अल्लो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अल्लो
दोलखामा पाइएको अल्लो
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Rosales
परिवार: Urticaceae
वंश: Girardinia
वैज्ञानिक नाम
Girardinia diversifolia
पर्याय
  • Girardinia leschenaultiana
अल्लोको पोथ्रा

अल्लो वा चाल्ने सिस्नो नेपालको पहाडी भूभागका जङ्गलहरूका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने वनस्पति हो। बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्दछ। सिस्नो जस्तै देखिए पनि अल्लो १२०० मिटरभन्दा माथि मात्रै पाइन्छ।[१] यो वनस्पतिको जमिन माथिको भाग मसिना तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ। काण्डको बोक्राबाट प्राप्तहुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ। अल्लो धागोबाट जुत्तादेखि टोपीसम्मका विभिन्न कपडा,झोला आदि बनाइन्छ।[२]

अन्य नामहरू[सम्पादन गर्ने]

अल्लो नेपालका विभिन्न स्थानमा पुवा, ठूलो सिस्नो, लेकाली सिस्नो, भांग्रे सिस्नो, भल्लो आदि नामले चिनिन्छ भने अङ्ग्रेजीमा जायन्ट हिमालयन नेटल तथा निलगिरी नेटल नामले चिनिन्छ।

उपयोग[सम्पादन गर्ने]

अल्लोको नरम मुना, पात, बोक्रा र जरालगायतका भागहरू अत्यन्तै उपयोगी हुन्छन्। यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ भने कलिला मुना सागको रूपमा तरकारी खान प्रयोग गरिन्छ। त्यस्तै यो वनस्पतिको पात टाउको तथा जीऊ दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीमा समेत प्रयोग गरिन्छ भने जराको रस मधुमेहको लागि लाभदायक हुन्छ। यसलाई कतै कतै गाईवस्तुको आहाराको रूपमा पनि प्रयोग गरिन्छ। तान्त्रिकहरूले डमरु बनाउँदा बज्राक्ष उन्नको लागि यही धागो चाहिन्छ।[१]

रेसाको प्रयोग[सम्पादन गर्ने]

साधारणतया कात्तिकदेखि पुस महिनासम्म अल्लोको बोक्रा संकलन गर्नु उपयुक्त मानिन्छ। यस वनस्पतिको काण्डको भित्री बोक्रा नै धागो उत्पादनमा प्रयोग गरिन्छ। स्थानीयस्तरमै विभिन्न प्रविधिको प्रयोग गरी यसको रेसा उपयोगयोग्य बनाउन सकिन्छ। रेसा उत्पादनका लागि संकलन गरिएका अल्लोका बोक्रालाई २देखि ३ दिनसम्म पानीमा डुबाएर राखिन्छ। त्यसपछि ढाडिएको बोक्रालाई काष्टिक सोडा वा खरानी राखेर उमालिन्छ। करिब दुई घण्टासम्म उमालीसकेपछि अल्लोका बोक्रालाई १० देखि २४ घण्टासम्म त्यतिकै छोडिन्छ। त्यसपछि पाकेको अल्लोको बोक्रालाई खोलामा लगेर सफा पानीमा पखालिन्छ। यसरी पखाल्दा रेसाहरू छुट्टिने गर्दछन्। रेसालाई छुट्याउन बिस्तारै काठको मुङ्ग्रोले ठोक्दै पखाल्ने गरिन्छ। साधारणतया १ किलोग्राम अल्लोको बोक्राबाट ५०० ग्रामदेखि ६०० ग्राम रेसा उत्पादन हुने गर्दछ।

यसरी प्राप्त भएको रेसालाई मकैको पिठो, ढुटो वा कमेरोसँग मिसाएर घाममा सुकाइन्छ। यस्तो गर्नाले अल्लोको रेसा मुलायम र सेतो रंगको हुन्छ। दिनभरि घाममा सुकाइएको उक्त रेसालाई फेरि काठको मुङ्ग्रोले ठोक्दै पखालिन्छ र घाममा सुकाइन्छ। यसरी उत्पादन गरिएको रेसा नै धागो उत्पादनका लागि प्रयोग गरिन्छ।

अल्लोका रेसाहरूबाट धागो उत्पादन गर्न परम्परागत उपकरण कतुवा अथवा चर्खा प्रयोग गरिन्छ। धागो बनिसकेपछि यसलाई रंगमा डुबाइन्छ र सुकाइन्छ। त्यसपछि अल्लोको धागोबाट हाते तान वा आधुनिक उपकरणको प्रयोग गरी विभिन्न सामग्री निर्माण गरिन्छ। गुणस्तरको लागि अल्लोको धागोमा सुती धागो पनि मिसाउने गरिन्छ।

अल्लोबाट झोला, रुमाल, खास्टो, टोपी, गलैँचा, कुसन आदि बनाउन सकिन्छ। अल्लोको लुगा प्रयोग गर्नाले विभिन्न छालासम्बन्धि रोगबाट बच्न सकिने विश्वास गरिन्छ।

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]