छुवाछुत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । नेपालको सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा अझै व्यापक रूपमा चलिरहेको भेटिन्छ । कतिपय स्थानहरूमा दलित समुदाय माथि छोइछिटो गर्ने, मन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् । यस्ता व्यवहार हाम्रा समाजका समस्या हुन् । परम्परागत सोचमा आधारित यस्ता समस्या समाधान गर्न शिक्षा र सचेतना बढाउनु जरुरी छ ।[१]

छुवाछुत शब्दले प्रायः भारतीय उपमहाद्वीपको अस्पृश्य दलित समुदाय प्रतिको व्यवहारलाई जनाउँछ । यद्यपि, जापानको बुराकुमिन, कोरियाको बेकजोङ, तिब्बतको राग्याबपा, युरोपका रोमानी जनताकागो, र यमनको अल अखदम प्रतिको व्यवहारको वर्णन गर्दा पनि छुवाछुतको प्रयोग गरिन्छ ।[२][३] परम्परागत रूपमा अस्पृश्य मानिने यी जातले माछा मर्ने, घर सफा गर्ने, लुगा धुने, जुत्ता सिलाउने जस्ता आवश्यक तर सामान्य जनताले गर्न नरुचाउने काम गर्ने गर्थे ।[४] मध्यवर्ती कालमा उचित सरसफाई नगर्ने र जे पायो त्यही खाने वर्गलाई पनि अछुत मानिन्थ्यो ।[५][६]

नेपाल, पाकिस्तानभारतमा छुवाछुतलाई अवैध बनाइएको छ । यद्यपि, संविधानमा "छुवाछुत" को मूल अर्थ भन्ने स्पष्ट छैन । छुवाछुतको ऐतिहासिक पक्ष अझै पनि निश्चित छैन र यो विवादको विषय बनेको छ । बाबासाहेब आम्बेडकरले छुवाछुत सन् ४०० देखि चलिआएको प्रथा भएको मान्थे ।[७] भारतमा आयोजित एक सर्वेक्षण अनुसार ७०% मानिसले छुवाछुत र अस्पृश्यतामा विश्वास नराख्ने खुलासा भएको थियो । यस सर्वेक्षणमा सबैले सत्य बोलेको विश्वास राखिएको छ ।[८]

उत्पत्ति[सम्पादन गर्नुहोस्]

बाबासाहेब आम्बेडकर दलित महिला सामाजिक कार्यकर्ताका साथ अखिल भारत अस्पृश्य महिला सम्मेलन, नागपुरमा, सन् १९४२

अस्पृश्य महार जातका भारतीय समाजसुधारक तथा राजनीतिज्ञ बाबासाहेब आम्बेडकरले भने अनुसार ब्राह्मण समुदायले ब्राह्मणवाद छोडी बौद्ध धर्ममा लागेका व्यक्तिलाई तल्लो वर्गको साबित गर्न बनाएको नीति अन्तर्गत छुवाछुत प्रथाको सुरुवात भएको थियो । यद्यपि, विवेकानन्द झा र अन्य विद्वान्ले आम्बेडकरको यस अनुमानलाई गलत प्रमाणित गर्न सफल भएका छन् ।[९]

इतिहास प्रशिक्षक नृपेन्द्र कुमार दत्तले छुवाछुतको प्रथा प्रारम्भिक कालका द्रविड नागरिकले भारतीय आदिवासी समाज प्रति गर्ने व्यवहारबाट सुरु भएको र पछि हिन्द-आर्य नागरिकले अँगालेको प्रस्तावना राखेका थिए । यद्यपि, हिन्द-आर्य समुदायसँग सम्पर्क हुनु अघि द्रविड समुदायमा छुवाछुत चलनचल्तीमा नरहेको भन्दै रामशरण शर्माले यस प्रस्तावनालाई अस्वीकार गरेका थिए ।[९]

अस्ट्रियाका विद्वान् क्रिस्टोफ भन फ्युरर-हाइमेनडोर्फले सिन्धु घाटीको सभ्यता देखि नै सामाजिक स्रोतसाधनमा कसको कति अधिकार र पहुँच हुन्छ भन्ने विभाजन गर्नका लागि छुवाछुतको प्रथा सुरु गरेको अनुमान गरेका थिए । उनको सिद्धान्त अनुसार सरसफाई, जुत्ता तथा लुगाको निर्माण जस्ता कार्यमा लागेका कामदारलाई सहर भन्दा बाहिर बस्न लगाइन्थ्यो । समय बित्दै जाँदा व्यक्तिगत सरसफाईलाई "पवित्र" मान्न थालियो जसकारण ग्रामीण क्षेत्रमा पनि छुवाछुत गर्न थालियो । सिन्धु घाटीको सभ्यताको क्षयपश्चात भारतमा रहेका अन्य क्षेत्रमा पनि अन्य प्रकारका भेदभावका साथै छुवाछुतको पनि सुरुवात भयो ।[१०] यद्यपि, यस सिद्धान्तको प्रमाण गर्न पर्याप्त स्रोत नभएको र तथ्याङ्कका आधारमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत व्यापक भएको हुनाले सुवीरा जायसवाल लगायत अन्य इतिहासकारले यसलाई अस्वीकार गरेका छन् ।[११]

अमेरिकी विद्वान् जोर्ज एल. हार्टले पुराणानरु लगायत अन्य प्राचीन तमिल साहित्यको गहन अध्ययनका आधारमा छुवाछुत प्राचीन तमिल समाजमा सुरु भएको अनुमान गरेका थिए । उनले भनाइ अनुसार उक्त समाजमा कुनैकुनै समुदायले दुष्ट शक्तिलाई नियन्त्रण गर्न सक्ने मान्यता थियो । हार्टले परैयर समुदायको उदाहरण दिएका थिए, जसले युद्ध तथा जन्म र मृत्यु जस्ता गम्भीर समयमा ढोलक बजाउँथे । तसर्थ, ती वर्गका मानिसलाई "खतरनाक" र "समाजलाई प्रदूषित गर्ने क्षमता भएको" भन्दै बेवास्ता गर्न थालियो । उक्त वर्गबाट अन्य समुदाय टाढिन थालिए ।[१२] यस सिद्धान्तलाई पनि जायसवालले "अत्यन्तै कम्जोर" र "विरोधाभास" भएको भन्दै अस्वीकार गरेकी थिइन् । जायसवालले हार्टले स्वीकार गरेझैँ प्राचीन तमिल साहित्यमा ब्राह्मण समुदायको प्रभाव रहेको कुरा औँल्याई ब्राह्मण समुदायबाट प्रभावित प्राचीन तमिल समाजमा छुवाछुतको सुरुवात भएको हुन सक्ने कुरा सारेकी थिइन् ।[१३]

सत्रौँ शताब्दीमा अध्ययन अनुसन्धानको उद्देश्यले भारत पधारेका अङ्ग्रेजी व्यापारी विलियम मेथवोल्डले उच्च जातका समुदायले शाकाहारी भोजनको सेवन गर्ने र व्यक्तिगत सरसफाईमा ध्यान दिने र तल्लो जातका समुदायले रोगले मरेको जनावरको समेत मासु खाने गरेको अवलोकन गरेको अभिलेख राखेका थिए ।[५][१४][६] बेलायती मानवशास्त्री जोन हेनरी हटनले अन्तरजातीय खानेकुरा स्वीकार गर्ने प्रवृत्तिबाट छुवाछुत सुरु भएको अनुमान गरेका थिए । यसरी खानेकुराको भागबन्डा गर्दा सफा छ कि छैन भन्ने थाहा नहुने र फलस्वरूप आफ्नो बाहेक अन्य जातका मानिसलाई अपवित्र मानिने चलन सुरु भएको भन्दै उनले आफ्नो सिद्धान्त सबै समक्ष पेस गरेका थिए । यद्यपि, यसले जाति व्यवस्था र सामाजिक श्रेणीमा वर्गीकरणको थालनी स्पष्ट पार्दैन भनी हटनको तर्क खण्डन गरेकी थिइन् ।[१५] प्राचीन वैदिक पाठमा अन्य वर्ण वा जमातबाट भोजन स्वीकार गर्न नमिल्ने कतै पनि उल्लेख गरिएको छैन भन्ने कुरा पनि उनले औँल्याएकी थिइन् । उदाहरणका लागि विश्वजीत यज्ञको समाप्तिमा उक्त यज्ञ गर्ने व्यक्तिले तीन दिन निषध जमात (मध्यवर्ती समाजमा अस्पृश्य मानिएको जमात) को घरमा बसोबास गरी त्यहाँ पकाइएको खाना खानुपर्ने श्रोतसूत्रमा लेखिएको छ ।[१६]

सुवीरा जायसवाल, रामशरण शर्मा र विवेकानन्द झाले छुवाछुतलाई समाजमा वर्ण व्यवस्था र जातीयताको विकास भइसकेपछि आधुनिक समाजमा सुरु भएको समस्या मान्दछन् ।[१७] झाले भने अनुसार सर्वप्रथम वैदिक पाठ ऋग्वेदमा छुवाछुत र अस्पृश्यताको कुनै उल्लेख नभएको र पछिल्ला वैदिक पाठमा पनि चाण्डाल समुदायका बारेमा केही नराम्रा कुरा लेखिएपनि तत्कालीन समाजमा अस्पृश्यताको अस्तित्त्वको बारेमा केही उल्लेख गरिएको छैन । सन् ६०० देखि सन् १२०० सम्ममा तीब्र गतिमा समाजको विकास भइरहँदा विभिन्न जातलाई अछुत मानिन थालियो भन्ने झाको अनुमान रहेको छ । शर्माले भने विशेषाधिकार प्राप्त समुदायले हाते श्रम मन नपराउने हुनाले श्रमिकलाई अपवित्र र अछुत मान्ने गरेको अनुमान गरेका थिए ।[१८] जायसवालले चाहिँ विभिन्न जमातलाई ब्राह्मण समुदायमा मिश्रित गरेपछि विशेषाधिकार प्राप्त जातले आफूलाई अन्य जातको तुलनामा राम्रो देखाउने उद्देश्यले कम अधिकार प्राप्त गरेका जातलाई अछुत मानेको अनुमान गरेकी थिइन् ।[१९]

छुवाछुत वा अस्पृश्यताको प्रथम उल्लेख धर्मशास्त्रमा भएको मान्यता छ । उक्त पाठ अनुसार अछुत जातलाई अपराधी मानिएको छ र यसकारणले अछुत जातलाई वर्ण व्यवस्थामा गन्न मिल्दैन । त्यसैले अछुत वर्गलाई सवर्ण (ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र) जस्तो व्यवहार गर्न मिल्दैन ।[२०]

वैशिष्ट्य[सम्पादन गर्नुहोस्]

मालाबार तट, केरलको अछुत वर्ग, सन् १९०६
  • अन्य वर्गसँग भोजन ग्रहणमा रोक
  • सार्वजनिक स्थलमा प्रवेश निषेध
  • उच्च जातको समक्ष चप्पल र छातामा प्रतिबन्ध
  • तल्लो जातका लागि अलग विद्यालयको निर्माण
  • कलमरी
  • सामाजिक बहिष्कार

असर[सम्पादन गर्नुहोस्]

  • व्यक्तिमा हिनताबोध र आत्मग्लानि]
  • सुविधा र अवसरमा विभेद
  • सामाजिक सम्मानमा न्यूनता
  • सामाजिक विभेद र विग्रहको स्थिति
  • सामाजिक द्वन्द्व
  • सामाजिक सहयोग र सद्भावको पक्षमा कमजोरी

समाधान[सम्पादन गर्नुहोस्]

  • चेतना जागरण
  • शिक्षाको प्रचार प्रसार
  • कडा कानुनी प्रबन्ध
  • सहकार्य, सहयोग र सद्भाव वृद्धिका कार्यक्रम सञ्चालन
  • सामाजिक समावेशिता कायम
  • सकारात्मक विभेदको व्यवस्था

अन्य राष्ट्रमा छुवाछुत[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "घरेलु हिंसा र छुवाछुत", सामाजिक अध्ययन, नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र, सन् २०१७, पृ: ६०-६१। 
  2. प्यासिन, हर्बर्ट (सन् १९५५), "Untouchability in the Far East", Monumenta Nipponica, जापान: सोफिया विश्वविद्यालय, पृ: २४७-२६७। 
  3. ३.० ३.१ "The last untouchable in Europe", दी इन्डिपेन्डेन्ट, २७ जुलाई २००८। 
  4. "Untouchable - Encyclopaedia Britannica" 
  5. ५.० ५.१ डब्लू.एच., मोरल्यान्ड (सन् १९३१), Relation of Golconda in the Early Seventeenth Century, हलयुक्त सोसाइटी, पृ: ७०, "यस जातका मानिसले रोगले मरेका जनावरको मासु पनि खुला रूपले खान्थे ।" 
  6. ६.० ६.१ डब्लू.एच., मोरल्यान्ड (सन् १९३१), Relation of Golconda in the Early Seventeenth Century, हलयुक्त सोसाइटी, पृ: ७८, "यस जातका मानिसले खानामा केही रोकटोक नगरेपनि पुरुष र महिला, दुबैले आफूलाई दिनमा कम्तीमा पनि एक छोटी मनतातो पानीले धुने गर्थे ।" 
  7. आम्बेडकर, भीमराव रामजी; मून, वसन्त (सन् १९९०), Dr. Babasaheb Ambedkar, Writings and Speeches, Volume 7 
  8. "The Continuing Practice of Untouchability in India: Patterns and Mitigating Influences", भारत मानव संसोधन विकास सर्वेक्षण  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-०२ मिति
  9. ९.० ९.१ सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २१८, जेएसटिओआर 44139355 
  10. सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २१९, जेएसटिओआर 44139355 
  11. सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २१९–२२०, जेएसटिओआर 44139355 
  12. सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २२०, जेएसटिओआर 44139355 
  13. सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २२१–२२२, जेएसटिओआर 44139355 
  14. डब्लू.एच., मोरल्यान्ड (सन् १९३१), Relation of Golconda in the Early Seventeenth Century, हलयुक्त सोसाइटी, पृ: ५९, ७८। 
  15. सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २२३, जेएसटिओआर 44139355 
  16. सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २२४, जेएसटिओआर 44139355 
  17. सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २२५–२२७, जेएसटिओआर 44139355 
  18. सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २२६, जेएसटिओआर 44139355 
  19. सुवीरा जायसवाल (सन् १९७८), "Some Recent Theories of the Origin of Untouchability; A Historiographical Assessment", Proceedings of the Indian History Congress ३९ (१): २२७, जेएसटिओआर 44139355 
  20. "Full text of "Dharmasutras The Law Codes Of Ancient India Patrick Olivelle OUP"", आर्काइभ डट अर्ग (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३ अक्टोबर २०१८ 
  21. कोटेक, रुथी, Untouchables of Korea or: How to Discriminate the Illusive Paekjong?