नङ्गा पर्वत
नङ्गा पर्वत, (نانگا پربت); वा दियामेर[५] समुद्री सतहबाट ८,१२६ मी (२६,६६० फिट) उचाइमा रहेको पृथ्वीको नवौँ अग्लो हिमाल हो।[६] पाकिस्तान-प्रशासित कश्मीरको गिलगित बल्तिस्तान क्षेत्रमा सिन्धु नदीको उत्तरी मोडको ठीक दक्षिण-पूर्वमा अवस्थित,[२] नङ्गा पर्वत हिमालयको सुदूर-पश्चिमी प्रमुख चुचुरो हो। यसरी सिन्धु र यार्लुङ साङ्पो/ब्रह्मपुत्र नदीद्वारा घेरिएको हिमालयको परम्परागत दृष्टिकोण अनुसार, यो सम्पूर्ण हिमश्रृङ्खलाको पश्चिमी आधारशिला हो।[७]
नङ्गा पर्वत १४ वटा आठ हजारीहरू मध्ये एक हो।[८] यो आफ्नो वरपरको भूभागभन्दा धेरै माथि उठेको छ र पृथ्वीका १०० अग्ला हिमालहरूमध्ये सापेक्षित उचाइका आधारमा सगरमाथापछि दोस्रो स्थानमा पर्दछ। नङ्गा पर्वत अत्यन्तै कठिन आरोहणका लागि परिचित छ, र धेरै आरोहीहरूको ज्यान गएकाले तथा आरोहीहरूलाई सीमासम्म पुर्याउने भएकाले यसले घातक हिमालको उपनाम पाएको छ।[९] गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार, नङ्गा पर्वत विश्वमै सबैभन्दा तीव्र गतिमा बढिरहेको हिमाल हो, जुन प्रतिवर्ष ७ मिमी (०.२७ इन्च) का दरले अग्लो हुँदैछ।[१०]
नामोत्पत्ति
[सम्पादन]'नङ्गा पर्वत' नाम संस्कृत भाषाका शब्दहरू नग्न ("नाङ्गो") र पर्वत ("हिमाल/पहाड") बाट बनेको हो, जसको संयुक्त अर्थ "नाङ्गो हिमाल" हुन्छ।[११][१२][१३] यो नाम यसको दक्षिणी भित्तासँग सम्बन्धित छ, जुन प्रायः हिउँरहित हुन्छ।[१४] स्थानीय स्तरमा यस हिमाललाई सिना भाषामा दियामेर वा देव मिर भनिन्छ, जुन संस्कृतको देव (ईश्वर) र मेरु (पवित्र पर्वत) बाट आएको हो, जसको अर्थ "ईश्वरको हिमाल"[४] वा "स्वर्गीय हिमाल" भन्ने हुन्छ।[१५]
अवस्थिति
[सम्पादन]नङ्गा पर्वत हिमालय हिमश्रृङ्खलाको पश्चिमी आधारशिला हो र यो सबैभन्दा सुदूर-पश्चिममा रहेको आठ हजारी हो। यसको सही भौगोलिक अवस्थिति ३५°१४′१५″ उत्तर ७४°३५′२१″ पूर्व हो र समकालीन मापन अनुसार यसको चुचुरोको उचाइ ८,१२६ मिटर (२६,६६० फिट) रहेको छ। यो गिलगित बल्तिस्तानको नङ्गा पर्वत राष्ट्रिय निकुञ्जमा सिन्धु नदीको ठीक दक्षिणमा, दियामेर जिल्ला र अस्तोर जिल्लाको सीमानामा पर्दछ। केही स्थानहरूमा नदी यस हिमाल समूह को उच्च बिन्दुभन्दा ७ किलोमिटर (साढे ४ माइल) भन्दा पनि तल बग्छ। यसको उत्तरतर्फ काराकोरम श्रृङ्खलाको पश्चिमी अन्त्य रहेको छ।[१६]
प्रमुख विशेषताहरू
[सम्पादन]
नङ्गा पर्वतको सबै दिशाहरूमा स्थानीय भूभागभन्दा अत्यधिक ठाडो उचाइ रहेको छ।[१७] दक्षिणतर्फ, नङ्गा पर्वतको प्रायः विश्वकै सबैभन्दा अग्लो हिमाली भित्ता मानिने रूपल भित्ता रहेको छ, जुन यसको आधार क्षेत्रभन्दा ४,६०० मी (१५,१०० फिट) माथि उठेको छ।[१८] उत्तरतर्फ, अलि कम भिरालो र जटिल राखियोत भाग सिन्धु नदी उपत्यकाबाट चुचुरोसम्म मात्र २५ किमी (१६ माइल) को दुरीमा ७,००० मी (२३,००० फिट) उचाइसम्म उठेको छ, जुन पृथ्वीमा यति छोटो दुरीमा भएको सबैभन्दा ठूला १० उचाइ वृद्धिहरूमध्ये एक हो।[१९]
नङ्गा पर्वत पृथ्वीका ती दुई चुचुरोहरूमध्ये एक हो जुन विश्वका अग्ला हिमालहरू र अत्यधिक सापेक्षित उचाइ भएका चुचुरोहरू दुवैको शीर्ष बीसभित्र पर्दछन्; जहाँ यसको क्रम क्रमशः नवौँ र चौधौँ स्थानमा रहेको छ। अर्को हिमाल सगरमाथा हो, जुन दुवै सूचीमा पहिलो स्थानमा छ। नङ्गा पर्वत सगरमाथापछि हिमालयको दोस्रो अत्यधिक सापेक्षित उचाइ भएको चुचुरो पनि हो। नङ्गा पर्वतका लागि मुख्य भन्ज्याङ कश्मीर उपत्यकामा रहेको जोजी ला हो, जसले यसलाई बाँकी हिमालय-काराकोरम श्रृङ्खलाका अग्ला चुचुरोहरूसँग जोड्दछ।[२०]
तिब्बती पठारमा, नङ्गा पर्वत हिमालयको सुदूर-पश्चिमी चुचुरो हो भने नामचा बर्वाले यसको पूर्वी अन्त्यलाई जनाउँछ।

हिमालको बनावट
[सम्पादन]


नङ्गा पर्वतको मुख्य भाग दक्षिणपश्चिम देखि उत्तरपूर्वतिर फैलिएको एउटा लामो पर्वतश्रेणी हो। यो पर्वतश्रेणी हिउँ र चट्टानको विशाल पिण्ड मिलेर बनेको छ। यसका दियामेर, राखियोट र रुपाल गरि तीन मुख्य भित्ताहरू छन्। यस मुख्य पर्वतश्रेणीको दक्षिणपश्चिमी भागलाई माजेनो पर्वतश्रेणी भनेर चिनिन्छ, जसमा थुप्रै सहायक चुचुराहरू रहेका छन्।[२१] अर्को दिशामा, राखियोट चुचुरोमा (७,०७० मी or २३,२०० फिट) मुख्य पर्वतश्रेणी उत्तरपूर्वतिर घुमेको छ। हिमालको दक्षिण/दक्षिणपूर्वी भागमा रुपाल तर्फको ढलानको वर्चस्व रहेको छ। सिन्धु नदीतर्फ फर्किएको हिमालको उत्तर/उत्तरपश्चिमी भाग अझ बढी जटिल छ। यो एउटा लामो पर्वतश्रेणीद्वारा दियामेर (पश्चिम) भित्ता र राखियोट (उत्तर) भित्तामा विभाजित भएको छ। मुख्य चुचुरोभन्दा करिब ३ किलोमिटर (२ माइल) उत्तरमा उत्तर चुचुरो (७,८१६ मी or २५,६४३ फिट) सहित यहाँ थुप्रै सहायक चुचुराहरू छन्।
सन् २०१३ को आतङ्ककारी हमला
[सम्पादन]सन् २०१३ जुन २३ को राती, पाकिस्तानमा कडा शरिया कानुन लागू गराउने लक्ष्य राखेको एक इस्लामवादी अतिवादी समूह तहरिके तालिबान पाकिस्तानसँग आबद्ध करिब १६ जना आतङ्ककारीहरूले गिलगित-बल्तिस्तान प्रान्तको दियामेर तर्फ रहेको नङ्गा पर्वतको आधार शिविरमा एक आतङ्कवादी हमला गरेका थिए। स्थानीय प्रहरीको भेषमा आधार शिविरमा प्रवेश गरेका आक्रमणकारीहरूले बिहान करिब १ बजेतिर विदेशी आरोहीहरूलाई पाकिस्तानी कर्मचारीहरूबाट छुट्ट्याए र ११ जनाको हत्या गरेका थिए जसमा छ जना युक्रेनी, तीन जना पाकिस्तानी (एक स्थानीय सहयोगीसहित), एक स्लोभाक र एक लिथुआनियाली थिए। पाकिस्तानको उच्च उचाइमा रहेको दुर्गम र असुरक्षित आधार शिविरलाई लक्षित गरी अन्तर्राष्ट्रिय पर्वतारोहणमा गरिएको यो पहिलो ठूलो आतङ्ककारी घटना थियो।[२२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Peak Bagger:Himalaya, Central Nepal Himalaya, Khumbu, Ghurka Himal, Annapurna Himal, Xishapangma Area, Sikkim-Eastern Nepal Himalaya, Western Nepal Himalaya, Assam Himalaya, Punjab Himalaya, Bhutan Himalaya, Garwhal Himalaya, Ganesh Himal", अन्तिम पहुँच २२ अक्टोबर २०२४।
- 1 2 "Nanga Parbat", इन्साइक्लोपिडिया ब्रिटानिका (अङ्ग्रेजीमा) (अनलाइन संस्करण), सिकागो: इन्साइक्लोपिडिया ब्रिटानिका, निगम, आइएसएसएन 1085-9721, अन्तिम पहुँच २०२५-०४-२७, "Nanga Parbat, one of the world's tallest mountains, 26,660 feet (8,126 metres) high, situated in the western Himalayas 17 miles (27 km) west-southwest of Astor, in the Pakistani-administered sector of the Kashmir region."
- ↑ Witzel, Michael (२००३), Linguistic Evidence for Cultural Exchange in Prehistoric Western Central Asia (अङ्ग्रेजीमा), Department of East Asian Languages and Civilizations, University of Pennsylvania, पृ: 22, ओसिएलसी 254122057।
- 1 2 Turner, Ralph Lilley (१९७३), "6533. * dēvamēru", A Comparative Dictionary of the Indo-Aryan Languages (अङ्ग्रेजीमा), Oxford University Press, पृ: ३७३, आइएसबिएन 0-19-713550-1 – Internet Archiveद्वारा।
- ↑ सिना: دیآمر, शाअ 'ईश्वरको हिमाल'[३][४] वा अनु. 'स्वर्गीय हिमाल'
- ↑ "Nanga Parbat", Britannica, २५ जुलाई २०१३, अन्तिम पहुँच २२ जुन २०२२।
- ↑ Bernstein, Jeremy (१९७८), Mountain passages (अङ्ग्रेजीमा), University of Nebraska Press, आइएसबिएन 9780803209831, "nanga parbat western anchor."
- ↑ "Nanga Parbat", Encyclopedia Britannica, अन्तिम पहुँच २०१५-०६-१३।
- ↑ Endorfeen magazine (२० मार्च २०२३), "The Nanga Parbat: Mysteries, Challenges and Conquests of the Killer Mountain", www.endorfeen.com, अन्तिम पहुँच २३ मे २०२३।
- ↑ "Fastest Rising Mountain"।
- ↑ Höbusch, Harald (२०१६), "Mountain of Destiny": Nanga Parbat and Its Path Into the German Imagination (अङ्ग्रेजीमा), Boydell & Brewer, आइएसबिएन 9781571139580।
- ↑ Hoiberg, Dale; Ramchandani, Indu (२०००), Students' Britannica India: M to S (Miraj to Shastri) (अङ्ग्रेजीमा), Encyclopaedia Britannica (India), "nagna parvata."
- ↑ The New Encyclopaedia Britannica, Encyclopaedia Britannica, २००३, पृ: ५०१, आइएसबिएन 978-0-85229-961-6।
- ↑ "The Eight-Thousanders", www.earthobservatory.nasa.gov (अङ्ग्रेजीमा), २०१३-१२-१७, अन्तिम पहुँच २०२४-०१-१४।
- ↑ Hauptmann, Harald (२०२४), "Archaeology and Anthropology in the Northern Areas", in Olivieri, Luca Maria, Lords of the Mountains: Pre-Islamic Heritage Along the Upper Indus in Pakistan (अङ्ग्रेजीमा), Heidelberg University Publishing, पृ: 59–60, आइएसबिएन 978-3-96822-270-7।
- ↑ Tenderini, Mirella, "Nanga Parbat The Killer Mountain", The Himalayan Club, The Himalayan Journal, अन्तिम पहुँच २७ अगस्ट २०२४।
- ↑ World Top 25 by Reduced Spire Measure
- ↑ Scheffel, Richard L.; Wernet, Susan J., सम्पादकहरू (१९८०), Natural Wonders of the World, US: Reader's Digest Association, Inc, पृ: 261, आइएसबिएन 0-89577-087-3।
- ↑ Kunigk, Herbert (१९३२), "The German-American Himalayan Expedition, 1932", Alpine Journal 5: 192–200, अन्तिम पहुँच २०२०-०४-३०।
- ↑ "Zoji La", अन्तिम पहुँच २८ मार्च २०१६।
- ↑ Scott, Doug (१९९४), "Expeditions and notes Nanga Parbat expeditions, 1992 and 1993", Himalayan Journal (Himalayan Club) 50, अन्तिम पहुँच २०१९-०४-२८।
- ↑ पौडेल, सुरेन्द्र, (९ असार २०७०), पाकिस्तानको हिमालमा मारिने नेपाली पनि, नागरिक दैनिक, अन्तिम पहुँच ५ भदौ २०८३, (नेपाली भाषामा)।
बाह्य कडीहरू
[सम्पादन]- "नङ्गा पर्वत", विकवेर डटकम, मूलबाट २०१६-०३-०४-मा सङ्ग्रहित।
