चोखामेला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सन्त चोखामेला
Sant Chokhamela.jpg
पण्ढरपुरमा समाधिमा सन्त चोखामेलाको मूर्ति
जन्ममेहुणा राजा, देऊलगाँव राजा, बुलढाणा जिल्ला
उपाधि/सम्मानसन्त
महाराष्ट्रस्थित विट्ठल मन्दिरको मूल प्रवेशद्वार । द्वारको अगाडि देखिएको सानो निलो मन्दिर चोखामेलाको समाधि हो ।

चोखामेला (मराठी: चोखामेळा) भारतको महाराष्ट्रमा चौधौँ शताब्दीमा जन्मेका अछुत महार सन्त थिए । उनको जन्म बुलढाणा जिल्लाको देऊलगाँव राजामा अवस्थित मेहुणा राजामा भएको थियो । उनको बसाइ भने उनकी श्रीमती सोयराबाई र छोरा कर्ममेलासँग महाराष्ट्रको मङ्गलवेढामा थियो । उच्च जातिका व्यक्तिहरूको खेत हेर्ने काम गर्दै अभङ्ग लेख्ने चोखामेला भारतका सर्वप्रथम लेखक तथा साहित्यकार मध्ये एक थिए । तल्लो जातको हुनाले चोखामेलालाई तल्लो जातका मानिसहरूका लागि बनाइएको सहर भन्दा फरक समुदायमा बस्न लगाइन्थ्यो ।

उनका साथै उनकी श्रीमती सोयराबाई, बहिनी निर्मला, ज्वाइँ बङ्का, छोरा कर्ममेला पनि वारकरी सम्प्रदायको अनुसरण गर्थे ।[१][२]

उनी कवि तथा सन्त नामदेवको भक्ति दर्शनमा लागेका थिए । सन्त नामदेवको कीर्तन सुन्नका लागि उनी एक पटक पण्ढरपुर समेत गएका थिए । पहिलेदेखि नै विट्ठलको भक्तिमा लागेका चोखामेला नामदेवको शिक्षाले उनमा खुब प्रभाव परेको थियो ।

पछि उनी स्थिर बसाइका लागि पण्ढरपुर सरे । प्रचलित कथा वा किम्बदन्ती अनुसार उच्च जातका ब्राह्मण पण्डित तथा पूजारीले उनलाई मन्दिर छिर्न त परको कुरा, प्रवेशद्वारमा समेत उभिन समेत दिएका थिएनन् । यसकारण उनले भीमा नदीको किनारमा कुटी बनाएका थिए ।[३]

पण्ढरपुर नजिकै मङ्गलवेदमा पर्खालको निर्माण गरिरहेको बेला उक्त पर्खाल ढलेर केही कामदारको मृत्यु भएको थियो । ती कामदारहरूमध्ये चोखामेला पनि एक थिए । उनको चिहान पण्ढरपुरमा अवस्थित विट्ठल मन्दिरको अगाडि राखिएको छ, जुन वर्तमानमा पनि हेर्न सकिन्छ । प्रचलित कथा अनुसार मृत्युको बेला पनि चोखामेला विट्ठलकै नाम जपिरहेका थिए, जसकारण उनको शवलाई विट्ठल मन्दिरको अगाडि गाढियो । बीसौँ शताब्दीको प्रारम्भ तिर बाबासाहेब आम्बेडकर पनि विट्ठल मन्दिरको यात्रामा लागेका थिए तर महार भएको हुनाले उनलाई पनि चोखामेलाको चिहानमा नै रोकिएको थियो ।[४]

पुस्तक[सम्पादन गर्ने]

  • खरात, शङ्करराव, चोखोबाचा विद्रोह 
  • अभ्यङ्कर, शङ्कर वासुदेव, वारकरी सम्प्रदाय 
  • पाटिल, लीला, सन्त चोखामेला 
  • ललित, बालकृष्ण, श्री सन्त चोखामेला चरित्र 
  • श्री सन्त चोखामेला चरित्र र अभङ्ग (सोयराबाई, कर्ममेला, बङ्का र निर्मलाबाईका अभङ्गका साथ), शब्दालय प्रकाशन। 
  • पुजारी, डा. आप्पासाहेब, श्री सन्त चोखामेला र परिवार चरित्र र समग्र अभङ्गगाथा 
  • जेलियट, एलेनोर; मञ्जूल, वा. ल., सन्त चोखामेला: विविध दर्शन 

चलचित्र[सम्पादन गर्ने]

  • सुमित क्यसेट्स नामक कम्पनीले "सन्त चोखामेला" नामक श्रव्यदृश्य सिडी सार्वजनिक गरेको थियो जसको आधारमा मानसिंह पवारले चलचित्र निर्देशन गरेका थिए ।
  • फाउन्टेन म्युजिक कम्पनीले पनि "सन्त चोखामेला" नामक श्रव्यदृश्य सिडी सार्जनिक गरेको थियो जसको आधारमा राजेश लिमकरले चलचित्र निर्देशन गरेका थिए ।
  • सन् १९५० मा राम गबालेको निर्देशनमा जोहार मायबाप (सन्त चोखामेला) नामक रङ्गहीन मराठी चलचित्र सार्वजनिक गरिएको थियो । यस चलचित्रको पटकथा ग. दि. माडगूलकरले लेखेका थिए भने सङ्गीत सुधीर फडकेले रचना गरेका थिए । सन् १९७३ मा यस चलचित्रलाई ही वाट पण्ढरीची शीर्षकमा सेन्सर गरिएको थियो । इन्दु कुलकर्णी, गोपीनाथ सावकार, ग्रामोपाध्ये, परशुराम भोसले, पु. ल. देशपाण्डे, विवेक र सुलोचनाले अभिनय गरेको यस चलचित्रको सङ्गीत अझै पनि लोकप्रिय छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. ह्यारिसन, टम (सन् १९७६), "A Historical Introduction to the Warakari Movement", Living Through the Blitz, क्याम्ब्रिज विश्वविद्यालय छापाखाना, पृ: ४०, आइएसबिएन 9780002160094 
  2. जेलियट, एलेनोर (सन् २००८), "Chokhamela, His Family and the Marathi Tradition", in एक्टर, मिकाएल; डेलिएज, रोबर्ट, From Stigma to Assertion: Untouchability, Identity and Politics in Early and Modern India, कोपनहेगन: म्युजियम टुसुलेनम प्रेस, पृ: ७६–८५, आइएसबिएन 8763507757 
  3. प्रसाद, अमरनाथ (सन् २००७), Dalit Literature, पृ: १०–१२, आइएसबिएन 978-81-7625-817-3 
  4. जेलियट, एलेनोर (सन् १९८१), "Chokhamela and Eknath: Two Bhakti Modes of Legitimacy for Modern Change", in लेले, जयन्त, Tradition and Modernity in Bhakti movements, लिडेन: ब्रिल, पृ: १३६–१४२, आइएसबिएन 9004063706