स्यालपोथ्री लामपुच्छ्रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्यालपोथ्री लामपुच्छ्रे
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
U. erythroryncha
वैज्ञानिक नाम
Urocissa erythroryncha
(Boddaert, 1783)

स्यालपोथ्री लामपुच्छ्रे (वैज्ञानिक नाम: Urocissa erythroryncha)[२][३] नेपालमा पाइने काग(Corvidae) परिवारको एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा रेड-बिल्ड ब्लू म्याग्पाई (Red-billed blue magpie) भनिन्छ। यो चरा खास गरी नेपालका पहाडी क्षेत्रहरुमा पाइन्छ। वनजङ्गलका साथै गाँउघरमा पनि यस पन्छीलाइ सजिलै पाउन सक्छौँ। जनसङ्ख्या स्थिर रहेकोले IUCNले कम चासोको सूचीमा राखेको छ। नेपालका प्राय: जङ्गलमा सजिलै देखिने र अरु लामपुच्छ्रे चराभन्दा यसको बासस्थान बढी व्यापक भएको यो चरोलाई सामान्तया लामपुच्छ्रे नामले मात्र पनि चिनिन्छ। हिमाली भेगतिर भने स्यालपोथ्रीको सट्टामा यस्तै देखिने सुनठुँडे लामपुच्छ्रे भेट्टाउन सक्छौँ ।

शारीरिक बनावट[सम्पादन गर्नुहोस्]

स्यालपोथ्री लामपुच्छ्रेको ठुँड र खुट्टा सुन्तला रातो हुन्छ भने टाउको कालो हुन्छ। झ्वाटै हेर्दा पुरै निलो देखिए पनि पुच्छर र पखेटा अलि चम्किलो र जिऊ अलि गाढा निलो हुन्छ। यसको छाती भने पुरै सेतो हुन्छ। यसको धेरै लामो पुच्छर छ जुन ६५-६८ सेमि(२५.५-२७ इन्च) हुन्छ र तौल १९६-२३२ ग्रामसम्म पुग्छ।

बासस्थान[सम्पादन गर्नुहोस्]

स्यालपोथ्री लामपुच्छ्रेको आवास नक्शा

स्यालपोथ्री लामपुच्छ्रे नेपाल लगायत भारत,भुटान,चीन र दक्षिण पूर्व एशियाका मुलुकहरुमा बस्छन्। यसलाई पहाडी र हिमाली क्षेत्रहरू मनपर्दछ। चीनमा यो चरा ठूलठूला सहरहरु(जस्तै बेजिङ,साङघाइ र हङकङ्ग) मा पनि बस्दछन्। जङ्गलका दुर्गम भागभन्दा मानव बस्ती नजिक नै बस्ने गर्छ। नेपालका पहाडी भेगमा रहेका धेरै जङ्गल छेउका बस्तीमा प्रशस्त मात्रामा पाइन्छ। तर गुँड भने जङ्गलमा नै बनाउछन्।

आहारा[सम्पादन गर्नुहोस्]

काग परिवारका अन्य चरा सरह यसले पनि कीराफट्याङ्ग्रा ,फलफूल, र अरु वनस्पतिजन्य खाद्द खान्छन्। बेलाबखत अरु चराका फुल चोर्ने काम पनि गर्छन्।

बानीव्यहोरा[सम्पादन गर्नुहोस्]

३६५-१५२५ मि उचाइमा पाइने यो चरा काग परिवारका अरु सदस्य झै चनाखो र बुद्धिमान हुन्छ। वानर र हात्ती पछि सबैभन्दा बुद्धिमान् जनावर मध्य काग परिवारका स्यालपोथ्री लामपुच्छ्रे पनि हुन्। कागले जस्तै तार्किक समस्याको पनि हल गर्न सक्ने अनुसन्धानले देखाएको छ। गाउँका साथै सहरमा पनि सजिलै घुलमिल गर्न सक्ने भएकाले नेपालका विभिन्न गाउँका साथै ठूला जनसङ्ख्या भएका सहरमा पनि यो चरा बस्न सक्छन्। साथै अरु चरा जस्तै आफ्नो बचेरालाइ हुर्काउन आमा बुबा दुवै सङ्गै मिलेर काम गर्छन्। निर्बल देखिए पनि आफ्नो गुडँको धेरै सुरक्षात्मक हुन्छन् । यहाँ सम्म कि उनीहरु आफ्नो गुडँ र बचेरोको सुरक्षाका लागि मानिसलाई आक्रमण गर्न समेत तयार हुन्छन्। यो चरो धेरै जसो समूहमा बस्न रुचाउँछ र समूहमा उड्दा पङ्ति बनाएर उड्दछ। एउटा समूहमा ६-७ चरा हुन्छन्। स्वर नक्कल गर्ने कार्यमा पनि यो प्रजाति धेरै कुशल छ। यीनीहरू रूखहरू र ठूला झाडीहरूमा गुँड बनाउँछन् । तिनीहरूले प्राय: ३-५ वटा फुल पार्दछन्।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

निर्देशिका[सम्पादन गर्नुहोस्]

  1. "Urocissa erythrorhyncha", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. (1998) , website, Zoonomen - Zoological Nomenclature Resource
  3. Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names

यो चरा ले गाउँ घर मा लुगा वा हात धुने ठाउँमा राखिएको साबुन खाने गर्दछ।