उदयदेव मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उदयदेव मन्दिर, पाटन बैतडी
श्री उदयदेव मन्दिर
श्री उदयदेव मन्दिर Nepal-এ অবস্থিত
श्री उदयदेव मन्दिर
श्री उदयदेव मन्दिर
नेपालको नक्सामा उदयदेव मन्दिर
निर्देशांक:२९°२५′उत्तर ८०°३०′पूर्व / २९.४१° उत्तर ८०.५° पूर्व / 29.41; 80.5निर्देशाङ्क: २९°२५′उत्तर ८०°३०′पूर्व / २९.४१° उत्तर ८०.५° पूर्व / 29.41; 80.5
नाम
वास्तविक नाम:उदयदेव मन्दिर
अवस्थिति
देश:Nepal
राज्य/अञ्चल:महाकाली
जिल्ला:बैतडी



इतिहास[सम्पादन गर्ने]

आजभन्दा लगभग ५ हजार वर्ष पहिले भारतको ऐतिहासिक सिन्धु सभ्यतामा ‘चन्द्र’ वंशीय राजाहरुको राज्य थियो । प्राचीन कालका ययाती, सन्तनु, कुरु, र भगवान श्री कृष्ण समेत ‘चन्द्र’ वंशका पुर्वजहरु मानिन्छन् । कालान्तरमा ‘चन्द्र’ शब्द अप्रभंस भएर ‘चन्द’ मा परिणत भयो । यसरी चन्द राजाहरु हाल पाकिस्तानको सिन्धप्रान्तबाट भारतको हिमाञ्चलप्रदेश हुँदै उत्तराञ्चलमा पर्ने देवप्रयाग (दुबानगर) र कत्युरी हुँदै ‘स्वर’ भन्ने ठाउँमा पुगे र त्यहाँ आफ्नो राज्य स्थापित गरे । त्यसै ‘स्वर’ भन्ने ठाउँमा तात्कालिन मुस्लीम शासकहरुको जवर्जस्ती धर्मान्तरणकृत्य सहनगर्न नसकेर महाकाली पारगर्दै नेपालको वैतडीमा प्रवेश गरेका हुनाले बैतडीको पाटनलाइ ‘स्वराड’ भन्ने गरिएको हो । भारतको दुबानगरबाट चन्दराजा संगै यस ठाउँमा आएर बसोवास गर्नेहरुमा राईसम बिष्ट, तोयमेलोनायक, जर्गालभाट, जसुभणारी, बाममहतो, कुसमुसेऔजी भट्टरीभाण,अनिचाड, अनिकठायत ,कालुधनाडी, र ब्रह्मा भाट थिए । अहिले ति सबै जातीहरु पाटन क्षेत्रका आदिवासी मानिन्छन् । चन्दहरुको राज्यविस्तार सँगै कालान्तरमा डोटी राज्यमा कीर्तिचन्द, जुम्लामा भागरथी चन्द, आछाममा छत्र चन्द, बझाङ्गमा रतनमणि चन्द, बर्दियामा छत्रविक्रम चन्द र कञ्चनपुरमा कञ्चनदेव चन्दले राज्य गरेको इतिहास पाइन्छ ।[१]


ब्रह्म उदयदेवको परिचय[सम्पादन गर्ने]

[२] आजभन्दा ४७३ वर्ष अगाडि अर्थात् सम्वत् १६०० तिर वैतडी जिल्लाको ‘स्वराड’ राज्यमा उदयदेव चन्दको जन्म भएको थियो । त्यतिबेला सुदूरपश्चिम नेपालका ‘स्वराड’ लगायत अधिकांश राज्यहरु जुम्ला राज्यका अधिनमा पर्दथे । पहिलेका चन्दराजाहरु महाकाली भगवतीलाई ईष्टदेवी र सिद्घनाथलाइ कुलदेवता मान्ने गर्दथे ।चन्द वंशावली अनुसार राजा विनयदेव चन्दका उदयदेव, रानादेव, भानादेव, र जगतदेव गरी चार छोराहरु थिए । यी चार भाइ मध्ये जेठा उदयदेव ‘काली माता’ का अनन्य भक्त थिए । उनी बढी जसो माता काली र शिवको ध्यानमा लिन भइरहने गर्दथे । उनको ईच्छा र अभिरुची राज्य सञ्चालन तर्फ नभै ‘काली उपासना’ र सिद्घि प्राप्त गर्ने तर्फ बढि ध्यान केन्द्रित भएकोले गर्दा उनको राज्य साँघुरो र राज्यकाल छोटो हुन गएको थियो भन्ने किंवदन्ती छ । दुर्गा र कालीका उपासक उदयदेवले कैयौं प्रकारका दुर्लभ सिद्घिहरु समेत प्राप्त गरेका थिए भन्ने किंवदन्ती छ । एकदिन उनी पाटन नजिकै रहेको सुर्नया नदीको किनारमा पर्ने ‘तिप्तरे सिद्घ’को गुफामा ध्यान गर्न गए । त्यस पछि उनी दरबारमा फर्किएनन्। त्यहीं बाटै अलप भए । उनको खोजी गर्दै जाँदा उनी कतै नभेट्टीए पछि आकासवाणी भयो “मेरोे अस्तित्व शिवशक्तिमा विलय भएको छ । महाकाली र सिद्घनाथको परिसर भित्रै पश्चिम पट्टी एउटा शिला छ त्यस शिलालाइ उत्खनन गरी स्थापना गर्नु र त्यसैलाइ मेरो स्वरुप मानी पूजागर्नु ”। त्यसपछि आकासवाणीबाट ईङ्गीत गरिएको ठाउँमा उत्खनन् गर्दा सो शिला पनि भेट्टियो । उक्त शिलालाइ त्यहीं नजिकैको स्थानमा स्थापना गरी सम्वत् १६६२ देखि नियमित पूजा–आजा चलाइएको इतिहास छ । जो हालसम्म निरन्तर रहिआएको छ । स्थानीय भाषामा गाइने यस मागल गीतले यो कथानकलाइ थप प्रष्ट पारेको छ :

  • काँ फूटी उब्जीगया शिवजी लिङ्ग ।
  • कैलाशफूटी उब्जीगया शिवजी लिङ्ग ।।
  • काँ फूटी उब्जी गया केदार देव ।
  • रौलाफूटी उब्जी गया केदारदेव ।।
  • काँ फूटी उब्जी गया उदय देव ।
  • आकासवाणी हुन उदयदेव ।।

कालीका अनन्य भक्त मानिएका उनी नश्वर देहत्याग गरे पश्चात भगवतीका पार्षदको रुपमा स्थापित भई यस क्षेत्रमा पुजिदै आएका हुन् । अहिले यहाँका स्थानीय निवासीहरु विशेष गरेर चन्द ठकुरीहरुका यिनी कुलदेवता मानिन्छन् । यसदेवताको आल वा (क्षेत्रभित्र) कैलपाल, समैजी,मसानी, सिमडा,लोटने,महारुद्र, सिद्घबाबा, महाकाली नामक देवी–देवताहरु रहेका छन् । अहिले भगवान श्री कृष्णको मन्दिर पनि यस क्षेत्र नजिक बनाइएको छ । सुदूरपश्चिम क्षेत्रका अन्य देवस्थानहरु शिवायल, दुर्गा, काली, गणमेश्वर, शिवनाथ, असिमीकेदार, राउलाकेदार, महारुद, समैजी, थलकेदार, भागेश्वर, बैजनाथ, मेलौली, निङ्गलासैनी ,त्रिपुरासुन्दरी, र भारतको कुमाउँमा पर्ने जागेश्वर र नन्दादेवीमा पनि वार्षिक पूजा वा जात्राहुँदा उदयदेवका धामीलाइ पनि बोलाइन्छ र सम्मान गरिन्छ । यी कैयौं देवस्थानहरुमा उदयदेवको आफ्नै ‘बिँडी’वा (राजसिंहासन)हरु रहेका छन् । बैतडीकै तल्लो स्वराड क्षेत्रमा पर्ने मेलौली भगवतीको वाषर््िाक पूजा/जात्रा हुँदा मेलौलीका मुख्य धामीका संङ्गै उदयदेवका धामी पनि ‘चक्डोल’ अथवा (दशौं मानिसहरुले बोक्ने सुन्दर देवरथ)मा सवार हुन्छन् । यसरी यहाँको जन–मानसले उदयदेवलाई प्रसस्तै सम्मान दिएको पाइन्छ । प्राचीन संस्कृत ग्रन्थमा यसक्षेत्रको महिमा यसरी वर्णन गरिएको पाइन्छ ।

  • पाश्र्ववर्ति महाकाली सर्वदा शक्ति दायिनी ।
  • गुरुश्च सिद्घनाथस्यात पार्षदा सिमोडादयः ।।१।।
  • कैलपालो अग्रगामी मसानी परिसेविता ।
  • महारुद्र समकक्षः उदयदेव मनोस्तुते ।।२।।
  • सर्वशक्ति सु–सम्पन्नो सर्वारिष्ट विनाशिनी ।
  • देव्या देवत्व प्राप्नोती उदयदेव नमोनमः ।।३।।

[३]

स्थान[सम्पादन गर्ने]

श्री उदयदेवको प्रमुख मन्दिर महाकाली अञ्चल , बैतडी जिल्लामा, पर्ने पाटन नगर पालिकामा रहेको संगौरकोटको ‘मैतड’ भन्ने स्थानमा अवस्थित छ । यसका अलावा बैतडी पाटनबाट पैदल एकदिनको दूरीमा दक्षिण–पश्चिममा पर्ने महाकाली नदीको किनारामा अवस्थित तल्लोस्वराड अन्तरगत ‘कपाडी’ भन्ने ठाउँमा शिवनाथ देवताका मन्दीर परिसरमा उदयदेवको एक अर्को भव्य मन्दिर पनि रहेको छ । यो मन्दिर पनि बैतडी जिल्लाका प्रमुख दर्शनीय मन्दिरहरू मध्ये पर्दछ । यसका अलावा सुदूरपश्चिम नेपालका अन्य भागमा राजा उदयदेवका ३१ अरु मन्दिरहरु रहेका छन् । त्यस्तै भारतको हिमाञ्चलप्रदेश र उत्तराञ्चल राज्यका कैयौँ ठाउँहरुमा पनि उदयदेवका थुप्रै मन्दिरहरु रहेका छन् ।

पुजारी, धामी, भरणे र कार्यकर्ताहरु[सम्पादन गर्ने]

पाटन स्थित ब्रह्मउदयदेवताका मुख्य पुजारी स्थानीय उपाध्याय ब्राह्मण जोशीहरु बाट हुने गर्दछन् । त्यस्तै उपाध्याय‘पैतोला’ र ‘भट्ट’ब्राह्मणहरु सहायक पुजारीको रुपमा काम गर्दछन् । यस देवता मुख्य धामी चन्द ठकुरीहरु बाट हुन्छन् भने पाटन बाहेकका अन्य मन्दीरहरुमा भने चन्द थर बाहेकका अन्य क्षेत्रीहरु पनि उदयदेवका धामी भएका छन् । पाटनस्थित मन्दिरमा यस देवताका मुख्य भण्डारे क्षेत्री भण्डारी थर बाट हुने गर्दछन् । त्यस्तै बिष्ट, कठायत,खत्री,भाट, धनाडी, ऐडी, यस देवताका अन्य आवश्यक काम गर्ने कार्यकर्ता भक्तहरु हुन् । विष्ट र कठायतहरु यस उदयदेव मन्दीर व्यवस्थापन समितिका सदस्य कार्यकर्ताको रुपमा पनि चिनिन्छन् ।

जात्रा बृतान्त[सम्पादन गर्ने]

  उदयदेवको मुख्य पूजा चैत्र महिनामा पर्ने महाअष्टमीमा लाग्ने गर्दछ । त्यस्तै असोज महिनामा पर्ने नवरात्रमा पनि यहाँकी स्थानीय सात बहिनी दुर्गाहरु : डिलासैनी, बोदलाशैनी, पोटलाशैनी, भगाशैनी, भरणशैनी, रणसैनी र निङ्गलासैनीको विधिवत् आवाहन र पूजा–आजा गरेर ब्राह्मण द्वारा सप्तशतीको पाठका साथै हवन पनि गराइन्छ । मुख्य पूजा वा जात्रा हुँदा चारराठ, चन्दठकुरीहरु, दशौनी विष्ट, भण्डारी, कठायत, ऐडी, त्यसै गरेर चार करिया थर भित्रपर्ने पहरी, भूल, दमाई, भाण इत्यादी सबै भक्तजनहरु आ–आफ्नो जिम्माको काम श्रद्घाभावले पुर्खौ देखी गर्दै आइरहेका छन् । दशौनी बिष्ट भनेका राजा जैतु चन्दका पालादेखी पाटन राज्यकोशको दशअंश मध्ये एक अंश भाग खानु भनी दिएको अधिकारक्षेत्र भित्र पर्न आउने विष्टहरु हुन् । आश्विन नवरात्रमा पर्ने पञ्चमीका दिन भक्तहरुले मन्दिरमा आफ्नो गच्छे अनुसारको चिनोवानो चढाउँछन् । धामी कामेर प्रसाद स्वरुप सबै भक्तहरुका निधारमा टिका लगाउँने गर्दछन् । महाअष्टमीका दिन बिहानै देखी बलीका निम्ती ल्याइएका राँगा, बोका र खसीहरु मन्दीर परिसरमा बाँधिन्छन् । सर्वप्रथम ल्याइएको राँगो कालो खाम भन्ने रुखमा बाँधिन्छ । कालोखाममा बाँधिने राँगोे चन्दहरुका चारराठ मध्येबाट क्रमै सँग पालै–पालो गरी ल्याईन्छ । त्यस दिन राती अवेरसम्म सुदूरपश्चिम नेपाल र भारतको पिथौरागढबाट पनि राँगाहरु आइ रहन्छन् । महाअष्टमीका रातीबाट नवमीका दिउसो ४ बजेसम्म यसक्षेत्रका ख्यातीप्राप्त डेउडाखेलका गीतेरुहरु लगायत सबै भक्तजनहरु विशेषतः‘साल्ली’ भन्ने ढपमा दोहोरी डेउडाखेल खेल्ने गर्दछन् । सन्तान नभएका महिलाहरु सन्तान प्राप्तिका लागी र सन्तान भएका महिलाहरु अन्य मनोकामना पूर्तिका लागि रातभरी एकैस्थानमा उभिएर आफ्ना दुबैहात संयुक्तगरी त्यसमा अखण्डदीप बाल्ने गर्दछन् । अष्टमीका राति ११ बजेबाट देवताको मुख्यपूजा सुरु हुन्छ । पूजा सकिए पछि सर्वप्रथम मन्दीर परिसरभित्रै रहेको कालीकाको स्थानमा बोका र खसीहरुको बलि चढाइने गरिन्छ । त्यसपछी सिद्घबाबा, महारुद्र, लोटने, कैलपाल, समैजी, मसानी, सिमडा लगायत सबै देवताका धामीहरु आ–आफ्नो रटन–खटन अनुसार काम्न सुरु गर्दछन् । उदयदेवका धामी पनि आफ्नो ‘बिँडी’ (देवताले बस्ने उच्च राज सिंहासन) मा बसेर काम्न प्रारम्भ गरेपछि उत्तर पर्वत शिखरमा अवस्थित् ‘राउला केदार’ मन्दीरबाट दिव्य ध्वनी आउँने गर्दछ । त्यो ध्वनी उदयदेवका धामीले मात्रै सुन्न सक्दछन् । त्यो शुभ सांकेतिक ध्वनी आएको सुनिएन भने उदयदेवका धामी काम्दैनन् र जात्रामा पनि जाँदैनन् भन्ने मान्यता रहिआएको छ ।

त्यस पछि अबेर राति कैलपालका धामीको नेतृत्वमा ‘बयाँल’ जात्रा अगाडि बढ्दछ । प्राचीनकालमा राजाहरुले लगाउने विषेश किसिमको पोशाक र सुन–चाँदी रत्न जडित सुन्दर मुकुट धारण गरेका उदयदेवका धामी चन्द ठकुरीहरुको काँधमा सवार हुन्छन् । देवता सवार भएको बेला धामी फूलजस्तै अत्यन्तै हलुका हुन्छन् भनेर धामीलाई बोक्ने भक्तहरु बताउँछन् । त्यसपछि सबै भक्तहरु सहितको जात्रा दाइन–दमाहा, भोक्कर इत्यादी बाजा–गाजा बजाउदै मन्दीरबाट लगभग तीनसय मिटर तल सुर्नया नदीको नजिक पर्ने प्रसिद्घ शिवसिद्घको गुफा तिर चल्दछ । त्यहाँ सिद्घगुफा भित्र तीननेत्र भएका शिव विराजमान हुनुहुन्छ भन्ने विश्वास गरिएको छ । तीननेत्र धारी शिव विराजमान भएका हुनाले त्यसगुफालाइ स्थानीय भाषामा ‘तिप्तरे महादेव’ को गुफा भन्ने गरिन्छ । त्यो सिद्घ गुफाभित्र उदयदेवका धामी मात्रै प्रवेश गर्दछन् । बाँकी पुजारी, धामी लगायतका अन्य सम्पूर्ण भक्तहरु बाजा–गाजा बजाउँदै बाहिरै उभिएर उनको प्रतिक्षा गर्दै पर्खीराखेका हुन्छन् । त्यस गुफाका मुखमा पुजारीले धुपबत्ती गर्दा नजिकै रहेको अर्को प्रसिद्घ पौराणिक पाताल भुवनेश्वरको गुफामा सुगन्ध आउन्छ भनेर यहाँका स्थानीयहरु भन्ने गर्दछन्् । त्यस गुफाको पूर्ण बृतान्त स्कन्दपुराणको मानसखण्ड संहितामा उल्लेख गरिएको छ । त्यसैले यी दुबै गुफाहरु आपसमा जोडिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । उदयदेवका धामी गुफाबाट फिर्ता नआउन्जेल सम्म अन्य श्रेष्ठ देवताहरुका धामीहरुको कम्पन पनि आकर्षक रहेको हुन्छ । धामी गुफाबाट फिर्ता आइसके पछि उनलाइ फेरी काँधमा चढाएर मुख्य मन्दीरमा लगिन्छ र त्यस दिनको जात्रा समाप्त हुन्छ । दोश्रो दिन नवमीका बिहान मन्दिरमा सर्वप्रथम कैलपाल देवताको पूजा लाग्दछ । दिउसो २ बजे पछि उदयदेव मन्दीर परिसर भन्दा धेरैतल रहेको ‘अट्ठेली’ भन्ने ठाउँमा भगवती कालीकाका नाममा सयकडौ राँगाहरुको बली चढाइने गरिन्छ । ती बली प्रदान गरिएका राँगाहरुको मासु÷प्रसाद खाने र बलिस्थलको सरसफाइ÷व्यवस्थापन इत्यादि गर्ने कार्य ‘चार करिया’ को नामले सम्वोधन गरिने : स्थानीय पहरी, भूल, लोहार, दमाइ, आउजी, राना, भाण, दास, इत्यादि थरका भक्तजनहरुले पूर्ण श्रद्घाका साथ गर्ने गर्दछन् । उनीहरुले जात्राको समयमा दाइन÷दमाहा लगायतका अन्य बाजा–गाजाहरु पन बजाउँदछन् ।

प्राप्त शिलालेखमा उदयदेवको प्रसस्ति[सम्पादन गर्ने]

हरि ॐ कार्यवयादी गुणगुणलंकार कृतशरीर महाराज ब्रह्म महासुकृति सन्तान विजअवतारः परमतेजस्वी चन्द्रवंश ब्रह्म उदयदेव प्रकाशादया उदयदेवताय नमः । ईच्छावच चन्द्रीका प्रहसित तारागणः चन्द्रं वंश शोभियतः महाराज उदयदेवः परमेश्वर करुणवतारम् ।। परम्ब्रह्म जय कलिकलंक पंकातंक मग्न धरायुधार धरित धौरेय वरवराह हृदय विन्दे चरित्र सहजमति विभव विभुक्ति स्थगिताराचत्र प्रतावदहन अतिवै भव संहाराम्य सहितम् नमामी मानसक्षेत्र पतिम प्रभू ।। बलक्ष सरदेव वेदग्य सुरसुन्दरी विधुतकर सवलवलय कुशमप्रकाश ज्योतिपुञ्ज प्रकरप्रकिर्ण वंत संवृद्घि ताकिर्तीविजः बहुभिव्र्व सुधा भुक्ता विश्वधारण सर्वलोकैक नाथम् उदयदेवः दर्शनम् पुण्यं तीर्थाभूता हि साधक उदयदेव नारायणम् वन्दे दर्शनं भूवादेवो मस्मिन् मनोरथम् प्रभु इदानीं कृपयाम विश्वदेव सर्वा उदयदेवोमयम् जगत् ।।


पुग्ने तरीका[सम्पादन गर्ने]

कैलालीको धनगढी वा अत्तरियाबाट बस वा जिपमा डँडेलधुरा सम्म आराम संग ६ घण्टाको समयमा पुग्न सकिन्छ । डँडेलधुरामा पर्याप्त सुविधा सम्पन्न होटलहरु र रेष्टुरेन्ट रहेका छन् । त्यहाँबाट सुदुरपश्चिमका प्रायः सबै गन्तव्यका लागी आवश्यकता अनुसार भाडाका सवारी साधनहरु बस,जीप,कार सजिलै पाउँन सकिन्छ । रिजर्व जिपबाट बिहानै यात्रा सुरुगर्ने हो भने बैतडिको ऐतिहासिक उदयदेव मन्दीर, त्रिपुरासुन्दरी भगवति , जगन्नाथ मन्दीर, निङ्गलासैनि भगवती र राउला केदारको दर्शन गरी त्यसैदिन साँझ डडेलधुरा फर्किन सकिन्छ । साँझ डडेलधुराकै प्रसिद्घ उग्रतारा भगवतीको आरती दर्शन समेत गर्न सकिन्छ । ऐतिहासिक अमरगढी किल्ला डडेल्धुरा बजारको शिरानमा अवस्थित छ भने, महाभारत कथामा घटोत्कच भनेर उल्लेख गरिएका घटाल देवताको मन्दीर पनि डँडेलधुराबाट नजिकै आधा घण्टाको दुरीमा रहेको छ । यसरी बैतडीका ५ वटा र डँडेलधुराका २ गरि जम्मा ७ वटा धार्मिक गन्तव्यहरुको एकदिनमा अवलोकन भ्रमण गर्न सकिन्छ । [४]

महत्त्व[सम्पादन गर्ने]

उदयदेव महाराज को पाटन को मंदिर को धेरै महत्व छ किन भने बैतडी सोराड मात्र उदयदेव महाराज को रा अन्य देवता हरु को नाम ले प्रचलित छ ! बैतडी मा ठाउ ठाउ मा दैवीय सक्ति छन रा धेरै जसो देवी देवता महाराज उदयदेव को बोली भने मा बस्छन !


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. डोटीक्षेत्रको प्रचीन इतिहास बाट साभार गरीएको
  2. स्थानिय भनाइ
  3. डोटीक्षेत्रको प्रचीन इतिहास बाट साभार गरीएको
  4. स्थानिय भनाइ


बाहिरी कडिहरु[सम्पादन गर्ने]