२]

तिब्बती बौद्धवादमा वसुधारा[सम्पादन गर्ने]

वसुधारा नेपालमा मात्रै ख्यातिप्राप्त छैनन्, उनी तिब्बती बौद्धवादको पनि धनकी देवीको रूपमा पूजिन्छन् ।[१३] तिब्बतमा प्रख्यात भएता पनि उनी तिब्बती बौद्धवादमा प्रमुख देवी मानिँदैनन् । तिब्बतमा वसुधाराको पूजा भिक्षुभन्दा पनि आम जनताले गरेको पाइन्छ । यसको प्रमुख कारण भनेको भिक्षुहरूले वसुधारालाई आम जनताकी देवी मान्छन् । त्यसैले उनीहरू तारा देवीको पूजा गर्छन् ।[१३] यसको अर्थ, यद्यपि, मठमा वसुधाराको पूजा नै नगरिने त होइन । सामान्यतया, मठको संरक्षकको अनुरोधमा उनको पूजा सञ्चालन गरिन्छ । उनलाई २१ तारामध्ये सुनौलो तारा मानिन्छ र तिब्बतमा डोल्मा सेर्मो वा नोर्ग्युंमाको रूपमा पूजा गरिन्छ ।

कलाकृतिमा भिन्नता[सम्पादन गर्ने]

सामान्यतया तिब्बती कलाकृतिमा वसुधाराको दुइटा बाहु देखाइन्छ । नेपाली कलाकृतिबाट प्रभावित छ हात भएको वसुधाराको चित्रण गरिएको कमै पाइन्छ ।[१३] नेपाली कलाकृतिको विपरीत तिब्बती कलाकृतिमा वसुधारालाई जम्भाला वा अन्य देवीदेवतासँग चित्रण गरिन्छ ।[१४] यस्ता सानातिना भिन्नता भएपनि उनको चित्रणमा धेरै भिन्नता भने देखिँदैन । दुबै नेपाली र तिब्बती कलाकृति हेरेर उनलाई छिन्न सकिन्छ ।

बर्मी जलार्पण[सम्पादन गर्ने]

बर्मी बौद्धवादमा ये जेट चा अर्थात् थोपाथोपा गरी जलार्पण गर्ने प्रथाले दान उस्ताव र भोजभतेरलगायत अन्य उत्सवहरूको विसर्जन गर्ने चलन छ । यसो गर्दा सबै प्राणीहरूका साथ अस्तित्व कमाउन सकिने मान्यता छ । [१५] जलार्पणको समयमा भिक्षुहरूले विश्वासको कबुली गर्दै सु तौङ्ग इम्मय धम्मनु वाचन गर्छन् ।[१६] त्यसपश्चात, दाताहरूले उनीहरूलाई अह्म्य वे नामक योग्यता प्राप्त गरिन्छ, जसमा तीनपटक अह्म्य अह्म्य अह्म्य यु दः मु ग्या बा गों लः भनिन्छ र दर्शकले थाडू अर्थात् पालीमा राम्रो काम भनी जवाफ दिन्छन् । यी मेधावी कार्यका साक्षी गर्न देवी वसुधारालाई धर्तीमा बोलाइन्छ ।[१६] पछि अर्पित जललाई वसुधारालाई फिर्ता गर्न माटोमा खन्याइन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ Pal, Pratapaditya (सन् १९८५), The Arts of Nepal, पृ: ३२। 
  2. २.० २.१ Shaw, Miranda (सन् २००६), Buddhist Goddesses of India, पृ: २५९। 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ Shaw, Miranda (सन् २००६), Buddhist Goddesses of India, पृ: २४८। 
  4. Getty, Alice (सन् १९२८), The Northern Gods of Buddhism, पृ: १३०। 
  5. Pal, Pratapaditya (सन् २००३), Art from the Himalayas and China, पृ: ७६। 
  6. Shaw, Miranda (सन् २००६), Buddhist Goddesses of India, पृ: २५५। 
  7. Himalayan Art: Buddhist Deity: Vasudhara (Main Page)
  8. Shaw, Miranda (सन् २००६), Buddhist Goddesses of India, पृ: २५२। 
  9. Aslop, Ian (सन् १९८४), "Five Dated Nepalese Metal Sculptures", Artibus Asiae, Vol. 45., पृ: २०९। 
  10. Aslop, Ian (सन् १९८४), "Five Dated Nepalese Metal Sculptures", Artibus Asiae, Vol. 45., पृ: २०८। 
  11. Pal, Pratapaditya (सन् १९८५), The Arts of Nepal, पृ: १६। 
  12. Pal, Pratapaditya (सन् १९७५), Where the Gods are Young, पृ: ८२। 
  13. १३.० १३.१ १३.२ Shaw, Miranda (सन् २००६), Buddhist Goddesses of India, पृ: २६०। 
  14. Shaw, Miranda (सन् २००६), Buddhist Goddesses of India, पृ: २६२। 
  15. Spiro, Melford E. (सन् १९९६), Burmese supernaturalism, Transaction Publishers, पृ: ४४–४७, आइएसबिएन ९७८-१-५६०००-८८२-८ |isbn= मान जाँच (सहायता) 
  16. १६.० १६.१ Spiro, Melford E. (सन् १९८२), Buddhism and Society: A Great Tradition and its Burmese Vicissitudes, University of California Press, पृ: २१३–२१४, आइएसबिएन ९७८-०-५२०-०४६७२-६ |isbn= मान जाँच (सहायता) 

बाह्य कडी[सम्पादन गर्ने]