विमल गुरुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख कवि विमल गुरुङको को बारेमा हो । भारतमा गोर्खाल्याण्ड राज्य स्थापनाको माग गर्ने बिमल गुरुङको लागि विमल गुरुङ (स्पष्टता) हेर्नुहोस ।
विमल गुरुङ
धरान स्थित विमल स्मृति पुस्तकालयको परिसरमा निर्मित कवि विमल गुरुङको शालिक
जन्म वि.सं २०२८ कार्तिक १९ गते
किङ्गस पार्क अस्पताल, पोलुम, हङ्कङ्
मृत्यु २०४८ वैशाख २४ गते
जुकेपानी (थानकोट र नौविसेबीच पर्ने ठाउं)
मृत्युको कारण बस दुर्घट्ना
राष्ट्रियता नेपालनेपाली
पेशा लेखन
चिनारीको कारण कविता
प्रशिद्ध कार्य आत्मघोषणा,
स्व. बिमल गुरुङ्का केही कविता
गृहनगर धरान
मातापिता पूर्ण बहादुर गुरुङ्, सरस्वती गुरुङ्

विमल गुरुङ (अङ्ग्रेजी: Poet Bimal Gurung जन्म २०२८ कार्तिक १९ - मृत्यु २०४८ वैशाख २४) नेपाली कवि हुन् ।[१]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्ने]

वि.सं २०२८ कार्तिक १९ गते पिता पूर्ण बहादुर गुरुङ्ग र माता आमा सरस्वती गुरुङ्गको कोखबाट विमल गुरुङ्गको हङ्कङ्को किङ्गस पार्क अस्पतालको पोलुममा जन्म भएको हो ।[१][२] बालापनका केही समयहरु र प्रारम्भिक शिक्षा हङ्कङ्गमै गोर्खा आर्मी चिल्ड्रेन्स स्कूलबाट शिक्षा लिएका उनी वि.सं. २०३६ सालमा आमा बुबाका साथ धरान फर्किएपछि धरान ४ स्थित सेकेण्डरी बोर्डिङ्ग स्कूलमा भर्ना भई एस.एल.सी सम्मको अध्ययन पूरा गरे ।[२] सानै उमेरदेखि विमल अरु केटाकेटी भन्दा फरक स्वभावका भएका कारण खेल, मनोरन्जनतिर भन्दा अध्ययन, चिन्तन र लेखनतिर नै बढि झुकाउ थियो ।[१]

साहित्यिक यात्रा[सम्पादन गर्ने]

वि.सं. २०४३ सालको एस.एल.सी. परीक्षा दिएपछिको समय पश्चात २०४४ सालदेखि घरैमा स्वतन्त्र अध्ययन र लेखन कार्य थाले । साहित्य र दर्शनशास्त्रहरुको अध्ययनका साथै विश्वविख्यात व्यक्तित्वहरुको जीवनी र कृतिहरुबारे अध्ययन गरे । स्वाभिमानी र स्वतन्त्रताप्रेमी युवा विमल आफ्नो देशको माटो र जातिप्रति सदा गर्व गर्ने गर्दथे । बहुसंख्यक शोषित पीडित जनताहरुको पक्षमा बोल्न र लेख्न सदा तत्पर रहने विमल न्यायपूर्ण र सुन्दर भविष्य निर्माणमा लागिपर्ने अठोटका साथ कलम चलाउने गर्दथे । आफ्ना सशक्त युवा अभिव्यक्तिहरु कवितामार्फत प्रस्तुत गरेर श्रोतावर्गलाई चकित तुल्याउने विमलले आफू लगायत दौंतरी युवाहरुको साहित्यप्रतिको चाखलाई ख्याल गरी सोको प्रबद्र्धनका निमित्त उत्साहित युवा साथीहरुसित मलेर धरान १८ स्थित बुद्धचौकमा वि.सं. २०४५ सालतिर बुद्धवाचनालयको स्थापना गरे । सोही वाचानालयमार्फत विमलकै सम्पादनमा वि.सं. २०४६ साल मंसिर २५ गतेका दिन इँटा नामक हस्तलिखित भित्तेपत्रिकाको प्रकाशन समेत शुरु गरे । इँटाको प्रकाशनले वि.सं. २०४७ साल फाल्गुण २५ गतेसम्म निरन्तरता पाई जम्मा १५ अंकसम्म प्रकाशित भएका छन् । २०४७ साल माघ १५ गतेका दिन खाडी नामक हस्तलिखित भित्तेपत्रिकाको एक अंक पनि प्रकाशित भएको छ जो तत्कालीन खाडीयुद्ध सम्बन्धमा रहेको छ ।[२]

१५/१६ वर्षको उमेरदेखि नै साहित्य लेखनतर्फ अग्रसर विमलले प्रशस्त कविता, लेख रचना सिर्जना गरेका छन् । विमलले विशेष समाचारपत्रहरुमा रिपोर्टिङ्ग गर्दा वा प्रतिकृयाहरु छपाउनु पर्दा "सर्वेक्षण" नामक उपनामबाट छपाउने गर्दथे । उनको लेख र निबन्धतर्फ पनि विशेष रुचि थियो । वि.सं. २०४६ साल बैशाख १ गते धरान जेसिजद्धारा आयोजित प्रतियोगतात्मक कविता गोष्ठीमा उनको कविता "एक किलो जंगल" प्रथम भएको थियो ।[२]

सत्र वषैको कलिलो उमेरमै उनी राजनीतिक रुपले सजग र कविता सृजनामा सशक्त भैसकेका थिए । उनले "एक किलो जंगल" जस्तो ओजस्वी कविता सत्रै वर्षको उमेरमा रचेका थिए भने बांकी अठार वर्षको उमेरमा रचेका हुन् । अल्पायुमै सैकडौ कविता र अनेकौ निबन्ध रचेका विमल गुरुङ्गले पढाइका साथै संगठनात्मक कार्यहरु चालु राखेका थिए ।[१][३] उनको असामयिक महायात्रापछि उनीमाथि कवि श्यामलले लेखे, "लाखौं सूर्यहरुमध्ये खस्यो एउटा सूर्य"। अनि मोदनाथ प्रश्रितले उनीमाथि नै लेखे, "इतिहास चुक्चुकाइरहेछ" ।[४]

एक किलो जंगल
  - बिमल गुरुङ

अब मुद्दाको कविता लेख्न लागेको छु
बर्षौं - बर्ष देखि
आकाशतिर नियाल्दै
आफ्नो शुरमा
आफ्नै सुसाहट बोकेर
बगिरहेकी बगिरहेकी
दुधकोशीको तिरमा बसेर
लेख्न लागेको छु, लेख्न बसेको छु
फांसीको - फंन्दाको
कविता लेख्न लागेको छु ।
~
तीन त्रिलोक, चौध भुवनको
समस्त फूलबारीहरुको
अपुर्ब ब्याख्या गर्दै थाकका थाक लेखे कबिहरुले
कबिहरुले महलमा बसेर
पृथ्वीका सुन्दरी अप्सराहरुका
हाउभाउ र कटाक्षका कबिता लेखे
कबिहरुले समुन्द्रका कबिता लेखे
कबिहरुले झरनाका कबिता लेखे
धकै नमानी
कबिहरुले
दाउरे दाईले बनजांचको आखा छलेर
बनबाट ल्याएको दाउरले पकाएको खाना खाईरहे
क्रमश:
टेबुलमाथि
ब्राण्डी/भ्याट-६९ र स्कचका बोतलहरु लडिरहे
लडिरहे
ओंठमा याक जलिरहे जलिरहे
एष्ट्रेमा मोर निभिरहे निभिरहे
कबिहरुले दाउरे दाईको भोक-प्यास-सपनाको
कबिता लेखेको कसैलाई थाहा भएन
यसैले, म बाध्य छु तलबवाला कबिहरु !
म अब गोलभेडाको कबिता लेख्छु
म अब तिर्खाको कबिता लेख्छु
म अब न्याउरी मुसाको चाहनाको कबिता लेख्छु
म अब बेसी फुर्सद पाएर बैशले पात्तिएका
महाजनहरुका छाउरा/छाउरीहरुका खिल्ली उडाउंदै कबिता लेख्छु ।
~
कबिहरुले
खोलाका एकनास-एकनास धुनहरुका कबिता लेखे
कबिहरुले
चांप/लालीगुराँस/ सुनगाभा र सयपत्रीका कबिता लेखे
कबिहरुले
आफ्नै बहिनीको चोलो च्यात्ने
मालिक साहेबको जयजयकार गर्दै कबिता लेखे
मालिक साहेबलाई रिझाइबक्सन
कबिहरुले स्तुति र गुणगानका कबिता लेखे
कबिहरुले भक्ति र प्रसंशाका कबिता लेखे ।
~
(कवितांश... एक किलो जंगल)
(२०४५/११/२१

(२०४५ को जनआन्दोलनले चरम उचाई लिइरहेको अवस्थामा जेलनेल भोगिरहेका बिमल गुरुङद्वारा जेलयात्राकै क्रममा लेखिएको यो कबिताले उनलाई निरंकुश पञ्चे शासकहरुको नजरमा अझ बढि अराष्ट्रिय कुतत्व हुन मद्दत मिलेको थियो)[५]

लेखनशैली[सम्पादन गर्ने]

अभिव्यक्ति प्रस्तुत गर्ने क्रममा विमल कवितातर्फ जीवनवादी र प्रगतिवादी देखिन्छन् भने गद्य रचना र लेखनतर्फ उनी हक्की र केही आक्रामक देखिन्छन् ।

शैली, प्रतीक, विम्ब आदि सबै दृष्टिले परिपक्व पुगेको वान्किी परेका कविता लेख्ने उनले सबै कविता छन्दको रमरम आभाष मिल्ने गद्य शैलीमा रचेका छन् लघु कविता, मुक्तक र हाइकुतिर उनको लेखनी रमाएको छ ।

कवि मोदनाथ प्रश्रित कवि गुरुङ्गबारे अझ भन्छन्, मेरी सपनाकी प्रेमिका, विधवा गरीजस्ता कविता कलात्मक सौन्दर्यमा खरा छन् । कलिलो उमेरमै उनी सुन्दर कविता सिर्जिन्थे भने आज उनी भएका भए राष्ट्रिय स्तरका प्रगतिवादी कविका रुपमा सुप्रशिद्ध हुन्थे ।

मृत्यु[सम्पादन गर्ने]

राजनैतिक चेत भएका सुन्दर कविता लेख्ने कवि गुरुङ्ग मनभरी सुर्य बोकेर सूर्यलाई जिताउन काठमाडौबाट धरानतिर लाग्दा जुकेपानी (थानकोट र नौविसेबीच पर्ने ठाउं) मा २४ बैशाख २०४८ मा बस दुर्घट्नामा परी उनको दुखद निधन भयो ।[६]

मुख्य कृतिहरू[सम्पादन गर्ने]

  • स्व. बिमल गुरुङ्गका केही कविता, २०४९, विमल गुरुंङ्ग स्मृति पुस्तकालय, धरान
  • आत्मघोषणा, २०६५, विमल गुरुंङ्ग स्मृति पुस्तकालय, धरान

विमल गुरुंङ्ग स्मृति पुस्तकालय[सम्पादन गर्ने]

कवि विमल १९ वर्ष ६ महिनाको उमेरसम्म बांचे । विमलको मृत्युपछि उनकै स्मिृतिमा उनका आबाबुबाले बुद्धचौक धरान १८ मा कवि विमल स्मृति पुस्तकालय स्थापना गर्नुभयो ।[६][७] पुस्तकालयका साथै कार्यक्रमहरु संचालनार्थ गुरुंग दम्पत्तिले पुस्तकालयका लागि ५० लाखको अक्षयकोष पनि खडा गरिदिएका छन् ।[८] उक्त पुस्तकालयले "इँटा" पत्रिकालाई निरन्तरता दिनका लागि पुस्तकका रुपमा छाप्ने कार्य गर्यो साथै गुरुङ्गका केही चुनिएका कविताहरुको संग्रह "आगो बोल्छ" शीर्षक दिएर वि.सं. २०४९ साल बैशाखमा प्रकाशित गरेको छ । विमल स्मृति पुस्तकालयले प्रत्येक वर्ष विशेष रुपले विमलकै जन्मोत्सव पारेर कार्तिक १९ गते राष्ट्रिय युवा कविता महोत्सव लगायत शैक्षिक, साहित्यक र अन्य रचनात्मक कार्यहरु गर्र्दै आईरहेको छ ।[९][१०][११] प्रतियोगितामा उत्कृष्ट तीन कविताहरुलाई पुरस्कृत समेत गर्ने गरेको छ ।[६]

पुस्तकालयमा हालसम्म साहित्य, जीवनदर्शन, बालमैत्री पुस्तकहरु समेत गरी जम्मा ८००० भन्दा बढी पुस्तकहरु रहेको छ । साहित्यक कार्यक्रमहरु संचालन गर्न पुस्तकालयमा १०० देखि १५० जना अटाउने क्षमता भएको हल पनि निर्माण गरिएको छ[१२] जहां साहित्यसम्बन्धी प्रतियोगिता लगायत एकल कविता वाचन, पुस्तक विमोचन जस्ता कार्यक्रमहरु संचालन हुंदै आईरहेका छन् ।[१३]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ मोदनाथ प्रश्रित, इतिहास चुकचुकाइरहेछ : स्व. बिमल गुरुङ्का केही कविता, धरानः विमल गुरुङ् स्मृति पुस्तकालय, २०४८..
  2. २.० २.१ २.२ २.३ युवा कवि विमल, गुफाथुम्की गर्जनः त्रैमासिक साहित्यक पत्रिका, वर्षः१, अंक ५, कार्तिक-पुष २०७१.
  3. सुदीप पाख्रिन, एउटा कविता यस्तो : अन्नपूर्ण पोस्ट, २०७१ साल, जेठ २४ गते.
  4. शिवराज योगी, छोराको बाटो, अन्नपूर्ण फुर्सद, शनिबार, ५ बैशाख २०७२
  5. एक किलो जंगल, स्रष्टा-साहित्य चौतारी
  6. ६.० ६.१ ६.२ सुदीप पाख्रिन: एउटा कविता यस्तो, अन्नपूर्ण पोस्ट, २०७१ साल, जेठ २४ गते
  7. शिवराज योगी, छोराको बाटो, अन्नपूर्ण फुर्सद, शनिबार, ५ बैशाख २०७२
  8. दुई दिने विमल कविता उत्सव शुरु, ‘यो बाटो’ कविता प्रथम, MeroDharan, November 14, 2014
  9. चन्द्र गुरुङ्, छोराको यादमा समर्पित आंशुका कणहरु, आत्माघोषणा
  10. दुई दिने विमल कविता उत्सव शुरु, ‘यो बाटो’ कविता प्रथम, MeroDharan, November 14, 2014
  11. कवि विमल गुरुङको ४३ औं जन्मजयन्ती
  12. शिवराज योगी, छोराको बाटो, अन्नपूर्ण फुर्सद, शनिबार, ५ बैशाख २०७२
  13. चन्द्र गुरुङ्, छोराको यादमा समर्पित आंशुका कणहरु, आत्माघोषणा

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]